Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 19-20

शिमियोनका निम्ति भूमि

19 तब यहोशूले शिमोन कुल समूहका सबै वंशहरूलाई तिनीहरूका भूमिका भाग प्रदान गरे। तिनीहरूले प्राप्त गरेको भूमि त्यो इलाका भित्र थियो जो यहूदाका थियो। तिनीहरूले जो प्राप्त गरे ती यी हुन्ः बेर्शेबा (शेबा पनि भनिन्छ।), मोलादा, हजर्शूआल, बाला, एसेम, एल्तोलाद, बतूल, होर्मा, सिकलग, बेत्मर्काबोत, हसर्सूसा, बेत्लबाओत अनि शारूहेन। त्यसमा तेह्र शहरहरू अनि ती वरिपरिका समस्त खेतहरू थिए।

तिनीहरूले ऐन, रिम्मोन, एतेर, अनि आशान शहरहरू पनि प्राप्त गरे। त्यसमा चार शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए। तिनीहरूले शहरहरू वरिपरिका बालात-बेअर सम्मका सबै खेतहरू पनि पाए। यसरी त्यो क्षेत्र थियो जो शिमोनको कुल समूहलाई प्रदान गरिएको थियो। प्रत्येक कुलले आफ्ना भूमि प्राप्त गरे। शिमोनको भागको भूमि यहूदाले प्राप्त गरेको इलाका भित्र थियो। यहूदाका मानिसहरूको भूमि तिनीहरूलाई चाहिएको भन्दा ज्यादा थियो। यसर्थ शिमोनका मानिसहरूले तिनीहरूको भूमिको अंश प्राप्त गरे।

जबलूनका निम्ति भूमि

10 तेस्रो कुल समूहको आफ्ना जमीन प्राप्त गर्ने जबूलूनहरू थिए। जबूलूनका प्रत्येक कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि प्राप्त गरे। जबूलूनको भूमिको सीमाना सारीदसम्म रहेको थियो। 11 त्यसपछि त्यो सीमाना पश्चिम तर्फ मरलासम्म फैलिएर ठीक दब्बेशेतलाई भेट्न पुगेको थियो। त्यसपछि त्यो सीमाना योक्नाम नजिकको साँधुरो गल्छी भएर गएको थियो। 12 त्यसपछि त्यो सीमाना सारीदको पूर्वबाट घुमेर किस्लोत्ताबोर सम्म पुग्यो। सीमाना दाबरत देखि फैलिएर यापी सम्म पुग्यो। 13 त्यसपछि त्यो सीमाना पूर्वतिर गथेपेर अनि इथकासीन तिर फैलिएको थियो। त्यो सीमाना रिम्मोनमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना घुमेर नेआतर्फ गएको थियो। 14 नेआदेखि त्यो सीमाना घुमेर उत्तरमा हन्नतोन अनि त्यसपछि इफथहेलको बेंसीसम्म फैलिएरको थियो। 15 यो सीमाना भित्र काथाथ, नहलल, शीम्रोन, इदलाह अनि बेतलेहेम शहरहरू थिए। त्यहाँ जम्मा बाह्र शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

16 यसरी, यी शहरहरू अनि ती वरिपरिका खेतहरू जबूलूनलाई दिए। जबूलूनका प्रत्येक कुलले भूमिका आफ्ना अंश प्राप्त गरे।

इस्साकारका निम्ति भूमि

17 भूमिको चौथो अंश इस्साकारको कुल समूहलाई प्रदान गर्यो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्नो हिस्सा प्राप्त गरे। 18 त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम, 19 हपरैम, शीओन, अनाहारत, 20 रब्बीत, किश्योन, एबेस, 21 रेमेत, एन्गन्नीम, एन्हद्दा अनि बेतपसेस।

22 तिनीहरूको सीमानाले ताबोर, शहसूमा अनि बेत्शेमेशसम्म गएको थियो। त्यो सीमाना यर्दननदीमा टुङ्गिएको थियो। त्यसमा जम्मा सोह्र शहरहरू र ती वरिपरिका खेतहरू थिए। 23 यी शहरहरू त्यो भूमिका अंश थिए जो इस्साकारको कुल समूहलाई दिएको थियो। प्रत्येक वंशले भूमिको आफ्नो भाग पाए।

आशेरका निम्ति भूमि

24 भूमिको पाँचौं भाग आशेरको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिको आफ्ना भाग पाए। 25 त्यस कुल समूहलाई दिएको भूमि यो होः हेलकत, हली, बेतेन, अक्क्षाप, 26 अल्लम्मेलेक, अमाद अनि मिशाल।

