Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 7:1-8:17

बिहानै यरूब्बाल (गिदोन) अनि तिनका सबै मानिसहरूले एन-हरोदको मूलमा आफ्ना छाउनी थापे। मिद्यानका मानिसहरू मोरेह नाउँ गरेको पहाडको फेदको बेंसीमा छाउनी हालेर बसेका थिए। यो गिदोन अनि तिनका मानिसहरू बसेका ठाउँ देखि उत्तरमा थियो।

तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “म मिद्यानका मानिसहरूलाई पराजित गर्न तिमीहरूलाई सहायता दिंदैछु। तर तँसित त्यो कामका निम्ति अनेक धेरै मानिसहरू छन्। म इस्राएलका मानिसहरूले मलाई बिर्सेर तिनीहरूले तिनीहरू स्वयंलाई आफ्नै शक्तिले बँचाएको भनी शेखी गरेको चाहँदिन। यसर्थ अब, एउटा सूचना दे। तिनीहरूलाई भन्, ‘जो कुनै पनि भयभीत छ त्यो गलेद पर्वत छोडेर जान सक्छ। त्यो मानिस घर फर्की जान सक्छ।’”

त्यस समयमा 22,000 मानिसहरूले गिदोनलाई छाडे अनि घर फर्के, तर 10,000 मानिसहरू बाँकी रहे।

तब परमप्रभुले गिदोनलाई भन्नुभयो, “त्यहाँ अझ धेरै मानिसहरू छन्। ती मानिसहरूलाई तल पानीमा लैजा, अनि तेरो निम्ति म त्यहाँ तिनीहरूको जाँच गर्नेछु। यदि मैले, ‘यो मानिस तँसित जानेछ,’ भने मात्र त्यो जानेछ। यदि मैले, ‘त्यो तँसित जाने छैन’ भने भनी त्यो जाने छैन।”

यसर्थ गिदोनले मानिसहरूलाई तल पानीमा लगे। पानीमा परमप्रभुले गिदोनलाई भन्नुभयो, “मानिसहरूलाई यसरी छुट्याऊः मानिसहरू जसले कुकुरले जस्तै जिब्रोले चाटेर पानी पिउँछन्, तिनीहरू एक समूहमा हुनेछन्। अनि ती मानिसहरू जो पानी पिउनका निम्ति घोप्टिन्छन् तिनीहरू अर्को समूहमा हुनेछन्।”

तिनीहरूको हात प्रयोग नगरी चाटेर पानी पिउने मानिसहरूको संख्या 300 थियो अन्य सबै मानिसहरूले तल निहुरिएर पानी पिए। परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”

यसर्थ गिदोनले इस्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदोनले आफूसित 300 मानिसहरू राखे। ती 300 मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे।

मिद्यानका मानिसहरू गिदोनको छाउनी मुनिको बेंसीमा छाउनी हालेर बसेका थिए। राती परमप्रभुले गिदोनसित कुरा गर्नु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्, म तँलाई मिद्यानी सेनालाई पराजित गर्न दिनेछु। तल तिनीहरूको छाउनीमा जा। 10 यदि एक्लै जान तँलाई डर लाग्छ भने, पूरा तेरो सेवकलाई तेरो साथ लैजा। 11 मिद्यानका मानिसहरूको छाउनीमा जा। ती मानिसहरू के भनिरहेछन् सुन्। त्यसपछि तिनीहरू माथि आक्रमण गर्न तँलाई डर लाग्ने छैन।”

यसर्थ गिदोन अनि पूरा, तिनको सेवक तल शत्रुको छाउनीको छेउमा गए। 12 मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसँग ऊँटहरू पनि थिए।

13 गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौंका रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्टँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।”

14 त्यो मानिसको साथीले सपनाको अर्थ जान्यो। उसले भन्यो, “तिम्रो सपनाको एउटै मात्र अर्थ हुनसक्छ। तिम्रो सपना इस्राएलको त्यस मानिसको बारेमा हो। यो सपना योआशाका छोरा गिदोनको बारेमा हो। यसको मतलब यो हो कि परमेश्वरले गिदोनलाई मिद्यानका सम्पूर्ण सेनालाई पराजित गर्न सहायता गर्नु हुनेछ।”

15 सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।” 16 तब गिदोनले ती 300 मानिसहरूलाई तीन समूहमा विभाजन गरे। गिदोनले प्रत्येक व्यक्तिलाई एक-एक वटा तुरही र रित्तो भाँडो दिए। प्रत्येक भाँड भित्र जल्दै गरेको राँको थियो। 17 तब गिदोनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्छु त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुशरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्छु ठीक त्यस्तै गर। 18 तिनका मानिसहरूले शत्रुको छाउनीमा घेरा हाले। म अनि मेरो साथका समस्त मानिसहरूले आफ्ना तुरही बजाउने छौ। जब हामी हाम्रा तुरही बजाउँछौं, तिमीहरूले पनि आ-आफ्ना तुरही बजाऊ। त्यसपछि यी शब्दहरूमा कराऊः ‘परमप्रभु अनि गिदोनका निम्ति!’”

