Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 2-3

इस्राएलीहरू मरुभूमिमा घुमी हिँडे

“तब परमप्रभुले मलाई भन्नुभयो जस्तो हामीले गर्यौं। हामी लाल समुद्र जाने बाटो भएर मरुभूमिमा गयौं। सेईर पर्वत छेऊसम्म जानका लागि हामीले धेरै दिनसम्म यात्रा गर्यौं। तब परमप्रभुले मलाई भन्नुभयो, ‘यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ। मानिसहरूलाई यी कुराहरू भन, तिमीहरू सेइरको भूमिबाट जानेछौ। यो भूमि तिनीहरूका आफन्त, एसावका सन्तानहरूको हो। तिनीहरू तिमीहरूसित डराउनेछन्, यसकारण, होशियार बस। तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु। तिमीहरूले एसावका मानिसहरूबाट लिएको खाद्य र पानीको दाम तिर्नु पर्छ। यो विशाल मरुभूमिमा तिमीहरू हिंडेको कुरो उहाँलाई थाहा छ। परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित चालीस बर्षसम्म हुनुहुन्छ। तिमीहरूलाई आवश्यक परेको प्रत्येक कुराहरू उहाँले दिनुभयो, यसकारण उहाँको स्मरण गर कारण तिमीहरूले गरेको प्रत्येक कुरोमा उहाँको आशीर्वाद छ।’

“यसकारण सेईरमा बसोबास गर्ने हाम्रा आफन्तहरू, एसावका मानिसहरूलाई छाडेर हामी गयौं। हामीले यर्दन बेंसीबाट एलत शहर र एस्योन गेबेर जाने बाटो छाडेर माआबको मरुभूमितिर जाने बाटो लाग्यौं।

आरमा इस्राएलीहरू

“परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।’”

10 (विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए। 11 अनाकीहरू पनि रपाई मानिसहरू कै अंश थिए तर मोआबका मानिसहरूले तिनीहरूलाई एमीहरू भन्दथे। 12 पहिले होरीहरू पनि सेइरमा बस्थे तर एसावका मानिसहरूले तिनीहरूको भूमि लिए। एसावका मानिसहरूले होरीहरूलाई नष्ट पारेर तिनीहरूको भूमिमा बसे। परमप्रभुले दिएको भूमिमा पनि इस्राएलीहरूले त्यहाँका मानिसहरूलाई त्यही गरे।)

13 “परमप्रभुले मलाई भन्नुभयो, ‘तिमीहरू जेरेद खोला पारी जाऊ।’ यसकारण हामी जेरेद खोला पारी गयौं। 14 जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 बर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे। 15 परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्।

16 “योद्धाहरू मरेपछि, 17 परमप्रभुले मलाई भन्नुभयो, 18 ‘आज तिमीले आरको सीमाना पार गरेर मोआब जानैपर्छ। 19 तिमीहरू अम्मोनी मानिसहरूको नजिकै जानेछौ। तर तिनीहरूलाई कष्ट नदेऊ तिनीहरूसँग युद्ध नगर किनभने म तिनीहरूको भूमिबाट तिमीहरूलाई केही पनि दिने छैन, किनभने, तिनीहरू लूतका सन्तानहरू हुन् अनि मैले तिनीहरूलाई त्यो भूमि दिएको छु।’”

20 (त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्थे। 21 तिनीहरू पनि अनाकीहरू जस्तै अग्ला अनि बलिया थिए। तर परमप्रभुले जमजुम्मीहरूलाई नष्ट पार्न अम्मोनीहरूलाई सहायता गर्नु भयो। अम्मोनीहरूले त्यो भूमि लिए अनि तिनीहरू अहिले त्यहाँ छन्। 22 परमेश्वरले तिनीहरूलाई एसावका मानिसहरूलाई जस्तै गर्नुभयो। विगत समयमा, सेईरमा होरी मानिसहरू बस्थे। तर एसावका मानिसहरूले होरीहरूलाई नष्ट गरेर अझ पनि एसावका सन्तानहरू त्यहाँ बसेका छन्। 23 कप्तोरबाट आएका केही मानिसहरूसित पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुभयो। अब्बी मानिसहरू गाजाको वरिपरिको शहरहरूमा बस्थे। तर कप्तोरबाट केही मानिसहरू आए अनि अव्वीहरूलाई नष्ट पारेर कप्तोरबाट आएका ती मानिसहरूले त्यो भूमि दखल गरे अनि अहिलेसम्म तिनीहरू त्यहीं छन्।)

