Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 9:22-10:18

अबीमेलेक शकेम विरूद्ध लडाँईं गर्छन्

22 अबीमेलेकले इस्राएलका मानिसहरू माथि तीन बर्षसम्म शासन गरे। 23-24 अबीमेलेकले यरूब्बालका सत्तरी जना छोराहरूलाई मारे अनि तिनीहरू अबीमेलेकका आफ्नै भाइहरू थिए। शकेमका अगुवाहरूले यो नराम्रो काम गर्नमा तिनलाई सहयोग गरेका थिए। यसकारण यरूब्बालका सत्तरी जना छोराहरू मारेको बद्ला लिनलाई परमप्रभुले अबीमेलेक अनि शकेमको अगुवाहरूको विषयमा झगड़ा उत्पन्न गराइ दिनुभयो। 25 शकेमका अगुवाहरूले अबीमेलेकलाई अपमान गरे। ती मानिसहरूले त्यो बाटो भएर यात्रा गर्नेहरूलाई आक्रमण गर्न अनि लुट्नका निम्ति मानिसहरूलाई पहाडको टापूमा राखे। अबीमेलेकले ती आक्रमणहरूको बारेमा थाहा पाए।

26 गाल नाउँ गरिएको एउटा मानिस, जो एबेदको छोरा हुन उसको भाइ-बन्धुहरूसँग शकेम शहरमा बसाँईं सरे। शकेमका अगुवाहरूले गाललाई भरोसा गर्न अनि उसलाई अनुशरण गर्ने निर्णय गरे।

27 एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंगुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने।

28 तब एबेदका छोरा गालले भने, “हामी शकेमका मानिसहरू हौं। हामीले किन अबीमेलेकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलेक यरूब्बालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलेकले जबूललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलेकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हमोरका मानिसहरूको अनुशरण गर्नुपर्छ। (हमोर शकेमका पिता थिए।) 29 यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायौ भने म अबीमेलेकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आऊ।’”

30 जबूल शकेम शहरका राज्यपाल थिए। जबूलले सुने जो एबेदका छोरा गालले भने अनि जबूल अत्यन्त क्रोधित भए। 31 जबूलले अरूमाह शहरमा अबीमेलेक कहाँ समाचार वाहकहरू पठाए। सन्देश यो होः

“एबेदका छोरा गाल अनि उसका भाइहरू शकेम शहरमा आएका छन्। तिनीहरूले तिम्रा निम्ति कष्ट उब्जाउँदैछन्। गालले सम्पूर्ण शहरलाई तिम्रो विरूद्ध फर्काइरहेछ। 32 यसर्थ अब तिमी अनि तिम्रा मानिसहरू आज राती आउनुपर्छ अनि शहर बाहिरको खेतमा लुक्नुपर्छ। 33 त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्रमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लड्नका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लड्नका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।”

34 यसर्थ अबीमेलेक अनि तिनका सबै सैनिकहरू राती उठे अनि शहर तिर गए। ती सैनिकहरू चार समूहमा छुट्टिए। तिनीहरू शकेम शहरको छेउमा लुके। 35 एबेदका छोरा गाल बाहिर गए अनि शकेम शहरको द्वारको प्रवेश स्थानमा उभिएका थिए। गाल त्यहाँ उभिरहेको बेला अबीमेलेक अनि उसका सैनिकहरू आफ्ना लुकेका ठाउँबाट निस्किए।

36 गालले सैनिकहरूलाई देखे। गालले जबूललाई भने, “हेर, त्यहाँ मानिसहरू पर्वतबाट तलतिर आइरहेछन्।”

तर जबूलले भने, “तिमीले मात्र पर्वतका छायाँ देख्दै छौ। ती छायाँहरू मानिसहरू जस्तै देखिन्छन्।”

37 तर गालले फेरि भने, “हेर, त्यहाँ केही मानिसहरू नावेलको भूमिबाट ओरालो आइरहेका छन्। अनि त्यहाँ कसैको शिर मैले तंन्त्र-मंन्त्र गर्ने रूखमा देखें।” 38 जबूलले गाललाई भने, “तिमी अहिले किन धाक नलाएको? तिमी, ‘अबीमेलेक को हो? हामीले किन तिनको आज्ञा पालन गर्नुं’ भन्यौ। तिमीले ती मानिसहरूको खिल्ली उडायौ। अब जाऊ, अनि तिनीहरूसित युद्ध गर।”

