Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GW. Switch to the GW to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 28

आज्ञा पालन गर्दा आशीर्वाद

28 “अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दा माथि राख्नु हुनेछ। यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।

“शहरमा र गाउँ-बस्तीमा
    परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।
परमप्रभुले तिमीहरूका धेरै नानीहरू
    होस् भनी आशिष दिनु हुनेछ।
परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ,
    जसले गर्दा उब्जाऊ बेशी हुनेछ।
परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ,
    र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्।
परमप्रभुले तिमीहरूको डालाहरू
र पिठो मुछ्ने आह्रीमाथि आशीर्वाद दिनुहुनेछ,
    अनि सधैँ खाद्य पर्दाथले भर्नु हुनेछ।
परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा
    तथा तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशिष दिनु हुनेछ।

“तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्।

“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ र तिमीहरूको ढुकुटीमा तिमीहरू जे गर्छौ प्रत्येक चीजमा परमप्रभुले आशिष दिनु हुनेछ। यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुशरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ। 10 तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्।

11 “तिमीहरूलाई दिन्छु भनी तिमीहरूको पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई सन्तान, गाई-बस्तु र खेती-पातीमा परमप्रभुले खुवै उन्नति गराउनु हुनेछ। 12 आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन। 13 परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैँमाथि हुने छौ फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। 14 आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा देब्रे फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुशरण गर्नु हुदैन।

आज्ञा पालन नगर्नेहरूलाई सराप

15 “तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।

16 “परमप्रभुले शहर र खेतहरूमा
    तिमीहरूलाई सराप्नु हुनेछ।
17 परमप्रभुले तिमीहरूका डालाहरू
र पिठो मुछ्ने आह्रीमा सराप्नु हुनेछ
    अनि तिनीहरूमा खाद्य हुने छैन।
18 परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ
    अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्।
उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ
    अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ।
उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ
    अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।
19 परमप्रभुले तिमीहरूलाई प्रत्येक समय प्रत्येक कुरोहरूमा सराप्नु हुनेछ,
    तिमीहरूले जे गरे पनि।

20 “यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुन्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्‌यौ। 21 जबसम्म तिमीहरू दखल भएको भूमिबाट शेष हुँदैनौ, ध्वंश हुदैनौ, परमप्रभुले तिमीहरूमाथि भयंङ्कर रोगहरू सृष्टि गर्नु हुनेछ। 22 परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सुजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंश हुदैनौ यी सब नराम्रा कुराहरू तिमीहरूमाथि परिरहनेछन्। 23 आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ। 24 परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिन्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ।

25 “तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन् त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्। 26 तिमीहरूका मृत शरीरहरू जंगली पंक्षी र जनावरहरूको आहार बनिनेछ, तिनीहरूलाई तिमीहरूको मृत शरीरबाट धपाउने कोही हुनेछैन।

27 “परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई खटिराहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ। 28 परमप्रभुले तिमीहरूलाई बहुलाहा, अन्धा र हृदयमा बेचैनी पारिदिनुहुनेछ। 29 तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन।

30 “स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ। 31 मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेंडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।

32 “तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउन्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।

33 “तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्। 34 तिमीहरूले देखेको चीजहरूले तिमीहरूलाई बौलाहा बनाउँछ। 35 परमप्रभुले कहिले जाति नहुने पिलोद्वारा तिमीहरूलाई दण्ड दिनु हुनेछ। घुँडा र खुट्टाहरूमा यी पिलोहरू हुनेछ। यी घाउहरू शरीरमा पैतालादेखि टाउकाको तालुसम्म प्रत्येक अङ्गमा हुनेछ।

36 “तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ। 37 देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।

असफलताको सराप

38 “तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किनकि अन्न सलहले खाइदिनेछ। 39 तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ। 40 तिमीहरूको भूमिमा जताततै भद्राक्षको रूखहरू भएर पनि त्यसको तेल चलाउन पाउने छैनौ कारण फलहरू सबै भूईंमा झरेर सड्नेछन्। 41 तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्नु पाउने छैनौ किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्। 42 तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ। 43 तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्। 44 विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्।

