Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 22:21-23:16

21 रूबेन, गाद अनि आधा मनश्शेका कुल समूहहरूका मानिसहरूले ती एघार मानिसहरूलाई उत्तर दिए र तिनीहरूले भने, 22 “परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ। 23 यदि हामीले परमेश्वरको नियम भङ्ग गर्यौं भने परमप्रभुलाई नै हामीलाई दण्ड दिउन् भनी याचना गर्नुहोस्। के हामीले होमबलि, अन्नबलि अनि मेलबलिहरू अर्पण गर्नका निम्ति यो बेदी निर्माण गरेका हौं भनी तिमीहरू ठान्छौ? 24 अँहँ! हामीले त्यो कारण यसलाई निर्माण गरेका होइनौं। हामीले यो वेदी किन निर्माण गर्यौं? हामीलाई डर थियो कि भविष्यमा तिमीहरूका मानिसहरूले हामीलाई तिमीहरूको राष्ट्रको एक भाग हो भन्न अस्वीकार गर्नेछन् तब तिमीहरूका मानिसहरूले भन्न सक्छन् कि हामीहरू इस्राएलका परमप्रभु परमेश्वरको आराधान गर्न सक्तैनौ। 25 तिमीहरूका मानिसहरूले भन्न सक्छन् परमेश्वरले तिमीहरू र हामी बीचको सीमानाको निम्ति यर्दन बनाउनु भयो, ‘अनि ती रूबेन र गादका मानिसहरूको इस्राएलमा केही भाग छैन।’ यसकारण तिमीहरूका छोरा-छोरीहरूले हाम्रा छोरा-छोरीहरूलाई परमप्रभुको आराधना गर्न रोक्न सक्नेछन्।

26 “यसर्थ हामीले यो वेदी निर्माण गर्ने निश्चय गर्यौं। तर हामीले यसलाई भेटीहरू अनि बलि चढाउनको निम्ति उपयोग गर्ने योजना गरेका थिएनौं। 27 हामीलाई वेदी चाहिएको वास्तविक कारण यो हो कि हामी हाम्रा मानिसहरूलाई तिमीहरूले सेवा गर्ने परमेश्वरलाई नै हामीले पनि आराधना गर्छौं भनी देखाउनलाई हो। यो वेदी, तिमीहरू अनि हामीहरूका निम्ति अनि हाम्रा भविष्यका समस्त सन्तानहरूका निम्ति हामीले परमप्रभुको आराधना गर्छौं, भन्ने कुराको प्रमाण हुनेछ। हामी हाम्रा होमबलिहरू, अन्नबलिहरू अनि मेलबलिहरू परमप्रभुलाई प्रदान गर्नेछौं। तिमीहरूका सन्तानहरूलाई हुर्काउन हामी पनि स्वयं तिमीहरू जस्तै इस्राएलका मानिसहरू हौं भनी जानुन् भन्ने हामीले चाहेको हो। 28 भविष्यमा यदि यस्तो हुनेछ तिमीहरूका सन्तानहरूले यो भन्लान् हामीहरू इस्राएलका होइनौ, तब हाम्रा सन्तानहरूले भन्न सक्नेछन्, ‘हेर! हामी भन्दा अघि बाँचेका हाम्रा पिता-पुर्खाहरूले एक वेदी निर्माण गरेका छन्। त्यो वेदी पवित्र पालमा भएको परमप्रभुको वेदी जस्तै नै छ। हामी यो वेदीलाई बलिहरू चढाउन प्रयोग गर्दैनौ-यो वेदी यसको प्रमाण हो कि हामी इस्राएलका भाग हौं।’

29 “साँच्चै नै हामी परमप्रभुको विरूद्ध जान चाहँदैनौं। उहाँको अनुशरण नगर्ने हाम्रो इच्छा छैन। हामी जान्दछौं सत्य वेदी त्यही मात्र हो जो पवित्र पालको समक्ष छ। त्यो वेदी परमप्रभु हाम्रा परमेश्वरको हो।”

30 पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनश्शेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए। 31 यसकारण पूजाहारी पीनहासले भने, “अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसँग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरूद्ध गएनौं। हामी खुशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।”

