Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GW. Switch to the GW to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 16-17

निस्तार-चाड

16 “आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो। परमप्रभुले जुन घर उहाँको विशेष घर भनी रोज्नु हुनेछ त्यहाँ तिमीहरू जानै पर्छ। गाईहरू तथा बोकाहरू तिमीहरूले परमप्रभुको सम्मानमा निस्तार बलिको रूपमा चढाउनै पर्छ। यो बलिमा खमीर भएको रोटी खानु हुँदैन। तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानु पर्छ। यस रोटीलाई ‘कष्टको रोटी’ भनिन्छ। मिश्र देशमा तिमीहरू कति कष्टमा थियौ यसले त्यो सम्झना गर्नमा सहायता गर्छ। सम्झना गर कति चाँढै तिमीहरूले त्यो भूमि छाड्नु पर्यौ! तिमीहरूले मिश्र छोडेको त्यो दिनलाई सम्झना गर्नुपर्छ जब तिमीहरू बाँचेका छौ। यस देशका मानिसहरूको कसैको घरमा पनि सात दिनसम्म खमीर रहनु हुँदैन। पहिलो दिनको साँझमा चढाएको बलिको मासु पनि अर्को दिन बिहान भन्दा अघि नै खाई सक्नुपर्छ।

“परमप्रभु तिमीहरूका परमेश्वरले दिनु हुने भूमिको कुनै पनि शहरमा निस्तारचाडको बलि गर्नु हुँदैन। तिमीहरूले निस्तारचाड बलि खाली परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको आफ्नो नाउँमा रोज्नु भएको घरमा मात्र चढाउनु पर्छ। त्यहाँ खाली घाम अस्ताएपछि मात्र निस्तारचाड बलि चढाउनु पर्छ। यो दिन पवित्र दिन हुनेछ जति वेला परमेश्वरलाई कसरी तिमीहरूले मिश्र देशबाट बाहिर निकाले त्यो सम्झना गर्नेछौ। परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको ठाउँमा निस्तार बलिको मासु पकाउनु पर्छ अनि खानु पर्छ। तब बिहान तिमीहरू घर जान सक्छौ। तिमीहरूले छ दिनसम्म अखमिरी रोटी खानु पर्छ र सातौं दिनमा केही काम गर्नु हुँदैन। यस दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विशेष सभाको निम्ति मानिसहरू भेला गर्नु पर्छ।

साताहरूको चाड (पेन्टकोस्ट)

“बाली काट्न शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ। 10 तब परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति साताहरूको चाड मनाउनुपर्छ। तिमीले उपहार चढाउँन चाहेको कुनै विशेष उपहार चढाऊ। परमप्रभु तिमीहरूका परमेश्वरले कति धेरै आशीर्वाद दिनु भएको छ त्यही परिमाणले उपहार चढाऊ। 11 परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहुरा-टुहुरीहरू, विदेशीहरू र विधवाहरूलाई पनि लैजाऊ। 12 सम्झना गर मिश्र देशमा तिमीहरू पनि कमारा-कमारीहरू थियौ। यसकारण होशियारीसित विधिहरू पालन गर।

छाप्रो-बासको चाड

13 “खलामा बाली जम्मा गरेपछि र कोलबाट दाख निकालेको सात दिन पछि तिमीहरूले छाप्रो-बासको चाड मनाउनुपर्छ। 14 आफ्नो शहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरीहरू र विधवाहरू लगायत आफ्ना छोरा-छोरीहरू, नोकर-चाकरहरूसँगै यो भोज मनाऊ। 15 परमप्रभु तिमीहरूका परमेश्वरले रोज्नु भएको विशेष ठाउँमा यो पर्व सात दिनसम्म मनाऊ। यो तिमीहरूका परमेश्वरको सम्मानमा मनाऊ। तिमीहरू अत्यन्तै आनन्दित हुनुपर्छ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको बालीलाई र तिमीहरूले जे गर्छौ त्यसमा आशीर्वाद दिनु भएको छ।