45 “जबसम्म तिमीहरू ध्वंश हुदैनौ तिमीहरूमाथि आई लाग्ने सरापले खेद्दै पक्रँदै गरिरहनेछ कारण तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले बताउनु भएको कुराहरू मानेनौ। उहाँले दिनु भएको आज्ञा तथा विधिहरू तिमीहरूले पालन गरेनौ। 46 अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।

47 “कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ। 48 यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्धमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमथि जुन एउटा भारी लाद्नु हुनेछ। तिमीहरूले आफू नाश नहुन्जेल सम्म हटाउन सक्नेछैनौ।

शत्रु राष्ट्रको सराप

49 “परमप्रभुले तिमीहरूसित लडाँईं गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछन् तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ। 50 तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन् अनि स-साना नानीहरूप्रति दया देखाउँदैनन्। 51 तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुन्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेंडाहरू अथवा बाख्राहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्।

52 “तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्। 53 तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।

54 “त्यस बेला तिमीहरू माझमा भएका अत्यन्तै भला मानिसहरू पनि आफ्नै दाज्यू-भाइ, आफूले प्रेम गरेको पत्नी अनि आफ्नै छोरा-छोरीहरूप्रति पनि अत्यन्तै निष्ठुर हुनेछन्। 55 यसकारण भोजनको अभावमा तिमीहरूले आफ्नै नानीहरू खानेछौ अनि कसैसित बाँड्ने छैनौ जब शत्रुहरूले तिमीहरूको शहरहरूलाई थुनुवामा पार्छन अनि तिमीहरूलाई कष्ट दिन्छन् यी सबै नरम्रा घटनाहरू हुनेछन्।

56 “अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे। 57 त्यो स्त्री त्यससमय यति निष्ठूरी हुन्छे उसले गर्भबाट गुप्तरूपले नानी जन्माउछे र त्यो नानी र त्यससित निस्केको साल पनि आफैं खान्छे कारण त्यहाँ खाने कुरा केही हुँदैन। जब शत्रुहरू आएर तिमीहरूको शहरहरू घेर्नेछन र तिमीहरूले कष्ट पाउनेछौ। त्यहाँ त्यस्ता प्रकारको नराम्रा कुराहरू हुनेछन्।

58 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ। 59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ। 60 तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ। 61 परमप्रभुले यस विधिको पुस्तकमा नलेखिएका कष्टहरू र रोगहरू पनि तिमीहरू नष्ट नहुन्जेलसम्म ल्याउनु हुनेछ। उहाँले यस्ता कष्टहरू निरन्तर ल्याउनु हुनेछ। 62 आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सक्छन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एक्दमै थोरै संख्यामा रहने छौ।

63 “तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेट्नेछन्। 64 पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरूका थाहा नपाइएका देवताहरू पूज्ने छौ।

65 “ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ। 66 तिम्रो जीवन डरले परिपूर्ण हुनेछ र तिमीहरू रात-दिन सधैँ डराएको हुनेछौ अनि तिमीहरू आफ्नो जीवनप्रति विश्वस्त हुने छैनौ। 67 बिहानै तिमी भन्ने छौ, ‘यो बेलुकी भए हुनेथ्यो’ बेलुकी तिमी भन्नेछौ, ‘यो बिहान भए हुन्थ्यो।’ किनभने तिम्रो हृदयमा डर हुनेछ अनि तिमीले नराम्रा कुराहरू देख्नेछौ। 68 परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, ‘तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।’ मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।”

लूका 11:14-36

परमेश्वरबाट येशूले शक्ति पाउनु भएको

(मत्ती 12:22-30; मर्कूस 3:20-27)

14 कुनै समयमा एकजना मानिसबाट येशूले लाटा बनाउने भूत निकाली दिनुभयो। जब त्यो भूत बाहिर निस्कयो, त्यो मानिस बोल्नु सक्ने भयो। मानिसहरू छक्क परे। 15 तर कोही मानिसहरूले भने, “बालजिबुल, भूतहरूको मालिकको शक्ति प्रयोग गरेर उहाँले भूतहरू भगाउँनु हुन्छ।”