32 तब पीनहास अनि अगुवाहरू त्यस स्थान छाडेर घरतर्फ गए। तिनीहरूले रूबेन अनि गादका मानिसहरूलाई गिलाद भूमिमा छाडे र कनान तिर फर्के अनि तिनीहरू इस्राएलका मानिसहरू कहाँ गए के भएको थियो त्यो भने। 33 इस्राएलका मानिसहरू पनि सन्तुष्ट भए। तिनीहरू खुशी भए अनि परमेश्वरलाई धन्यवाद चढाए। तिनीहरूले रूबेन, गाद अनि मनश्शेका मानिसहरूको विरूद्ध गएर लडाईं नगर्ने निर्णय गरे। तिनीहरूले त्यो ठाउँ जहाँ ती मानिसहरू बस्थे त्यो ठाउँलाई ध्वंश नगर्ने निश्चय गरे।

34 रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउँ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउँ “‘साक्षी’ राखे हामी त्यो विश्वास गर्छौ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौ।”

यहोशूले मानिसहरूलाई प्रोत्साहन दिन्छन्

23 परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका वरिपरि भएका शत्रुहरूबाट शान्ति प्रदान गर्नु भयो। परमप्रभुले इस्राएललाई सुरक्षित तुल्याउनु भयो। धेरै बर्ष बितेर गए, अनि यहोशू अत्यन्त बृद्ध भए। यस बेला यहोशूले समस्त बूढा अगुवाहरू, कुल नायकहरू, न्यायकर्ताहरू, अनि इस्राएली मानिसहरूका अधिकारीहरूको सभा राखे। यहोशूले भने, “म अत्यन्त बृद्ध भएको छु। तिमीहरूले ती कुराहरू देख्यौ जो परमप्रभुले हाम्रा शत्रुहरू प्रति गर्नु भयो। उहाँले हामीलाई सहायता गर्न यसो गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति युद्ध गर्नु भयो। मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौ। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अझ अधिकारमा लिएका छैनौ। तर परमप्रभु तिमीहरूका परमेश्वरले त्यहाँ बसेका मानिसहरूलाई त्यो भूमि छाड्न वाध्य तुल्याउनु हुनेछ। तिमीहरूले त्यो भूमि लिने छौ। परमप्रभुले त्यहाँ बस्ने मानिसहरूलाई भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका निम्ति यसो गर्ने वचन दिनु भएको छ।

“परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु। हाम्रो माझ अझ पनि केही मानिसहरू बसेकाछन् जो इस्राएलका मानिस होइनन्। ती मानिसहरूले तिनीहरूका आफ्नै देवताहरूको पूजा गर्छन्। तिनीहरूको देवताहरूको सेवा अथवा तिमीहरूले पूजा नगर। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको अनुशरण गर्दै जानुपर्छ। बितेका समयमा तिमीहरूले यसो गरेका थियौ अनि तिमीहरूले यसो गर्दै जानुपर्छ।

“परमप्रभुले अनेक महान अनि शक्तिशाली राष्ट्रहरूलाई परास्त गर्नमा सहायता प्रदान गर्नुभयो। परमप्रभुले ती मानिसहरूलाई छोड्न बाध्य तुल्याउनु भयो। तिमीहरूलाई परास्त गर्न कुनै राष्ट्रपनि समर्थ भएन। 10 परमप्रभुको सहयोगद्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो। 11 यसर्थ तिमीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गरिरहनु पर्छ।

12 “परमप्रभुको अनुशरण गर्न नछोड। ती अन्य मानिसहरूको मित्र नबन जो इस्राएली होइनन्। तिनीहरूका कुनै मानिसहरूसित विवाह नगर। तर यदि तिमीहरू यी मानिसहरूका मित्र बन्यौ भने। 13 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूलाई परास्त गर्नमा सहयोह गर्नुहुने छैन। यी मानिसहरू तिमीहरूका निम्ति पासो जस्तै हुनेछन्। तिनीहरूले तिमीहरूलाई तिम्रा आखाँमा धुँवा र धूलो परे जस्तै कष्ट दिनेछन्। अनि तिमीहरूलाई यो उत्तम भूमि छोड्न बाध्य तुल्याउने छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुभयो। तर यदि तिमीहरूले यो आज्ञा पालन गरेनौ भने तिमीहरूले यसलाई गुमाउन सक्छौ।

