Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 2:10-3:31

10 त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो। 11 यसकारण इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए। 12 परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भएको थियो। अनि यी मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुलाई आराधना गरेका थिए। तर इस्राएलका मानिसहरूले परमप्रभुको अनुशरण गर्न छोडिदिए। इस्राएलका मानिसहरूले तिनीहरूका वरिपरि बस्ने मानिसहरूका झूटा देवताहरूको पूजा गर्न शुरू गरे। त्यसले परमप्रभुलाई क्रोधित तुल्यायो। 13 इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुशरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले।

14 परमप्रभु इस्राएलीहरूसित क्रोधित हुनुभयो। यसकारण परमप्रभुले लुटमार गर्नेहरूलाई इस्राएलीहरूमाथि आक्रमण गर्ने र सम्पति लूट्ने अनुमति दिनुभयो। परमप्रभुले तिनीहरूका वरिपरि बस्ने तिनीहरूका शत्रुहरूलाई, पराजित गर्न दिनुभयो। इस्राएलीहरूले तिनीहरू स्वयंलाई आफ्ना शत्रुहरूको आक्रमण विरूद्ध आफ्नो रक्षा गर्न सकेनन्। 15 यदि इस्राएलीहरूले तिनीहरूका छिमेकिहरूका देवताहरूको सेवा गरे, उहाँले त्यसो गर्छु भनी प्रतिज्ञा गर्नु भए जस्तै जहिले पनि इस्राएलीहरू लडाइँ गर्थे परमप्रभु तिनीहरूको विरूद्धमा रहनु हुन्थ्यो। यसकारण तिनीहरू लगातार पराजित भइरहे। इस्राएलका मानिसहरूले अनेक कष्ट पाए।

16 तब परमप्रभुले न्यायकर्ता भनिने अगुवाहरू चुन्नुभयो। यी अगुवाहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूको सम्पत्तिहरू लाने शत्रुहरूबाट बचाए। 17 तर इस्राएलका मानिसहरूले आफ्ना न्यायकर्ताहरूको कुरा सुनेनन्। इस्राएलका मानिसहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। तिनीहरूले अन्य देवताहरूको अनुशरण गरे। अतीतमा इस्राएली मानिसहरूका पिता-पुर्खाहरूले परमप्रभुको आज्ञा पालन गर्दथे। तर अहिले इस्राएली मानिसहरू परिवर्तन भए अनि परमप्रभुको आज्ञा पालन गर्न छोडे।

18 धेरै पल्ट इस्राएलका शत्रुहरूले मानिसहरू प्रति नराम्रा कुराहरू गरे। यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति विलाप गरे। परमप्रभु धेरै पल्ट मानिसहरूका निम्ति दुःखीत हुनुभयो। धेरै पल्ट उहाँले मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनको निम्ति न्यायकर्ता पठाउनु भयो। परमप्रभु सदैव ती न्यायकर्ताहरूसित हुनुहुन्थ्यो। यसरी धेरै पल्ट इस्राएलका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट बचाउँनु भयो। 19 तर जब हरेक न्यायकर्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठ्ठी थिए। तिनीहरूले आफ्ना कु-कर्म छोडन् अस्वीकार गरे।

20 यसर्थ परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो, अनि उहाँले भन्नुभयो, “यी जातिहरूले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई भङ्ग गरेका छन्। तिनीहरूले मेरो कुरा सुनेनन्। 21 यसर्थ इस्राएलका मानिसहरूका निम्ति म अब उप्रान्त ती जातिहरूलाई पराजित गरेर मार्ग खुल्ला गरिदिने छैन। ती मानिसहरू त्यस बेलासम्म त्यही भूमिमा थिए जब यहोशूको मृत्यु भयो। अनि म ती जातिहरूलाई यस भूमिमा रहनदिनेछु। 22 म ती जातिहरूलाई इस्राएलका मानिसहरूको जाँच गर्नमा प्रयोग गर्नेछु। म यो हेर्ने छु कि इस्राएलीहरूले तिनीहरूका पिता-पुर्खाहरूले झैं परमप्रभुका आज्ञा पालन गर्छन् कि गर्दैनन्।” 23 परमप्रभुले ती जातिहरूलाई त्यस भूमिमा रहनदिनु भयो। परमप्रभुले ती जातिहरूलाई देश झट्टै छोड्नु भनी बाध्य तुल्याउनु भएन। उहाँले यहोशूका सेनालाई पराजित गर्न तिनीहरूलाई दिनु भएन।