16 अरूले पनि येशूको जाँच लिन चाहन्थे। तिनीहरूले उहाँलाई स्वर्गबाट ल्याएको एउटा चिन्ह देखाउनु लगाए। 17 तर येशूले तिनीहरूको विचार थाह पाउनु भयो। यसकारण येशूले भन्नु भयो, “हरेक राज्य, जो बाँडिएको छ अनि आपसमा झगडा गर्छ भने त्यो आफैं नाश हुन्छ। त्यसरी नै एउटा परिवार आपसमा झगडा गरिरहन्छ भने त्यो पनि नष्ट हुन्छ। 18 यसर्थ, यदि शैतान पनि आपसमा झगडा गरे उसको राज्य कति दिन रहला? तिमीहरू भन्दछौ कि भूतहरू भगाउनलाई मैले बालजिबुलको शक्तिलाई काममा लगाएँ। 19 यदि मैले बालजिबुलको शक्तिलाई लगाएर भूतहरू धपाउँछु भने, तिम्रो मानिसहरूले अरू भूतहरू धपाउँनलाई कुन शक्तिको प्रयोग गर्छन्? यसर्थ तिम्रो आफ्नै मानिसहरूले तिमीहरू भूलमा छौ भन्ने प्रमाण दिन्छन् 20 तर म भूतहरू भगाउन परमेश्वरको शक्ति प्रयोग गर्छु। यसबाट प्रमाण हुन्छ कि परमेश्वरको राज्य तिमीहरूकहाँ आइसकेको छ।

21 “जब कुनै बलवान मानिसले धेरै हात हतियारहरू लिएर आफ्नो घरको रक्षा गर्दछ भने, त्यसको घरमा सबै मालमत्ताहरू सुरक्षित नै रहन्छ। 22 तर यदि ऊ भन्दा बलियो मानिस आएर उसलाई जित्छ भने तब त्यो अझ बलियो मानिसले सब हात हतियाहरू जसमाथि बलियो मानिसको भरोशा थियो खोसेर लैजान्छ। तब त्यो अझ बलियो मानिसको मालहरूमाथि व्यवहार गर्छ।

23 “यदि कुनै मानिस मसँग छैन भने ऊ मेरो विरोधमा छ, जो मानिस मसँग काम गर्दैन ऊ मेरो विरोधमा छ।

रित्तो मानिस

(मत्ती 12:43-45)

24 “जब एकजना मानिसबाट दुष्टात्मा निस्कन्छ, यो बिश्रामको निम्ति ओबानो ठाउँहरू खोजी हिंड्छ। अनि जब यसले कतै बिश्राम गर्ने ठाउँहरू पाउँदैन, यसले भन्छ, ‘म जून घरदेखि बाहिर आएको थिएँ त्यहीं फर्कन्छु।’ 25 जब त्यो आत्मा त्यो घर फर्कन्छ त्यसले त्यो घर बढारिएको पाउँछ। 26 तब त्यो दुष्ट-आत्मा अरू सातवटा दुष्ट-आत्माहरू लिन जान्छ जो त्यो भन्दा अझ दुष्ट छन्। अनि ती सबै आत्माहरू एकसाथ गएर त्यो मानिसभित्र पस्छन् र बास गर्छन्। तब त्यस मानिसको अवस्था पहिलो भन्दा झन् खराब हुन्छ।”

मानिसहरू साँच्चो रूपमा खुशी थिए

27 जब येशूले यी कुराहरू भन्नु हुँदै थियो एउटी स्त्री जो त्यहाँ थिई येशूलाई यसो भन्दै जोरले कराई, “धन्य हुन ती माता जसले तपाईंलाई गर्भधारण गरिन्! अनि तपाईंलाई स्तन पान गराइन्!”

