Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GW. Switch to the GW to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 23-25

मानिसहरू जो पूजामा भाग लिनु सक्छन्

23 “गुप्ताअंग कुच्चिएका अथवा लिङ्ग काटिएका मानिसहरूले इस्राएलका मानिसहरूसँग परमप्रभुको पूजामा भाग लिन सक्दैनन्। यदि कसैको माता-पिताको विधिपूर्वक विवाह भएको छैन। तिनीहरू पूजामा सम्मिलित हुन पाउने छैनन्। दश पुस्तासम्म तिनीहरूका सन्तानहरूले पनि पूजामा मिसिन पाउने छैनन्।

“अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्। किनभने तिनीहरूले मिश्र देशबाट निएलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिए। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराप्नुको निम्ति पैसा दिएर बोलाए। तर परमप्रभु तिमीहरूका परमेश्वरले बिलामका कुरा सुन्नु भएन र तिनको सराप परमप्रभुले तिमीहरूको निम्ति आशीर्वादमा परिणत गरिदिनु भयो। कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो। जबसम्म तिमीहरू बाँचिरहन्छौ तबसम्म अम्मोनी र मोआबीहरूसित कहिल्यै सन्धि स्थापित गर्नु हुँदैन तथा कदापि तिनीहरूसित मैत्री संन्धि गर्नु हुँदैन।

इस्राएलीहरूले स्वीकार्नु पर्ने मानिसहरू

“तिमीहरूले एदोमीहरूलाई घृणा गर्नु हुँदैन कारण उनीहरू तिमीहरूको सम्बन्धीहरू हो। तिमीहरूले मिश्रीहरूलाई घृणा गर्नु हुँदैन कारण तिनीहरूको भूमिमा तिमीहरू विदेशी थियौ। एदोमीहरू र मिश्र देशवासीहरूका तेस्रो पुस्ताका सन्तानहरूबाट इस्राएलीहरूसित परमप्रभुको पूजामा सामेल हुनु सक्छन्।

सिपाहीहरूको छाउनी सफा राख्नु

“जब तिमीहरूका सिपाहीहरू आफ्नो शत्रुहरूसँग लड्न युद्ध गर्न जान्छन प्रत्येक चीजबाट टाढामा बस्नुपर्छ जसले तिमीहरूलाई अशुद्ध बनाउँछ। 10 यदि तिमीहरूमध्ये केही स्वप्न दोषले अशुद्ध भएका छौ भने उसले छाउनी बाहिर जानु पर्छ। 11 जब बेलुकी हुन्छ उसले पानीमा नुहाउनु पर्छ अनि सूर्य अस्तापछि ऊ फेरि छाउनीमा फर्किन सक्छ।

12 “तिमीहरूले छाउनी बाहिर यस्तो ठाउँ पनि बनाउनु पर्छ जहाँ तिमीहरू दिसा गर्न सक्छौ। 13 तिमीहरूले आफ्ना अरू हतियारसँगै एउटा खन्ती पनि राख्नु पर्छ र जब दिसा लाग्छ खाडल खन्नु पर्छ अनि दिसा गरी त्यसलाई पुर्नु पर्छ। 14 किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न अनि शत्रुहरूलाई तिमीहरूको नियन्त्रणमा ल्याउनलाई छाउनीभित्र बाहिर तिमीहरूसँगै हुनु हुनेछ। यसकारण छाउनी पवित्र राख्नु पर्छ। यदि परमप्रभुले केही कुरा घिनलाग्दो देख्नु भयो भने उहाँ तिमीहरूदेखि गईहाल्नु हुन्छ।

अरू नियमहरू

15 “यदि कुनै कमारो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन। 16 आफ्नो इच्छा अनुसार उसले कहाँ मन पराउँछ, जुन शहर उसले रोज्छ, त्यहीं बस्न सक्छ। तिमीले उसलाई कष्ट दिनु हुँदैन।

17 “एक जना इस्राएली स्त्री अथवा पुरूष मन्दिरको वेश्या हुन सक्तैन। 18 त्यस पुरूष अथवा स्त्रीले कमाएको धन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पुर्याउनु हुँदैन, त्यस्तो कार्यबाट कमाएको धन परमप्रभुकोलागि उपयोग गर्नु हुँदैन।

