Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NRSVUE. Switch to the NRSVUE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 21:1-22:20

कनानीहरूसित युद्ध

21 आरादाका कनानी राजा नेगेवमा बस्थे। उनले इस्राएली मानिसहरू अटारीमको बाटो भएर आउँदैछन् भन्ने चाल पाए। यसर्थ तिनी गएर इस्राएली मानिसहरू माथि आक्रमण गरे। तिनले केही मानिसहरूलाई पक्राऊ गरेर कैद गरे। तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”

परमप्रभुले इस्राएलीहरूको पुकार मान्नु भयो र कनानीहरूलाई जित्न तिनीहरूलाई सहायता गर्नु भयो। इस्राएलीहरूले तिनीहरू र तिनीहरूका शहर सम्पूर्ण ध्वंश पारे। यसर्थ त्यस ठाँउको नाम होर्मा राखियो।

काँसाको सर्प

इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए। मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरुभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा-खाँदा वाक्क भई सक्यो।”

यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे। मानिसहरू आएर मोशासँग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे।

परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।” यसकारण मोशाले परमप्रभुको आज्ञा मानी एउटा काँसाको सर्प बनाई खम्बामाथि राखे। त्यसपछि जब कुनै व्यक्तिलाई सर्पले टोके उसले त्यो खम्बा माथि राखिएको काँसाको सर्पलाई हेर्थ्यो र त्यो बाँच्थ्यो।

इस्राएलीहरू मोआबमा गए

10 इस्राएली मानिसहरूले त्यो ठाँउ छोडे अनि ओबोतमा छाउनी हाले। 11 त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरुभूमि ऐ अबारीममा छाउनी हाले। 12 तिनीहरूले त्यो ठाँउ पनि छाडी जेरोद बेंसीमा छाउनी हाले। 13 त्यहाँबाट पनि गई अर्नोन नदी पारीको मरुभूमिमा छाउनी हाले। यो नदी एमोरीहरूको सिमानाबाट शुरू हुन्थ्यो। त्यो बेंसीमा मोआब र एमोरीहरू बीचको सिमान थियो। 14 यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्।

“अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी 15 अनि बेंसीहरूको आरको भिरालोहरू वासस्थान पट्टि जो मोआबको सिमानामा अवस्थित छन्।”

16 इस्राएलका मानिसहरू त्यस ठाँउ छाडेर बेओर तिर गए। यस ठाँउमा कूवा थियो र परमप्रभुले मोशालाई भन्नु भयो, “मानिसहरूलाई भेला गरेर ल्याऊ, म तिनीहरूलाई पानी दिनेछु।” 17 तब इस्राएलका मानिसहरूले यो गीत गाए।

“यो कूवा, पानीसित बग्छ!
    यस विषयमा गीत गाओ!
18 महान व्यक्तिले यो कूवा खने।
    महान नायकहरूले यो कूवा खने।
तिनीहरूले आफ्नो भारदारहरूसँग हिंड्ने लहुरोहरूले यो कूवा खने।
    यो मरुभूमिमा एउटा उपहार रहेको छ।”

यसर्थ मानिसहरूले त्यो कुवाको नाम “मत्ताना” राखे। 19 मानिसहरू मत्तानाबाट नहलीएल गए। त्यसपछि तिनीहरू नहलीएलबाट बामोत गए। 20 बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरुभूमि माथि देखिन्छ।

सीहोन अनि ओग

21 इस्राएलले आफ्नो केही मानिसहरू एमोरीहरूका राजा सीहोन कहाँ पठाए। ती मानिसहरूले राजालाई भने,

22 “हामीहरूलाई तपाईंहरूको देश भएर जान दिनुहोस्। हामी तपाईंको दाखबारीहरू तथा खेतमा पस्ने छैनौ, तपाईंको पोखटीबाट पानी पिउने छैनौं। जब सम्म हामी तपाईंको देशको सिमानामा पुग्दैनौं हामी मूल बाटोमा रहने छौं।”

23 तर सीहोनले इस्राएललाई तिनको राज्यको सिमाना भित्रबाट हिड्नु दिएनन् अनि आफ्ना मानिसहरूलाई भेला पारेर इस्राएललाई मरुभूमिमा आक्रमण गर्न आए। तिनी यहस सम्म आए अनि इस्राएलीहरूसित लडाईँ गरे।

24 तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए। 25 यसकारण इस्राएलले एमोरीहरूको सबै शहरहरू कब्जामा लिएर त्यहीं बस्न शुरू गरे। तिनीहरूले हेशबोन र त्यसको वरिपरिको साना साना शहरहरू पनि आफ्नो अधीनमा लिए। 26 हेशबोन त्यो शहर हो जहाँ अम्मोरीहरूका राजा सीहोन बस्थे। सीहोनले मोओबका राजासित युद्ध गरी तिनको भूमि अर्नोन नदीसम्म कब्जामा लिएका थिए। 27 यसैकारण गाइनेहरूले यो गीत गाँउछन्।

