Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 9:3-10:43

कसरी यहोशूले यरीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने। यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्। ती मानिसहरूले आफ्ना खुट्टामा पुराना जुत्ता लगाए। ती मानिसहरूले पुराना बस्त्रहरू लगाए। अनि केही बासी रोटी भेट्टाए जो सूख्खा अनि ढुँडी परेका थिए। यसरी ती मानिसहरू धेरै टाढाका स्थानबाट यात्रा गरेर आएका जस्तै देखिन्थे। तब ती मानिसहरू इस्राएलका मानिसहरूका छाउनीमा गए। यो छाउनी गिलगाल नजिक थियो।

ती मानिसहरू यहोशू कहाँ गए अनि तिनलाई भने, “हामी अति टाढा देशबाट यात्रा गरेर आएका हौं हामी तपाईंसित शान्ति-सन्धि गर्न चाहन्छौं।”

इस्राएलका मानिसहरूले यी हिव्वी मानिसहरूलाई भने, “हुन सक्छ तिमीहरूले हामीलाई छल्ने कोशिश गर्दैछौ। हुन सक्छ तिमीहरू हाम्रो नजिकमा बस्छौ। हामी तिमीहरूसित सन्धि गर्न सक्तैन्नौं। जब सम्म हामी जान्दैनौं तिमीहरू कहाँबाट आएका हौ?”

ती हिव्वी मानिसहरूले यहोशूलाई भने, “हामी तपाईंका दासहरू हौं।”

तर यहोशूले सोधे, “तिमीहरू को हौ? तिमीहरू कहाँबाट आएका हौ?”

ती मानिसहरूले उत्तर दिए, “हामी तपाईंका दास हौं। हामी अति टाढा देशबाट आएका हौं। हामी आयौं किनभने परमप्रभु तपाईंहरूका परमेश्वरले मिश्रमा गर्नु भएको सबै महान कार्यहरूको विवरण हामीले सुन्यौ। 10 अनि हामीले सुन्यौं कि उहाँले यर्दन नदीको पूर्वतफर्का एमोरी मानिसहरूका दुइ राजाहरूलाई परास्त गरिदिनु भयो। ती हेश्बोनका राजा सीहोन अनि अस्तारोत देशको बाशानका राजा ओग थिए। 11 यसर्थ हाम्रा अगुवाहरू र हाम्रा मानिसहरूले हामीलाई भने, ‘तिमीहरूको यात्राका निम्ति प्रचुर मात्रामा खाद्य पदार्थ बोक। जाऊ अनि इस्राएलका मानिसहरूसित भेट गर।’ तिनीहरूलाई भन, ‘हामी तपाईंहरूका दासहरू हौं। हामीसित शान्ति सन्धि गर्नुहोस्।’

12 “हाम्रा रोटीहरू हेर्नु होस्। हामीले घर छोड्दा यी तातो र ताजा थिए। तर अहिले तपाईंहरूले देख्न सक्नुहुन्छ कि यी सूख्खा अनि पुराना भएको छन्। 13 हाम्रा दाखरसका छालाका मशकहरू हेर्नुहोस्। हामीले घर छोड्दा यी नयाँ अनि दाखमद्यले भरिएका थिए। अहिले तपाईंहरूले देख्नसक्नु हुन्छ, कि तिनीहरू चर्केका अनि पुराना भएका छन्। हाम्रा बस्त्र अनि चप्पलहरू हेर्नु होस्। तपाईंहरूले देख्न सक्नु हुन्छ कि लामो यात्राले गर्दा हामीले लगाएका कुराहरू प्रायः थोत्रा भएका छन्।”

14 इस्राएलका मानिसहरू, जान्न चाहन्थे के यी मानिसहरूले सत्य भन्दै छन्। यसर्थ तिनीहरूले केही रोटी चाखे-तर तिनीहरूले परमप्रभुलाई सोधेनन् जो तिनीहरूले गर्नु पर्ने थियो। 15 यहोशू तिनीहरूसित सन्धि गर्न सहमत भए। तिनीहरूलाई जीवित राख्न तिनी सहमत भए। इस्राएलका अगुवाहरू यहोशूको यो शपथ प्रति सहमत भए।