अम्मोरीहरूको पराजय

24 “परमप्रभुले मलाई भन्नुभयो, ‘अर्नोन खोला पारी तर्न तयारी बस। हेर, म हेशबोनका राजा अम्मोरी सीहोन अनि उसको देश तिमीहरूको हातमा दिंदैछु। तिमीहरू त्यसलाई अधिकारमा ल्याउने चेष्टा शुरू गर र तिनीहरूको विरूद्ध लडाइँ गरेर त्यो भूमि अधिनमा पार। 25 आज म प्रत्येक ठाउँको मानिसहरूलाई तिमीहरूसित भयभीत हुने बनाउँछु, तिनीहरूले तिमीहरूको विषयमा सुन्नेछन् अनि डरले काम्नेछन्।’

26 “जब हामी कदेमोत बाँझो भूमिमा थियौं, मैले हेशबोनका राजा सीहोनलाई शान्तिको संदेश दूत मार्फत् पठाएँ। तिनीहरूले भने, 27 ‘हामीहरूलाई तिम्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौं हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं। 28 हामीलाई खानु पिउनु देऊ त्यसको दाम हामी चुकाउनेछौं। हामी तिम्रो देशको बाटो भएर मात्र जान चाहन्छौं। 29 यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिँड्नु देऊ।’

30 “तर हेशबोनका राजा सीहोनले हामीलाई उसको देशबाट जानु दिएनन्। तिमीहरूका परमप्रभु परमेश्वरले तिनलाई कठोर बनाउनुभयो अनि आज हामीलाई थाहा छ साँच्चै त्यस्तै भयो।

31 “परमप्रभुले मलाई भन्नुभयो, ‘म तिमीहरूलाई सीहोनका राजा र उसको देश दिंदैछु, जाऊ अनि उसको देश लेऊ।’

32 “जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए। 33 तर परमप्रभु हाम्रा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पि दिनुभयो अनि राजा सीहोन, तिनका छोराहरू र सबै मानिसहरू पराजित भए। 34 त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं। 35 हामीले खाली गाई-वस्तु र राम्रा-राम्रा चीजहरू मात्र ती शहरहरूबाट लियों। 36 त्यहाँको कुनै शहर पनि हाम्रो सामुन्ने टिक्न सकेन, हामीले अर्नोन बेंसीको किनारको अरोर शहर अनि बेंसीबीचको अरू शहर जित्यौं। परमप्रभुले हामीलाई अर्नोन बेंसी र गिलाद बीचका सबै शहरहरू जिताउनु भयो। 37 तर तिमीहरू अम्मोनी मानिसहरूको भूमि समीप पनि गएनौ, यब्बोक नदीको किनार र पहाडी देशका शहरहरू पनि गएनौ र परमप्रभु हाम्रा परमेश्वरले मनाही गर्नुभएको कुनै ठाउँसम्म पनि गएनौ।

बाशानका मानिसहरूसित लडाइँ

“त्यसपछि हामी बाशानपट्टि गयौं। एदरेईमा बाशानका राजा ओग र तिनका मानिसहरू हामीहरूसित लडाइँ गर्न आए। परमप्रभुले मलाई भन्नुभयो, ‘ओगसित नडराऊ। मैले उसलाई तिनीहरूको अघि समर्पित गराउन निश्चय गरेको छु। हशबोनमाथि शासन गर्ने अम्मोरीका राजा सीहोनलाई झैं तिमीले उसलाई पराजित गर्नेछौ अनि उसका मानिसहरू र सबै भूमि तिमीले पाउनेछौ।’

“यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं। त्यस समयमा ओगको अधीनका सबै शहरहरू लियौं। हामीले ओगका 60 शहरहरू बाशान राज्यभित्रका अर्गेवका इलाकाहरू कब्जा गर्यौं। यी सबै शहरहरूका अग्ला-अग्ला फाटक, पर्खाल र फाटकमा पकका ढोकाहरू थिए। त्यहाँ पर्खाल नभएका शहरहरू पनि थिए। हामीले ती सब सीहोन राजाका शहरहरू झैं ध्वंश पार्यौं। त्यहाँका प्रत्येक शहर अनि त्यस शहरका स्त्री-पुरूष अनि बाल-बच्चाहरू सबै ध्वंश पार्यौं। तर हामीले आफ्नो लागि त्यहाँ भएका बहुमूल्य वस्तुहरू र गाई-गोरूहरू भने सुरक्षित राख्यौं।

“यस प्रकार हामीले अर्नोन घाँटीबाट यर्दन नदीको पूवपट्टिको भूमि अनि अमोरी राजाहरूबाट हार्मोन पर्वतलाई लियौं। (हर्मोनलाई सीदोनीहरूले सिर्योन र एमोरीहरूले सनीर भन्छन्।) 10 यसरी हामीले समतलको सबै भूमिको र गिलादका शहरहरू सल्कादेखि एद्‌रेईसम्म बसानको समस्त आफ्नो पार्यौं। सल्का र एद्‌रेईहरू ओगको बाशानका राजा, ओगका शहरहरू थिए।”

11 (बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।)

यर्दन नदीको पूर्व भूमि

12 “यसकारण हामीले भूमि आफ्नो बनायौ अनि मैले रूबेनी र गादी कुल समूहलाई यसको भाग दिएँ। मैले तिनीहरूलाई अर्नोनको भूमिदेखि (जो अर्नोनको बेंसी हो) गीलादको पहाडी देशसितै यसका शहरहरू तिनीहरूलाई दिएको छु। तिनीहरूले गीलादको आधा भूमि पाएको छन्। 13 गिलादको अर्को आधा भाग र बाशानको सबै क्षेत्र मैले मनश्शेको आधा कुल समूहलाई दिएँ।”

(बाशान ओगको राज्य थियो। यसलाई रपाईहरूको देश पनि भनिन्थ्यो। ओगको भूमिको एउटा भागलाई अर्गोव भनिन्थ्यो 14 मनश्शे परिवार समूह याईरले बाशानमा रहेको अर्गोबको सम्पूर्ण क्षेत्र गशूरी र मकाती मानिसहरूको सीमानासम्म लियो। यसलाई याईरले उसको नाउँ दिएका थिए आजको दिनसम्म बाशानका क्षेत्रलाई हब्बात याईर भनेर जान्न सकिन्छ।)

15 “मैले गिलाद माकीरलाई दिएँ। 16 रूबेनी र गादका कुल समूहहरूलाई मैले गिलाद सीमानाबाट शुरू भएको भूमि दिएँ। यो भूमि अर्नोन बेंसीबाट यब्बोक नदीसम्म फिंजिएको छ। यब्बोक नदी अम्मोनी मानिसहरूको सिमाना पर्छ र बेंसीको मध्यभाग एकापट्टिको सिमाना हो। 17 यर्दन नदी छेउको मरुभूमि तिनीहरूको पश्चिमी सिमाना हो। गालिल झील यस क्षेत्रको उत्तरमा र मृत समुद्र (खारा समुद्र) यसको दक्षिणमा पर्छ। यो पिस्गा भीरको सतह हो। तिनीहरू पूर्वमा पर्छन्।

18 “त्यस समयमा मैले ती परिवार समूहलाई यो आज्ञा दिएँ, ‘परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको यतापट्टि बस्नलाई भूमि दिनु भएको छ। तर अहिले तिमीहरूका सेनाहरूले हतियार लिनुपर्छ र अरू इस्राएलीहरूलाई नदीको अर्कोपटिसम्म लिएर जाँदै गर्नु पर्छ। 19 मैले दिएको भूमिमा तिमीहरूकी पत्नीहरू, स-साना नानीहरू अनि तिमीहरूका गाई बस्तुहरू (म जान्दछु तिमीहरूको गाई-वस्तुहरू धेरै छन्) बस्ने छन्। 20 तर परमप्रभुले यर्दन नदीको अर्कोपट्टि दिनु भएको भूमि इस्राएलीहरूका आफन्तहरूले नपाएसम्म तिमीहरूलाई सहायता गर्नु पर्छ। तिमीहरूलाई परमप्रभुले शान्ति दिए झैं तिनीहरूले शान्ति नपाउन्जेल तिनीहरूलाई सहायता गर, तब मैले दिएको भूमिमा तिमीहरू फर्केर आउन सक्छौ।’