यसको पश्चिमी सीमाना कर्मेल पर्वत अनि शीहोर्लिब्नातसम्म फैलिएको थियो। 27 त्यसपछि सीमाना पूर्व तर्फ घुम्यो र बेत्दागोनसम्म पुगेको थियो। त्यो सीमानाले जबूलून अनि यिप्तहेलको बेंसीलाई भेट्टाएको थियो। त्यसपछि त्यो सीमाना बेतेमेक अनि नीएलको उत्तर तर्फ गएको थियो। त्यो सीमानाले काबूलको उत्तर पार गर्यो। 28 त्यसपछि त्यो सीमाना एब्रोन, रहोब, हम्मोन अनि कानातर्फ फैलिएको थियो। त्यो सीमाना महा-सीदोन तर्फ लगातार फैलिएको थियो। 29 त्यसपछि त्यो सीमाना दक्षिणमा रामा तिर फर्केको थियो। त्यो सीमाना टायरको सुदृढ शहर तर्फ लगातार फैलिएर गएको थियो। त्यसपछि त्यो सीमाना घुमेर होसातिर गएको थियो। त्यो सीमाना अक्जीब, 30 उम्मा, अपेक अनि रहोब नजिकको समुद्रमा टुङ्गिएको थियो।

सबजम्मा त्यसमा बाइस शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। 31 ती शहर अनि ती वरिपरिका खेतहरू आशेरको कुल समूहलाई प्रदान गरिएका थिए। त्यस कुल समूहका प्रत्येकले भूमिको आफ्ना-आफ्ना हिस्सा प्राप्त गरे।

नप्तालीका निम्ति भूमि

32 भूमिको छैटौं भाग नप्तालीको कुल समूहलाई दिइयो। त्यस कुल समूहका प्रत्येक वंशले भूमिका आफ्ना भाग पाए। 33 तिनीहरूको भूमिको सीमाना सानन्नीम नजिकको विशाल बृक्षदेखि शुरूभएको थियो। यो हेलेपको नजिकै छ। त्यसपछि त्यो सीमाना अदामीनेकेब अनि यब्नेल भएर गएको थियो। त्यो सीमाना लक्फूम तर्फ लगातार फैलिएर यर्दन नदीमा टुङ्गिएको थियो। 34 तब त्यो सीमाना अजमोत्ताबोर हुँदै पश्चिम तर्फ फर्क्यो। त्यसपछि त्यो जबूलूनको दक्षिणी किनारा हुँदै हुक्कोक पुग्यो अश्शेरको पश्चिमी किनारा अनि त्यसपट्टि यर्दन नदीको पूर्वपछि छोयो 35 यी सीमानाहरू भित्र केही सुदृढ शहरहरू थिए। ती शहरहरू सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत, 36 अदामा, रामा, हासोर, 37 केदेश, एद्रेई, एन्हसोर, 38 यिरोन, मिग्दलेल, होरेम, बेतनात अनि बेत्शेमेश। जम्मा त्यसमा उन्नाईस शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

39 यी शहरहरू अनि ती वरिपरिका खेतहरू नप्तालीका कुल समूहलाई दिए। त्यस कुल समूहका प्रत्येकले आफ्ना भूमि प्राप्त गरे।

दानका निम्ति भूमि

40 त्यसपछि दान सातौं कुल समूह थियो जसलाई भूमि दिइयो। 41 यो त्यो भूमि हो जो तिनीहरूलाई दिएको थियोः सोरा, एश्ताओल, इशेमेस, 42 शाललबीन, अय्यालोन, इत्ला, 43 एलोन, तिम्ना, एक्रोन, 44 एल्तके, गिब्बतनो, बालात, 45 यहूद, बनेबरक, गत्रिमोन, 46 मेयरकोन, रकोन जोपाको अनि नजिकका इलाका।

47 तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो। 48 यी समस्त शहर अनि ती वरिपरिका खेतहरू दानका कुल समूहलाई दिइयो। प्रत्येकले भूमिको आफ्नो भाग पाए।

