Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 24

यहोशू बिदाइ जनाउँछन्

24 यहोशूले इस्राएलका सबै कुल समूहहहरूलाई शकेममा एकसाथ भेला हुन बोलाए। तब उनले बूढा-प्रधानहरू कुलनायकहरू, अनि इस्राएलका अधिकारीहरू, अनि न्यायकर्त्ताहरू र शासकहरूलाई पनि बोलाए। यी मानिसहरू परमेश्वर समक्ष उभिए।

यहोशूले समस्त मानिसहरूलाई भने। तिनले भने, “म तिमीहरूलाई यो भनिरहेछु जो परमप्रभु इस्राएलका परमेश्वरले तिमीहरूलाई यसो भन्नु हुन्छः ‘धेरै समय अघि, तिमीहरूका पिता-पुर्खाहरू यूफ्रेटिस नदीको पारी पट्टि बस्थे। म अब्राहाम अनि नाहोरका पिता तेरह जस्ता मानिसहरूको विषयमा कुरा गरिरहेछु। त्यस समयमा, ती मानिसहरूले अन्य देवताहरूको पूजा गर्थे। तर, म परमप्रभुले तिमीहरूका पिता-पुर्खा अब्राहामलाई भूमि बाहिर महानदीको अर्को तर्फ लगें। मैले उसलाई कनानको भूमि भएर लगे र उसलाई धेरै-धेरै सन्तानहरू दिएँ। मैले अब्राहामलाई उसको छोराको नाउँ इसहाक दिएँ। अनि मैले इसहाकलाई याकूब अनि एसाव नाउँका दुइ छोराहरू प्रदान गरें। एसावलाई मैले सेइर पर्वत वरिपरिका भूमि दिएँ। याकूब अनि उसका छोराहरू त्यहाँ बसेनन्। तिनीहरू मिश्रको भूमिमा बस्न गए।

“‘तब, मैले मोशा र हारूनलाई मिश्रमा पठाएँ। तिनीहरूले मेरा मानिसहरूलाई मिश्रदेश बाहिर ल्याएको म चाहन्थें। मैले मिश्रका मानिसहरू माथि अनेक भयानक घटनाहरू घटाएँ। त्यसपछि मैले तिमीहरूका मानिसहरूलाई मिश्र बाहिर निकालेर ल्याएँ। यसरी नै मैले तिमीहरूका अगुवाहरूलाई मिश्रबाहिर ल्याएँ। तिनीहरू लाल समुद्रमा आए अनि मिश्रका मानिसहरूले तिनीहरूलाई खेदिरहेका थिए। त्यहाँ रथ अनि घोड सवारहरू थिए। यसकारण मानिसहरूले म परमप्रभुलाई सहायताको निम्ति याचना गरें। अनि तिमीहरू र मिश्रका मानिसहरू बीचमा मैले अन्धकार स्थापित गरें। म परमप्रभुले तिनीहरूलाई समुद्र छोप्न बनाएँ। मैले मिश्रका सेनालाई जे गरें त्यो त तिमीहरू आफैंले देख्यौ।

“‘त्यसपछि, तिमीहरू लामो समयसम्म मरुभूमिमा बस्यौ। तब मैले तिमीहरूलाई एमोरी मानिसहरूको देशमा ल्याएँ। यो यर्दन नदीको पूर्वतर्फ थियो। ती मानिसहरू तिमीहरूको विरूद्ध लडे, तर मैले तिनीहरूलाई परास्त गर्न तिमीहरूलाई दिएँ। ती मानिसहरूलाई नष्ट गर्ने मैले शक्ति तिमीहरूलाई प्रदान गरें। तब तिमीहरूले त्यो भूमिलाई अधिकारमा लियौ।

“‘तब मोआबको राजा, सिप्पोरका छोरा बालाकले इस्राएलका मानिसहरू विरूद्ध लड्न तयार भए। ती राजाले बओरका छोरा बालामलाई बोलाई पठाए। उसले बालामलाई तिमीहरूलाई श्रापदिन लगाए। 10 तर म, परमप्रभुले बालामको कुरा सुन्न अस्वीकार गरें। यसर्थ बालामले तिमीहरूलाई अनेक पल्ट आशीर्वाद दिए। मैले तिमीहरूलाई बचाएँ अनि विपत्तबाट निकालें।