16 तिमीहरूसित सम्झौता गरेको तीन दिन पछि इस्राएलीले थाहा पाए। कि ती मानिसहरू वास्तवमा तिनीहरूका नजिकै बस्नेहरू रहेछन्। 17 यसकारण तेस्रो दिनमा इस्राएलीहरू तिनीहरूको शहरहरूमा गए। ती शहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत्यारैम थिए। 18 तर इस्राएलका सेनाले ती शहरहरूको विरूद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए।

सबै मानिसहरूले ती अगुवाहरू विरूद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए। 19 तर ती अगुवाहरूले उत्तर दिए, “हामीले हाम्रो शपथ दिएका छौं। हामीले परमप्रभु इस्राएलका परमेश्वरको सामुन्ने शपथ गरेका छौं। अब हामी तिनीहरू विरूद्ध लड्न सक्तैनौं। 20 यो त्यही हो जो हामीले गर्नु पर्छ। हामीले तिनीहरूलाई बाँच्न दिनुपर्छ। हामीले तिनीहरूलाई चोट पुर्याउनु हुँदैन नत्र परमेश्वर हामीसित क्रोधित हुनुहुनेछ किनभने हामीले तिनीहरूलाई दिएको शपथ भङ्ग हुनेछ। 21 यसर्थ तिनीहरूलाई जीवित रहन देऊ। तर तिनीहरू हाम्रा सेवक हुनेछन्। तिनीहरूले हाम्रो निम्ति दाउरा काट्नेछन् अनि हाम्रा सबै मानिसहरूका निम्ति पानी बोक्ने छन्।” यसर्थ ती अगुवाहरूले ती मानिसहरूसित गरेका प्रतिज्ञा भङ्ग गरेनन्।

22 यहोशूले गिबोनी मानिसहरूलाई बोलाए। तिनले भने, “तिमीहरूले हामीसित किन झूटो बोल्यौ? तिमीहरूको देश हाम्रो छाउनीको छेउमा थियो। तर तिमीहरूले तिमीहरू टाढा देशका भनेर हामीलाई भन्यौ। 23 अब तिमीहरूका मानिसहरूले अनेक कष्ट पाउने छन्। तिमीहरूका सबै मानिसहरू दास हुनेछन्-तिमीहरूले दाउरा काट्नु पर्नेछ अनि परमेश्वरको मन्दिरका निम्ति पानी बोक्नु पर्नेछ।”

24 गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं। 25 अब हामी तपाईंहरूका दासहरू हौं। तपाईं जे उचित ठान्नु हुन्छ तपाईंले गर्न सक्नु हुन्छ।”

26 गिबोनका मानिसहरू यसरी दास भए। तर यहोशूले तिनीहरूलाई जीवित रहन दिए। यहोशूले इस्राएलका मानिसहरूलाई तिनीहरूलाई मार्न दिएनन्। 27 यहोशूले गिबोनका मानिसहरूलाई इस्राएलका मानिसहरूका दास बन्न दिए। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति र परमप्रभुको बेदीका निम्ति दाउरा काट्थे अनि पानी ल्याउँथे-परमप्रभुले चुन्नु भएको जुन सुकै स्थानमा ती मानिसहरू आज सम्म पनि दास छन्।

त्यो दिन सूर्य अटल रह्यो

10 त्यसबेला अदोनिसेदेक यरूशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इस्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरूशलेमको अत्यन्त नजिकमा बस्थे। यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए। अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए, “मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।”

यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एग्लोनका राजा थिए।) तिनीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे।

गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।”

यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए। परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।”

यहोशू अनि तिनका सेना रात भरि गिबोन तर्फ हिंडे। शत्रुहरूले यहोशू आउँदैछन् भनेर थाहा पाएनन्। यसर्थ यो एक आश्चर्यपूर्ण कुरा भयो जब तिनले तिनीहरू माथि आक्रमण गरे।

10 परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे। 11 जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।

12 त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः

“हे सूर्य, गिबोन माथि स्थिर बस्।
    चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”

13 यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो। 14 यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो।

