Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NLT. Switch to the NLT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 5:1-7:15

यसरी इस्राएलका मानिहरूले यर्दन नदी पार नगरून्जेल यर्दन नदीलाई सूख्खा पारिदिनु भयो। यर्दन नदीको पश्चिम तर्फ बस्ने एमोरी अनि भूमध्य सागरको छेउमा बस्ने कनानीहरूका राजाहरूले यस विषयमा सुने अनि अत्यन्त भयभीत भए। त्यसपछि तिनीहरू इस्राएलका मानिसहरूको विरूद्ध खड़ा हुन र युद्ध गर्नको लायक साहसी रहन सकेनन्।

इस्राएलीहरूको खतना

त्यसबेला, परमप्रभुले यहोशूलाई भन्नुभयो, “दर्शिन ढुङ्गाबाट कर्दहरूबनाऊ अनि इस्राएलका मानिसहरूको खतना गर।”

यसकारण यहोशूले दर्शिन ढुङ्गाबाट कर्दहरू बनाए। त्यस पछि तिनले गिबियथ-हाअरालोथमा इस्राएल मानिसहरूको खतना गरिदिए।

4-7 यसैकारण यहोशूले मानिसहरूको खतना गरे। इस्राएलका मानिसहरूले मिश्रदेश छाडे पछि सबै मानिसहरू जो सेनामा रहन योग्यका थिए, खतना गरिदिए। यद्यपि मरुभूमिमा हुँदा धेरै जना लडाकू योद्धाहरूले परमप्रभुको आज्ञा पालन गरेनन्। यसकारण परमप्रभुले यो प्रतिज्ञा गर्नु भएको थियो, “ती मानिसहरूले त्यो देश जहाँ प्रशस्त खाद्य वस्तुहरू उम्रन्छ सो देख्न पाउने छैनन्।” परमप्रभुले हामीलाई भूमि दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नु भएको थियो, तर, ती मानिसहरूका कारण परमेश्वरले मानिसहरूलाई मरुभूमिमा चालीस बर्षसम्म यता, उता घुम्न बाध्य गराउनु भयो जबसम्म ती सबै लडाकू मानिसहरू मरेनन् अनि तिनीहरूका छोराहरूले तिनीहरूका स्थान लिए। तर, मिश्रदेशबाट यात्रा गरेको बेला मरुभूमिमा जन्मेका कुनै केटाहरूको खतना भएको थिएन। यसकारण यहोशूले तिनीहरूको खतना गरिदिए।

यहोशूले सबै मानिसहरूको खतना गरिदिने काम पूर्ण गरे। मानिसहरूले त्यस स्थानमा छाउनी बनाएर बसे जब सम्म सबै मानिसहरू निको भएनन्।

कनानमा पहिलो निस्तार चाड़

त्यसबेला, परमप्रभुले यहोशूलाई भननुभयो, “मिश्रमा तिमीहरू दास थियौ। अनि जसले तिमीहरूलाई लज्जित तुल्यायो। तर आज मैले त्यो लाज हटाइ दिएको छु।” यसकारण यहोशूले त्यस स्थानको नाउँ गिलगाल राखे। अनि त्यस स्थानलाई आज पनि गिलगाल नै भनिन्छ।

10 जब तिनीहरू यरीहोको मैदान गिलगालमा छाउनी हालेर बसेका थिए इस्राएलका मानिसहरूले निस्तार चाड मनाए। यो त्यस महीनाको चौधौं दिनको साँझमा थियो। 11 निस्तार चाडको पछिल्लो दिन मानिसहरूले भोजन खाए जुन त्यस भूमिमा उम्रिएको थियो तिनीहरूले अखमिरे रोटी र भुटेको अन्न खाए। 12 भोलिपल्ट बिहान स्वर्गबाट विशेष भोजन आउन बन्द भयो। मानिसहरूले कनान देशमा उम्रिएका खाद्य पदार्थ खाएको पछिल्लो दिन यस्तो भयो। त्यसबेला देखि यता इस्राएलका मानिसहरूले स्वर्गबाट विशेष भोजन पाएनन्।