14 “अब प्रायः मेरो मृत्यु हुने समय भयो। तिमीहरू जान्दछौ अनि साँच्चै विश्वास गर्छौ कि परमप्रभुले तिमीहरूका निम्ति महान कार्यहरू गर्नु भएको छ। तिमीहरूलाई थाहा छ। कि उहाँले आफ्ना कुनै पनि प्रतिज्ञा पूर्ण गर्न चुक्नु भएन। परमप्रभुले सबै प्रतिज्ञा पूर्ण गर्नु भयो जो उहाँले हामीसँग गर्नु भएको थियो। 15 परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराम्रो कुरा गर्यौ भने तिमीहरू माथि नराम्रा कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निक्लन तिनीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ। 16 यदि तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरसित गरेको करार पालन गर्न अस्वीकार गर्यौ भने यस्तो हुनेछ। यदि तिमीहरूले अन्य देवताहरूको पूजा गर्यौ भने, यो भूमि गुमाउने छौ। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू प्रति परमप्रभु अत्यन्त क्रोधित हुनुहुनेछ। तब उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमि तुरन्तै छोड्न बाध्य तुल्याइने छ।”

लूका 20:27-47

कोही सदूकीहरूद्वारा येशूको परिक्षा लिने चेष्टा

(मत्ती 22:23-33; मर्कूस 12:18-27)

27 कोही सदुकीहरू येशूकहाँ आए। तिनीहरू विश्वास गर्दथे कि मानिस मरेपछि फेरि कहिल्यै बौरी उठ्दैन। तिनीहरूले येशूलाई भने, 28 “गुरुज्यू, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाइले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्यूको लागि सन्तान जन्माउनु पर्छ। 29 कुनै एक समयमा सातजना दाज्यू-भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन। 30 अनि दोस्रो भाइले त्यो विधवालाई विवाह गरे, अनि ऊ पनि मरिहाले। 31 तब तेस्रो भाइले उसलाई विवाह गर्यो अनि उपनि मर्यो। त्यस्तै घट्ना अरू भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे। 32 अन्तमा त्यो स्त्री पनि मरी। 33 तर सबै सात दाज्यू-भाइहरूले त्यसलाई विवाह गरेका थिए। अनि जब मानिसहरू मरेर बौरिन्छन् त्यो स्त्री कसकी पत्नी हुन्छे?”

34 येशूले ती सदूकीहरूलाई भन्नुभयो, “पृथ्वीमा मानिसहरूले आपसमा विवाह गर्छन्। 35 तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन। 36 त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्। 37 मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले ‘अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’ 38 परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।”

39 कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।” 40 उहाँलाई अरू धेरै प्रश्न गर्ने साहस कसैलाई भएन।

के ख्रीष्टनै दाऊका पुत्र हुन्?

(मत्ती 22:41-46; मर्कूस 12:35-37)

41 त्यसपछि येशूले भन्नुभयो, “मानिसहरूले किन ख्रीष्टलाई दाऊदको पुत्र भन्छन्? 42 भजनको पुस्तकमा, दाऊद आफैं भन्छन्,

‘परमप्रभुले मेरा प्रभु ख्रीष्टलाई भन्नु भएकोछ:
तिमी मेरो दाहिने हातपट्टि बस,
43     जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा शक्तिको वशमा पार्नेछैन।’(A)

44 दाऊदले ख्रीष्टलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन्। तब कसरी ख्रीष्ट दाऊदको छोरो हुन सक्छन्?”

नियमका शास्त्रीहरू विरूद्ध चेतावनी

(मत्ती 23:1-36; मर्कूस 12:38-40; लूका 11:37-54)

45 जव सबै मानिसहरूले सुनिरहेका थिए येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, 46 “व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लाम-लामा बस्त्र लगाएर वरिपरि घुम्न चाहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य-मुख्य आसन ओगट्न चाहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्। 47 तर तिनीहरू विधवाहरूलाई धोका दिन्छन् र तिनीहरूको घर लुट्छन्। अनि तिनीहरू देखावटीको लागि लामा-लामा प्रार्थना गर्छन्। परमेश्वरले तिनीहरूलाई धेरै कड़ा दण्ड दिनुहुनेछ।”