39 यसर्थ गाल शकेमका अगुवाहरू लिएर अबीमेलेकसित युद्ध गर्न गए। 40 अबीमेलेक अनि उसका मानिसहरूले गाल अनि तिनका मानिसहरूलाई खेदे। गालका मानिसहरू शकेम शहरको फाटक तर्फ फर्केर दगुरे। गालका धेरै मानिसहरू फाटक पुग्नु अघि नै मारिए।

41 तब अबीमेलेक अरूमाह शहर तिर फर्किए। जबूलले गाल अनि उसका भाइहरूलाई शकेम शहर छोड्न वाध्य तुल्याए।

42 भोलिपल्ट शकेमका मानिसहरू खेततिर काम गर्न गए। अबीमेलेकले त्यस बारे थाहा पाए। 43 यसर्थ अबीमेलेकले आफ्ना मानिसहरूलाई तीन समूहमा छुट्याए। तिनीले शकेमका मानिसहरूलाई अचानक आक्रमण गर्न चाहन्थे। यसर्थ तिनले आफ्ना मानिसहरूलाई खेतमा लुकाए। जब उसले मानिसहरूलाई शहर बाहिर निस्केको देखे तिनले उफ्रिएर तिनीहरू माथि आक्रमण गरे। 44 अबीमेलेक अनि उसका समूह शकेमको फाटक नजिकको स्थान तिर दगुरे। अन्य दुइ समूहहरू खेतमा भएका मानिसहरू तिर दगुरे अनि तिनीहरूलाई मारिदिए। 45 अबीमेलेक अनि तिनका मानिसहरूले त्यो दिनभरि शकेम शहरको विरूद्ध युद्धगरे। अबीमेलेक अनि तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलेकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशावशेषमा नून छरिदिए।

46 त्यहाँ केही मानिसहरू थिए जो शकेमको किल्लामा बस्थे। जब त्यहाँका मानिसहरूले शकेममा भएको घट्ना सुने तिनीहरू एल बरीत देवताका मन्दिरको सुरक्षित कोठामा एकत्रित भए।

47 अबीमेलेकले शकेम किल्लामा सबै अगुवाहरू एक साथ भेला भएका छन् भन्ने कुरा सुने। 48 यसर्थ अबीमेलेक अनि तिनका मानिसहरू सल्मोन डाँडा सम्म गए। अबीमेलेकले एउटा बन्चरो लिए अनि केही हाँगाहरू काटे। उसले ती हाँगाहरू आफ्ना काँधमा बोके। तब, अबीमेलेकले आफूसित भएका मानिसहरूलाई भने, “छिट्टो! मैले जे गरेकोछु त्यसै गर।” 49 यसर्थ ती सबै मानिसहरूले हाँगाहरू काटे अनि अबीमेलेकको अनुशरणगरे। तिनीहरूले ती हाँगाहरू एल बरीत देवताको मन्दिरको सुरक्षित कोठाको भित्तामा थुपारे। तब तिनीहरूले ती हाँगामा आगो लगाए अनि कोठामा भएका मानिसहरूलाई जलाई दिए। यसरी शकेमको किल्ला नजिक बस्ने प्रायः 1,000 पुरूष अनि स्त्रीहरूको मृत्यु भयो।