11 “‘त्यसपछि तिमीहरू यर्दन नदी पारी यरीहो शहर तर्फ गयौ। यरीहोका मानिसहरू तिमीहरू विरूद्ध लडे। एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गाशी, हव्वी अनि यबूसी मानिसहरू पनि तिमीहरू विरूद्ध लडे। तर मैले तिनीहरू सबैलाई तिमीहरूलाई परास्त गर्न दिएँ। 12 जब तिमीहरूका सेनाहरू अघि बढ्दै थिए मैले तिनीहरूको अघि बिच्छ्यूँहरूलाई पठाईदिएँ। ती बिच्छ्यूँहरूले दुइजना राजाहरूलाई छोडन बाध्य गरयो। यसरी तिमीहरूले आफ्ना तरवार अनि धनुको प्रयोग नगरी नै त्यो भूमि लियौ।

13 “‘मैले त्यो भूमि तिमीहरूलाई दिएँ। जुन भूमिका निम्ति तिमीहरूले काम गरेनौ मैले त्यो भूमि तिमीहरूलाई दिएँ। तिमीहरूले ती शहरहरू निर्माण गरेनौ-ती मैले तिमीहरूलाई दिएँ। तिमीहरूसित दाखबारी अनि भद्राक्षेका बृक्षका बगौंचाहरू छन्, तर ती बगौंचाहरूमा तिमीहरूले विरूवा लाउनु परेन।’”

14 तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ।

15 “तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।”

16 तब मानिसहरूले उत्तर दिए, “हामीहरू परमप्रभुको अनुशरण गर्न कहिल्यै पनि छाड्ने छैनौं। हामी अन्य देवताहरूको सेवा कहिले पनि गर्ने छैनौं। 17 हामी जान्दछौं कि परमप्रभु नै परमेश्वर हुनुहुन्थ्यो, जसले हाम्रा मानिसहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो। त्यस देशमा हामी दास थियौं। तर परमप्रभुले हाम्रा निम्ति त्यहाँ महान् काम गर्नु भयो। उहाँले हामीलाई त्यो देशबाट बाहिर ल्याउनु भयो, अनि अन्य भूमिहरूबाट यात्रा गर्दा हामीलाई सुरक्षा प्रदान गर्नु भयो। 18 परमप्रभुले हामीलाई यी भूमिहरूमा बस्ने मानिसहरूलाई परास्त गर्नमा सहयोग प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई जो एमोरी मानिसहरू यो देशमा बस्थे त्यहाँ अहिले हामी छौं, यो परास्त गर्नमा हामीलाई सहायता गर्नुभयो। यसर्थ हामी परमप्रभुको सेवा गरिरहनेछौं। किनभने उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ।”

19 तब यहोशूले भने, “त्यो सत्य हो। परमप्रभुको सेवा गर्दैजान तिमीहरू सक्तैनौ। परमप्रभु परमेश्वर पवित्र हुनुहुन्छ। अनि आफ्ना मानिसहरूले अन्य देवताहरूको पूजा गरेको परमेश्वरले घृणा गर्नुहुन्छ। यदि तिमीहरू त्यसरी उहाँको विरूद्ध भयौ भने परमेश्वरले तिमीहरूलाई क्षमा गर्नु हुने छैन। 20 तर तिमीहरूले परमप्रभुलाई त्यागनेछौ अनि अन्य देवताहरूको सेवा गर्ने छौ। परमप्रभुले तिमीहरू माथि भयानक घटनाहरू घटाउनु हुनेछ। परमप्रभुले तिमीहरूलाई नष्ट गर्नु हुनेछ। परमप्रभु परमेश्वर तिमीहरू प्रति भलो हुनुहुन्छ। तर यदि तिमीहरू उहाँको विरूद्ध भयौ भने उहाँले तिमीहरूलाई नष्ट गर्नु हुनेछ।”

21 तब मानिसहरूले यहोशूलाई भने, “अँहँ! हामी परमप्रभुको सेवा गर्नेछौं।”

22 तब यहोशूले भने, “तिमीहरू आफैंलाई अनि तिमीहरूसित भएका मानिसहरूलाई हेर। के, तिमीहरू सब जान्दछौ अनि सहमत हुन्छौ? के तिमीहरूलाई परमेश्वरको सेवा गर्नका निम्ति चुनिएको छौ? तिमीहरू सबै यसका साक्षी छौ?”

