Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 11-12

उत्तरी शहरहरूलाई परास्त गरे

11 हासोरका राजा याबीनले जो भयो त्यस विषयमा सबै कुरा सुने। यसर्थ तिनले अनेक राजाहरूका सेनाहरूलाई साथ बोलाउने निश्चिय गरे। याबीनले मादोनका राजा, योबाब शिम्रोनका राजा, आक्षापका राजा, अनि उत्तरका पहाडी देश र मरुभूमिका राजाहरूलाई संन्देश पठाए। याबीनले किन्नरेत, नेगेव अनि पश्चिमी तराईका राजाहरूलाई संन्देश पठाए। याबीनले पश्चिमका नाफोत-दोरका राजालाई पनि सन्देश पठाए। याबीनले त्यो सन्देश पूर्वमा पनि पश्चिममा भएका कनानी राजाहरूलाई त्यो संन्देश पठाए। तिनले एमोरी, हित्ती, परिज्जी अनि पहाड देशमा बस्ने यबूसी मानिसहरूलाई पनि संन्देश पठाए। तिनले मिस्पा नजिकको हेर्मोन पर्वत मुनि बस्ने हिव्वी मानिसहरूलाई पनि संन्देश पठाए। यसकारण यी सबै राजाहरूका सेनाहरू साथ आए। त्यहाँ अनेक योद्धाहरू, अनि अनेक घोडा एवं रथहरू थिए। यो एक अत्यन्त विशाल सेना खचाखच देखिन्थ्यो कि त्यहाँ समुद्रको किनारमा भएका बालुवाका कणहरू जस्तै अनेक मानिसहरू थिए।

ती सबै राजाहरू इस्राएलको विरूद्धमा एक साथ जम्मा भए। तिनीहरू एक साथ आए अनि इस्राएलीसित युद्ध गर्न मेरोम नदी छेऊमा एक साथ छाउनी लगाए।

तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “त्यो सेनादलसित नडरा। भोलि यही समयमा तिमीहरूले तिनीहरूका घोडाहरूलाई लङ्गडा बनाइ सकेका हुनेछौ अनि तिनीहरूका सबै रथहरू जलाइसकेका हुनेछौ।”

यहोशू अनि तिनका सम्पूर्ण सेनाले शत्रुलाई उदेक बनाए। तिनीहरूले शत्रुलाई मेरोम नदीमा आक्रमण गरे। परमप्रभुले तिनीहरूलाई इस्राएलको निम्ति परास्त पारिदिनु भयो। इस्राएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्पा बेंसी सम्म खेदे। इस्राएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित नरहुन्जेल सम्म लडे। यहोशूले त्यही गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। यहोशूले तिनीहरूका घोडाका खुट्टाकाटि दिए र तिनीहरूका रथहरू जलाइदिए।

10 त्यसपछि यहोशू फर्किर अनि हासोर शहरलाई कब्जा गरे। यहोशूले हासोरका राजालाई मारिदिए। (हासोर ती सबै राज्यहरूका अगुवा थिए जो इस्राएल विरूद्ध लडे।) 11 इस्राएलका सेनाले त्यस शहरका प्रत्येक मानिसलाई मारिदिए। तिनीहरूले सबै मानिसहरूलाई पूर्णरूपले नष्ट गरिदिए। त्यहाँ कोही पनि जीवित छाडिएनन्। त्यसपछि तिनीहरूले शहर जलाइदिए।