16 “परमप्रभु तिमीहरूका परमेश्वरले विशेष ठाउँ भनी रोज्नु हुने ठाउँमा बर्षमा तीन पल्ट तिमीहरूका मानिसहरू भेला हुनैपर्छ। तिनीहरू अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-बासको चाडमा भेला हुनु पर्छ। त्यहाँ भेट गर्न आउने प्रत्येक मानिसले बलि ल्याउनु पर्छ। 17 परमप्रभुले उसलाई कति धेरै आशीर्वाद दिनु भएको छ त्यो सोचेर जति दिन सक्छ उसले बलि दिनुपर्छ।

मानिसहरूका लागि न्यायकर्त्ता तथा अगुवाहरू

18 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ। 19 जब तिमीहरूले न्याय गर्दा निष्पक्ष हुनुपर्छ, पक्षपाती हुनु हुँदैन। अनि तिनीले पैसा घूसको रूपमा लिनु हुँदैन। पैसाले ज्ञानी मानिसलाई अन्धो बनाउँछ अनि ज्ञानी मानिसहरूका कुराहरू बद्ली हुन्छन्। 20 उद्धारता अनि न्याय! तिमीहरूले सधैँ असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।

परमेश्वर मूर्तिहरू घृणा गर्नुहुन्छ

21 “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउँछौ वेदी पछिल्तिर अशेर देवीको सम्मानमा कुनै काठको खम्बा राख्नु हुँदैन। 22 परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झूटा देवताहरू पूज्नुको निम्ति कुनै विशेष चोसो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।

बलिमा असल पशुहरू मात्र चढाऊ

17 “कुनै गोरू अथवा भेंडामा केही दोष भए परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउनु हुँदैन। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले यस्तो घृणा गर्नुहुन्छ।

मूर्ति पूजा गर्नेहरूलाई दण्ड

“सायद तिमीहरूले सुनेको होला परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदै गरेका शहरहरू मध्ये एउटा शहरमा केही अनिष्ट हुन्छ। सायद तिमीहरूलाई थाहा होला तिमीहरूकै समूहको कुनै पुरूष अथवा स्त्रीले परमप्रभुको विरूद्ध पाप गरेको छ। यो पनि सुनेकै होला तिनीहरूले परमप्रभुको करार भङ्ग गरेका छन्। तिनीहरूले अरू देवी देवताहरू पूजेका छन्। अथवा यस्तो पनि हुन सक्छ तिनीहरूले घाम, जून अथवा ताराहरूलाई पूजेका छन्। यो मैले तिमीहरूलाई बताएको परमप्रभुको आज्ञाको विरोधमा हो। यदि तिमीहरूले यस्तो नराम्रो समाचार सुनेका छौ, तब तिमीहरूले यसलाई होशियारसँग अवश्यै जाँच गर्नु पर्छ अनि थाहा लगाउनु पर्छ यस्तो भयंङ्कर घटना इस्राएलमा भयो वा भएन। यदि यो साँच्चो प्रमाणित हुन्छ। तब यस्तो अनिष्ट कार्य गर्ने मानिसलाई तिमीहरूले सजाय दिनु पर्छ। त्यस पुरूष अथवा स्त्रीलाई शहरको सार्वजनिक ठाउँको फाटकमा तिमीहरूले लानु पर्छ अनि ढुङ्गाले हानेर मार्नु पर्छ। तर यदि त्यसको कसूर देख्ने साक्षी एक जना मानिस मात्र भए त्यसलाई मार्नु हुँदैन, तर दुइ अथवा तीन जनाले उसको कसूर सत्य भनी प्रमाण दिए त्यो मानिसलाई मार्नु नै पर्छ। ती साक्षीहरूले नै त्यस दोषीलाई मार्न पहिलो ढुङ्गा ले हिर्काउनु पर्छ। तब मात्र अरू मानिसहरूले त्यसलाई मार्न ढुङ्गाले हिर्काउनु पर्छ, यस प्रकार तिमीहरूले आफ्नो समूहबाट दुष्टता हटाउने छौ।

