Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 13-14

शिमशोनको जन्म

13 इस्राएलीहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसर्थ परमप्रभुले पलिश्तीहरूलाई चालीस बर्षसम्म तिनीहरूमाथि शासन गर्न दिनुभयो।

सोरा शहरमा एक मानिस थिए। त्यो मानिसको नाउँ मानोह थियो। तिनी दानको कुल समूहका थिए। मानोहकी एकजना पत्नी थिइन्। तर तिनीहरूको कुनै नानी जन्मिएका थिएनन्। परमप्रभुका दूतले मानोहको पत्नीलाई दर्शन दिनुभयो। तिनले भने, “तिमी नानीहरू जन्माउन सक्षम भएकी छैनौ। तर तिमी गर्भवती हुने छौ अनि एउटा छोरालाई जन्म दिनेछौ। कुनै दाखरस वा अरू कुनै कडा पिउने पदार्थ नपिउनु। कुनै भोजन नगर्नु जो अशुद्ध छ। किनभने तिमी गर्भवती छौ र तिमीले छोरा जन्माउनेछ्यौ। जन्मेको समय देखि नै उसलाई परमप्रभुको निम्ति विशेष समर्पण गरिनेछ। ऊ एउटा नाजिरी हुनेछ। यसकारण तिमीहरूले कहिले पनि उसको कपाल काटिदिनु हुँदैन। उसले इस्राएलका मानिसहरूलाई पलिश्ती मानिसहरूको शक्तिबाट बचाउँन शुरू गर्नेछ।”

त्यसपछि ती स्त्री आफ्ना पतिकहाँ गइन् अनि घटेका कुरा उसलाई भनिन्। तिनले भनी, “परमेश्वरबाट एउटा व्यक्ति म कहाँ आए। ती परमेश्वरको दूत जस्तै देखिन्थ्यो। उसले मलाई भयभीत तुल्यायो। त्यो कहाँबाट आएको थियो त्यो मैले सोधें। उसले मलाई आफ्नो नाउँ भनेन। तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ र एउटा छोरा जन्माउनेछ्यौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।’”

तब मानोहले परमप्रभुलाई प्रार्थना गरे। तिनले भने, “परमप्रभु म बिन्ती गर्छु तपाईंले पठाउनुभएको मानिसलाई फेरि हामीकहाँ पठाइ दिनुहोस्। हामी चाहन्छौं कि अब चाँडै जन्मने छोराको निम्ति हामीले के गर्नु पर्ने उसले हामीलाई सिकाऊन्।”

मानोहको प्रार्थना परमेश्वरले सुन्नुभयो। परमेश्वरका दूत फेरि त्यस स्त्री कहाँ आए। तिनी एक खेतमा बसिरहेकी थिइन् अनि तिनका पति मानोह तिनीसित थिएनन्। 10 यसर्थ त्यस स्त्री आफ्ना पतिलाई भन्न दगुरिन्, “त्यो मानिस फेरि आयो! जो यहाँ अघिल्लो दिन म कहाँ आएको थियो।”

11 मानोह उठे अनि आफ्नी पत्नीको पीछा गरे। जब तिनी त्यो मानिस भएकहाँ आए, तिनले भने, “मेरी पत्नीसित कुरा गर्ने मानिस तपाईं नै हुनुहुन्छ?”

स्वर्गदूतले भने, “म नै हुँ।”

12 यसर्थ मानोहले भने, “मलाई आशा छ कि तपाईंले जे भन्नुभयो त्यो सत्य हुनेछ। मलाई भन्नुहोस् केटोले कस्तो प्रकारको जीवन जीउनु पर्छ? उसले के गर्नुपर्छ?”