28 तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”

हामीलाई प्रमाण दिनुहोस्

(मत्ती 12:38-42; मर्कूस 8:12)

29 मानिसहरूको भीड बिस्तारै बढ्दै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ। 30 योना निनवेका वासिन्दाहरूको लागि चिन्ह हुनेछन्। त्यसरी नै यस पुस्ताको लागि मानिसका पुत्र पनि चिन्ह हुनेछन्।

31 “न्यायको दिन दक्षिण देशकी रानी यो पुस्ताका मानिसहरू विरूद्ध उठ्नेछिन् अनि तिनीहरू दोषी हुन् भनी प्रमाण दिनेछिन्। किन्? किनभने सुलेमानको ज्ञानमय शिक्षा सुन्नु तिनी धेरै टाडोबाट आएकी थिइन्। अनि म भन्दछु कि सुलेमान भन्दा म महान हुँ।

32 “न्यायको दिनमा निनवेका मानिसहरू यी पुस्ताको मानिसहरू विरूद्धमा उठ्नेछन् अनि तिनीहरू दोषी भएको प्रमाण दिनछन्। किनभने जतिबेला योनाले मानिसहरूलाई प्रचार गरे तिनीहरूले आफ्नो हृदय र रहन-सहन समेत परिवर्त्तन गरे। अनि म तिमीहरूलाई भन्दछु म योना भन्दा महान हुँ।

संसारका निम्ति ज्योति बन

(मत्ती 5:15; 6:22-23)

33 “कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरू भित्र पस्नेहरू सबैले देखुन् भनेर त्यो बत्ती सामदानमाथि राखिन्छ। 34 तिम्रो शरीको बत्ती तिम्रो आँखा हो यदी तिम्रो आँखाहरू ठिकछन् भने तिम्रो सारा शरीर उज्यालोले भरिन्छ। यदि तिम्रो आँखाहरू नै खराब छन् भने, तिम्रो सारा शरीर नै अँध्यारो हुनेछ। 35 यसैले होशियार होऊ। तिमीमा भएको उज्यालो अँध्यारोमा परिणत नहोस्। 36 अतः यदि तिम्रो शरीर पूर्ण उज्यालोले भरिएकोछ भने अनि यसको कुनै भाग अँध्यारो छैन भने त्यो पुरै चम्कन्छ, मानौं कुनै बत्तीको किरण तिमीमाथि चम्किरहेको छ।”

भजनसंग्रह 77

प्रमुख संगीतकारलाई: यदूतूनको निम्ति आसापको भजन।

मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें।
    हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्!
मेरो स्वामी, जब म सङ्कटमा परें म तपाईं कहाँ आएँ,
    तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन।
मैले परमेश्वरको बारेमा सोचें,
    अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ।
तपाईंले मलाई सुत्न दिनु भएन,
    म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ।
मैले बितेका कुराहरू सम्झिरहेको थिएँ।
    धेरै अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ।
रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें।
    मैले आफैंलाई बुझ्ने कोशिश गरें।
म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो?
    के फेरि उहाँ हामीसित खुशी हुनुहुन्न?
के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ?
    के परमेश्वरको प्रेम सदाको निम्ति बिलाउँछ?
करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो?
    उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?”

10 तब मैले सोचें, “जुन कुराले मलाई सधैँ सताई रहन्छ त्यो होः
    ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?’”

11 म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर।
    परमेश्वर म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु,
    जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो।
12 तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें।
    म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु।
13 परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्,
    तपाईं बाहेक कोही पनि महान् छैन।
14 तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ।
    तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो।

15 तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो
    तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो।
16 परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो।
    गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे।
17 बाक्लो बादलहरूले पानी बर्षाए।
    मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा
    बिजुली चम्केको देखें।
18 त्यहाँ बिजुलीको गडगडाहट थियो,
    तब बिजुलीको चमक्‌ले संसार नै उज्यालो पार्यो,
    अनि पृथ्वी थर-थर काँप्न थाल्यो।
19 परमेश्वर, तपाईं गहिरो पानी भएर हिँड्नु भयो,
तपाईंले गहन समुद्र पार गर्नुभयो,
    तर तपाईंले कुनै छाप छोड्नु भएन।
20 तपाईंले आफ्ना भक्तजनहरूलाई भेंडा सरह डोर्याउनँ,
    मोशा र हारूनलाई खटाउनु भयो।

हितोपदेश 12:18

18 विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International