यहोशूका निम्ति भूमि

49 यसरी अगुवाहरूले भूमि विभाजन गर्ने अनि विभिन्न कुल समूहलाई ती प्रदान गरिने कार्य पूर्ण गरे। तिनीहरूले कार्य समाप्त गरिसके पछि इस्राएलका समस्त मानिसहरूले नूनका छोरा यहोशूलाई पनि केही भूमि प्रदान गर्ने निश्चय गरे। तिनलाई प्रतिज्ञा गरिएको भूमि यो थियो। 50 तिनले यो भूमि प्राप्त गरून् भनी परमप्रभुले आज्ञा दिनु भएको थियो। यसर्थ यहोशूलाई तिनीहरूले एप्रैमको पार्वत्य देशको तिम्नथसेरह शहर प्रदान गरे। यो त्यही शहर थियो जो तिनलाई चाहिन्छ भनी यहोशूले तिनीहरूलाई भनेका थिए। यसर्थ यहोशूले त्यो शहरलाई दृढ तुल्याए अनि त्यहाँ बसे।

51 यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।

शरण शहरहरू

20 तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “मैले तिमीहरूलाई निर्देश दिन मैले मोशालाई आज्ञा गरे झैं सुरक्षाका विशेष शहरहरू निर्माण गर्न इस्राएलीहरूलाई भन। इस्राएलीहरूलाई शरण स्थानको विशेष शहरहरू नियुक्त गर्नु भन। यदि कुनै मानिसले अर्को मानिसलाई मार्छ, तर त्यो अन्जानमा हो अनि उसले त्यस मानिसलाई मार्न चाहेको होइन भने उसलाई मार्न चाहने उसका आफान्तहरूबाट लुक्नका निम्ति त्यो शरण शहरमा जान सक्छ।

“त्यस मानिसले जे गर्नुपर्छ त्यो यो होः जब त्यो भागेर ती शहरहरू मध्ये एउटामा जान्छ। त्यो त्यस शहरको प्रवेश द्वारमा रोकिएर उभिनु पर्छ अनि मानिसहरूका अगुवाहरूलाई भन्नु पर्छ के भएको थियो। तब अगुवाहरूले त्यसलाई शहरमा प्रवेश गर्न दिने छन्। त्यसलाई तिनीहरूसँगै बस्न दिऊन्। तर त्यस मानिसलाई खेद्‌दै आउने मानिस शहरमा पछ्याउँदै आउन सक्नेछ। यदि यस्तो भयो भने शहरका अगुवाहरूले उसलाई छोड्नु हुँदैन। तिनीहरूले त्यस मानिसको रक्षा गर्नुपर्छ जो तिनीहरू कहाँ सुरक्षाको निम्ति आएकोछ किनभने त्यसले एउटा मानिसलाई अन्जानमा मारेको थियो। उ क्रोधित भएको थिएन, अनि त्यस मानिसलाई मार्ने योजना गरेको थिएन। त्यो मानिसलाई त्यस शहरको न्यायलयले त्यसको न्याय नगरे सम्म त्यस शहरमा बस्नु पर्नेछ। अनि प्रधान पूजाहारीको मृत्यु नहुन्जेल त्यो त्यस शहरमा बस्नु पर्नेछ। त्यसपछि त्यो आफ्नै घर भएको शहरमा फर्की जानसक्नेछ, जहाँबाट त्यो व्यक्ति भागेको थियो।”

यसर्थ इस्राएलका मानिसहरूले “शरणस्थान-शहरहरू” घोषणा गर्नको निम्ति केही शहरहरू चुने। ती शहरहरू थिएः गालीलमा नप्तालीको पहाडी देश कादेश एप्रैमको पहाडी देश शकेममा। यहूदाको पहाडी देशमा किर्यतर्बा (हेब्रोन)। रूबेनको भूमिको मरुभूमि इलाकाको यरीहोदेखि यर्दन नदी पारी पूर्वको बेसेर, गादको भूमि गिलादको रामोत, मनश्शेका भूमिमा बाशानको गोलान।

कुनै इस्राएली वा कुनै विदेशी तिनीहरूमाझ बस्ने जसले अन्जानमा कसैलाई मारेका थिए, उनीहरूलाई सुरक्षाका ती शहरहरू मध्ये एउटामा भागेर जान दिइन्थ्यो। तब त्यो मानिस त्यहाँ सुरक्षित हुनसक्थिएन अनि कसैद्वारा, जसले त्यसलाई खेदिरहेथ्यो, त्यसलाई मारिदिन्थे। त्यस मानिसलाई त्यस शहरको अदालतद्वारा जाँच गरिनेछ।

लूका 19:28-48

येशू राजा झैं यरूशलेममा प्रवेश गर्नु भएको

(मत्ती 21:1-11; मर्कूस 11:1-11; यूहन्ना 12:12-19)

28 यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो। 29 उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि 30 तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ। 31 कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘यो गधा मालिकलाई चाहिएको छ।’”