“तिमीहरू हेशबोन शहरमा आऊ, यो पुर्नस्थापित होस्।
    सीहोन शहर फेरि बनियोस्।
28 किनभने हेशबोन शहरबाट आगो शुरू भयो
    र एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो।
यसले अर र मोआबलाई ध्वंश पार्यो।
    यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो।
29 ए मोआब! तँलाई धिक्कार छ।
    ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयौ।
यसले आफ्नो छोराहरूलाई भगौटे बनाए,
    छोरीहरूलाई कैद गराए र एमोरीहरूका राजा सीहोनलाई दिएको छ।
30 तर हामीले ती एमोरीहरूलाई जितेका छौं।
    हेशबोन देखि दीबोनसम्मै, ध्वंश भयो, र हामीले मेदेबाको नजीक नोपा सम्म, तिनीहरूको शहरहरू नष्ट पारेका छौं।”

31 यसकारण इस्राएलीहरूले एमोरीहरूको भूमि दखल गरे।

32 मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।

33 त्यसपछि इस्राएलीहरू बाशानतिर जाने बाटो लागे। बाशानका राजा ओग आफ्नो सेनाहरू लिएर इस्राएलीहरूलाई भेट्न अघि बढे अनि एद्रईमा तिनीहरूसित युद्ध गरे।

34 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो राजासित नडराऊ, म तिमीलाई जिताउनेछु। हेशबोनमा बस्ने एमोरीहरूका राजा सीहोनलाई जुन व्यवहार गरेका थियौ ओगसित पनि त्यही गर। उसको सबै सेनाहरू र भूमि अधीनमा पार।”

35 यसर्थ इस्राएलीहरूले राजा ओग र उसको सेनाहरूलाई परास्त पारे अनि तिनीहरूले उसको छोराहरू, सेनाहरू तथा उसलाई पनि मारेर उसको भूमि अधीनमा लिए।

बिलाम र मोआबका राजा

22 त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले।

एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे। इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए।

मोआबले मिद्यानीका बूढा-प्राधानहरूसित कुरा गरे, “हरियो मैदानमा गोरूले घाँस खाएर नष्ट पारे झैं यी धेरै संख्यामा आएका मानिसहरूले हाम्रा वरिपरि भएको प्रत्येक चीज नष्ट पार्नेछन्।”

सिप्पोरको छोरो बालाक त्यस समय मोआबका राजा थिए। बालाकले बओरको छोरा बिलामलाई निमन्त्रणा गर्न दूतहरू पठाए जो युफ्रेटिस् नदिको नजीकै पातोरमा थिए। तिनीहरूले भने मिश्रबाट एउटा जाति आएका छन् अनि तिनीहरूको छाउनीहरूले सम्पूर्ण भूमि ढाकेको छ।

“अहिले तिनीहरूले मेरो विपरीतमा छाउनी बसाएका छन्। यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशीर्वाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”

मोआब र मिद्यानका बूढा-पाकाहरू बिलामसँग कुरा गर्न भनी बाटो लागे। तिनीहरूले भविष्यवाणीको निम्ति आफूसित केही पैसा पनि लिएर गए।

तिनीहरू बिलामकहाँ आएर बालाकले भनेको कुरा सुनाए। त्यसपछि बिलामले तिनीहरूलाई भने, “तिमीहरू आज राती यहीं बस अनि म तिमीहरूलाई परमप्रभुले मलाई जे भन्नुहुन्छ सो बताउँछु।” यसर्थ मोआबले पठाएका मानिसहरू बिलामसित बसे।

सपनामा परमेश्वरले बिलामलाई दर्शन दिनु भयो र भन्नुभयो, “तिमीसित भएका यी मानिसहरू को हुन्?”

10 बिलामले परमेश्वरलाई उत्तर दिए, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मकहाँ दूतहरू पठाएका छन्। 11 उनको सन्देश थियो: हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।”

12 परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू मद्वारा अशिषित छन्।”

13 त्यसकारण बिहानै उठेर बालाकद्वारा पठाएका बुढा-पाकाहरूलाई बिलामले भने, “तपाईंहरूको देशमा फर्केर जानुहोस् परमप्रभुले मलाई तिमीहरूसित जानु अनुमति दिनु भएन।”

14 यसर्थ मोआबका बूढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।”

15 एक पल्ट फेरि बालाकले बिलामकहाँ मानिसहरू पठाए। दोस्रो चोटीका बुढा-पाकाहरू पहिलेको भन्दा धेरै ठूला र सम्मानित थिए। 16 तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ: दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्। 17 किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।”

18 तब बिलामले बालाकका मानिसहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको महल दिए पनि म मेरो परमप्रभु परमेश्वरको आज्ञाचाहे ठूलो वा सानो होस् नष्ट गर्दिनँ। 19 यसकारण अरूहरू झैं तिमीहरू पनि आज राती यहिं बस्। अनि म हेर्छु परमप्रभुले मलाई केही कुरा भन्नु हुन्छ कि।”

20 त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।”

लूका 1:26-56

कन्या मरियम

26-27 इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गाब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो। 28 ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।”

29 तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”

30 ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ। 31 सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु। 32 उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। 33 उहाँले याकूबका घरानामाथि सधैँका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”

34 मरियमले ती स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, यस्तो कसरी हुन सक्छ?”