15 यसपछि, यहोशू अनि तिनका सेना गिलगालको छाउनीम फर्के। 16 तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके। 17 तर तिनीहरूलाई त्यो गुफामा लुकि रहेको कसैले देखे। यहोशूले यस विषयमा थाहा पाए। 18 यहोशूले भने, “गुफा भित्र पस्ने ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ रखवाली गर्न राखि देऊ। 19 तर तिमीहरू स्वयं त्यहाँ नबस। शत्रुलाई खेद्न जारिराख। तिनीहरूलाई लगातार पछिबाट आक्रमण गर। शत्रुलाई तिनीहरूका शहरमा फर्केर जान नदेऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिनीहरू माथि विजय प्रदान गराउनु भएको छ।”

20 यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्‌का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्। 21 युद्ध पछि यहोशूका मानिसहरू मक्केदामा तिनी कहाँ फर्की आए। त्यसदेशमा इस्राएलका मानिसहरूको विरूद्ध साहसी मानिस कोही पनि थिएनन्।

22 यहोशूले भने, “गुफाको द्वारमा बन्द गरेका ढुङ्गाहरू हटाऊ। ती पाँचजना राजाहरूलाई मकहाँ ल्याऊ।” 23 यसर्थ यहोशूका मानिसहरूले ती पाँचजना राजाहरूलाई गुफा बाहिर ल्याए। तिनीहरू यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश अनि एग्लोनका राजाहरू थिए। 24 तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।

25 तब यहोशूले आफ्ना मानिसहरूलाई भने, “बलवान अनि साहसी बन। भयभीत नहौं। म तिमीहरूलाई देखाउनेछु जो परमप्रभुले ती शत्रुहरू प्रति गर्नुहुनेछ जोसित तिमीहरू भविष्यमा लड्नेछौ।”

26 त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डि्याएर राखे। 27 सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।

28 त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्कैदाका राजा प्रति गरे।

दक्षिणी शहरहरूलाई लिएको

29 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले मक्केदाबाट यात्रा गरे। तिनीहरू लिब्ना गए अनि त्यस शहर माथि आक्रमण गरे। 30 परमप्रभुले इस्राएलका मानिसहरूलाई शहर अनि त्यसका राजालाई पराजित गराइदिनु भयो। इस्राएलका मानिसहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारे। एउटा मानिस पनि जीउँदो रहेनन्। अनि यरीहोका राजालाई गरे जस्तै यहोशूले त्यस राजालाई पनि गरे।

31 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले लिब्ना छाडे अनि लाकीश तिर गए। यहोशू अनि तिनका सेनाले त्यो शहरको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे। 32 लाकीश शहर परास्त गर्न परमप्रभुले तिनीहरूलाई सहयोग गर्नु भयो। तिनीहरूले त्यस शहरलाई दोस्रो दिनमा परास्त गरे। इस्राएलीहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारिदिए जसरी तिनीहरूले लिब्नामा मारेका थिए। 33 गेजेरका राजा होराम लाकीशलाई सहायता गर्नु आए, तर यहोशूले तिनी र तिनका सेनालाई पनि परास्त गरे। तिनीहरू मध्ये एक जनालाई पनि जीवित छाडिएन।

34 तब यहोशू अनि इस्राएलका समस्त सेनाहरू लाकीश देखि एग्लोनतर्फ यात्रा गरे। तिनीहरूले एग्लोनको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे। 35 त्यसदिन तिनीहरूले शहरमा अधिकार गरे अनि शहरका सबै मानिसहरूलाई मारिदिए। यो त्यस्तै कुरा थियो जो तिनीहरूले लाकीश प्रति गरेका थिए।

36 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले एग्लोन देखि हेब्रोनको यात्रामा गए। तब तिनीहरूले हेब्रोन माथि आक्रमण गरे। 37 तिनीहरूले हेब्रोन नजिकका सबै स-साना शहरहरू कब्जा गरे। इस्राएलीहरूले त्यस शहरका राजा अनि सबै मानिसहरूलाई मारिदिए। एकजना मानिसलाई पनि जीवित राखेनन्। यो त्यस्तै भयो जस्तो तिनीहरूले एग्लोन प्रति गरेका थिए। तिनीहरूले शहरलाई ध्वंश पारे त्यहाँ जो थिए सबै मारिए।