19 “जब तिमीहरूले कुनै अर्को इस्राएलीलाई ऋण दिन्छौ, उसबाट ब्याज तिमीहरूले लिनु हुँदैन। त्यो ऋण खानेकुरा पैसा अथवा जे पनि होस्। 20 तिमीहरूले आफ्नो इस्राएली भाइलाई दिएको ऋणमा ब्याज लगाउनु हुँदैन तर कुनै विदेशीलाई दिएको ऋणमा ब्याज लगाउन सक्छौ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएको भूमिमा प्रवेश गर्नु लागेको छौ अनि तिमीहरूले जे गर्छौ त्यसमा परमप्रभु तिमीहरूका परमेश्वरले आशीर्वाद दिनुहुन्छ।

21 “परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउँछु भनी जे भाकल गर्छौ त्यो चढाउनमा ढिलो नगर किनभने परमप्रभु तिमीहरूका परमेश्वरले त्यो दावी गर्नुहुन्छ र यदि आफूले गरेको भाकल पूरा गर्न नसके तिमीलाई पाप लाग्नेछ। 22 तर यदि भाकल गरेका छैनौं भने त्यो पाप लाग्ने छैन। 23 तर आफूले गर्छु भनेको कुरो पूरा गर्नै पर्छ। यदि कुनै विशेष कुरो चढाउँछु भनी विषेश भाकल गरे त्यो तिमीहरूले पूरा गर्नु नै पर्छ। परमेश्वरले तिमीहरूलाई भाकल गर्न लगाउनु भएको होइन, यसकारण आफूले गरेको भाकल पुरा गर्नै पर्छ।

24 “जब तिमी कसैको दाखबारी भएर जान्छौ तिमीले जति खान सक्छौ त्यहीं टिपेर खान सक्छौ तर आफ्नो डालोमा हालेर घर लान सक्दैनौ। 25 जब तिमी अरू मानिसको अन्नको खेत भएर कतै जान्छौ तिमीले सकेको अन्न टिपेर खान सक्छौ तर हँसियाले अन्न काटेर घर लिएर जान सक्दैनौ।

24 “एउटा मानिसले एउटी स्त्रीलाई विवाह गरेको हुन सक्छ अनि पछि तिनमा केही गोप्य कुरा पाउन सक्छ जो उसलाई मन पर्दैन। यदि त्यो मानिस तिनीसँग खुशी छैन भने उसले छुटानामको पत्र लेखेर उसलाई दिनु पर्छ। तब उसले तिनीलाई घरबाट बाहिर पठाउन सक्छ। जब त्यो स्त्रीले उसको घर छोड्छे उसले अर्को पुरूषसित विवाह गर्नु सक्छे। तर यदि उसको नयाँ दोस्रो लोग्नेले पनि उसलाई मन नपराएर छुट्टानाम पत्र दिएर घरदेखि निकाली दिएको खण्डमा अथवा त्यो नयाँ दोस्रो लोग्नेको मृत्यु भएको खण्डमा, पहिलो लोग्ने जसले त्यस स्त्रीलाई छुट्टानाम पत्र दिई घरबाट निकालेको थियो उसले त्यही स्त्रीसँग पुनः विवाह गर्नु सक्तैन किनभने त्यो स्त्री अशुद्ध भएकी हुन्छे अनि परमप्रभुले पनि यस्तो विवाहलाई घृणा गर्नुहुन्छ। तिमीले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेको भूमिमा यस्तो पाप हुन दिनु हुँदैन।

“जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक बर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक बर्षसम्म उसलाई आफ्नै घरमा बस्न दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।

“तिमीले कसैलाई ऋण दिन्छौ धितोको रूपमा जाँतो अथवा त्यसको कुनै भाग पनि लिनु हुँदैन किनभने त्यो गर्दा उसको भोजन नै लिए जस्तै हुनेछ।

“यदि कुनै एकजना इस्राएलीले अर्को एकजना इस्राएलीलाई अपहरण गर्छ कमाराको निम्ति बेच्छ भने, त्यस अपहरण कर्तालाई मार्नु पर्छ र तिमीहरूको आफ्नो समूहबाट त्यस्तो दुष्टता बाहिर निकाल्नु पर्छ।

“यदि तिमीलाई अत्यन्तै नराम्रो चर्म रोग लागेको छ भने लेवी पूजाहारीहरूले सिकाएको सबै कुराहरू तिमीले धेरै होशियारीसँग पालन गर्नु पर्छ। मैले पूजाहारीहरूलाई बताएका कुराहरू तिमीले अत्यन्तै होशियारीसँग पालन गर्नु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले मिश्रबाट बाहिर आउँदा मरियमका लागि के गर्नु भएको थियो सम्झना गर।