35 ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाक्नेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ। 36 यस विषयमा ध्यान देऊः तिम्रो आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था वृद्ध अनि बाँझी कहलाइएता पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्। 37 किनभने परमेश्वरमा जे कुरा पनि सम्भव छ।”

38 मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि हुनदिनुहोस्।” त्यसपछि दूत उनीबाट विदा भए।

जकरिया र इलीशिबासँग मरियमको भ्रमण

39 लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गईन्। 40 तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्। 41 जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्।

42 तिनले जोरले चिच्याएर भनीन्, “अरू स्त्रीहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ। 43 यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु पर्यो? 44 जब मैले तिम्रो अभिवादन सुने, मेरो गर्भमा भएको बालक हर्षले उफ्रियो। 45 तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”

मरियमद्वार परमेश्वरको प्रशंसा

46 त्यसपछि मरियमले भनिन्,

47 “मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ,
    अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।
48 किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो।
    अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,
49 किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ।
    उहाँको नाउँ पवित्र होस्।
50 जसले परमेश्वरलाई उपासना गर्छ,
    उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।
51 उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ।
    उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।
52 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ,
    अनि नम्रहरूलाई उचाल्नु भएकोछ।
53 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ,
    तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।
54 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ।
    उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।
55 उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न,
    हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”

56 मरियम इलीशिबासँग प्रायः तीन महीनासम्म बसिन्। त्यसपछि घर फर्किन्।

भजनसंग्रह 57

प्रमुख संगीतकारलाई: “नष्ट नगर” भन्ने रागमा दाऊदको “मिक्तम” भन्ने भजन। जुन समय दाऊद शाऊलबाट भागेर ओडारमा लुकेका थिए।

हे परमेश्वर, मप्रति कृपालु हुनु होस्।
    मप्रति दयालु हुनुहोस्,
किनभने म तपाईंको शरणमा आएकोछु।
    जबसम्म कष्ट हराँउदैन, म तपाईंको संरक्षणमा छु।
म सर्वोच्च परमेश्वरलाई उहाँको सहयोगको निम्ति प्रार्थना गर्दछु
    अनि परमेश्वरले पूर्णतः मेरो हेरचाह गर्नुहुन्छ!
स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ
    र बचाउँनु हुन्छ।
उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ।
    परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।

मेरो प्राण विपदमा छ।
    मेरा शत्रुहरू चारैतिर छन्।
तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत
    अनि तरवार जस्तो धारिलो जिब्रो लिएर
    मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्।

परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहुन्छ।
    तपाईंको महिमा पृथ्वी ढाकिएर फैलिन्छ।
मेरा शत्रुहरूले मलाई पासोमा पार्ने चेष्टा गरिरहेका थिए।
तिनीहरूले मलाई फन्दामा पार्न चेष्टा गरिरहेका छन्।

हे परमेश्वर, म तपाईंमा भरोसा राख्छु, जे हुन्छ त्यसको निम्ति म तयार छु।
    म गाउनेछु अनि तपाईंको प्रशंसाको निम्ति बाजा बजाउँछु।
हे मेरो प्राण जाग!
    वीणा र सितार घन्काएर संगीत प्रारम्भ गर!
    प्रभात फेरि लगाऊ।
हे मेरा स्वामी, म सबैको अघि तपाईंको प्रशंसा गर्छु।
    प्रत्येक जाति समक्ष तपाईंको विषयमा म स्तुति-गान गर्छु।
10 तपाईंको स्नेहपूर्ण करूणा,
    आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ।
11 हे परमेश्वर तपाईं स्वर्गभन्दा पनि सर्बोउच्च हुनुहोस्।
    उहाँको महिमाले सारा पृथ्वीलाई ढाक्नदेऊ।

हितोपदेश 11:9-11

अधर्मी मानिसले आफ्नो छिमेकीलाई वचनले नै आघात तुल्याउँछ, तर धर्मी मानिसहरू ज्ञानद्वारा बचाइन्छन्।

10 जब धर्मी मानिसहरूले उन्नति गर्छन सम्पूर्ण शहर नै आनन्दित हुन्छ तर जब दुष्टहरूको ध्वंश हुन्छ मानिसहरू आनन्दमा कराउँछन्।

11 ती धार्मिक मानिसहरूले उनीहरूको शहरलाई आशीर्वाद दिन्छन् त्यो शहरको उन्नति हुन्छ, तर दुष्टहरूले भनेका कुराहरूले शहर ध्वंश हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International