Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 1:1-2:9

यहूदा कनानीहरू विरूद्ध युद्धगर्छन्

यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”

परमप्रभुले इस्राएली मानिसहरूलाई भन्नुभयो, “यहूदाको कुल समूह जानेछ। म तिनीहरूलाई यो भूमि लिन सहायता गर्नेछु।”

यहूदाका मानिसहरूले तिनीहरूको दाजू-भाइ शिमोनका मानिसहरूसित सम्झौता गरे, “आऊ हामीलाई सहायता गर्न हाम्रो क्षेत्रमा युद्ध गर अनि हामीहरू त्यसरी नै तिमीहरूको क्षेत्र जित्न तिमीहरूलाई सहायता गर्नेछौ।” शिमोनका मानिसहरू राजी भए र यहूदाका मानिसहरू, तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्न गए।

परमप्रभुले यहूदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए। बेजेक शहरमा यहूदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहूदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे।

बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहूदाका मानिसहरूले तिनलाई खेदे र समाते। जब तिनीहरूले उसलाई समाते, तिनीहरूले तिनका बूढी-औंलाहरू काटिदिए। तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्राहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।

यहूदाका मानिसहरू यरूशलेमको विरूद्ध लडे अनि त्यसलाई कब्जा गरे। यहूदाका मानिसहरूले यरूशलेमका मानिसहरूलाई मार्न आफ्ना तरवारहरू प्रयोग गरे। त्यसपछि तिनीहरूले त्यस शहरलाई जलाइदिए। पछि यहूदाका मानिसहरू धेरै कनानीहरूसँग युद्ध गर्ने उँधोतिर आए जो नेगेवको पहाडी देश अनि पश्चिमी मैदानतिर बस्थे।

10 तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ किर्यात-अर्बा थियो) यहूदाका मानिसहरूले शेशै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे।

कालेब र तिनकी छोरी

11 यहूदाका मानिसहरूले त्यो स्थानलाई छोडे। तिनीहरू त्यहाँका मानिसहरू विरूद्ध लडनको निम्ति दबीर शहर तर्फ गए। (बितेको समयमा दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) 12 तर यहूदाका मानिसहरूले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडाइँ गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्रमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गरि दिनेछु।”

13 कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्निएल नाउँको एउटा छोरो थियो। ओत्निएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए।

14 अक्सा ओत्निएलसित बस्नगइन्। ओत्निएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन् कालेबले तिनलाई भने, “के गल्ती भयो?”

15 अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेबमा एक टुक्रा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहरू दिए।

16 मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरू खजूरका रूखहरूको शहरबाट आराद नजीक नेगेवमा भएको यहूदाको मरुभूमिमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे।

17 केही कनानी मानिसहरू सपत शहरमा बस्थे। यसर्थ यहूदा अनि शिमोनका कुल समूहका मानिसहरूले ती कनानी मानिसहरू माथि आक्रमण गरे। तिनीहरूले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहरूले त्यो शहरको नाउँ होर्मा राखे। 18 यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अश्कलोन, एक्रोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।

19 यहूदाका मानिसहरूले जब युद्ध गरे परमप्रभु तिनीहरूका पक्षमा हुनुहुन्थ्यो। तिनहरूले पहाडी देशको भूमि लिए। तर यहूदाका मानिसहरूले बेंसीको भूमि लिन असफल भए, किनभने त्यहाँ बस्ने मानिसहरूसित फलामका रथहरू थिए। 20 मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए।

21 बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।

यूसुफका मानिसहरूले बेतेल कब्जा गर्छन्

22 यूसुफका कुल समूहका मानिसहरू बेथेल विरूद्ध लँडाईं गर्न गए। (अतीतमा बेथेललाई लूज भनिन्थ्यो।) परमप्रभु यूसुफका कुल समूहका मानिसहरूका पक्षमा हुनुहुन्थ्यो। 23 यूसुफका कुल समूहका मानिसहरूले बेथेल शहरमा केही जासूसहरू पठाए। ती मानिसहरू बेथेल शहरलाई पराजित गर्ने मौका खोजीरहेका थिए। 24 जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्रमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।”