10 “जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन। 11 तिमी बाहिर पर्खिनु पर्छ त्यो ऋण लिने मानिसले धरौटी ल्याएर दिन्छ। 12 यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन। 13 साँझमा नै तिमीले फर्काउनु पर्छ। तब उसले सुत्नको लागि तातो लुगा पाउँछ र तिमीलाई आशीर्वाद दिनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले यसलाई राम्रो कार्य र सही जीवन ठान्नु हुनेछ।

14 “तिमीहरूले ज्यालामा ल्याएको नोकर जो गरीब र संकष्टमा छ, उसलाई ठग्नु हुँदैन। त्यो नोकर इस्राएली होस् अथवा तिमीहरूकै कुनै शहरमा बस्ने एक विदेशी, एक जना यसमा कुनै फरक पर्दैन। 15 घाम अस्ताउनु अघि प्रत्येक दिन उसको ज्याला देऊ किनभने त्यो गरीब छ अनि त्यही पैसामाथि निर्भर गर्छ। यदि तिमीले पैसा दिएनौ भने उसले तिम्रो विरूद्ध परमप्रभुलाई आरोप गर्नेछ र तिमी पापको दोषी बनिनेछौ।

16 “केटा-केटीहरूको अपराधमा आमा-बुबालाई मृत्यु दण्ड दिनु हुँदैन र त्यसरी नै आमा-बुबाको केटा-केटीहरूलाई मृत्यु दण्ड दिनु हुँदैन। ऊ आफैंले गरेको नराम्रो कुरामा मात्र मानिसलाई मार्नु पर्छ।

17 “तिमीहरूले विदेशीहरू र टुहुरा-टुहुरीहरूसित राम्रो व्यवहार गर्नु पर्छ। धलौटीको रूपमा विधवाको ओढ्ने लुगा लिनु हुँदैन। 18 सम्झना गर तिमीहरू मिश्रदेशमा कमारा कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यस ठाउँबाट निकाली स्वतन्त्र पार्नु भयो। यसकारण गरीबहरूको निम्ति यसो गर्नु भनी म बताउँछु।

19 “जब तिमीहरू आफ्नो खेतमा बाली उठाउँदै गरेको हुन्छौ, बिर्सेर एक बिटा अन्न त्यहाँ छोड्यौ भने त्यसलाई लिन नजाऊ। यो विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। यदि तिमीहरूले तिनीहरूको निम्ति केही अन्न छोड्दियौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसको निम्ति आशीर्वाद दिनु हुनेछ। 20 जब भद्राक्षको रूखबाट भाटा अथवा टाँगोले फल झार्छौ, हाँगाहरूमा बाँकी रहेको फल हेर्न जानु हुँदैन। भद्राक्षेको फल जो तिमीहरू छोड्छौ त्यो विदेशी, विधवा र टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। 21 त्यसरी नै जब तिमीहरू दाखबारीमा फल उठाउन जान्छौ छोडिएको फल खोज्न फर्किएर नजाऊ, ती फलहरू विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। 22 सम्झना राख तिमीहरू मिश्रदेशमा गरीब कमारा-कमारीहरू थियौ। यसकारण म तिमीहरूलाई गरीबहरूको लागि यस्तो गर भनी बताउँछु।

25 “जब दुइजना मानिसहरूमाझ वाद-विवाद हुन्छ, तिनीहरू अदालतमा जानु पर्छ। कुन मानिस वेकसूर छ अनि कुन मानिस कसूरदार छ न्यायकर्त्ताले निर्णय गर्ने छन। यदि न्यायकर्त्ताले निर्णय गर्छन् त्यो कसुरदार मानिसलाई कोर्रा लगाउनु पर्छ तब न्यायकर्त्ताले त्यस मानिसलाई घोप्टो परेर सुत्नु लाउनु पर्छ। एकजनाले कोर्रा लगाउनेछ जब न्यायकर्त्ताले हेर्नेछन्। उसले गरेको अपराधमाथि कोर्राको संख्या निर्भर गर्नेछ। कुनै मानिसलाई पनि चालीस कोर्रा भन्दा वेशी लगाउनु हुँदैन, यदि तिमीले कसैलाई चालीसभन्दा धेरै कोर्रा लगायौ भने यो बुझिन्छ त्यस मानिसको जीवनको तिमीलाई केही महत्व छैन।