अदालतको अप्ठेरा निर्णयहरू

“केही समस्याहरू हुन सक्छ जो अदालतमा निणर्य लिनु साह्रै अप्ठयारो हुन्छ। यो हत्याको विषयम हुन सक्छ, दुइजना मानिसहरू बीच विवादको विषयमा हुन सक्छ। अथवा झगडा़मा घाइते भएको मानिसको विषयमा हुन सक्छ। जब यी मामिलाहरू तिमीहरूको शहरहरमा सुनाइ हुन्छ, सही हो पत्तो लगाउन तिमीहरूको न्यायाधीशहरूलाई साह्रै मुश्किल हुन सक्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले रोजेको विशेष ठाउँमा जानु पर्छ। तिमीहरूले पूजाहारीहरू र न्यायाधीश कहाँ, जो लेवी कुलका हुन्, समयमा जानु पर्छ। त्यसपछि ती मानिसहरूले त्यो समस्यामा कुन प्रकारले निर्णय लिनु पर्छ बताउने छन्। 10 परमप्रभुको विशेष ठाउँबाट तिनीहरूले आफ्नो निर्णय बताउनेछन् र तिनीहरूको सल्लाह जस्तो हुन्छ, तिमीहरूले त्यस्तै गर्नु पर्छ। 11 तिमीहरूले निर्णय स्वीकार गनु पर्छ अनि तिनीहरूको निर्देशन मान्नु पर्छ। तिमीहरूले त्यसै गर्नु पर्छ जस्तो तिनीहरूले गर्नु भन्दछन्। केही परिवर्त्तन नगर।

12 “यदि कुनै मानिसले न्यायकर्त्ता तथा त्यस समयमा परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गरी रहेका पूजाहारीहरूको आज्ञा उलंङ्गन गरे तिमीहरूले त्यसलाई सजाय दिनु नै पर्छ। तिमीहरूले त्यस मानिसलाई इस्राएलबाट लखेट्नु पर्छ, त्यो मर्नु पर्छ। 13 यस्तो सजाय सबै मानिसहरूले थाहा पाउने छन् डर मान्ने छन् र त्यसपछि तिनीहरूले अझै हठ गर्ने छैनन्।

राजाको चुनाव र कर्त्तव्य

14 “जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा पसेर बसो-बास शुरू गर्नेछौ तब तिमीहरूले भन्ने छौ, ‘जस्तो अन्य राज्यहरूमा राजाहरू छन् त्यसरी नै यहाँ पनि हामी राजा राख्छौं।’ 15 जब तिमीहरूले यस्तो विचार गर्छौ, तब परमप्रभुले जसलाई राजा रोज्नुहुन्छ तिमीहरूले पनि राजा मनोनित गर्नु पर्छ। तर त्यो मानिस कुनै विदेशी नभएर तिमीहरू कै समूहबाट हुनुपर्छ। 16 राजाले आफ्नो निम्ति धेरै-धेरै घोडाहरू राख्नु हुँदैन अनि उनले मानिसहरूलाई धेरै घोडाहरू लिनु मिश्र देश पठाउनु हुँदैन। किनभने परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ, ‘तिमीहरू कहिल्यै त्यो बाटो फर्केर जाने छैनौ।’ 17 राजाले धेरै पत्नीहरू राख्नु हुँदैन, किनभने त्यसले गर्दा उनी परमप्रभुबाट पर सर्ने छन्। अनि राजाले धेरै सुन र चाँदी राख्नु हुँदैन।

18 “अनि जब त्यस राजाले शासन गर्न शुरू गर्छ उनले लेवीहरू तथा पूजाहारीहरूकहाँ भएको पुस्तकबाट आफ्नो निम्ति व्यवस्था कानूनको प्रति तयार पारेर आफूसित राख्नु पर्छ। 19 राजाले त्यो पुस्तक आफूसित राख्नुपर्छ। किनभने राजाले परमप्रभु उनको परमेश्वरलाई सम्मान गर्नु पर्छ। राजाले व्यवस्थाले गरेको आज्ञा सम्पूर्ण पालन गर्नु सिक्नु पर्छ। 20 तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुशरण गर्ने छन् तिनीहरू इस्राएलमा धेरै समयसम्म शानस गर्नेछन्।