21 “तब मैले यहोशूलाई भने, ‘तिमीले यी दुइ राजाहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरले गर्नु भएको सबै थोक देखेका छौ। तिमीहरू पसेका सबै राज्यहरूमा परमप्रभुले त्यस्तै गर्नु हुनेछ। 22 ती देशहरूका राजाहरूसित तिमीहरू डराउनु पर्दैन कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको पक्षमा युद्ध गर्नुहुनेछ।’

मोशालाई कनान जाने अनुमति दिइएन

23 “त्यसपछि मैले मेरो निम्ति विशेष केही कुरा गरीदिनुहोस् भनी परमप्रभुलाई बिन्ती गरें। मैले भनें, 24 ‘हे परमप्रभु मेरो मालिक! म हजुरको दास हुँ। म जान्दछु तपाईंले गर्न सक्ने लौकिक तथा अलौलिक चीजहरूको केही भाग मात्र (अलिकति) मलाई देखाउनु भएको छ। तपाईंले जुन महान् अनि शक्तिशाली कर्महरू गर्नु भएको छ त्यस्तो गर्न न त पृथ्वीमा न स्वर्गमा कुनै ईश्वरले गर्न सक्छन्। 25 मलाई यर्दन नदीपारि जान दिनुहोस् अनि अर्को पट्टिको असल भूमि हेर्न दिनुहोस्। मलाई लबानोन र सुन्दर पहाडी देश हेर्न दिनुहोस्।’

26 “तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनु भयो। उहाँले मेरो कुरा सुन्नु अस्वीकार गर्नु भयो। परमप्रभुले मलाई भन्नु भयो, ‘यति नै प्रयाप्त छ, यस विषयमा अरू कुरा नगर। 27 पिस्गा पर्वतको टाकुरामा जाऊ अनि पश्चिम, उत्तर, दक्षिण तथा पूर्वपट्टि हेर। तिमीले त्यहाँ आफ्नै आँखाले यी सब चीजहरू हेर्न सक्छौ तर तिमी यर्दन नदीपारि चाहिं जान सक्दैनौ। 28 तिमीले यहोशूलाई उपदेश अवश्य देऊ। तिनलाई तिमीले उत्साह देऊ। तिनलाई बलियो बनाऊ। भूमि तिमीले देख्न सक्छौ तर यहोशूले मानिसहरूलाई त्यहाँ लैजाने छन् अनि तिनीहरूलाई त्यहाँ बस्न सहायता गर्नेछन्।’

29 “यसकारण हामी बेत-पोर वारि नै बेंसीमा बस्यौं।”

लूका 6:12-38

येशूद्वारा बाह्रजना प्रेरितहरूको चुनाई

(मत्ती 10:1-4; मर्कूस 3:13-19)

12 त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो। 13 भेलिपल्ट बिहान, उहाँले आफ्नो चेलाहरूलाई उहाँले तिनीहरूलाई “प्रेरित” नाउँ दिनु भुयो। तिनीहरू थीएः

14 शिमोन (येशूले तिनलाई पत्रुस नाउँ राख्नु भएको थियो)

र आन्द्रियास पत्रुसको भाइ,

याकूब,

र यूहन्ना,

फिलीप

बर्थुलमाई,

15 मत्ती,

थोमा,

याकूब अल्फायासको छोरो,

अनि शिमोन, जसलाई जेलोट पनि भनिन्छ,

16 यहूदा, याकूबको छोरो,

अनि यहूदा इस्करयोती (यो यहूदा नै तीमध्ये एकजना हो जसले येशूलाई शत्रुहरूको हातमा सुम्पेको थियो)।

येशूद्वारा मानिसहरूलाई शिक्षा अनि उपचार

(मत्ती 4:23-25; 5:1-12)