1-2 परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इस्राएलको भूमि छोडन कर लगाउँनु भएन। परमप्रभु इस्राएलका मानिसहरूको परीक्षा गर्न चाहनु हुन्थ्यो। यस समय जीवित रहेका कुनै पनि इस्राएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्। यसर्थ परमप्रभुले ती अन्य जातिहरूलाई तिनीहरूका देशमा रहन दिनुभयो। (परमप्रभुले इस्राएलका मानिसहरूलाई, जो ती युद्धहरूमा लडेका थिएनन्, शिक्षा दिनलाई यसो गर्नु भएको थियो।) परमप्रभुले यस भूमि छोड्न लगाउनु भएका जातिहरूका नाउँ यो होः पलिश्ती मानिसहरूका पाँच जना शासकहरू, समस्त कनानीहरू, सिदोनीहरू अनि हिव्वी मानिसहरू जो लेबानोन पर्वतका बाल-हेर्मोन पर्वतदेखि लेबो-हमातसम्म बस्थे। परमप्रभुले ती जातिहरूलाई, इस्राएली मानिसहरूको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हेर्न चाहनुहुन्थ्यो कि इस्राएलका मानिसहरू परमप्रभुका आज्ञाहरू, जो उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई मोशा मार्फत दिनु भएको आज्ञाहरू पालन गर्छन् कि गर्दैनन् भनेर।

इस्राएलका मानिसहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिब्बी अनि यबूसी मानिसहरू साथ बस्थे। इस्राएलका मानिसहरू ती मानिसहरूका छोरीहरूसित बिवाहवारी गर्न थाले। इस्राएलका मानिसहरूले आफ्ना छोरीहरूलाई ती मानिसहरूका छोराहरूसित विवाह गर्न दिए। अनि इस्राएलका मानिसहरूले ती मानिसहरूका देवताहरू पूज्न थाले।

पहिलो न्यायकर्ता, ओत्निएल

इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे। परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो। इस्राएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इस्राएलीहरू आठ बर्षसम्म त्यो राजाको अधीनमा रहे। तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे। 10 परमप्रभुको आत्मा ओत्निएल माथि आउनुभयो अनि तिनी इस्राएली मानिसहरूका न्यायकर्ता बने। ओत्निएलले इस्राएली मानिसहरूलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्निएललाई अरामका राजा कूशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो। 11 यसरी त्यो भूमि कनजका छोरा ओत्निएलको मृत्यु नभए सम्म चालीस बर्षको निम्ति शान्तिसित रह्यो।

न्यायकर्ता एहूद

12 फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको तिनीहरूको करार भङ्ग गरे। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गर्न मोआबका राजा एग्लोनलाई बल दिनुभयो। 13 एग्लोनले अम्मोनी अनि अमालेकी मानिसहरूबाट सहायता प्राप्त गरे। तिनीहरू उनीसित मिले अनि इस्राएलका मानिसहरू माथि आक्रमण गरे। एग्लोन अनि उनका सेनाले इस्राएलका मानिसहरूलाई पराजित गरे। अनि तिनीहरूलाई खजूर वृक्षको शहर छोड्न वाध्य तुल्याए। 14 मोआबका राजा एग्लोनले इस्राएलका मानिसहरू माथि अठ्ठार बर्षसम्म शासन गरे।

15 मानिसहरूले परमप्रभुसित विलाप गरे। यसैकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहूद थियो। एहूद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहूदले आफ्ना देब्रेहातले लडाँई गर्ने तालिम लिएका थिए। इस्राएलका मानिसहरूले एहूदलाई मोआबका राजा एग्लोन कहाँ उपहारसितै पठाए। 16 एहूदले स्वंयका निम्ति एउटा तरवार बनाएका थिए। त्यो तरवारको दुवै पट्टि धारहरू थिए अनि अठ्ठार इंच लामो थियो। एहूदले त्यो तरवार आफ्नो दाहिने जाँघमा बाँधेका थिए अनि आफ्नो पोशाक मुनि लुकाएका थिए।

17 यसरी एहूदले मोआबका राजा एग्लोन कहाँ भेटी ल्याए। एग्लोन अत्यन्त मोटा मानिस थिए। 18 भेटी चढाएपछि तिनले ती मानिसहरूलाई पठाए जसले भेटी बोकेका थिए। 19 तिनीहरूले राजदरबार छाडे। जब एहूद गिलगाल नजिकका मूर्तिहरू भएको ठाउँमा पुगे, तिनी घुमे अनि राजालाई भेट्न फर्किए। एहूदले राजा एग्लोनलाई भने, “राजा, तपाईंको निम्ति मसित गुप्तको सन्देश छ।”

