Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 4

मोशा मानिसहरूलाई परमेश्वरको विधि-विधानहरू पालन गर्नु भन्छन्

“अब, हे इस्राएली हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ। मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।

“बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुशरण गरेका थिए। तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।

“परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ। यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’

“जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्। आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन। तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ। 10 होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’ 11 तिमी नजिकै आयौ अनि पहाडको फेदमा उभियौ। त्यो पहाड जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो। 12 परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो। 13 परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो। 14 त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुशरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।

15 “त्यस दिन जतिबेला होरेब पहाडमा आगोबाट परमप्रभु तिमीहरूसित बोल्नु भयो, तिमीहरूले उहाँलाई देखेनौ कारण उहाँ निराकार हुनुहुन्थ्यो। 16 यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ। 17 पृथ्वीमा हिंडने पशुहरू तथा आकाशमा उडने चराहरूको मूर्तिहरू नबनाऊ। 18 भूइँमा घस्रिने जन्तु अथवा पानीमा पौड़नें प्राणीहरूको मूर्तिहरू पनि नबनाऊ। 19 अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोड़दिनु भएको छ। 20 तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।

21 “तिमीहरूको निम्ति परमप्रभु मसित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदैछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो। 22 तिमीहरू यर्दन नदी पारिको असल भूमिमा गएर बस्न सक्छौ तर म त्यहाँ पस्न सक्तिनँ, मैले यहीं मर्नुपर्छ। 23 तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ। 24 किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।

25 “तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ। 26 यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ। 27 परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ। 28 त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्। 29 तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ। 30 जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेश्वरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ। 31 परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ, यसकारण उहाँले तिमीहरूलाई त्याग्नुहुन्न, तिमीहरूलाई नष्ट पार्नुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नु भएको करार कहिल्यै विर्सनु हुँदैन।

परमप्रभुले गर्नु भएका महान कार्यहरूको स्मरण गर

32 “अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन! 33 तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन। 34 अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ। 35 परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन। 36 तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।

37 “तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो। 38 उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान् अनि शक्तिशाली जातिहरूको भूमिमा पस्ने अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अझै गर्नु हुँदैछ।

39 “तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्। 40 आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”

मोशा सुरक्षाका शहरहरू रोजछन्

41 यर्दन नदीको पूर्व भागमा मोशाले तीनवटा शहरहरू छान्नु भयो 42 यदि कुनै मानिसले अन्जानमा अथवा कुनै शुत्रता बिनै कुनै अर्को मानिसलाई मार्यो भने त्यो मानिस आफ्नो बचाऊको निम्ति ती तीन शहरहरू मध्ये कुनै एउटामा भागेर जान सक्थ्यो। तर यदि मारिने मानिससित उसको कुनै शत्रुता थिएन भने मात्र त्यो मार्ने मानिसको सुरक्षा त्यस अवस्थामा हुन सक्थ्यो। 43 मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।

मोशाको व्यवस्थाको परिचय

44 मोशाले इस्राएलीहरूलाई परमेश्वरका व्यवस्थाहरू दिए। 45 इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए। 46 जुन समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेंसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए। 47 तिनीहरूले सिहोनको राज्य र बाशानका राजा ओगको राज्य कब्जा गरे। यी दुवै एमोरी राजाहरू यर्दन नदीको पूर्वपट्टि बस्थे। 48 यो भूमि अर्नोन बेंसीको किनारमा अरोएरदेखि पर्वत सियोन (हर्मोन पर्वत) सम्म फिंजिएको थियो।) 49 यस भूमि अन्तर्गत यर्दन नदी पूर्वी भागको सम्पूर्ण बेंसी, दक्षिणमा अराबा समुद्रसम्म र पूर्वमा पिस्गा पर्वत पर्थ्यो।

लूका 6:39-7:10

39 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः “के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अँहँ! दुवै नै खाडलमा पर्नेछन्। 40 एउटा शिष्य आफ्नो गुरूभन्दा माथि हुन सक्तैन। तर प्रत्येक मानिस जसले पूर्णरूपले सिकिसक्छ तब मात्र उ गुरू झैं बन्नसक्छ।

41 “जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाइको आँखमा परेको धुलो किन देख्छौ? 42 तिमीहरूले कसरी आफ्नो भाइलाई भन्न सक्छौ, ए भाइ मलाई तिम्रो आँखामा भएको धुलो निकाल्न देऊ। जब तिमीहरूले आफ्नो आँखामा परेको ठूलो छेस्कालाई पनि देख्न सक्तैनौ। तिमीहरू कपटी छौ। पहिले, तिमीहरू आफैंले आफ्नो आँखबाट ठूलो छेस्का निकाल। त्यसपछि तिमीहरूले स्पष्टसँग तिमीहरूको भाइको आँखामा परेको धुलो निकाल्न सक्नेछौ।

दुइ प्रकारको फल

(मत्ती 7:17-20; 12:34b-35)

43 “एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन। 44 हरेक बौट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन्। अनि तिनीहरूले काँडे पोथ्राबाट अंङ्गुर बटुल्न सक्तैनन्। 45 एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कुराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ।

दुइ प्रकारका मानिसहरू

(मत्ती 7:24-27)

46 “जब मैले भनेको मान्दैनौ भने किन मलाई प्रभु, भन्दछै? 47 हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु। 48 ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।

49 “तर जो मानिस मेरो वचन सुन्छ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोंक्का लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”

येशूद्वारा एकजना नोकर निको

(मत्ती 8:5-13; यूहन्ना 4:43-54)

जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो। कफर्नहुममा एकजना कप्तान थियो। उसको एकजना नोकर सिकिस्त बिमारी थियो, त्यो मर्नै लागेको थियो। त्यस कप्तानले नोकरलाई खुबै माया गर्ने गर्थ्यो। जब उसले येशूको बारेमा सुन्यो तब बूढा यहूदी प्रधानहरूलाई उहाँकहाँ पठायो र त्यस नोकरलाई बचाउनुको लागि आउन भनि बिन्ती गर्न पठायो। ती मानिसहरू येशूकहाँ गए, अनि त्यो कप्तानलाई सहायता गर्नु मार्मिक तरिकाले आग्रह गर्दै भने, “त्यो कप्तान तपाईंको सहायता पाउनु साँच्चै योग्यको छ। तिनले हाम्रो मानिसहरूलाई माया गर्छन् र हाम्रो निम्ति सभा घर पनि बनाइदिएका छन्।”

यसकारण येशू ती मानिसहरूसँग जानु भयो। उहाँ यसो भनि विन्ती गर्न पठायो, “हे प्रभु, तपाईं मेरो घरमा आउने कष्ट नगर्नुहोस्। तपाईं जस्तो मानिस मेरो घरमा पाउ कष्ट गर्न योग्यको म छैन। यसकारण म आफैं पनि तपाँईकहाँ मानसँगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ। तपाईंको अधिकार मलाई थाहा छ। म पनि अरू मानिसहरूको अधिकारको वशमा छु। अनि मेरो अधिकारमा सैनिकहरू छन्। यदि म एकजना सैनिकलाई भन्छु, ‘जाऊ’, अनि त्यो जान्छ। अनि अर्को सैनिकलाई भन्दछु, ‘आऊ’, अनि त्यो आउँछ। अनि यदी मेरो नोकरलाई भन्दछु, ‘यो गर’, अनि त्यसले गर्छ।”

जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।”

10 येशूलाई बोलाउन गएका सबै मानिसहरू घर फर्किए। तिनीहरूले त्यो नोकरलाई निको भइसकेको भेटे।

भजनसंग्रह 68:1-18

प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन।

हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्र-तत्र छरिदिनु होस्।
    उहाँका शत्रुहरू उहाँलाई देखेर भागुन्।
हावाले धूवाँलाई फुके जस्तै
    तपाईंको शत्रुहरू यत्र-तत्र छरिनु परोस्।
मैन अगोमा पग्लिए जस्तै
    तपाईंको शत्रुहरू नष्ट होऊन्।
तर धर्मी मानिसहरू सुखी छन्,
धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुनेसँगै आनन्दमा छन्।
    धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्।
उहाँको सम्मानमा बाजा गाजा सहित गीत गाऊ।
    परमेश्वरको निम्ति बाटो तयार पार।
उहाँले आफ्नो रथ मरुभूमि तिर उडाउनुहुन्छ
    उहाँको नाउँ “याह”[a] हो उहाँको नाउँको प्रशंसा गर!
उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ,
    उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ।
    उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिर ल्याउनुहुन्छ।
    तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।

हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो।
    तपाईं मरुभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो।
हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो,
    तब पृथ्वी काम्यो अनि आकाश पग्लियो।
हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो,
    क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन।
10 तपाईंका पशुहरू फर्केर त्यही भूमिमा आए।
    हे परमेश्वर, तपाईंले गरीब दुःखीहरूलाई धेरै राम्रा चीजहरू दिनुभयो।
11 परमेश्वरले आज्ञा दिनुभयो
    अनि धेरै मानिसहरू सुसमाचार सुनाउन गए।
12 “शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए।
    नारीहरूले लुटका सामान घर-घरमा भाग गरेर राखेकी छन्,
    जुन सिपाहीहरूले युद्धबाट ल्याएका थिए।
    ती मानिसहरू जो घरमा बसेका छन् तिनीहरूले सम्पत्ति बाँड्ने छन्।
13 तिनीहरूले चाँदीले छोपीएका ढुकुरका पखेंटाहरू पाउने छन्।
    तिनीहरूले सुनका चमकले टल्किरहेका पखेंटाहरू पाउने छन्।”

14 जालमन पर्वतमा परमेश्वरले शत्रु राजाहरू तितर-बितर पार्नु भयो।
    ती झरिरहेका हिमपात जस्तै थिए।
15 परमेश्वरको पर्वत बाशान पर्वत हो।
    बाशान पर्वत धेरै चुचुराहरू भएको विशाल पर्वत हो।
16 हे बाशान पर्वत! तिमी किन सियोन पर्वतलाई हेला गर्छौ?
    परमेश्वरले सीनै पर्वतलाई प्रेम गर्नुहुन्छ।
    उहाँले त्यही जग्गालाई वास-स्थान बनाउनु भयो।
17 परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो।
    उहाँको पछि लाखौंलाख रथहरू छन्।
18 उहाँ उच्च पर्वत माथि-माथि जानु भयो।
    ती मानिसहरूसित जो उहाँका विरूद्ध भए
कैदीहरूको लहरलाई पथ-निर्देश गर्दै
    पुरूषहरूबाट उपहार लिनलाई,
    परमप्रभु परमेश्वर त्यहाँ रहनलाई जानु भयो।

हितोपदेश 11:28

28 जसले आफ्नो सम्पत्तिमा भरोसा गर्छ त्यो सुकेको पात झैं झर्छ। तर असल मानिस नयाँ पालुवाको हरियो पात झैं बढ्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International