17 येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीं एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठूलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए। 18 तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफूलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दुष्टात्माले पीडित मानिसहरूलाई निको पारिदिनु भयो। 19 सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्दै उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो।

20 उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो,

“हे दीन मानिसहरू, तिमीहरू धन्यका हौ,
    किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
21 तिमीहरू, जो अहिले भोकाएका छौ, तिमीबरू धन्यका हौ,
    किनभने तिमीहरू तृप्त हुनेछौ।
तिमीहरू, जो अहीले रोइरहेका छौ तिमीहरू धन्यका हौ,
    किनभने तिमीहरू खुशीसँग हाँस्नेछौ।

22 “मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ। 23 त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।

24 “तर धनी मानिसहरू हो, तिमीहरूलाई धिक्कार!
    किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ।
25 तिमी अघाएकाहरूलाई, धिक्कार!
    किनभने तिमीहरू भोकाउनेछौ।
तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार!
    किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ।

26 “धिक्कार! तिनीहरूको बारेमा मानिसहरूद्वारा प्रशंसा गरिऐको भए पनि, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटो अगमवक्ताहरूलाई सधैँ प्रशंसा गरे।

शत्रुहरूलाई प्रेम गर

(मत्ती 5:38-48; 7:12a)

27 “म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर। 28 तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर। 29 यदि कसैले तिमीहरूको एउटा गालामा थप्ड लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिम्रो कोट लगेको छ भने उसलाई कमीज लिनु नरोक। 30 जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग। 31 अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ।

32 “जसले तिमीहरूलाई प्रेम गर्छन् तिनीहरूलाई मात्र प्रेम गरे, तिमीहरू के कुनै प्रशंसाको योग्य हुन सक्छौ? अँहँ। पापीहरू पनि तिनहरूलाई प्रेम गर्नेहरूलाई प्रेम नै गर्दछन्। 33 यदि तिमी ती मानिसहरूको निम्ति मात्र भलाई गर्छौ ज-जसले तिम्रो भलाई गर्छन्, भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होईन, कारण यस्तो त पापीहरूले पनि गर्छन्। 34 यदि फिर्ता पाउने आशामा तिमी कसैलाई ऋण दिन्छौ भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होइन, पापीहरू पनि पापीहरूलाई त्यति नै फिर्ता पाउने आशामा ऋण दिन्छन्।

35 “यसैले आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूसँग राम्रो गर, अनि तिनीहरूबाट केही आशा नराखी ऋण देऊ। यदी तिमीहरूले यसो गर्यो भने तिमीहरूले ठूलो इनाम पाउनेछौ, तिमीहरू सर्वौच्च परमेश्वरका सन्तानहरू झैं हुनेछौ किनभने परमेश्वर बैगुनी तथा दुष्टहरू प्रति पनि कृपालु हुनुहुन्छ। 36 जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन।

आफैंले आफैंलाई नियाल

(मत्ती 7:1-5)

37 “अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई भर्त्सना नगर, अनि अरूले पनि तिम्रो भर्त्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ। 38 अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनमा पाउनेछौं, तिमीहरूलाई खाँदी खाँदी हल्लाँउदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिंदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।”

भजनसंग्रह 67

प्रमुख संगीतकारलाई: वाद्य-वादन सहित। एउटा स्तुतिगान।

हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस् र आशीर्वाद दिनुहोस्।
    कृपया हामीलाई ग्रहण गर्नुहोस्!

म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन्।
    प्रत्येक जातिले देखुन् कि तपाईंले मानिसहरूलाई कसरी बचाउँनु हुन्छ।
हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
    प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।
प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकुन्।
    किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ।
    अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।
मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्।
    हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सकून्।
हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्।
    हाम्रो खेतले विस्तृत फसल दिओस्।
हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्।
    अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरको डर मानुन् आदर गरून्।

हितोपदेश 11:27

27 एउटा मानिस जसले असल गर्न चेष्टा गर्छ, ऊ जनप्रिय हुनेछ, तर जसले दुष्ट कर्म मात्र गर्छ उसले पनि खराबी नै सामना गर्नु पर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International