राजाले तिनलाई चूपलाग्नु भने अनि त्यसपछि सबै सेवकहरूलाई कोठाबाट बाहिर पठाए। 20 एहूद एग्लोन राजा कहाँ गए। राजा आफ्नो दरबारको माथिल्लो कोठामा एक्लै बसिरहेका थिए।

तब एहूदले भने, “मसित तपाईंको निम्ति परमेश्वरको सन्देश छ।” राजा आफ्नो गद्दीबाट उठे। उनी एहूदका अत्यन्त छेउमा थिए। 21 जसै राजा आफ्नो गद्दीबाट उठ्दै थिए, एहूदले आफ्नो देब्रेहात बढाएर आफ्नो दाहिने जाँघमा बाँधिएको तरवार निकाले। त्यसपछि एहूदले तरवार राजाको भूँडीमा रोपिदिए। 22 त्यो तरवार एग्लोनको भूँडीमा यति भित्र पस्यो कि त्यसको बींड पनि बोसोले छोप्यो। एहूदले एग्लोनदेखि तरवार बाहिर तान्न सकेनन् अनि एग्लोनको आन्द्रा-भूँडी बाहिर निस्कियो।

23 एहूदले माथिल्लो कोठाका ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट निस्किए। 24 एहूदले त्यसपछि मूल कोठा छाडे अनि सेवकहरू फर्केर भित्र गए। सेवकहरूले माथिल्लो कोठाको ढोका बन्द गरिएको पाए। यसर्थ सेवकहरूले भने, “राजा आफ्ना निजी विश्राम कोठामा विश्राम गरिरहेका हुनुपर्छ।” 25 यसर्थ सेवकहरूले धेरै लामो समयसम्म पर्खिरहे। राजाले माथिल्लो कोठाका ढोकाहरू खोलेनन्। आखिरमा सेवकहरू चिन्तित भए। तिनीहरूले चाबी ल्याए अनि ढोकाहरू खोले। जब सेवकहरू भित्र पसे, तिनीहरूले आफ्ना राजालाई भूइँमा लडेर मरिरहेका देखे।

26 सेवकहरूले राजालाई पर्खंदै गर्दा एहूदले उम्कने समय पाए। एहूदले मूर्तिहरू पार गरे र सीरा नाउँ गरेको स्थान तिर गए। 27 जब एहूद सीरामा आए तिनले त्यहाँ, एप्रैमको पहाडी देशमा, तुरही बजाए। इस्राएलका मानिसहरूले तुरही बजेको आवाज सुने अनि तिनीहरू पहाडबाट तल झरे, एहूदले तिनीहरूको अगुवाइ गरे। 28 एहूदले इस्राएलका मानिसहरूलाई भने, “मेरो अनुशरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहयोग गर्नु भयो।”

यसर्थ इस्राएलका मानिसहरूले एहूदको अनुशरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहूदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे। 29 इस्राएली मानिसहरूले लगभग 10,000 बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्। 30 यसर्थ त्यस दिनदेखि इस्राएलका मानिसहरूले मोआबका मानिसहरू माथि शासन गर्न थाले। अनि त्यो भूमिमा 80 बर्षसम्म शान्ति भईरह्यो।

न्यायकर्ता शमगर

31 एहूदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेध्ने लट्ठीको प्रयोग गरे।

लूका 22:14-34

प्रभु भोज

(मत्ती 26:26-30; मर्कूस 14:22-26; 1 कोरिन्थी 11:23-25)

14 तिनीहरूको निस्तारको भोज गर्ने समय भएको थियो। येशू र प्रेरितहरू टेबलको वरिपरि बरिरहेका थिए 15 येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो मृत्यु अघि तिमीहरूसँग बसेर निस्तारको भोजन गर्ने बढो इच्छा थियो। 16 किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाईदैन म निस्तार भोजन गर्ने छैन।”

17 त्यसपछि उहाँले एक कचौरा दाखरस लिनु भयो। उहाँले परमेश्वरलाई यसको निम्ति धन्यावाद दिनुभयो। त्यसपछि उहँले भन्नुभयो, “यो कप लैजाऊ अनि यसैबाट सबैलाई बाँढ। 18 म तिमीहरूलाई भन्छु, म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।”

19 त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।” 20 त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”

येशूको विरुद्ध को जानसक्छ

21 येशूले भन्नुभयो, “तिमीहरू मध्ये कोही एकजनाले मलाई धोका दिनेछौ। उसको हात टेबलमा मसँगै छ। 22 परमेश्वरले जे योजना गर्नु भएकोछ त्यो मानिसको पुत्रले पुरा गर्नेछ। तर धिक्कार छ उसलाई जसले हत्याको निम्ति मानिसको पुत्रलाई सुपिन्छ।”

23 त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”

नोकर जस्तो व्यवहार गर

24 तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे। 25 तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैंलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्। 26 तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ। 27 को चाँहि प्रमुख हुनः ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बस्ने मानिस चाँहि ठूलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ?