मानिसहरूले उत्तर दिए, “हो, यो सत्य हो! हामी सबैले देख्न सक्छौं कि हामीहरू परमप्रभुको सेवा गर्नका निम्ति चुनिएका छौं।”

23 तब यहोशूले भने, “त्यसो हो भनी तिमीहरूसित भएका झूटा देवताहरूलाई फ्याँकि देऊ र परमप्रभु इस्राएलका परमेशवरलाई तिमीहरूको सम्पूर्ण हृदयले प्रेम गर।”

24 तब मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेशवरको सेवा गर्नेछौं। हामी उहाँको आज्ञा पालन गर्नेछौं।”

25 यसर्थ त्यसदिन यहोशूले मानिसहरूका निम्ति एक करार गरे। यहोशूले त्यो करार शकेम नाउँको शहरमा गरे। त्यहाँ तिनीहरूले अनुशरण गर्नु पर्ने नियम बन्यो। 26 यहोशूले यी कुराहरू परमेशवरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेट्टाए। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नजीकै भएको फलाँटको रूख मुनि राखे।

27 त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विरूद्ध एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेशवरको विरूद्धमा जान देखि रोक्नेछ।”

28 तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेका मानिस आफ्ना भूमिमा फर्के।

यहोशूको मृत्यु

29 त्यसपछि नूनका छोरा यहोशूको मृत्यु भयो। यहोशू 110 बर्ष उमेरका थिए। 30 यहोशूलाई तिम्नथसेरहमा उसको आफ्नै भूमिमा गाडे। यो गाश डाँडाको उत्तरमा भएको एप्रैमको पहाडी देशमा थियो।

31 इस्राएलका मानिसहरूले यहोशू जीवित रहेको समयमा परमप्रभुको सेवा गरेका थिए। अनि यहोशूको मृत्यु भएपछि पनि मानिसहरूले परमप्रभुको सेवा जारिराखे। मानिसहरूले परमप्रभुको सेवा गर्दै गए। जब तिनीहरूका अगुवाहरू जीवित थिए। यी अगुवाहरू नै थिए, जसले ती कुराहरू देखेका थिए जो परमप्रभुले इस्राएलका निम्ति गर्नु भएको थियो।

यूसुफ घर आउँछन्

32 जब इस्राएलका मानिसहरूले मिश्रदेश छाडे, तिनीहरूले यूसुफको शरीरका हाडहरू साथमा बोकेर हिंडे। यसरी मानिसहरूले यूसुफका हाडहरूलाई शकेममा गाडिदिए। तिनीहरूले ती हाडहरू त्यो भूमिमा गाडे जो याकूबले शकेम नाउँ गरेका मानिसका पिता हमोरका छोराहरूकोबाट किनेका थिए। याकूबले त्यो भूमि शुद्ध चाँदीका एकसय सिक्कामा किनेका थिए। यो भूमि यूसुफका सन्तानको थियो। 33 हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो।

लूका 21:1-28

साँच्चो दान

(मर्कूस 12:41-44)

21 येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो। त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो। येशूले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई। किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”

मन्दिरको ध्वंस

(मत्ती 24:1-14; मर्कूस 12:1-13)

केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो। परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।”

तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुङ्गा नै फ्याँकिनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन्।”

ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घट्ना हुनेछ? यी घट्नाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?”