25 त्यो मानिसले जासूसहरूलाई शहर भित्र पस्ने गुप्त मार्ग देखाइ दियो। यूसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मार्न तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए। 26 त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हित्ती मानिसहरू बस्थे र शहर निर्माण गर्यो। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ।

अन्य कुल समूहहरू कनानीहरूसित युद्ध गर्छन्

27 कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे। 28 पछि इस्राएलका मानिसहरू शक्तिशाली भए अनि कनानी मानिसहरूलाई तिनीहरूका दासको रूपमा कार्य गर्न बाध्य तुल्याए। तर इस्राएलका मानिसहरूले समस्त कनानी मानिसहरूलाई तिनीहरूका भूमि छोड्न बाध्य तुल्याउन सकेनन्।

29 एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घट्ना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भगाउन सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे।

30 जबूलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबूलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबूलूनका मानिसहरूसित बसे। तर जबूलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए।

31 आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अक्को, सीदोन, अहलाब, अक्जबी, हेलबा, अपीक अनि रहोब शहरहरू छोड्न कर गरेनन्। 32 आशेरका कुल समूहका मानिसहरूले पनि ती कनानीहरूलाई तिनीहरूका भूमि छोड्न कर लगाएनन्। यसर्थ कनानीहरू आशेरका मानिसहरूसित बसिरहे।

33 नप्ताली कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। नप्तालीका मानिसहरूले कनानी मानिसहरूलाई बेतशेमेश अनि बेतनात शहरहरू छोड् भनी कर गरेनन्। यसरी नप्तालीका मानिसहरू ती मानिसहरूसित ती शहरहरूमा रहे। ती कनानी मानिसहरूले नप्ताली मानिसहरूका निम्ति दासको रूपमा काम गरे।

34 एमोरी मानिसहरूले दानका कुल समूहका मानिसहरूलाई पहाडी देशमा बस्न बाध्य तुल्याए। तिनीहरू पहाडतिर बस्नु पर्यो किनभने एमोरी मानिसहरूले तिनीहरूलाई उपत्यकामा बस्न तल झर्न दिएनन्। 35 एमोरी मानिसहरूले हेरेस पर्वत, अय्यालोन अनि शाल्बीममा रहने निर्णय गरे। पछि यूसुफका कुल समूह शक्तिशाली भए। तब तिनीहरूले एमोरी मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्ने तुल्याए। 36 एमोरी मानिसहरूको भूमि बिच्छी घाँटी देखि सेला अनि सेला पारिको पहाडी देशसम्म थियो।

बोकीममा परमप्रभुका स्वर्गदूत

परमप्रभुका स्वर्गदूत गिलगाल शहर देखि बोकीम शहरसम्म गए। स्वर्गदूतले इस्राएलका मानिसहरूलाई भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई यो भूमिमा ल्याएँ जो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिमीहरूलाई भनेको थिएँ कि तिमीहरूसित गरेको करार कहिल्यै भङ्ग गर्ने छैन। तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँध्ने छैनौ। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।

“अब म तिमीहरूलाई भन्नेछु, ‘अब देखि उता यी मानिसहरूलाई म यो भूमिदेखि धपाउने छैन। यी मनिसहरू तिमीहरूको निम्ति समस्या बनिनेछन्। तिनीहरूका असत्य देवताहरूले तिमीहरूलाई पासोमा पार्नेछन्।’”

परमप्रभुका स्वर्गदूतले इस्राएलका मानिसहरूलाई वचन दिइसके पछि मानिसहरू जोडले रोए। यसर्थ इस्राएलका मानिसहरूले जहाँ विलाप गरे त्यस स्थानको नाउँ, बोकीम राखे। बोकीममा इस्राएलका मानिसहरूले परमप्रभुका निम्ति बलिदानहरू अर्पण गरे।