28 “तिमीहरू तिनीहरू हौ जो मेरो संघर्षहरूमा छेउमा बसेका थियौं। 29 मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु। 30 मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।

आफ्नो विश्वास नहराऊ

(मत्ती 26:31-35; मर्कूस 14:27-31; यूहन्ना 13:36-38)

31 “शैतानले जाँच गर्न सोच्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन, 32 मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”

33 तर पुत्रसले येशूलाई भने, “हे प्रभु, म तपाईंसँग तयार छु।”

34 तर येशूले भन्नुभयो, “ए पत्रुस, आज भाले बास्न अघि नैं, मलाई तिमीले चिन्छु भन्न तीनपल्ट इन्कार गर्नेछौ।”

भजनसंग्रह 92-93

विश्रामको दिनको निम्ति एउटा स्तुतिगान।

परमप्रभुको गुण-गान गर्नु असल कुरा हो।
    सर्वोच्च परमेश्वर, तपाईंको गुण-गान गर्नु असल कुरा हो।
बिहानको बेलामा तपाईंको प्रेम बारे गाउनु असल हो,
    अनि रातमा तपाईंको विश्वास बारेमा गाउनु असल हो।
परमेश्वर, दश तारे बाजाहरू, वीणा र सारङ्गीहरू
    तपाईंको लागि बजाउनु असल कुरा हो।
हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो।
    हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।
हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो।
    तपाईंका विचारहरू हामीलाई बुझ्न अति कठिन छ।
हामीसँग तपाईंको तुलना गर्दा मानिस जाति मूर्ख जनावरहरू जस्तै छन्।
    हामी मूर्खहरू हौं जसले केही पनि बुझ्न सक्दैन।
दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्।
    तर तिनीहरू सधैँको निम्ति नष्ट हुनेछन्।
    तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।
तर हे परमप्रभु, तपाईंलाई सदा आदर गरिनेछ।

हे परमप्रभु, तपाईंका सम्पूर्ण शत्रुहरू नाश हुनेछन्।
    सम्पूर्ण ती मानिसहरू जसले पाप कामहरू गरे तिनीहरू नष्ट हुनेछन्।
10 तर तपाईंले मलाई बलियो बनाउनु भयो।
म दरिलो सींङहरू भएको साँढे जस्तै हुनेछु।
    तपाईंले खास कामको लागि मलाई रोज्नुभयो,
    तपाईंले आफ्ना ताजा तेलहरू ममाथि खन्याउनु भयो।
11 मैले मेरो शत्रुहरू वरिपरि भएको देखें।
तिनीहरू मलाई आक्रमण गर्न तयार भएका विशाल साँढेहरू जस्ता छन्।
    मेरो बारेमा तिनीहरूले के कुरा गरिरहेका छन् सो मैले सुनें।

12 असल मानिसहरू लेबानेनमा
    परमप्रभुको मन्दिरमा रोपिएको देवदारू जस्ता छन्,
13 परमप्रभुको मन्दिरमा रोप्न लगिएको धर्मी मानिसहरू
    हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
14 तिनीहरू बृद्ध भए तापनि
    तिनीहरूले नयाँ र स्वस्थ रूखले जस्तै लगातार फल उत्पादन गरिरहने छन्।
15 तिनीहरू त्यहाँ हुनु नै “परमप्रभु असल हुनुहुन्छ,” भन्नलाई नै हो।
    उहाँ मेरो चट्टान हुनुहुन्छ, अनि उहाँले अनुचित काम गर्नुहुन्न।

परमप्रभु राजा हुनुहुन्छ।
    उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ।
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ।
    परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।
    जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन्
    तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ।
हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ।
    तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।

हितोपदेश 14:1-2

14 बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर बुद्धिहीन स्त्रीले बनिएको घर आफ्नै हातले भत्काउँछे।

जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International