19 यसरी गिदोनसँग 100 मानिसहरू शत्रुको छाउनीको किनार तिर गए। शत्रुले रक्षक बद्लि गरेकै पछि तिनीहरू त्यहाँ आए। यो रातको मध्य अवधि थियो। गिदोन अनि तिनका मानिसहरूले तुरही बजाए अनि भाँडो फुटाए। 20 मानिसहरूले आफ्ना देब्रेहातमा राँको लिए अनि दाहिने हातमा तुरही लिएका थिए। ती मानिसहरूले तुरही बजाएको बेला तिनीहरू कराए, “परमप्रभुको निम्ति एक तरवार अनि गिदोनको निम्ति एक तरवार।”

21 गिदोनका मानिसहरू जहाँ तिनीहरू थिए त्यहीं छाउनीको वरिपरि बसे, तर छाउनी भित्र मिद्यानका मानिसहरू कराउँदै भाग्न शुरू गरे। 22 जब गिदोनका 300 मानिसहरूले आफ्ना तुरही बजाए परमप्रभुले मिद्यानका मानिसहरूलाई तिनीहरूका तरवारद्वारा एक-अर्कालाई मार्न लाउनुभयो। शत्रुका सेना बेतशित्ता शहरतिर भागे, जो सरेरा शहर तर्फ थिए। ती मानिसहरू हाबिल-महोला शहरको सीमानासम्म भागे जो तब्बात शहरको नजिकमा थियो।

23 तब नप्ताली, आशेर अनि मनश्शेका सबै कुल समूहका सैनिकहरूले मिद्यानका मानिसहरूलाई खेदे। 24 गिदोनले एप्रैमका समस्त पहाडी देश भरि समाचार लिएर दूतहरू पठाए। दूतहरूले भने, “तल झर अनि मिद्यानका मानिसहरूलाई आक्रमण गर। बेतबरा अनि यर्दन नदीलाई अधिकारमा लेऊ। मिद्यानका मानिसहरू त्यहाँ पुग्न अघिबाट नै यसो गरिहाल।”

यसर्थ तिनीहरूले एप्रैम कुल समूहका सबै मानिसहरूलाई बोलाए। बेतबरासम्म यर्दन नदी तिनीहरूले अधिकार गरे। 25 एप्रैमका मानिसहरूले दुइजना मिद्यानी अगुवाहरूलाई पक्रे। यी दुइ अगुवाहरूका नाउँ ओरेब अनि जेएब थियो। ओरेबलाई एप्रैमका मानिसहरूले ओरेबको चट्टान नामक स्थानमा हत्या गरे। जएबलाई तिनीहरूले जएबको दाखको कोल नाउँको स्थानमा हत्या गरे। एप्रैमका मानिसहरूले मिद्यानका मानिसहरूलाई खेदे। तर तिनीहरूले पहिला ओरेब अनि जएबको शिरकाटे अनि ती शिरहरू गिदोन कहाँ लगे। गिदोन त्यस स्थानमा थिए जहाँ मानिसहरू यर्दन नदीपारी तर्थे।

एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?”

तर गिदोनले एप्रैमका मानिसहरूलाई उत्तर दिए, “म कसरी तिमीहरूले गरेको भन्दा अझ राम्रो गर्न सक्छु? के एप्रैमको शिला गरेको दाख, मेरो परिवार अबीएजेरको दाखकटनी भन्दा असल छैन र? यस्तै प्रकारले अहिले तिमीहरूले राम्रो फसल पाएका छौ। परमेश्वरले तिमीहरूलाई मिद्यानका अगुवाहरू ओरेब अनि जेएबलाई कब्जामा ल्याउन दिनुभयो। तिमीहरूले जे गर्यौ त्यो सँग म कसरी मेरो सफलता दाँज्न सक्छु र?” जब एप्रैमका मानिसहरूले गिदोनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्रोधित भएनन्।