13 परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिम्री पत्नीलाई भनेका हरेक कुरा गर्नुपर्छ। 14 दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कडा पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।”

15 तब मानोहले परमप्रभुका दूतलाई भने, “हामी, तपाईं यहाँ एक क्षण बस्नु भएको चाहन्छौं। हामी तपाईंलाई भोजन गराउनका निम्ति एउटा बाख्राको पाठो पकाउन चाहन्छौं।”

16 परमप्रभुका दूतले मानोहलाई भने, “मलाई जानबाट तिमीले रोके पनि म तिम्रो भोजन लिने छैन। तर तिमी केही तयार गर्न चाहन्छौ भने परमप्रभुलाई एक होमबलि अर्पण गर।” (मानोहले त्यो व्यक्ति वास्तवमा परमप्रभुका स्वर्गदूत हुन भनी बुझेनन्।)

17 तब मानोहले परमप्रभुको दूतलाई सोधे, “तपाईंको नाउँ के हो? हामी जान्न चाहन्छौ। जसमा कि तपाईंले भन्नु भएका कुराहरू जब साँच्चै नै घट्छन् तब हामी तपाईंलाई सम्मान गर्न सकौं।”

18 परमप्रभुका दूतले भने, “तिमी किन मेरो नाउँ सोध्छौ? यो यति आश्चर्यजनक छ कि तिमी विश्वास गर्न सक्तैनौ।”

19 तब मानोहले एक चट्टानमा एउटा बाख्राको पाठो बलिदान चढाए। उसले बाख्राको बलि चढाए र अन्न बलि परमप्रभुलाई अर्पण गरे जसले आश्चर्यजनक कुराहरू गर्नु हुन्छ। 20 मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरि रहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठ्दै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो।

जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँइतिर पारेर शिर झुकाए। 21 मानोहले आखिरमा त्यस व्यक्ति परमप्रभुका स्वर्गदूत थिए भनी बुझे। परमप्रभुका स्वर्गदूत फेरि मानोहसित देखा पर्नु भएन। 22 मानोहले आफ्नी पत्नीलाई भने, “हामीले परमेश्वरको दर्शन गर्यौं। यसले गर्दा निश्चयनै हाम्रो मृत्यु हुनेछ।”

23 तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।”

24 यसरी त्यस स्त्रीको एउटा छोरो जन्मियो। तिनले उसको नाउँ शिमशोन राखिन्। शिमशोन हुर्किए अनि परमप्रभुले तिनलाई आशिष दिनुभयो। 25 जब शिमशोन महनेह दान शहरमा बसिरहेका थिए तब परमप्रभुको आत्माले शिमशोन माथि कार्य गर्न शुरू गर्यो। त्यो शहर सोरा अनि एश्तोल शहरहरूको माझमा पर्छ।

शिमशोनको विवाह

14 शिमशोन तिम्ना शहर तिर झरे। तिनले त्यहाँ एउटी पलिश्ती स्त्रीलाई देखे। जब तिनी फर्केर घर पुगे उसले उसका बाबु अनि आमालाई भने, “मैले तिम्नामा एउटी पलिश्ती स्त्रीलाई देखें। तपाईंहरूले मेरो निम्ति त्यसलाई ल्याइदिनु भएको म चाहन्छु।”

तिनका बाबु आमाले भने, “तर निश्चयनै इस्राएलका कुटुम्बमा एउटी केटी होली जसलाई तैंले विवाह गर्न सक्छस्। के तैंले पलिश्ती मानिसहरूकी कन्यालाई विवाह गर्नु पर्छ? ती मानिसहरूको खतना भएको छैन।”

तर शिमशोनले भने, “मलाई त्यही केटी ल्याई दिनुहोस्। मैले चाहेको त्यही मात्र हो।” शिमशोनका बाबु-आमालाई यो थाहा थिएन कि परमप्रभुले यस्तो गराउन चाहनु भएको हो। परमप्रभुले पलिश्ती मानिसहरूको विरूद्ध केही घटनाहरू घटाउनलाई उपाय गरिरहनु भएको थियो। पलिश्ती मानिसहरूले त्यस समय इस्राएलका मानिसहरू माथि शासन चलाइरहेका थिए।

शिमशोन उसको बाबु-आमा सँगै तल तिम्नामा गए। तिनीहरू शहर बाहिरको दाखबारीमा आए, त्यस ठाउँमा एउटा जवान सिंह गर्जियो अनि शिमशोनतिर झम्ट्यो। शिमशोनको शरीरमा भयंङ्कर शक्तिसित परमप्रभुको आत्मा आउनुभयो। उसले आफ्ना खाली हातले सिंहलाई टुक्रा-टुक्रा पारिदिए। यो उसलाई सजिलो लाग्यो। यो एउटा बाख्राको पाठालाई टुक्रा पारे जतिकै सजिलो थियो। तर शिमशोनले जे गरे त्यो उसले बाबु-आमालाई भनेनन्।