येशूले भन्नुभयो, “सतर्क बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ,’ अनि, ‘सही समय आएको छ!’ तर तिनीहरूलाई नपछ्याउनु। जब तिमीहरूले लडाईं र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।”

10 तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरू माझ लडाईं चल्नेछ। राज्य-राज्यहरू माझ झगड़ा चल्नेछ। 11 ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घट्नाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ।

12 “तर यी घट्नाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झ्यालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हौ। 13 तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ। 14 तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन। 15 म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन। 16 तिमीहरूको बाबु-आमा, दाज्ययू-भाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्। 17 सबै मानिसहरूले तिमीहरूलाई मेरो अनुशरण गरेकोमा त्याग गर्नेछन्। 18 तर यी सब कुराहरूले शिरको एउटा केश पनि नष्ट हुनेछैन। 19 तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ।

यरूशलेमको ध्वंस

(मत्ती 24:15-21; मर्कूस 13:14-19)

20 “तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ। 21 त्यसबेला यहूदियाका मानिसहरू डाँडाकाँडातिर भाग्नु पर्छ। मानिसहरूले तत्कालै यरूशलेम छोडनु पर्छ। यदि तिमीहरू शहर नजिकै छौ भने, त्यहाँभित्र नजाऊ। दण्ड दिनुहुनेछ भनी लेखेका छन्। 22 त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ। 23 त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ। 24 कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुन्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्।

नडराऊ

(मत्ती 24:29-31; मर्कूस 13:24-27)

25 “सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घट्नाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङ्कटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन्। 26 मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङ्कित हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्। 27 तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ। 28 जब यी सब चीजहरू शुरू हुनथाल्छ, नडारउनु। माथितिर हेर, अनि खुशी बन। किनभने जति बेला परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु हुन्छ, त्यो समय नजीक छ।”

भजनसंग्रह 89:38-52

38 तर परमेश्वर तपाईं आफूले रोजेका राजाप्रति रिसाउनु भयो।
    अनि उनलाई एक्लै छाडी दिनु भयो।
39 तपाईंले आफ्नो करार अस्वीकार गर्नु भएकोछ।
    तपाईंले राजाको मुकुट मैलामा फ्याँकिदिनु भयो।
40 तपाईंले राजाको शहरका भित्ताहरू भत्काई झार्नु भयो।
    उनका सबै किल्लाहरू ध्वंश पार्नुभयो।
41 त्यताबाट भएर जाने मानिसहरूले उनका चीजहरू चोरे।
    उनका छिमेकीहरूले उसलाई खिसी गरेर हाँसे।
42 तपाईंले त्यस्तो गरेर राजाका शत्रुहरूलाई खुशी बनाउनु भयो।
    तपाईंले उनका शत्रुहरूलाई युद्ध जित्न दिनुभयो।
43 परमेश्वर, तपाईंले उनीहरूको रक्षा गर्दै सघाउनु भयो।
    तपाईंले आफ्ना राजालाई युद्धमा सघाउनु भएन।
44 तपाईंले उनलाई जित्न दिनु भएन।
    तपाईंले उनको राजगद्दी भूइँमा फ्याँकिदिनु भयो।
45 तपाईंले उनको उमेर घटाई दिनु भयो
    तपाईंले उनलाई लज्जित पार्नुभयो।

46 हे परमप्रभु, यस्तो कहिले सम्म चल्ने हो?
    के तपाईंले हामीलाई सधैँ उपेक्षा गर्नुहुन्छ?
    के तपाईंको क्रोध आगो जस्तो सधैँ बल्ने हो?
47 याद गर्नुहोस् मेरो जीवन कति छोटो छः
    तपाईंले हामीलाई छोटो जीवन बाँच्नलाई रच्नुभयो।
48 कोही पनि बाँच्ने छैन र कहिल्यै मर्दैन,
    कोही पनि चिहानबाट भाग्न पाउने छैन।

49 हे परमेश्वर, तपाईंले विगतमा देखाउनु भएको प्रेम खै, कहाँ छ?
    तपाईंले दाऊदको परिवार प्रति विश्वासी हुनेछु भनेर प्रतिज्ञा दिनु भयो।
50-51 हे स्वामी, कृपया याद गर्नुहोस्, मानिसहरूले कसरी तपाईंको दासलाई अपमान गरे।
हे परमप्रभु, मैले तपाईंका शत्रुहरूबाट ती सारा अपमानहरू सहनु पर्यो।
    ती मानिसहरूले तपाईंले रोजेको राजाको अपमान गरे।

52 परमप्रभुको सदा-सर्वदा प्रशंसा गर।
    आमेन! आमेन!

हितोपदेश 13:20-23

20 जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु:ख पाउँछ।

21 पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्।

22 ईमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।

23 गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International