गिदोनले मिद्यानका दुइ राजाहरूलाई कब्जा गर्छन्

जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए। गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।”

तर सुक्कोत शहरका अधिकारीहरूले गिदोनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पक्रेका छैनौ।”

तब गिदोनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिंदैनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरुभूमिको काँढा अनि काँढादार पोथ्राले तिमीहरूको छाला उतार्नेछु।”

गिदोन सुक्कोत शहर छोडेर पन्‌एल शहर तिर गए। गिदोनले पन्‌एलका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुक्कोतका मानिसहरूसँग मागेका थिए। तर पन्‌एलका मानिसहरूले गिदोनलाई सुक्कोतका मानिसहरूले जस्तै उत्तर दिए। यसर्थ गिदोनले पन्‌एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।”

10 जेबह अनि सल्मुन्ना अनि तिनीहरूका सेनाहरू कर्कोर शहरमा थिए। तिनीहरूका सेनामा 15,000 सैनिकहरू थिए। यी सबै सेनाहरू पूर्वमा छोडीएका मानिसहरूका बाँकीरहेका सैनिकहरू थिए। त्यस सेनाका 1,20,000 स-शस्त्र सैनिकहरू मारिएका थिए। 11 गिदोन अनि तिनका मानिसहरूले पाल बासीका पथ प्रयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदोन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्रमण गरे। शत्रुका सेनाले आक्रमण हुन्छ भन्ने ठानेका थिएनन्। 12 जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे।

13 तब योआशको छोरा गिदोन युद्धबाट फर्के। गिदोन अनि तिनका मानिसहरू हेरेसको घाँटी भएर फर्किए। 14 गिदोनले सुक्कोत शहरमा एउटा जवान व्यक्तिलाई कब्जा गरे। गिदोनले त्यस जवान व्यक्तिसित केही प्रश्नहरू सोधे। त्यो जवान व्यक्तिले गिदोनका निम्ति केही नाउँहरू लेखिदिए। त्यो जवान व्यक्तिले सुक्कोत शहरका अगुवाहरू अनि बूढा-प्रधानहरूका नाउँहरू लेखिदिए। ती 77 जना मानिसका नाउँहरू दिए।

15 त्यसपछि गिदोन सुक्कोत शहरमा आए। तिनले त्यस शहरका मानिसहरूलाई भने, “जेबह अनि सल्मुन्ना यहाँछन्। तिमीहरूले, ‘तिम्रा थाकेका सैनिकहरूलाई किन हामीले खाना दिनु? तिमीले जेबह अनि सल्मुन्नालाई अझ पक्रेका छैनौ’ भनेर मेरो खिल्ली उडाएका थियौ।” 16 गिदोनले सुक्कोत शहरका बूढा-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरुभूमिका काँढा अनि काँढादार पोथ्राद्वारा पिटे। 17 गिदोनले पन्‌एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए।

लूका 23:13-43

येशूको प्राणान्त

(मत्ती 27:15-26; मर्कूस 15:6-15; यूहन्ना 18:39–19:16)

13 पिलातसले मुख्य पूजाहारीहरू र यहूदी शासकहरू लगायत सबै मानिसहरूलाई बोलाए। 14 पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उत्तेजित गराइरहेकोछ। तर मैलै तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषारोपणमा मैले उहाँमाथि कुनै दोष पाईंन। 15 त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्। 16 यसकारण, म उहाँलाई हलुका सजाय दिएर छोडिदिनेछु।” 17 [a]

18 तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।” 19 बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झयालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो।

20 पिलातसले येशूलाई मुक्त गर्न चाहान्थे। फेरि उनले येशूलाई छोडिदिने बारे तिनीहरूसँग कूरा गरे। 21 तर तिनीहरू चिच्याइरहे, “उसलाई क्रूसमा झुण्ड्याऊ, उसलाई क्रूसमा झुण्ड्याऊ।”

22 तेस्रोपल्ट पिलातसले मानिसहरूलाई भने, “किन उहाँले त्यस्तो के गल्ती गर्नु भएको छ? उहाँ दोषी हुनुहुन्न। उहाँलाई मार्नै पर्ने केही कारण भेट्टाइनँ। यसकारण सामान्य सजाय दिएर म उहाँलाई छोडिदिनेछु।”