अबीमेलेकको मृत्यु

50 त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए। 51 तर शहरभित्र एउटा सुदृढ किल्ला थियो। त्यस शहरका सबै अगुवाहरू, अन्य पुरूष अनि स्त्रीहरू त्यस किल्लातिर दगुरे। जब मानिसहरू किल्ला भित्र थिए तिनीहरूले पछि बाट ढोकाबन्द गरिदिए। तब तिनीहरू किल्लाको छतमा चढे। 52 अबीमेलेक अनि उसका मानिसहरू आक्रमण गर्न किल्लामा आए। अबीमेलेक किल्लाको ढोका सम्म गए। तिनीले किल्लालाई जलाउन चाहन्थे। 53 तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिईन। 54 अबीमेलेकले तुरन्तै आफ्ना हतियार बोक्ने सेवकलाई भने, “तेरो तरवार निकाल अनि मलाई मार। तैंले मलाई मारेको म चाहन्छु किनकि, ‘अबीमेलेकलाई एउटी स्त्रीले मारिन् भनेर।’” मानिसहरूले भन्लान। यसर्थ त्यो सेवकले अबीमेलेकलाई आफ्नो तरवारले रोपिदियो, अनि अबीमेलेकको मृत्यु भयो। 55 इस्राएलका मानिसहरूले अबीमेलेकको मृत्यु भएको देखे। यसर्थ तिनीहरू सबै घर फर्किए।

56 त्यस प्रकार उसले गरेका समस्त दुष्टकर्मको निम्ति परमेश्वरले अबीमेलेकलाई दण्ड दिनु भयो। अबीमेलेकले आफ्ना सत्तरी जना दाज्यू-भाइहरूलाई मारेर आफ्नो पिताको विरूद्धमा पाप गरे। 57 परमेश्वरले शकेमका मानिसहरूलाई पनि तिनीहरूले गरेका नराम्रा कुराहरूका निम्ति दण्ड दिनुभयो। यसर्थ योतामले भनेका कुराहरू सत्य भए। (योताम यरूब्बालका कान्छा छोरा थिए। यरूब्बाल गिदोन थिए।)

न्यायकर्ता तोला

10 अबीमेलेकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो। तोला तेईस बर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो।

न्यायकर्ता याईर

तोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईस बर्षसम्म इस्राएलका मानिसहरूको न्यायकर्ता भए। याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्। याईरको मृत्यु भयो अनि तिनी कामोन शहरमा गाडिए।

अम्मोनीहरू इस्राएल विरूद्ध युद्धगर्छन्

फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।

यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्रोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरूद्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो। त्यसै बर्ष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बस्ने इस्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ एमोरी मानिसहरू बस्दथे। इस्राएलका ती मानिसहरूले अठार बर्षसम्म दुःख भोगे। अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।

10 यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसँग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरूद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौ अनि झूटा देवता बाललाई पूज्यौ।”

11 परमप्रभुले इस्राएलका मानिसहरूलाई उत्तर दिनुभयो, “जब तिमीहरूलाई मिश्रदेशका, एमोरी, अम्मोनी अनि पलिश्ती मानिसहरूले घात पुर्याए तिमीहरूले म कहाँ विलाप गर्यौ। मैले तिमीहरूलाई यी मानिसहरूबाट बचाएँ। 12 जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ। 13 तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु। 14 तिमीहरू अन्य देवताहरूको पूजा गर्न मन पराउँछौ यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपदमा पर्छौ ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देऊ।”

15 तर इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईं हामी प्रति जे गर्न चाहनुहुन्छ त्यही गर्नु होस्। तर कृपया हामीलाई आज बचाउँनुहोस्।” 16 तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।

यिप्तह प्रमुखको रूपमा चुनिए

17 अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो। 18 गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्रमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”

लूका 24:13-53

इम्माउसको बाटोमा

(मर्कूस 16:12-13)

13 त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय: साढे तीन कोश टाढा पर्थ्यो। 14 तिनीहरूले घटेका ती सब घट्नाहरू बारे कुरा गरिरहेका थिए। 15 जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफैं तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसँगै हिँड्नु भयो। 16 तर ती दुइ जनालाई येशूले चिन्नु दिनु भएको थिएन। 17 त्यसपछि येशूले भन्नुभयो, “तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?”

ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो। 18 तिनीहरू मध्ये एकजना क्लेओपास नाउँ भएकोले भने, “यरूशलेमको एकजना मानिस यरूशलेममा घटेको घट्नाहरू बारे नजान्ने मानिस सायद तिमी मात्र हौ कि?”

19 येशूले तिनहरूलाई भन्नुभयो, “कस्तो घट्नाहरू?”