“जब गोरूहरूलाई दाँई गर्न लगाइन्छ तिनीहरूले अन्न खान नपाओस भनेर महला लगाउनु हुँदैन।

“यदि दाज्यू-भाइ सँगै बस्छन् र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैंगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्त्तव्य पुरा गर्नु पर्छ। त्यसपछि उसले जन्माएको पहिलो छोराले आफ्नो मृत पिताको स्थान ओगट्नु पर्छ। तब मरेको दाज्यूको नाउँ इस्राएलबाट कहिल्यै नमेटियोस्। यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बूढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इस्राएलमा जीवित राख्न चाँहदैनन्। मेरो मृत लोग्नेको दाज्यू-भाइ भएको नातले ऊ आफ्नो कर्त्तव्य मसँग पूरा गर्न चाँहदैन।’ तब शहरका बूढा-प्रधानहरूले त्यसलाई कुरा गर्छन बोलाउँछन् तर यदि ऊ अझै भन्छ, ‘म उसलाई विवाह गर्दिनँ,’ तब उसको दाज्यू-भाइकी पत्नी बूढा-प्रधानहरूको अगि आउनु पर्छ उसको एउटा खुट्टाको जुत्ता खोल्नु पर्छ उसको अनुहारमा उसले थुक्नु पर्छ तिनले भन्नु पर्छ, ‘मानिस जसले आफ्नो दाज्यूको सन्तानलाई वृद्धि गर्न चाँहन्दैन यस्तो व्यवहार गर्नु पर्छ।’ 10 तब उसो त्यो मानिसको परिवारलाई इस्राएलमा, ‘जुन मानिसको जुत्ता खोलियो त्यसको परिवार’ भनी चिनिने छ।

11 “यदि दुइ जना मानिस लडाइँ गरिरहेका छन् र तिनीहरू मध्ये एक जनाकी पत्नी आफ्नो पतिको सहायतामा आउँछे तर उसले पतिसित लडाइँ गर्ने अर्को मानिसको गुप्त अंग समात्नु हुदैन। 12 यदि उसले त्यसो गर्छे भने तिनको हात काटिदेऊ तिनको लागि दुःख नमान।

13 “मानिसहरूलाई ठग्न कम र ज्यादा दुइ प्रकारका ढकहरू नराख। एउटै ओजनको निम्ति दुइ प्रकारका ठग्ने ढकहरू नराख। 14 आफ्नो घरमा केही चीज नाप्ने लामो र छोटो दुइ प्रकारको नाप दण्ड नराख। 15 तिमीहरूले ठीक र शुद्ध ढक तथा नाप दण्ड मात्र प्रयोग गर्नु पर्छ, तब मात्र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु लाग्नु भएको भूमिमा दीर्घायु भएर बाँच्नेछौ। 16 परमप्रभु तिमीहरूका परमेश्वरले ती मानिसहरूलाई घृणा गर्नु हुन्छ जसले भूल तथा झूटा ढक-तराजु उपयोग गरेर ठग्छन्। सही अर्थमा, उहाँ सबै मानिसलाई घृणा गर्नु हुन्छ जो गल्ती काम गर्छन्।

अमालेकीहरूलाई ध्वंश पार्नु पर्छ

17 “जब तिमीहरू मिश्रबाट आउँदै थियौ, सम्झना गर अमालेकीहरूले के गरेका थिए। 18 तिनीहरूले तिमीहरूलाई आक्रमण गरे जब तिमीहरू कमजोर र थकित थियौ। तिनीहरूले तिमीहरूको मानिसहरूलाई मारे जो बिस्तारै पछि पछि आउँदै थिए। अमिलेकीहरूले परमेश्वरको सम्मान गरेनन्। 19 यसकारण संसारबाट नै अमालेकीहरूको नाउँ ध्वंश पार्नु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुने भूमिमा प्रवेश गरे पछि यो काम गर्नेछौ। त्यस भूमिमा उहाँले तिमीहरूलाई सबै प्रकारका शत्रुहरूबाट विश्राम दिनु हुनेछ, तर अमालेकीहरूलाई ध्वंश पार्न नबिर्स।

लूका 10:13-37

येशूद्वारा विश्वास नगर्नेहरूलाई चेतावनी

(मत्ती 11:20-24)

13 “ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे। 14 तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ असहनीय हुनेछ। 15 ए कफर्नहुम तिमी स्वर्गमा उचालिने छौं? अँहँ! तिमीलाई पनि मृत्यूको ठाउँमा खसालिनेछ।

16 “ऊ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ। तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”

शैतान झर्दछ

17 जब ती 72 जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!”