अवज्ञा अनि पराजित

तब यहोशूले मानिसहरूलाई घर जानु भने। यसर्थ हरेक कुल समूह त्यहाँ बस्नका निम्ति आफ्ना इलाका ओगट्न गए। इस्राएलीहरूले परमप्रभुको सेवा यहोशू जीवित रहेसम्म गरे अनि उसको मृत्यु पछि पनि जब सम्म बूढा प्रधानहरू रहिरहे। यी बूढा प्रधानहरूले इस्राएलका मानिसहरूका निम्ति परमप्रभुले गर्नु भएको सम्पूर्ण महान कुराहरू देखेका थिए। नूनका छोरा, परमप्रभुका सेवक यहोशूको एक सय दश बर्षको उमेरमा मृत्यु भयो। इस्राएलका मानिसहरूले यहोशूलाई दफन गरिदिए। तिनीहरूले यहोशूलाई त्यो भूमिमा गाडिदिए जुन तिनलाई दिइएको थियो। त्यो तिम्नात-हेरेसमा गाशपर्वतको उत्तरतर्फ एप्रैमको पहाडी देशमा थियो।

लूका 21:29-22:13

मेरा वचनहरू अनन्तसम्म रहनेछ

(मत्ती 24:32-35; मर्कूस 13:28-31)

29 त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयोः “यी सबै रूखहरूलाई हेर। नेभाराको रुख यसको लागि असल उदाहरण हो। 30 जब यो हरियो हुन्छ (बढ्नेछ), तिमीहरूलाई थाहा हुनेछ कि ग्रीष्म ऋतु नजिकै आयो। 31 त्यसरीनै जब यी सब भइरहेको देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ।

32 “म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घट्नाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्। 33 आकाश र पृथ्वी ध्वंस हुनेछ, तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्।

हर समय तयार बस

34 “होशियार बस! आफ्नो समय महा-भोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ। 35 पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ। 36 यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”

37 येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतून भन्ने पाहाड़मा बिताउनु भयो। 38 प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे।

यहूदी नेताहरू येशूलाई मार्न चाहन्छन्

(मत्ती 26:1-5,14-16; मर्कूस 14:1-2,10-11; यूहन्ना 11:45-53)

22 यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो। मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे।

येशूको विरूद्ध यहूदाको योजना

(मत्ती 26:14-16; मर्कूस 14:10-11)

येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो। मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसँग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गर्यो। यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे। यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चाहान्थ्यो।

निस्तार चाडको खाना तयारी

(मत्ती 26:17-25; मर्कूस 14:12-21; यूहन्ना 13:21-30)

यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे। येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”

पत्रुस र यूहन्नाले येशूलाई सोधे, “तपाईं हामीले कहाँ खाना तयार पारेको रूचाउनु हुन्छ?”

येशूले तिनीहरूलाई भने, 10 “सुन! जब तिमीहरू शहर जान्छौं, त्यहाँ तिमीहरूले एउटा मानिसलाई एक जार पानी ल्याँउदै गरेको भेट्नेछौ। त्यलाई पछ्याऊ। त्यो त्यहीं एउटा घरमा पस्नेछ। त्यसकै पछि तिमीहरू लाग। 11 त्यस घरका मालिकलाई भन, ‘हाम्रा गुरुज्यूले उहाँ र उहाँका चेलाहरू निस्तार भोज कहाँ बसेर खाने सोध्न पठाउनु भएकोछ।’ 12 त्यसपछि मालिकले आफ्नो घरको माथिल्लो तलाको ठूलो कोठा देखाउनेछ। यो कोठानै तिमीहरूको निम्ति तयार परिनेछ। निस्तारको भोज त्यहीं तयार गर।”

13 त्यसपछि पत्रुस र यूहन्ना त्यहाँदेखि निस्किए। येशूले भन्नुभएको प्रत्येक कुराहरू नै तिनीहरूले भेटे। अनि तिनीहरूले निस्तारको भोज पनि तयार पारे।