परमप्रभुको सैनिकहरूको कप्तान

13 जब यहोशू यरीहोको नजिक थिए उनले माथितिर हेरे अनि आफ्नो अघि एकजना मानिसलाई उभिरहेको देखे। त्यो मानिसको हातमा एउटा तरवार थियो। यहोशू त्यस मानिसकहाँ गए र सोधे, “तपाईं हाम्रा मानिसहरूको मित्र हुनुहुन्छ, अथवा शत्रु?”

14 त्यस मानिसले उत्तर दिए, “म शत्रु होइन। म परमप्रभुको सैनिकहरूका कप्तान हुँ। म भर्खरै तिमी कहाँ आएको छु।”

तब यहोशूले भूइँतिर आफ्ना शिर झुकाए। तिनले सम्मान जनाउन यसो गरे। तिनले सोधे, “म तपाईंको सेवक हुँ। के मेरो मालिकबाट मलाई केही सन्देश छ?”

15 परमप्रभुका सेनाका कप्तानले उत्तर दिए, “तिम्रो जुत्ता खोल। जहाँ तिमी उभिरहेको छौ त्यो स्थान अहिले पवित्र छ।” यसर्थ यहोशूले उसको आज्ञा पालन गरे।

यरीहो शहर बन्द थियो। शहरका मानिसहरू भयभीत थिए किनभने इस्राएलका मानिसहरू नजिकमा थिए। कोही पनि शहर भित्र पसेनन् अनि कोही पनि शहर बाहिर आएनन्।

तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर, म यरीहो शहरलाई परास्त गर्नेछु अनि यसको राजा र सबै लडाकूहरू म तिमीलाई दिनेछु। प्रत्येकदिन एकपल्ट आफ्ना सेना सहित शहर वरिपरि हिँड। छः दिन सम्म यसो गर। पूजाहारीहरूलाई पवित्र सन्दूक बोक्नु भन। सातजना पूजाहारीहरूलाई भेंडाको सींगबाट बनाएको तुरही बोक्नु भन अनि पवित्र सन्दूकको अघि अघि हिंड्नु भन। सातैं दिनमा, शहर वरिपरि सात पल्ट घुम। सातैं दिनमा तिनीहरू हिंड्दा पूजाहारीहरूलाई, तुरही बजाउनु भन। पूजाहारीहरूले तुरहीको ठुलो ध्वनि निकाल्ने छन्। तिनीहरूले तुरहीहरू फुक्नेछन् तब मानिसहरू कराउनु पर्छ। जब तिमीहरूले यसो गर्छौ शहरका पर्खालहरू भत्किनेछन् अनि तिम्रा मानिसहरू शहरभित्र जान समर्थ हुनेछन्।”

यरीहो शहर कब्जा गरे

यसकारण नूनका छोरा यहोशूले पूजाहारीहरूलाई साथमा बोलाए। यहोशूले तिनीहरूलाई भने, “परमप्रभुको पवित्र सन्दूक बोक। अनि सातजना पूजाहारीहरूलाई तुरही बोकेर सन्दूकको अगि अगि हिँड्नु भन।”

त्यसपछि यहोशूले मानिसहरूलाई आदेश दिए, “अब जाऊ, शहर वरिपरि घुम। सैनिकहरू हात-हतियार सहित परमप्रभुको पवित्र सन्दूक अगि अगि हिंड्ने छन्।”