32 दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए। 33 जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”

34 चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।” 35 यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्‌याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए। 36 येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।

37 येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउँदैथे। 38 तिनीहरूले भने,

“‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्।’(A)

स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”

39 भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नु भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।”

40 तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”

यरूशलेमकोलागि येशूको बिलौना

41 येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो। 42 उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ। 43 एउटा समय आउँदैछ कि तिम्रो शत्रुहरूले तिम्रो वरिपरि वाधाहरू खडा गराऊने छन्। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ। 44 तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्ना घट्नेछ, कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”

येशूको मन्दिरतर्फ प्रस्थान

(मत्ती 21:12-17; मर्कूस 11:15-19; यूहन्ना 2:13-22)

45 येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेदनु भयो। 46 उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ।’(B) तर तिमीहरूले यसलाई ‘डाँकूहरको वासस्थान’ बनाएका छौ।(C)

47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए। 48 तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरूले येशूलाई कसरी मार्नु पर्ने हो जान्दैन थिए।

भजनसंग्रह 88

प्रमुख संगीतकारलाई: पीडापूर्ण रोग बारे, एज्री हेमानको मस्किल भन्ने एउटा भजन।

हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ,
    रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
मेरो प्रार्थनाहरू प्रति कृपया ध्यान दिनुहोस्।
    कृपादानको निम्ति मेरो प्रार्थना सुनी दिनुहोस्।
मेरो प्राणसँग प्रशस्त त्यस्तो पीडा छँदै थियो!
    म चाँडै मर्ने छु।
मानिसहरूले मलाई मृत मानिस अथवा बाँच्नु परेको
    एकदम कमजोर मानिस जस्तो व्यवहार गर्दछन्।
मृत मानिसहरूको माझमा मलाई खोज्नु होस्।
    म चिहानमा लडिरहेको मुर्दा जस्तो छु।
तपाईंले भुल्नु भएका मरिसकेका मानिसहरू माझ म एक हुँ।
    तपाईंबाट अलग्ग र हेलचेक्राईं भयो।
तपाईंले मलाई धर्तीको त्यो प्वालमा राख्नु भयो।
    हो तपाईंले मलाई त्यस्तो अन्धकार ठाउँमा राख्नु भयो।
परमेश्वर, तपाईं मसँग रिसाउनु भएको थियो,
    अनि मलाई सजाय दिनुभयो।

मेरो साथीहरूले मलाई छाडी गए।
    सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे।
म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिन थिएँ।
    मेरा आँखाहरू मेरो सम्पूर्ण दुःखहरूमा रूदाँ-रूदाँ पोल्न थालिसक्यो।
हे परमप्रभु, म तपाईंलाई अटूट प्रार्थना गर्छु,
    मेरो पाखुराहरू तपाईं प्रति प्रार्थनामा उठ्छन्।
10 हे परमप्रभु, के मृत मानिसहरूका लागि तपाईं आर्श्चय काम रच्नुहुन्छ?
    के भूतहरूमाथि उठ्छन् र तपाईंको प्रशंसा गर्छन्? अँहँ गर्दैनन्।

11 चिहानभित्र भएका मृत मानिसहरूले तपाईंको प्रेम बारे कुरा गर्न सक्ने छैनन्।
    मृत मानिसहरूले मृतकहरूको संसारमा तपाईंको विश्वासको विषयमा भन्न सक्ने छैनन्।
12 मृत मानिसहरू अन्धकारमा लडिरहेका हुन्छन्, तपाईंले गर्नु भएका अचम्मका कुराहरू देख्न सक्तैनन्।
    मृत मानिसहरूले बिर्सिएको संसारमा तपाईंको धार्मिकताको कुरा गर्न सक्तैनन्।
13 हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु।
    प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु।
14 हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो?
    किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ?
15 युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ।
    मैले तपाईंको क्रोध सहें, म असहाय छु।
16 हे परप्रभु, तपाईं मसँग रिसाउनु भएको छ,
    अनि सजायले मलाई मार्दै छ।
17 दुःखाई र पीडाहरू सधैँ मसँग छन्,
    म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।
18 हे परमप्रभु, मेरा सारा मित्रहरू र प्रेमीहरू त्याग्न मलाई बाध्य गराउनु भयो।
    खाली अन्धकार मात्र मसँग रहेको छ।

हितोपदेश 13:12-14

12 पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखीत बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।

13 मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ।

14 बुद्धिमानी मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फर्काउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International