12 यहोशूले यी सबै शहरहरूलाई अधीनमा लिए। तिनले तिनीहरूका सबै राजाहरूलाई मारिदिए। यहोशूले ती शहरहरूमा भएका हरेक चीजहरू पूर्णरूपले नष्ट गरिदिए। तिनले परमप्रभुका दास मोशाले आज्ञा दिए अनुसार यसो गरे। 13 तर इस्राएलका सेनाहरूले पर्वतहरूमाथि निर्माण भएका शहरहरू जलाएनन्। पर्वतमा निर्मित शहर हासोर तिनीहरूले जलाए। यो शहर यहोशूले जलाएको हो। 14 इस्राएलका मानिसहरूले शहरमा भेट्टाएका सबै चीजहरू आफ्नै निम्ति राखे। तिनीहरूले सबै पशुहरू राखे जो तिनीहरूले शहरमा पाएका थिए। तर तिनीहरूले त्यहाँका सबै मानिसहरूलाई मारे। तिनीहरूले कुनै पनि मानिसलाई जीवित रहन दिएनन्। 15 धेरै अघि परमप्रभुले उहाँका दास मोशालाई यसो गर्ने आज्ञा दिनु भएको थियो। तब मोशाले यहोशूलाई यो गर्न आज्ञादिए। यहोशूले ती सबै कुराहरू गरे जो परमप्रभुले मोशालाई भन्नु भएको थियो। कुनै आदेशहरूमा तिनी शिथिल भएनन्।

16 यसरी यहोशूले सम्पूर्ण देशमा अधिकार गरे। पहाडी देश नेगेव, गोशेनका सबै क्षेत्र, पश्चिमी तराईका क्षेत्र, यर्दन बेंसी अनि इस्राएलका पर्वतहरू र नजिकका सम्पूर्ण पर्वतलाई तिनले नियन्त्रणमा लिए। 17 सेइरको नजिकको हालाक पर्वत देखि हेर्मोन पर्वतमुनिको लबानोन बेंसीको बाल-गादसम्मका सबै भूमि यहोशूको अधिकारमा थियो। यहोशूले त्यस देशका सबै राजाहरूलाई समातेर मारिदिए। 18 यहोशू ती राजाहरूको विरूद्ध धेरै बर्ष लडे। 19 देश भरिमा एउटा शहरले मात्र इस्राएलसित शान्ति-सम्झौता गर्यो। त्यो हिव्वीहरूको शहर गिबोन थियो। अरू सबै शहरहरू युद्ध जितेर लिएका हुन। 20 परमप्रभुले चाहनु हुन्थ्यो कि ती मानिसहरूले सोचुन् कि तिनीहरू शक्तिशाली थिए। तब तिनीहरू इस्राएलको विरूद्ध लडाइँ गर्नेछन्। यस प्रकारले उहाँले तिनीहरूलाई बिना दया नष्ट गर्न सक्नु हुनेछ। उनले तिनीहरूलाई त्यस प्रकारले नष्ट गर्न सक्नेछन्, जुन प्रकारले परमप्रभुले मोशालाई गर्नु भनी आज्ञा दिनु भएको थियो।

21 अनाकी मानिसहरू हेब्रोन, दबीर, अनाब, यहूदा र इस्राएलका सारा पहाडी देशमा बस्थे। यहोशू तिनीहरू विरूद्ध लडे अनि ती सबै मानिसहरू र तिनीहरूका शहरहरूलाई पूर्ण रूपले नष्ट गरि दिए। 22 इस्राएलमा कुनै अनाकी मानिसलाई जीवित छाडिएन। अनाकी मानिसहरू जसलाई जीवित छाडिए ती गाजा, गात अनि अश्दोदभित्र थिए। 23 यहोशूले इस्राएलको सम्पूर्ण भूमिलाई परमप्रभुले मोशालाई धेरै अघि भन्नु भए कै तरीकामा आफ्नो अधिकारमा लिए। अनि यहोशूले इस्राएलका कुल समूहहरूमा ती भूमिहरू विभाजन गरे। आखिरमा, युद्ध अन्त भयो अनि त्यो भूमिमा शान्ति कायम भयो।

इस्राएलद्वारा परास्त गरिएका राजाहरू

12 इस्राएलका मानिसहरूले यर्दन नदीको पूर्वतर्फको भूमिमा अधिकार गरेका थिए। अर्नोनको बेंसी देखि हेर्मोन पर्वतसम्म अनि यर्दनको बेंसी तफर्का पूर्व तिरका सम्पूर्ण भूमि तिनीहरूका थिए। यो भूमि लिनका निम्ति इस्राएलका मानिसहरूले परास्त गरेका सबै राजाहरू यस प्रकार छन्;