18 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के झैं खसिरहेको देखें। 19 सुन, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन। 20 तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।”

येशूको पितामा प्रार्थना

(मत्ती 11:25-27; 13:16-17)

21 त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रसंशा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यसो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो।

22 “मेरा पिताले मलाई सब थोकहरू दिनुभएकोछ। कसैले जान्दैन कि पुत्र को हो-केवल पिताले मात्र जान्नुहुन्छ। अनि पिता को हुन्, कसैले जान्दैन केवल पुत्रलाई मात्र थाहा छ। मानिसहरूमा पितालाई तिनीहरूले जान्दछन् जसलाई पुत्रले बताउन खोजोको छ।”

23 त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसँग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि फर्कनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ। 24 म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।”

असल सामरीको कथा

25 त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”

26 येशूले तिनलाई भन्नुभयो, “व्यावस्थामा के लेखिएको छ? तिमीले त्यसमा के पढ्छौ?”

27 त्यस मानिसले भन्यो, “‘तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ।(A) अनि तिमीले आफैंलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’(B)

28 येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।”

29 त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?”

30 यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भूईँमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।

31 “संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मद्दत गर्न रोकिएनन् तिनी हिंडिनै रहे। 32 एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।

33 “त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो। 34 सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे। 35 अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, ‘यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।’”

36 त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”

37 व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।”

येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।”

भजनसंग्रह 75

प्रमुख संगीतकारलाई: “नष्ट नहोस्” भन्ने रागमा। दाऊदको भजन।

हे परमेश्वर, हामी तपाईंको प्रशंसा गर्दछौं।
    हामी तपाईंको प्रशंसा गर्छौ, तपाईं छेउमा हुनुहुन्छ,
    अनि मानिसहरूले तपाईंले गर्नु भएको अचम्मका कुराहरूका बारेमा भन्दछन्।

परमेश्वर भन्नुहुन्छ, “म न्यायको ठीक समय छान्नेछु,
    म निष्पक्ष न्याय गर्नेछु।
यद्यपि पृथ्वी र यसमा भएका सम्पूर्ण चीजहरू हल्लिरहेका छन्,
र धराशायी हुन तयार छ,
    तर म यसलाई स्थिर पार्छु।”

“कतिपय मानिसहरू अत्यन्त अंहकारी हुन्छन्।
    तिनीहरू स्वयंलाई शक्तिशाली र महत्वपूर्ण सोच्दछन्।
तर म ती मानिसहरूलाई भन्छु,
    ‘शेखी नगर! यति साह्रो अंहकारी नहौ!’”

पृथ्वीमा त्यस्तो कुनै शक्ति छैन
    जसले कुनै मानिसलाई महत्वपूर्ण पार्छ।
परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ।
    अनि उहाँले नै को महत्वपूर्ण हुनेछ, भन्ने कुराको निर्णय गर्नुहुन्छ।
परमेश्वरले एक व्यक्तिलाई उठाएर उसलाई महत्वपूर्ण बनाउनु हुन्छ,
    उहाँले नै कसैलाई तल झारेर उसलाई महत्वहीन पार्नुहुन्छ।
परमेश्वर सधैँ दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ।
    परमप्रभुसँग उहाँको हातमा एउटा कचौरा छ,
    जुन कचौरामा विष भरिएको दाखमद्यले पूर्ण छ।
उहाँले त्यो विषयुक्त दाखमद्य खन्याउनुँ हुन्छ,
    अनि दुष्ट मानिसहरूले त्यसको अन्तिम घुट्को सम्म पिउने छन्।
म यस बारेमा सधैँ मानिसहरूलाई भन्नेछु।
    म इस्राएल को परमेश्वरको स्तुति-गान गर्नेछु।
10 परमप्रभु भन्नुहुन्छ, “म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु,
    अनि धर्मी मानिसहरूलाई शक्ति प्रदानगर्नेछु।”

हितोपदेश 12:12-14

12 दुष्ट मानिस सधैँ दुष्टयाईँ कर्म गर्न मात्र खोज्छ, तर धर्मी मानिससित गहिरो शक्ति हुन्छ।

13 दुष्ट मानिस आफ्नै खराब शब्दहरूका चंगुलमा फस्छ तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन।

14 मानिसको व्याख्याले धेरै असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International