भजनसंग्रह 89:14-37

14 तपाईंको साम्राज्य सत्य र न्यायमाथि बनिएको छ।
    प्रेम र विश्वास तपाईंको सिंहासनका दासहरू हुन्।
15 हे परमेश्वर, तपाईंका ईमान्दार भक्तजनहरू साँच्चि नै खुशी छन्।
    तिनीहरू तपाईंको कृपाको प्रकाशमा बाँच्दछन्।
16 तपाईंको नाउँले तिनीहरूलाई सधैँ खुशी पार्छ।
    तिनीहरूले तपाईंको सदगुणको प्रशंसा गर्दछन्।
17 तपाईं तिनीहरूका आश्चार्यमय बल हुनुहुन्छ।
    तपाईंबाटै उनीहरूको शक्ति आउँछ।
18 परमप्रभु, तपाईं हाम्रो रक्षक हुनुहुन्छ।
    इस्राएल को एकमात्र पवित्र आत्मा हाम्रा राजा हुनुहुन्छ।
19 तपाईं आफ्ना भक्तजनहरूसँग दर्शनमा बोल्नु भयो अनि भन्नुभयो,
“मैले भीडबाट एकजना जवान केटोलाई छानें
    अनि मैले त्यस जवानलाई मुख्य मानिस बनाएँ,
    मैले त्यस जवान सिपाहीलाई बलियो, बनाएँ।
20 मैले मेरो दास दाऊदलाई पाएँ,
    अनि मेरो विशिष्ट तेलले उसलाई अभिषेक गरें।
21 मैले दाऊदलाई आफ्नो दाहिने पाखुराले सहयोग गरें।
    अनि मेरो शक्तिले, उसलाई बलियो बनाएँ।
22 शत्रुहरूले, ‘चुनेका राजालाई’ पराजित गर्न सकेनन्।
    दुष्ट मानिसहरूले उनलाई परास्त गर्न सकेनन्।
23 म तिनीहरूको शत्रुहरूलाई शेष पार्नेछु
    र तिनीहरूको सल्लाहकारलाई तल फ्याँक्नेछु।
24 म सधैँ आफूले छानेका राजालाई प्रेम र सहयोग गर्नेछु।
    म उनलाई सधैँ बलियो बनाउने छु।
25 मैले छानेका राजालाई समुद्रको अध्यक्ष नियुक्त गर्छु।
    उसले नदीहरूमाथि नियन्त्रण गर्नेछ।
26 उसले मलाई भन्नेछ, तपाईं मेरो पिता हुनुहुन्छ।
    तपाईं मेरो परमेश्वर, मेरो चट्टान, मेरो रक्षक हुनुहुन्छ।
27 अनि उसलाई म मेरो प्रथम जन्मने छोरो बनाउने छु।
    ऊ नै पृथ्वीमा सबै भन्दा महान् राजा हुनेछ।
28 मेरो प्रेमले चुनिएका राजालाई सदा-सर्वदा रक्षा गर्नेछु।
    तिनको र मेरो यो करार कहिल्यै समाप्त हुनेछैन।
29 उनका परिवारहरू अनवरत रहने छन्
    जबसम्म स्वर्ग रहन्छ तबसम्म उनको राज्य रहनेछ।
30 यदि उनका सन्तानहरूले मेरो व्यवस्था मान्न छाडे यदि तिनीहरूले मेरो आज्ञा अमान्य गरे,
    म तिनीहरूलाई दण्ड दिनेछु।
31 यदि छानिएका राजाका भावी सन्तानहरूले
    मेरो नियमहरू भत्काउँदै मेरो आज्ञाहरू उल्ङ्घन गर्छन् भने,
32 तब म उनीहरूलाई कडा दण्ड दिनेछु।
    म तिनीहरूका दुष्ट-कर्मको सजाय कोर्राले दिनेछु।
33 तर म ती मानिसहरूबाट माया मारेर टाढा जाने छैन।
    म तिनीहरू प्रति सधैँ विश्वासी रहने छु।
34 म दाऊदसँग भएको करार तोड्ने छैन।
    म मेरो करार-वचन परिणत गर्नेछैन।
35 मेरो पवित्रतामा, उनीप्रति एक प्रतिज्ञा गरेको छु
    अनि म दाऊद प्रति झूटो हुने छैन।
36 दाऊदका सन्तानहरू अनवरत रहनेछन्।
    तिनीहरू हुन्जेल उनिहरूको राज्य रहने छ।
37 जुन सरह, यो अनवरत चल्नेछ, त्यस करारको साक्षी आकाशहरू छन्,
    त्यो करारमा भरोसा गर्न सकिन्छ।”

हितोपदेश 13:17-19

17 सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ।

18 जसले अर्तीलाई ध्यान दिदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ।

19 यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International