यसर्थ शिमशोन शहर तिर झरे ती पलिश्ती केटीसित कुरा गरे। तिनले उसलाई खुशी तुल्याइन्। धेरै दिनपछि त्यस पलिश्ती केटीसित बिवाह गर्न शिमशोन फर्केर आए। उनी बाटोमा त्यो मरेको सिंहलाई हेर्न गए। उसले मरेको सिंहको शरीरमा मौरीका गोला भेट्टाए। तिनीहरूले केही मह बनाएका थिए। शिमशोनले केही मह आफ्ना हातले उठाए। तिनी मह खाँदै हिंडे। जब तिनी आफ्ना बाबु-आमा कहाँ आए उसले उनीहरूलाई केही मह दिए। उनीहरूले पनि त्यो खाए। तर शिमशोनले आफ्ना बाबु-आमालाई त्यो मह मरेको सिंहको शरीरबाट लिएको भनी भनेनन्।

10 शिमशोनका बाबु ती पलिश्ती केटीलाई हेर्न झरे। दुलहाहरूको दस्तूर अनुसार भोज दिनु आवश्यक थियो। यसर्थ शिमशोनले त्यहाँ एउटा भोज दिए। 11 जब तिनले भोज दिंदैछन् भन्ने पलिश्ती मानिसहरूले देखे तब तिनीहरूले ऊनीसित रहन तीस जना मानिसहरूलाई पठाए।

12 तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्न चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियौ भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु। 13 तर तिमीहरूले उत्तर पाएनौ भने मलाई तीसवटा कमेज अनि तीस जोर लाउने लुगाहरू दिनुपर्छ।” यसकारण ती तीस जन मानिसहरूले भने, “तिमीले हामीलाई अड्को भन, हामी सुन्न चहन्छौं।”

14 शिमशोनले तिनीहरूलाई अड्को सुनाएः

“खानेबाट केही खानेकुरा निस्क्यो।
    बलवानबाट केही गुलियो कुरा निस्कयो।”

ती 30 जना मानिसहरूले तीन दिनसम्म उत्तर खोज्ने कोशिश गरे तर सकेनन्।

15 चौथो दिन ती मानिसहरू शिमशोनकी पत्नीकहाँ आए। तिनीहरूले भने, “के तिमीले हामीहरूलाई कङ्गल तुल्याउनका निम्ति यहाँ निमन्त्रणा गरेकी? तिमीले हाम्रो निम्ति तिम्रो पतिलाई छलेर त्यो अड्कोको उत्तर भन्न लाउनुपर्छ। यदि हाम्रो निम्ति तिमीले उत्तर ल्याईनौ भने हामी तिमीलाई अनि तिम्रा पिताका घरका सबै मानिसहरूलाई जलाएर मार्नेछौं।”

16 यसर्थ शिमशोनकी पत्नी उसकहाँ गइन् अनि रून थालिन्। तिनले भनिन्, “तिमीले मलाई घृणा गर्छौ। तिमीले वास्तवमा मलाई प्रेम गर्दैनौ। तिमीले मेरो मानिसहरूलाई एउटा अड्को भन्यौ अनि तिमीले मलाई त्यसको उत्तर भन्दैनौ।” तर शिमशोनले तिनलाई भने, “मैले मेरो बाबु-आमालाई पनि भनेको छैन। के मैले तिमीलाई भन्नु?”

17 शिमशोनकी पत्नी भोजको सातौं दिन अर्थात अन्तिम दिनसम्म रोइरहिन्। यसर्थ आखिरमा उसले तिनलाई सातौं दिनमा अड्कोको उत्तर बताई दिए। किनभने उसले तिनलाई दिकदारी बनाईरहेकी थिईन्। त्यसपछि तिनले आफ्ना मानिसहरूकहाँ गइन् अनि तिनीहरूलाई अड्कोको उत्तर भनिदिइन्।

18 यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने,

“महभन्दा गुलियो के हुन्छ?
सिंहभन्दा बलियो को हुन्छ?”