तिनीहरूले उहाँलाई भने, “यो नासरतको एकजना मानिस येशूको विषयको कुरो हो। उहाँले परमेश्वर अनि मानिसहरूको अघि कर्म अनि वचनले देखाउनु भयो कि उहाँ एकजना महान अगमवक्ता हुनु हुन्थ्यो। 20 तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए। 21 हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घट्नाहरू घटे।

“यी सब घट्ना घटेको आज तेस्रो दिन हो। 22 तब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए। 23 तर तिनीहरूले उहाँको शरीर त्यहाँ पाएनन्। तिनीहरू फर्के अनि तिनीहरूले दुइजना स्वर्गदूतहरूको दर्शन पाएको कुरा बताए। स्वर्गदूतहरूले भने कि येशू जीवित हुनुहुन्छ! 24 त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।”

25 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गर्यौ। 26 ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।” 27 त्यसपछि येशूले धर्मशास्त्रमा मोशा देखि लिएर अन्य जम्मै अगमवक्ताहरूद्वारा जे लेखिएको थियो प्रत्येक कुरो बताउनु शुरू गर्नु भयो। धर्मशास्त्रहरूमा उहाँ आफ्नो विषयमा जे लेखिएको थियो उहाँले बताउनु भयो।

28 जब तिनीहरू इम्माउस छेउ पुगे अनि येशूले वहाना गर्नु भयो कि उहाँ त्यहाँबाट अझै अधि जानुछ। 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै अनेक बिन्ती गरे, “हामीसितै बस्नुहोस्, दिन धेरै बिती सक्यो प्रायः रात परि सक्यो!” तब उहाँ तिनीहरूसँग बस्नु राजी हुनु भयो।

30 येशू जब मेचमा उनीहरूसँग बस्नु भयो उहाँले केही रोटीहरू लिनु भयो अनि त्यसको निम्ति धन्यवाद दिनु भयो। तब तिनले त्यो टुक्रा पार्नु भयो अनि तिनीहरूलाई दिनुभयो। 31 त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्न सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो। 32 ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसँग बात गर्नु हुँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाञ्चित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँच्चो अर्थ खोलिरहनु भएको थियो।”

33 तब ती दुइजना जुरूक्क उठे अनि यरूशलेमतिर फर्किए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसँग भएका अरू मानिसहरूले भने, 34 “प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।”

35 त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने।

येशू चेलाहरू सामु देखा पर्नु भयो

(मत्ती 28:16-20; मर्कूस 16:14-18; यूहन्ना 20:19-23; प्रेरित 1:6-8)

36 जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफैं चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”

37 तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे। 38 तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शङ्काका गर्छो? 39 मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैनन्।”

40 तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो। 41 तिनीहरू अत्यन्तै खुशी भएको कारणले अझ विश्वास गर्न सकेन्न्। तिनीहरू अचम्मित भए। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ खाने कुरा छ?” 42 तिनीहरूले एकटुक्रा पकाएको माछा उहाँलाई दिए। 43 त्यो लिनु भयो अनि तिनीहरूको अघि खानु भयो।

44 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”

45 त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझ्ने मन खोली दिनु भयो। 46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ। 47-48 तिमीहरूले यी सबै घट्ना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्। यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ। 49 सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपाउरून्जेल यहाँ यरूशलेममा नै पर्खिरहो।”

येशूको स्वर्गरोहण

(मर्कूस 16:19-20; प्रेरित 1:9-11)

50 येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो। 51 उहाँ तिनीहरूलाई आशीर्वाद दिंदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो। 52 चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम फर्किए। तिनीहरू अत्यन्तै खुशी थिए। 53 सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे।

भजनसंग्रह 100

धन्यवादको भजन।

हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
परमप्रभुको सेवामा खुशी हौ!
    खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान।
    उहाँले हामीलाई बनाउनु भयो।
    हामी उहाँका मानिसहरू हौं, अनि हामी उहाँका खर्कका भेंडाहरू हौं।
उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ।
    उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ।
    उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
परमप्रभु, भलो हुनुहुन्छ।
    उहाँको प्रेम अनन्त छ।
    हामी सदा सदा-सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!

हितोपदेश 14:11-12

11 एक दुष्ट मानिसको घर ध्वंश हुनेछ, तर इमानदार मानिसको घर फलिफाप हुनेछ।

12 त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्याउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International