38 तब यहोशू अनि इस्राएलका सबै मानिसहरू दबीरतिर फर्केर गए र त्यस शहरलाई आक्रमण गरे। 39 तिनीहरूले त्यो शहर, त्यसका राजा अनि दबीर नजिकका सबै ससाना शहरहरू अधीनमा लिए। तिनीहरूले त्यस शहरमा भएका हरेक मानिसलाई मारे। कसैलाई पनि जीवित छाडिएन। इस्राएलका मानिसहरूले दबीर अनि त्यसका राजालाई त्यसै गरे जस्तो तिनीहरूले हेब्रोन अनि त्यहाँका राजालाई गरेका थिए। यो त्यस्तै कुरा थियो जस्तो तिनीहरूले लिब्ना अनि त्यसका राजाप्रति गरेका थिए।

40 यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।

41 यहोशूले कादेशबर्ने देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे। 42 यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो। 43 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरू गिलगालमा आफ्ना छाउनीमा फर्किए।

लूका 16:19-17:10

धनी मानिस र लाजरस

19 येशूले भन्नुभयो, “एउटा धनी मानिस थियो। उसले बहुमूल्य लुगाहरू लगाउँथ्यो। 20 त्यहाँ लाजरस नाउँ गरेको एक गरीब मानिस बस्थ्यो त्यो त्यस धनी मानिसको घरको ढोका अघि सुती रहन्थ्यो। त्यसको शरीर घावै घावले भरिएको थियो। 21 यदि त्यसले त्यस धनी मानिसले खाएर उब्रेको खान पाए पनि सन्तुष्ट हुन्थ्यो। कहिले काँही कुकुरहरूले त्यसको घाव चाटिरहेका हुन्थे।

22 “केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकेर अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो। 23 त्यसलाई नरकलोकमा पठाइयो अनि खुबै कष्ठमा पर्यो। त्यो धनी मानिसले टाडोबाट अब्राहामले लाजरसलाई आफ्नो काखमा लिएको देख्यो। 24 त्यसले चिच्याएर भन्यो, ‘हे पिता अब्राहम, ममाथि दया गर्नुहोस्! लाजरसलाई मकहाँ पठाइदिनुहोस् ताकि त्यसले आफ्नो औंला पानीमा चोब्न सक्छ र मेरो जिब्रोलाई शीतल पारिदिओस्। किनभने यी ज्वालामा म कष्ट पाइरहेकोछु।’

25 “तर अब्राहमले भने, ‘हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ। 26 तिमीहरू र हाम्रो बीचमा पनि एउटा ठूलो खाडल छ। यहाँबाट कोही पनि तिमीहरू भएकोमा पुग्न सक्तैन अनि त्यहाँबाट पनि कोही यता तर्न सक्तैन।’

27 “त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्। 28 मेरा पाँचजना भाइहरू छन्। यदि लाजरसले तिनीहरूलाई चेताउनी दिए भने, तिनीहरू यो कष्टमय ठाउँमा आउने छैनन्।

29 “तर अब्राहाले भने, ‘तिनीहरूको लागि पढ्न मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।’

30 “तर त्यो धनी मानिसले भन्यो, ‘होइन! पिता अब्राहाम! यदि कोही मरेकाहरूबाट एक जना त्यहाँ गए, तिनीहरूले विश्वास गर्नेछन् अनि हृदय र जीवन परिवर्तन गर्नेछन्।’

31 “फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।’”

पापको कारण नबन र सधैँ क्षमा गर्न तयार होऊ

(मत्ती 18:6-7,21-22; मर्कूस 9:42)

17 येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घट्नाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ। त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ। यसकारण होशियार बस।

“यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर। तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।”

तिम्रो विश्वास कति ठूलो छ?