तब शिमशोनले तिनीहरूलाई भने,

“यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए
    तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”

19 शिमशोन अत्यन्त क्रोधित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर झरे। त्यस शहरमा उसले तीस जना पलिश्ती मानिसहरूलाई मारिदिए। त्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काइ ल्याए अनि ती मानिसहरूलाई दिए जसले उसको अड्को को उत्तर दिएका थिए। त्यसपछि तिनी आफ्ना पिताको घरमा गए। 20 शिमशोनले उसकी नयाँ दुलहीलाई आफूसँग लगेनन्। विवाहको लोकन्तेले तिनलाई राखे।

यूहन्ना 1:29-51

येशू, परमेश्वरका थुमा

29 अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ। 30 त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। ‘एकजना पुरुष मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान् हुनुहुन्छ किनभने उहाँ मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।’ 31 उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बप्तिस्मा दिदै आँए ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।”

32-34 तब यूहन्नाले भने, “ख्रीष्ट को थिए भनेर पनि जान्दिन थिएँ। तर परमेश्वरले मलाई पानीले मानिसहरूलाई बप्तिस्मा दिन पठाउनु भएको हो। अनि परमेश्वरले मलाई भन्नुभयो, ‘तिमीले आत्मा ओर्लिदै एक जना मानिसमाथि बसेको देख्नेछौ। त्यही मानिसले पवित्र आत्माद्वारा बप्तिस्मा दिनेछन्।’” यूहन्नाले भने, “मैले यो सबै भइरहेको देखेकोछु। मैले स्वर्गबाट आत्मा ओर्लँदै गरेको देखें। मैले पवित्र आत्मालाई ढुक्कुर जस्तै देखें अनि उहाँमाथि बसेको देखें। मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”

येशूका प्रथम चेलाहरू

35 अर्को दिन फेरि यूहन्ना त्यहाँ उपस्थित थिए। उनिसँग उहाँका दुइजना चेलाहरू थिए। 36 यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”

37 यूहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे। 38 येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?”

ती दुइजनाले भने, “रब्बी, तपाँईं कहाँ बस्नुहुन्छ?”

39 येशूले उत्तर दिनुभयो, “मसँग आओ अनि तिमीहरूले देख्नेछौ।” तब ती दुइजना येशूसँग गए। तिनीहरूले येशू बस्नु भएको ठाउँ देखे। त्यस दिन येशूसँगै तिनीहरू वास बसे। त्यसबेला चार बजी सकेको थियो।

40 यूहन्नाबाट येशूको विषयमा जाने पछि तिनीहरू येशूकै पछि लागे। ती दुइजना मध्ये एकजनाको नाउँ अन्द्रियास थियो। तिनी शिमोन पत्रुसका भाइ थिए। 41 पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं।”

42 तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यूहन्नाको छोरो शिमोन हौ। तिमीलाई केफास[a] भनिने छ।”

43 अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेट्नुभयो र भन्नुभयो “मलाई पछ्याउ।” 44 अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए। 45 फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”

46 तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?”

फिलिपले उत्तर दिए, “आएर हेर।”

47 येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”

48 नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिन्नुहुन्छ?”

येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसँग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखें।”

49 तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”

50 येशूले नथानेललाई भन्नुभयो, “तिमी यसकारण विश्वास गर्दैछौ कि मैले तिमीलाई नेभारको रूखमनि देखेको थिएँ भनेर? तिमीले यो भन्दा महान चीज देख्नेछौ।” 51 तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उघ्रिएको देख्नेछौ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देख्नेछौं।’”