जब यहोशूले मानिसहरूलाई आज्ञा गरे सातजना पूजाहारीहरू परमप्रभुको अघि हिंड्न थाले। तिनीहरूले सातवटा तुरहीहरू बोके अनि बजाउँदै हिँडे। पूजाहारीहरूले तिनीहरूलाई परमप्रभुको पवित्र सन्दुकसितै पछ्याए। सैनिकहरू हात हतियार सहित ती पूजाहारीहरूका अघि-अघि हिंडे जो तुरही बजाउँदै थिए। अनि पछाडिका रक्षकहरू पवित्र सन्दूकको पछि-पछि हिंडे। यसरी तिनीहरू पैदल हिंडदै अनि तुरही बजाउँदै शहर वरिपरि हिंडे। 10 यहोशूले मानिसहरूलाई नकराउनु भनी आदेश दिएका थिए। उनले भने, “नकराऊ। जबसम्म म तिमीहरूलाई भन्दिन त्यस दिनसम्म एउटा शब्द ननिकाल अनि तब कराऊ।”

11 यसरी यहोशूले पूजाहारीहरूलाई परमप्रभुको पवित्र सन्दूक बोकेर एकपल्ट शहर वरिपरि घुम्न लगाए। तब तिनीहरू छाउनीमा फर्किए अनि त्यो रात बिताए।

12 भोलि पल्ट बिहानै यहोशू उठे। पूजाहारीहरूले परमप्रभुको पवित्र सन्दूक फेरि बोके। 13 अनि सातजना पूजाहारीहरूले सातवटा तुरहीहरू बोके। तिनीहरू हिँड्दै अनि तिनीहरूका तुरही बजाउँदै परमप्रभुको पवित्र सन्दूक अघि-अघि हिंडे। हात-हतियार सहितका सैनिकहरू तिनीहरूको अघि हिंडे अनि पछाडिको रक्षकहरू परमप्रभुको पवित्र सन्दूक पछि-पछि हिँडे। तिनीहरू हिंड्दै अनि तुरही बजाउँदै शहर वरि-परि गए। 14 यसरी दोस्रो दिन तिनीहरू शहर वरि-परि सबै एकपल्ट घुमे। अनि तिनीहरू छाउनी तिर फर्किए। तिनीहरूले छ दिनसम्म दैनिक यसो गरे।

15 सातौं दिनमा तिनीहरू झिसमिसेमा नै उठे। अनि तिनीहरू शहर वरिपरि सात पल्ट घुमे। तिनीहरू त्यही तरिकाले हिंडे जसरी अघिल्ला दिनहरूमा हिंडेका थिए, तर त्यसदिन तिनीहरू सात पल्ट शहर वरिपरि घुमे। 16 जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ। 17 यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुइ गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्। 18 यो पनि याद राख कि हामीले अन्य सबै कुराहरू नष्ट गर्नु पर्छ। ती कुराहरू नलिनु। यदि तिनीहरूले ती कुराहरू लियौ अनि हाम्रा छाउनीमा ल्यायौ भने तब तिमीहरू स्वयंम नष्ट हुनेछौ। अनि तिमीहरूले इस्राएलका सबै मानिसहरू प्रति पनि कष्ट ल्याउने छौ। 19 सुन, चाँदी, काँस र फलामले बनाएका वस्तुहरू परमप्रभुका हुन्। ती वस्तुहरू परमप्रभुको भण्डारमा ल्याउनु पर्छ।”

20 पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे। 21 मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे।

22 यहोशूले ती दुइ गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।”

23 यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे।

24 त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे। 25 यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्।

26 त्यस समयमा, यहोशूले यो महत्वपूर्ण शपथ लिए। तिनले भनेः

“जो कोही मानिस जसले यरीहोको
    फेरि निर्माण गर्छ त्यो परमप्रभुद्वारा खतरामा पर्नेछ।
जो कसैले यो शहरमा जग बसाल्छ त्यसले
    आफ्नो सबै भन्दा जेठा छोरा गुमाउने छ।
जसले त्यस्ता मानिसद्वारा खडा गर्छ,
    त्यसले आफ्नो कान्छा छोरा गुमाउने छ।”