लूका 9:7-27

येशूको बारेमा हेरोद अन्योल

(मत्ती 14:1-12; मर्कूस 6:14-29)

शासक हेरोदले यी सब घट्नाहरू थाहा पाए। तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।” अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरूमा एकजना बौरी उठेका छन्।” हेरोदले भने, “मैले यूहन्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” होरोदले येशूलाई हेर्ने प्रयास गरे।

येशूद्वारा पाँच हजार भन्दा अधिक मानिसलाई भोजन

(मत्ती 14:13-21; मर्कूस 6:30-44; यूहन्ना 6:1-14)

10 जब प्रेरितहरू फर्कि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानुभयो। 11 तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।

12 साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।”

13 तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।”

प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुइ टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?” 14 त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू थिए।

उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।”

15 त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईंमा बसे। 16 येशूले पाँचवटा रोटी र दुइवटा माछा लिनुभयो। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकुरा टुक्रा-टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँड्न प्रेरितहरूलाई आह्राउनु भयो। 17 सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरि भयो।

पत्रुस भन्छन् येशूनै ख्रीष्ट हुन्

(मत्ती 16:13-19; मर्कूस 8:27-29)

18 एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?”

19 चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।”

20 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हुँ?”

पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”

21 येशूले यो कूरा कसैलाई नभन्नु भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।

येशू भन्नुहुनछ उहाँ मर्नु पर्छ

(मत्ती 16:20-28; मर्कूस 8:31–9:1)

22 त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।”

23 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्‌याउनु पर्छ। 24 जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ। 25 किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैंलाई नोकसानमा पार्छ अथवा हराउँछ? 26 यदि कुनै मानिस म र मेरो वचनसँग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु। 27 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।”

भजनसंग्रह 72

सुलेमानको भजन।

हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
    राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
    गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
    उहाँले असहायहरूलाई साथ दिइयोस्।
    कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
जब सम्म घाम उदाउँछ
    अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
खेतहरूमा पानी बर्षे जस्तै,
    धर्तीमा पानी परे जस्तै राजा बनुन्।
उहाँको राज्यकालमा धार्मिकता फूलोस्-फलोस्।
    जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
    युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
मरुभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन्,
    उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
    शेबा र शेबाका राजाहरूले उहाँलाई भेटी चढाऊन्।
11 सम्पूर्ण राजाहरूले हाम्रो राजाको अघि शिर झुकाउन्।
    सबै जातिहरूले उहाँको सेवा गरून्।
12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
    हाम्रो राजाले दीन-दुःखी, असहायहरूलाई साथ दिनुहुन्छ।
13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
    राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनँ चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ।
    ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 राजाको दीर्घायु होस्!
    अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्।
सधैँ राजाको निम्ति प्रार्थना गर।
    प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
    र पहाडहरू अन्नबालीले ढाकियोस्।
खेतहरू लबानोन जस्ता मलिलो रहोस्।
    अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तै,
    शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 राजा सदालाई ख्याती प्राप्त बनोस्।
    जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्।
मानिसहरू उहाँबाट धन्य रहोस्
    अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।

18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको गुण-गान गर!
    परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
    उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!

20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)

हितोपदेश 12:8-9

मानिसले आफ्नो असल बुद्धिले प्रशंसा कमाउँछ, तर त्यस्तो मानिस जसको मन सदा कुबाटो तिर रहन्छ त्यो घृणित हुन्छ।

प्रतिष्ठित व्याक्ति हुँ भनी बहना गर्नु तर प्रचुर मात्रमा खाना नहुनु भन्दा एउटा साधरण व्याक्ति भएर आफैंलाई आफ्नो सेवक बनाउँनु असल हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International