भजनसंग्रह 102

पीडित मानिसको भजन। ऊ पीडित भएर, परमप्रभुलाई दुःख पोख्छ।

हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्।
    सहायताकोलागि रोएको क्रन्दन सुनिदिनु होस्।
परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्।
जब म सङ्कटहरूमा झेलिएको हुन्छु, मप्रति ध्यान दिनुहोस्।
    जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु,
    मलाई झट्टै जवाफ दिनुहोस्।
मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ।
    मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।
मेरो शक्ति क्षीण हुँदै गईसक्यो
    म सुख्खा, ओइलिँदै गई रहेको घाँस जस्तै छु।
    मैले खान समेत भूली सकेको छु।
आफ्नो उदासीनताको कारणले गर्दा,
    मेरो ओजन घटिरहेछ।
म मरुभूमिमा बसिरहेको लाटकोसेरो जस्तो एक्लो छु।
    भवनहरूको भग्नावशेषमा बस्ने एक्लो लाटकोसेरो जस्तै छु।
म सुत्न सक्दिनँ।
    म छानामा भएको एउटा एक्लो चरो जस्तो छु।
मेरा शत्रुहरूले मलाई लगातार अपमान गर्छन्।
    तिनीहरूले मलाई खिसी गरे अनि सरापे।
मेरो ठूलो उदासीनता खाली मेरो भोजन हो।
    मेरो आँसु मेरो पिउने बस्तु हो।
10 किनभने तपाईं ममाथि क्रोधित हुनुहुन्छ,
    परमप्रभु, तपाईंले मलाई उठाउनु भयो अनि त्यसपछि मलाई फ्याँकी दिनुभयो।

11 दिनको अन्तिम प्रहरमा लामो छायाँहरू जस्तो मेरो जीवन प्रायः सुकिसक्यो।
    म सुख्खा र ओइलिएको घाँस सरह मर्दै जाँदैछु।
12 तर परमप्रभु, तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
    तपाईंको नाउँ सदा-सर्वदा र अनन्त सम्म रहनेछ।
13 तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ।
    तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।
14 तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ,
    तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्।
15 मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्।
    परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्।
16 परमप्रभुले फेरि सियोन बनाउँनु हुनेछ।
    मानिसहरूले फेरि उहाँको महिमा देख्नेछन्।
17 परमेश्वरले जिउँदै छाड्नु भएका मानिसहरूको प्रार्थनाहरूको जवाफ दिनुहुनेछ।
    परमेश्वरले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ।
18 यी कुराहरू आउने भविष्यका सन्तानहरूको निम्ति लेख
    अनि भविष्यमा, ती मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन्।
19 परमप्रभुले आफ्ना पवित्र स्थानबाट तलतिर हेर्नुहुनेछ।
    परमप्रभुले स्वर्गबाट तल पृथ्वीमा हेर्नुहुनेछ।
20 अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ।
    उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।
21 तब सियोनका मानिसहरूले परमप्रभुको बारेमा भन्नेछन्।
    तिनीहरूले उहाँको नाउँलाई यरूशलेममा प्रशंसा गर्नेछन्।
22 जातिहरू परस्परमा भेला हुनेछन्।
    राज्यहरू परमप्रभुको सेवा गर्नलाई आउने छन्।

23 मेरो बलले मलाई नै असफल तुल्यायो।
    मेरो जीवन छोटो भएर घट्‌यो।
24 यसकारण मैले भने, “मलाई ठिटौली बेलामा नै मर्न नदिनुहोस्।
    परमेश्वर तपाईं सदा-सर्वदा बाँच्नु हुनेछ।
25 धेरै बर्ष पहिले, तपाईंले यो संसार बनाउनु भयो।
    तपाईंले आफ्नै हातद्वारा यो आकाश बनाउनु भयो।
26 संसार र यो आकाश समाप्त होला तर तपाईं सर्वदा रहनु हुनेछ।
    तिनीहरूले लुगाहरू खोले जस्तै गर्नेछन्,
अनि लुगाहरू जस्तै, तपाईं तिनीहरूलाई परिवर्तन गर्नुहुनेछ।
    तिनीहरू सबै परिवर्तन हुनेछन्।
27 तर तपाईं परमेश्वर, कहिल्यै बद्लिनु हुन्न।
    तपाईं सदा-सर्वदा जीवित रहनु हुन्छ।
28 हामी आज तपाईंका दासहरू हौं।
हाम्रा नानीहरू यहाँ छन्।
    अनि तिनीहरूका सन्तानहरू पनि यहाँ तपाईंको उपासना गर्नेहरू हुनेछन्।”

हितोपदेश 14:15-16

15 एकजना अनुभवरहित मानिसले आफूले सुनेको प्रत्येक कुरामा विश्वास गर्छ, तर एकजना ज्ञानी मानिसले उसले टेकेको प्रत्येक पाइलाको राम्ररी विचार गर्छ।

16 एकजना ज्ञानी मानिस सतर्क रहन्छ अनि दुःखहरूबाट तर्कन्छ, तर एकजना मूर्ख विश्वासको साथ यसै दुःखतिर अघि बढ्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International