27 यसरी परमप्रभु यहोशूका साथ हुनुहुन्थ्यो। र यहोशू सम्पूर्ण देशभरि प्रसिद्ध भए।

आकानको पाप

तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।

यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।

पछि, ती मानिसहरू यहोशू कहाँ फर्केर आए। तिनीहरूले भने, “ऐ शहर एक कमजोर क्षेत्र हो। त्यो स्थानलाई परास्त गर्न हामीलाई हाम्रा सबै मानिसहरूको खाँचो पर्ने छैन। त्यहाँ लड्नका निम्ति 2,000 अथवा 3,000 मानिसहरू पठाए हुन्छ। सम्पूर्ण सेना प्रयोग गर्नु त्यहाँ खाँचो छैन। त्यहाँ हामीसित लड्नका निम्ति थोरै मानिसहरू मात्र छन्।”

4-5 यसर्थ प्रायः 3,000 मानिसहरू ऐ शहरमा गए। तर ऐ शहरका मानिसहरूले इस्राएलका छत्तीस जना मानिसहरू मारे। अनि इस्राएलका मानिसहरू भागे। मानिसहरूले शहर-द्वारदेखि ढुङ्गाका खानी सम्म तिनीहरूलाई खेदे। ऐ शहरका मानिसहरूले तिनीहरूलाई नराम्रो प्रकारले परास्त गरे।

जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए। जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।

यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौं। परमप्रभु म मेरो प्राणद्वारा शपथ गर्छु। अब मैले भन्न सक्ने केही छैन। इस्राएलले शत्रुहरूको समक्ष समर्पण गरेको छ। कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”

10 परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ तँ घोप्टो परेर भूइँ तिर किन झुकि बस्छस्! 11 इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे। 12 यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।

13 “अब मानिसहरूलाई शुद्ध तुल्याउनका निम्ति जा। मानिसहरूलाई भन्, ‘स्वयंमलाई शुद्ध तुल्याऊ। भोलिको निम्ति तैयार हौ।’ परमप्रभु इस्राएलका परमेश्वरले भन्नुहुन्छ, ‘केही मानिसहरूले ती वस्तुहरू राखिछोडेका छन् जसलाई उहाँले नष्ट गर्नु भनी आदेश गर्नु भएको थियो।’ तँ त्यस बेलासम्म तेरो शत्रुहरूलाई परास्त गर्न समर्थ हुने छैनस् जबसम्म तैंले ती वस्तुहरूलाई फ्याँक्दैनस्।

14 “‘भोलि बिहान तिमीहरू सबै परमप्रभुको समक्ष उभिनु पर्छ। सबै कुल समूहहरू परमप्रभुको सामुन्ने खडा हुनुपर्छ। परमप्रभुले कुनै एक कुल समूहलाई चुन्नुहुनेछ। तब त्यो कुल समूह मात्र परमप्रभुको समक्ष उभिने छन्। तब परमप्रभुले त्यस कुल समूहबाट एक सन्तानलाई छान्नु हुनेछ। तब त्यो सन्तानमात्र परमप्रभुको समक्ष उभिनु पर्छ। त्यसपछि परमप्रभुले त्यो सन्तानका प्रत्येक परिवारलाई हेर्नु हुनेछन्। र परमप्रभुले एक मानिसलाई छान्नु हुनेछन्। 15 त्यो मानिसले जो हामीले नष्ट गर्नु पर्ने थियो, ती वस्तुहरू राखेकोछ, उसलाई आगोले नष्ट गरिनेछ। अनि त्यस मानिससित भएका हरेक वस्तुहरू त्यो सँगै नष्ट गरिनेछ। त्यो मानिसले परमप्रभुसित भएको करार भङ्ग गर्यो। त्यसले इस्राएलका मानिसहरूका निम्ति अत्यन्त नराम्रो काम गरेको छ।’”

लूका 15

स्वर्गमा आनन्द

(मत्ती 18:12-14)

15 अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँका कुराबरू सुन्न आए। तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि सँगै बसेर खान्छ।”