भजनसंग्रह 90-91

चौथो भाग

(भजनसंग्रह 90–106)

परमेश्वरको जन, मोशाको प्रार्थना।

हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ।
परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्थ्यो पर्वतहरूको समक्ष जहाँ जन्मिएका थियौं
    अनि पृथ्वी र संसारको समक्ष जहाँ बनिएका थियौं।
    परमेश्वर, तपाईं सधैँ परमेश्वर रहनु भयो र सधैँ हुनुहुने नै छ।

तपाईंले यस संसारमा मानिसहरू ल्याउनु हुन्छ
    अनि पछि तिनीहरूलाई धुलोमा परिणत गर्नुहुन्छ।
तपाईंको लागि हजारौं बर्षहरू पनि
    हिजो बितेको रात जस्तै लाग्दछ।
हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ।
    हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ।
हामी घाँस जस्तै छौ।
    बिहान पख घाँस उम्रन्छ
    अनि बेलुकी यो ओइलाएर मर्छ।
हे परमेश्वर, तपाईंको रीसले हामीलाई ध्वंश गर्न सक्छ।
    तपाईंको क्रोधले हामीलाई भयभीत पार्दछ।
तपाईं हाम्रो सबै पापहरू जान्नु हुन्छ।
    हे परमेश्वर, तपाईंले हाम्रो गुप्त पापहरू सबै देख्नुहुन्छ।
तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सक्छ।
    कानेखुसी जस्तै हाम्रो जीवन धमिलिदै जान्छ।
10 हामी सत्तरी बर्षसम्म बाँच्न सक्छौं,
    यदि अझ बलियो भए अस्सी बर्षसम्म बाँच्न सक्छौं।
हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ।
    त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं।
11 हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन।
    तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ।
12 हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस,
    ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।
13 हे परमप्रभु, सधैँ हाम्रो पछाडि आउनुहोस्।
    आफ्ना दासहरू प्रति दयालु हुनुहोस्।
14 प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्।
    हामी सुखी रहौं र रमाइलो जीनव बिताऔं।
15 तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र सङ्कटहरू दिनुभयो।
    अब हामीलाई खुशी वा सुखी पार्नुहोस्।
16 तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन्,
जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ,
    अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्।
17 हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्।
    हामी जे काम गछौ त्यो फलदायक होस,
    हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।

तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ।
    तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ।
    मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।”
परमेश्वरले तिमीलाई लुप्त विपदहरू
    र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ।
तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ।
उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ,
    जसरी एउटा चराले आफ्ना पखेंटाहरू फिँजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ।
    परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ।
तिमीहरू राती व्यर्थमा डराउने कामै छैन
    अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं।
तिमी राती चल्ने रूढीदेखि डराउने छैनौ।
    र दिउँसो क्षय गर्ने नाशदेखि पनि डराउने छैनौ।
तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ।
    तपाईंको आफ्नै दाहिने हातले दश हजार शत्रुका सेनाहरूलाई परास्त पार्नेछ।
    ती शत्रुहरूले तपाईंलाई छुँदैनन् पनि।
हेर मात्र, अनि तिमीले देख्ने छौ
    ती दुष्ट मानिसहरू दण्डित भएको।
किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ।
    तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ।
10 तिमीलाई केही नराम्रो हुनेछैन।
    त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन।
11 परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ,
अनि तिनीहरूले तिमीहरूलाई जहाँ जाँदा पनि रक्षा गर्नेछन्।
12 तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्,
    त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन।
13 तिमीहरूले सिंहहरूमाथि
    र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ।
14 परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने,
म उसलाई बचाउँने छु।
    जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
15 मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्।
अनि म तिनीहरूलाई जवाफ दिने छु
    म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु,
    म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।
16 अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु
    अनि तिनीहरूलाई बचाउँनेछु।”

हितोपदेश 13:24-25

24 जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।

25 एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International