23 तर येशूलाई क्रूसमा झुण्ड्याएर मार्नू पर्छ भन्ने विन्ती गर्दै मानिसहरू चिच्याइ रहे। 24 तिनीहरू यति साहो चिच्याए कि पिलातसले तिनीहरूको निवेदन पूरा गर्ने निर्णय लिए। 25 मानिसहरू बरब्बासलाई मुक्त गराउन चहान्थे। बरब्बासले मानिसहरूको हत्या गरेको र आतङक फैलाएको आरोपमा कैदमा परेको थियो। पिलातसले बरब्बासलाई मुक्त गिरदिए। तिनीहरूको इच्छा अनुसार जे गर्नु चाहन्थे त्यही गर्नु तिनीहरूलाई येशूलाई तिनले सुम्पिए।

येशूलाई क्रूसमा झुण्ड्याएर मारियो।

(मत्ती 27:32-44; मर्कूस 15:21-32; यूहन्ना 19:17-19)

26 सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर फर्किरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिँड्न बाध्य गराए।

27 धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुःखी भएर विलाप गरिरहेका थिए। 28 तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर! 29 समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।’ 30 त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, ‘हामीमाथि खस्!’ अनि पहाडलाई भन्नेछन्, ‘हामीलाई छोप!’(A) 31 जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?”

32 दुइजना अरू अपराधीहरूलाई पनि उहाँसँग मार्न अघि लगाइएको थियो। 33 येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।

34 येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।”

सिपाहीहरूले चिट्ठा उढाएर उनको लुगाहरू बाँडे। 35 मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैंलाई बचाउने काम गरोस्?”

36 सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए। 37 ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।” 38 क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”

39 एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”

40 तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ? हामी चाँडै मर्नेछौं। 41 तिमी र म अपराधी हौं हामीले मर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!” 42 त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”

43 तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँच्चो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!”

भजनसंग्रह 97-98

परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो।
    सबै सुदूरतिरका देशहरू खुशी हुन्छन्।
बाक्लो बादलहरूले परमप्रभुलाई घेरी राखेको छ।
    धर्म र न्यायले यस राज्यलाई बलियो बनाउँदछ।
परमप्रभुको सामुन्नेबाट एउटा आकाश जाँदछ,
    अनि उहाँका शत्रुहरूलाई नाश गर्दछ।
उहाँको बिजुली आकाशमा झलाक-झिलिक चम्किन्छ।
    मानिसहरू यसलाई देख्छन् र डराउँछन्।
परमप्रभुको, समक्ष पर्वतहरू मैन जस्तो पग्लन्छन्,
    सारा पृथ्वीका स्वामीको सामुन्ने।
हे आकाश, उहाँको धार्मिकताको बारे बताऊ।
    ताकि परमेश्वरको महिमा सारा मानिसहरूले देखुन्।

मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्।
    तिनीहरू आफ्ना “देवताहरूका” विषयमा घमण्ड गर्दछन्।
तर ती मानिसहरू लज्जित हुनेछन्।
    तिनीहरूका “देवताहरू” शिर झुकाएर परमप्रभुलाई उपासना गर्नेछन्।
हे सियोन, सुन अनि खुशी बन!
    हे यहूदाका शहरहरू, खुशी होऊ।
    किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।
सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ।
    तपाईं अन्य “देवताहरू” भन्दा धेरै असल हुनहुन्छ।
10 मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ।
    परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।
11 धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ।
12 धर्मी मानिसहरू, परमप्रभुमा खुशी होऊ।
    उहाँको पवित्र नाउँको आदर गर।

एउटा प्रशंसाको गीत।

परमप्रभु प्रति नयाँ गीत गाऊ
    किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
उहाँको पवित्र दाहिने पाखुराले
    उहाँलाई फेरि विजय तुल्यायो।
परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो।
    परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए।
    सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर।
    प्रशंसाको गीत गाउन प्रारम्भ गर!
परमप्रभुको प्रशंसा वीणा बजाएर गर।
    वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ।
तुरही र कर्णालहरू बजाऊ,
    अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर।
समुद्र र त्यहाँ भएका प्रत्येक कुराले,
    पृथ्वी र त्यसमा भएका प्रत्येक कुराले जोडले गाओस्।
हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार!
    पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं।
परमप्रभुको सम्मुख गाऔं!
    किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ।
उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ।
    उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।

हितोपदेश 14:7-8

मूर्खको संगतबाट तिमी सधैँ टाढा बस, किनभने उसको बचनबाट तिमीले केही बुद्धि पाउँदैनौ।

ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International