त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “तिमीहरूमध्ये कसैको सय वटा भेंडा़हरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडा़लाई छोडेर हराएको एउटा भेंडा़ खोज्न जान्छ। त्यो भेंडा़ जब सम्म पाउदैन ऊ खोजी रहने छ। अनि जब उसले हराएको भेंडा़ पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेंडा़लाई आफ्नो काँधमा बोकेर ल्याउनेछ। जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, ‘म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेंडा़ पाएको छु।’ त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनन्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।

“मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे। अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’ 10 त्यसरी नै, म भन्दछु, ‘जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दूतहरूको अघि खुशी छाउँछ।’”

उड़न्ता पुत्र

11 त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए। 12 कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, ‘पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’

13 “केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो। 14 आफूसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो। 15 अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सुँगुरहरू हेर्न पठायो। 16 त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सुँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।

17 “तब उसले आफूलाई मूर्ख भएको अनुभव गर्यो। उसले भन्यो, ‘मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ। तर म यहाँ भोकले मर्न लागेको छु। 18 म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें 19 म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै एकजना नोकर झैं राख्नु होस्।’ 20 यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो।

छोरो फर्किन्छ

“जब निकै पर देखि ऊ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबुको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए। 21 छोरोले तिनलाई भन्यो, ‘हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’

22 “तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, ‘चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ। 23 त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं। 24 किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।

जेठो छोरोको आगमन

25 “उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो। 26 यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘यी सब के भइरहेको छ?’ 27 नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सकुशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।

28 “त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे। 29 त्यो छोरोले बाबुलाई भन्यो, ‘मैले यतिका वर्षसम्म नोकर झैं तपाईंको सेवा गरें। मैले सधैँ तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसँग भोज मनाउँन सक्थें। 30 तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको सँगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।’

31 “अनि बाबुले छोरालाई भने, ‘ए छोरो! तिमी त मसँग सधैँ छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो। 32 हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाइ मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।’”

भजनसंग्रह 81

प्रमुख संगीतकारलाई: गितीथ को रागमा गाँउने आसापको भजन।

खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ, भनी गीत गाऊ।
    इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
संगीत प्रारम्भ गर।
    खैंजडीहरू बजाऊ।
    सुरमय वीणा बजाऊ।
जब हाम्रो विश्राम शुरू हुन्छ।
    पूर्णिमा लागेको बेला तुरही फुक,
    औंसी परेको बेला नरसिङ्ग फुक।
त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो।
    परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो
    परमेश्वरले उनीसित यो करार गर्नुभयो।
मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ।
    मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिएँ।
तिम्रा मानिसहरू सङ्कटमा थिएँ।
तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें।
    तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ।
    त्यहींबाट मैले जवाफ दिएँ,
    मैले तिनीहरूलाई मरीबा[a] को पानीद्वारा जाँच गरें।”

“मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन।
म तिमीहरूलाई मेरो करार-वचन दिनेछु।
    इस्राएल, कृपया मेरो कुरा ध्यानले सुन।
कुनै पनि कृत्रिम देवताहरू नमान
    जुन विदेशीहरूले मान्दछन्।
10 म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ,
    मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ।
इस्राएल, तिमीहरू मुख खोल,
    अनि म खुवाउने छु।

11 “तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ।
    इस्राएल ले मेरो आज्ञा पालन गरेन।
12 यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ,
    इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
13 यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए
    अनि मेरो तरिका अनुसार बसेको भए।
14 तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ।
    म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा सङ्कटहरू ल्याउँदछ।
15 परमप्रभुका शत्रुहरू डरले काम्नेछन्।
    तिनीहरूलाई सदा दण्ड दिइनेछ।
16 परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो।
    चट्टान[b] ले तृप्त नहुन्जेल सम्म तिनीहरूलाई मह दिए।”

हितोपदेश 13:1

13 एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International