तिनीहरूले हेशबोन शहरमा बस्ने एमोरी राजा सीहोनलाई परास्त गरे। तिनले अरोएर क्षेत्रदेखि अर्नोन कन्दराको बीच हुँदै अनि गिलादको आधा हुँदै यब्बोक कन्दरासम्म जुन चाँहि तिनीहरूको अमोरीहरूसित सीमाना थियो, शासन गर्थे। उसले यर्दन बेसीको पूर्व किन्नरेतको झील देखि लिएर खारा समुद्र अनि बेत्यशीमोतको दक्षिणतिर लिएर पिसगाको पहाडहरू सम्म राज्य गर्दथे।

तिनीहरूले बाशानका राजा ओगलाई पनि परास्त गरे। ओग रपाई मानिसहरूबाट थिए। तिनी अस्तारोत अनि एद्रई भूमिमा बस्थे। ओगले हेर्मोन पर्वत, सलका अनि बाशानका समूर्ण क्षेत्रमा शान गरे। तिनको भूमिको सीमाना त्यहाँ अन्त हुन्थ्यो जहाँ गशूर अनि माका ती मानिसहरू बस्दथे। ओगले गिलादका आधा भूमिमा पनि शासन गरे। यो भूमि हेश्बोनका राजा सीहोनको इलाकाको सीमानासम्म थियो।

परमप्रभुका दास मोशा अनि इस्राएलका मानिसहरूले यी सबै राजाहरूलाई परास्त गरे। अनि मोशाले त्यो भूमि रूबेनका कुल समूह, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहलाई दिए। मोशाले तिनीहरूलाई त्यो भूमि तिनीहरूको आफ्नै नाउँमा गरिदिए।

यहोशू अनि इस्राएलीहरूले यर्दन नदीको पश्चिमको भूमिहरूका राजाहरूलाई पराजित गरे। अनि यहोशूले यो मानिसहरूलाई दिए अनि यसलाई बाह्र कुल समूहमा विभाजित गरिदिए। यो भूमि उत्तरमा लेबनान बेंसीको बालगाल देखि दक्षिणमा पर्वत हालाकसम्म जुन (पूर्वतिर) सेईर (एदोम) तिर अघि बढ्दै विस्तारित थियो। यसमा पहाडी देश, पश्चिमी तराई, यर्दन बेंसी पूर्वी पर्वतहरू, मरुभूमि अनि नेगेब सम्मिलित थिए। यो भूमि त्यो थियो जहाँ हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी अनि यबूसी मानिसहरू बस्थे। यहाँ इस्राएलका मानिसहरूले परास्त गरेका राजाहरूको सूची छः

यरीहोका राजा

बेतेल नजीकका ऐका राजा

10 यरूशलेमका राजा

हेब्रोनका राजा

11 यमूर्तका राजा

लाकीशका राजा

12 एग्लोनका राज

गेजेरका राज

13 दबीरका राजा

गेदेरका राजा

14 होर्माका राज

आरादका राजा

15 लिब्नाका राजा

अद्रदुलामका राज

16 मक्केदाका राजा

बेतेलका राजा

17 तप्पूहका राज

हेपेरका राजा

18 अपेकका राजा

लश्शारोनका राजा

19 मादोनका राजा

हासोरका राजा

20 शिम्रोन-मोरनका राजा

अक्षापका राजा

21 तानाकका राजा

मगिद्दोका राजा

22 कादेशका राजा

कर्मेलको योक्रामका राजा

23 दोर पर्वतको दोरका राजा

गिलगालको गोयीमका राजा

24 तिर्साका राजा

राजाहरूको मोठ संख्या, 31

लूका 17:11-37

धन्यवादी बन

11 येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो। 12 उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए। 13 तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यू! दया गरी हामीलाई सहायता गर्नुहोस्।”

14 जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैंलाई देखाऊ।”

जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए। 15 जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो। 16 त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो। 17 येशूले भन्नुभयो, “दशजना मानिस निको भए, ठीक हो? अरू नौ जना कहाँ छन्? 18 के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?” 19 तब येशूले त्यसलाई भन्नुभयो, “उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”

परमेश्वरको राज्य तिमीभित्रै छ

(मत्ती 24:23-28,37-41)

20 कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?”

येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ। 21 मानिसहरूले भन्ने छन्, ‘हेर परमेश्वरको राज्य यहाँ छ!’ अथवा, ‘त्यहाँ छ!’ होइन, परमेश्वरको राज्य तिमी भित्रै छ।”

22 तब येशूले चेलाहरूलाई भन्नुभयो, “समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ। 23 मानिसहरूले तिमीहरूलाई भन्नेछन्, ‘हेर्, यो त्यहाँ छ!’ अथवा हेर, ‘यो यहाँ छ!’ जहाँ छौ तिमीहरू त्यहीं बस, टाडा नजाऊ अनि नखोज।

24 “तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अनन्त सम्म चम्कन्छ। 25 तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ।

26 “मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो। 27 नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पार्यो।

28 “यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए। 29 लूतले शहर छाड्ने समय सम्म मानिसहरू यी सब गरिरहेकै थिए। तब आकाशबाट आगो र गन्धक बर्स्यो अनि प्रत्येकलाई नष्ट पार्यो। 30 जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यस्तै हुनेछ।

31 “त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर फर्किनु पर्दैन। 32 विचार गर, लूतकी पत्नीलाई के भएको थियो।

33 “जुन मानिसले आफ्नो जीवन बचाउँन चाहान्छ उसले त्यो गुमाउनेछ। तर कसैले आफ्नो जीवन गुमाउँछ भने त्यसले त्यो बचाँउनेछ। 34 त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ। 35 दुइजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।” 36 [a]

37 चेलाहरूले येशूलाई भने, “यो कहाँ हुनेछ, प्रभु?”

येशूले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।”

भजनसंग्रह 84

प्रमुख संगीतकारलाई: गित्तित भन्ने रागमा कोरह परिवारहरूको एउटा भजन।

हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ।
हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस्न इच्छा गर्दछु।
    म एकदमै उत्तेजित छु।
मेरा प्रत्येक अंग शाश्वत परमेश्वरसँग लिप्त हुन चाहन्छन्।
हे सेनाहरूका परमप्रभु, मेरो राजा, मेरो परमेश्वर,
    चराहरू सम्मले तपाईंको मन्दिरभित्र आश्रय पाए।
तपाईंको वेदीको छेउमा आफ्नो गुँड बनाउँछन्
    अनि तिनीहरूले त्यहीं आफ्ना बच्चाहरू हुर्काउँछन्।
तपाईंको मन्दिरमा बस्ने ती मानिसहरू भाग्यमानी हुन्।
    तिनीहरूले तपाईंको प्रशंसा लगातार गरि रहेकाछन्।

मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी हर्षका गीतहरू लिएर आउँछन्,
    तिनीहरू धेरै खुशी छन्।
तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए,
    जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ।
    शरद ऋतुको बर्षाले ताल बनिन्छ।
ती मानिसहरू सियोन आउने शहरदेखि शहर भ्रमण गर्दै आए
    जहाँ तिनीहरूले परमेश्वरलाई भेट्ने छन्।

हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्
    हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्।

हे परमेश्वर, हाम्रो रक्षक[a] को रक्षा गर्नुहोस्,
    तपाईंका अभिषिक्त राजा[b] प्रति कृपालु हुनु होस्।
10 हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन
    अरू ठाउँका हजार दिनभन्दा उत्तम छ।
दुष्टहरूका घरमा बस्नुभन्दा
    बरू मेरा परमेश्वरका मन्दिरको द्वारपाले हुनलाई मलाई मन पर्छ।
11 परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ,
    परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ।
जसले परमप्रभुको अनुशरण र आज्ञा पालन गर्दछ।
    उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
12 हे सेनाहरूका परमप्रभु,
    मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।

हितोपदेश 13:5-6

धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन् तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।

इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International