प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनोस्।”

प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, ‘तँ आफैं उखेलिएर समुद्रमा रोपिन जा!’ अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ।

विश्वासी नोकर हुने चेष्टा गर

“मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेंडा़ चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? ‘आऊ अनि खाना खान बस’? अँह! तिमी त्यो नोकरलाई भन्नेछौ, ‘मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।’ नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन। 10 तिमीसँग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, ‘तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।’”

भजनसंग्रह 83

आसापले रचेको एउटा स्तुतिगान।

हे परमेश्वर, चुपचाप नबस्नुहोस्!
    तपाईंको कानहरू नथुन्नु होस्,
    कृपया केही त भन्नु होस्, परमेश्वर।
परमेश्वर, तपाईंका शत्रुहरूले तपाईंकै विरूद्ध योजनाहरू बनाउँदैछन्
    अनि तिनीहरूले चाँडै आक्रमण गर्नेछन्।
तिनीहरूले तपाईंका प्रिय मानिसहरूको विरूद्ध गुप्त योजनाहरू बनाउँदैछन्।
    तपाईंका शत्रुहरूले ती तपाईंकै प्रिय मानिसहरूको विषयमा नै योजनाहरू बनाउँदै छन्।
ती शत्रुहरू भन्दैछन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वष्त गरीदिउँ।
    तब कसैले पनि ‘इस्राएलको’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”
परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन्
    तपाईं र तपाईंको करार विरूद्व लडाई गर्नलाई,
    जुन तपाईंले हामीसँग गर्नु भएको थियो।
6-7 ती शत्रुहरू हामीसँग लड्नलाई एकजुट भएका छन्,
प्रदोम, इश्माएली मानिसहरू, मोआब
    अनि हागारका भावी सन्तानहरू, गलाबीहरू, अमालेकीहरू,
एमालीहरू, पलिश्तीहरू, अनि टायरमा बस्ने जनसमूह।
    ती सबै हामीसँग लड्नलाई एकजुट भएकाछन्।
असिरियनहरू समेत तिनीहरूसँग मिल्न पुगे।
    तिनीहरूले लूतका सन्तानहरूलाई अति शक्तिशाली बनाए।
परमेश्वर, तिनीहरूलाई मिद्यानीहरूलाई झैं परास्त पारिदिनु होस्,
    सिसरा र याबीनहरूलाई किसोन नदीको किनार परास्त पारे झैं पार्नुहोस्।
10 तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो।
    अनि तिनीहरूका सारा शरीरहरू भूइँमा सडी रह्यो।
11 परमेश्वरले, शत्रुहरूका नाईकहरूलाई परास्त गर्नुहोस्।
ओरेब र जीबमा जे गर्नु भएथ्यो त्यसै गर्नुहोस्।
    जेबह र सलमुन्नामा जे गर्नु भएथ्यो, त्यसै गर्नुहोस्।
12 हे परमेश्वर, ती मानिसहरूले हामीलाई
    तपाईंको यो जमीनबाट खेद्न चाहन्छन्।
13 तिनीहरूलाई हावाले उडाएर लैजाने मरीजूना उद्भिद् जस्तै बनाई दिनुहोस्,
    हावाले पराललाई छिन्न-भिन्न पारे जस्तै तिनीहरूलाई पनि छिन्न-भिन्न पारिदिनु होस्।
14 जङ्गलमा आगो लागे झैं ती शत्रुहरूलाई ध्वंश पारिदिनु होस्।
    डढेलोले पहाडहरू जलाए झैं नाश गरिदिनुहोस्।
15 हे परमेश्वर, जसरी तीब्र आँधीले धूलो उडाउँछ तिनीहरूलाई पनि त्यसरी नै खेदाउनुहोस्।
    हल्लाउँदै तिनीहरूलाई तूफान जस्तै टाढा-टाढा उडाई खेदी दिनुहोस्।
16 परमेश्वर, तिनीहरूलाई सताउनु होस् ताकि तिनीहरू वास्तवमा कमजोर नै छन् भन्ने थाहा होस्।
    त्यसपछि तिनीहरूले तपाईंको नाउँलाई उपासना गर्नेछन्।
17 हे परमेश्वर, तिनीहरूलाई भयग्रस्त पार्नुहोस् अनि सदाको निम्ति लज्जित तुल्याउनु होस्।
    तिनीहरूलाई अपमानित तुल्याउनु होस् अनि ध्वंश पार्नु होस्।
18 तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्।
    तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन्,
तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्।
    सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।

हितोपदेश 13:4

अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिससँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International