Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GW. Switch to the GW to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 33:40-35:34

40 कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने। 41 ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।

42 ती मानिसहरूले सल-मोनाबाट यात्रा शुरू गरी पूनोनमा छाउनी हाले।

43 ती मानिसहरूले पूनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।

44 ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इय्ये-अबारीममा छाउनी हाले।

45 ती मानिसहरूले इय्ये-अबारीमबाट यात्रा गरी दीबोन-गादमा छाउनी हाले।

46 ती मानिसहरूले दीबोन-गादबाट यात्रा गरी अल्मोन-दिब्लातैममा छाउनी हाले।

47 ती मानिसहरूले अल्मोन-दिब्लातैमबाट यात्रा गरी नबोको नजीक अबारीमको पर्वतमा छाउनी हाले।

48 ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले। 49 मोआबको मैदानमा ती मानिसहरूले यर्दन नदीको किनार यर्दन बेंसीमा बते-योशी-मातदेखि आबेल-शीत्तिम सम्म छाउनी हाले।

50 यरीहोको पारि यर्दन नदी नजीकै मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, 51 “इस्राएलीहरूलाई भन: जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ, 52 तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेद्नु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ। 53 मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ। 54 तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिठ्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ। जहाँ-जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्खाहरूको परिवार अनुसार पाउँनेछौ।

55 “यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौ भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा विझेको छेस्का अथवा शरीरमा बिझेको काँढा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन्। 56 तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुर्छ भनी योजना बनाएकोछु।”

कनानको सिमानाहरू

34 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ। त्यस भूमिको दक्षिण तिर एदोमको नजीक सीन मरुभूमिको केही भाग रहनेछ। त्यस भूमिको दक्षिणी सिमाना खारा समुद्रको पूर्व भागबाट नै शुरू हुनेछ। यो सिमानाले अक्राबीमको दक्षिणी भाग नाघेर सीन मरुभूमि हुँदै यसको दक्षिण भागको सिमाना कादेश-वर्ने पर्नेछ। यस सिमानाले हसार अदूदार पुगेर आस्मोन नाघ्नेछ। सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ। यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो। अब आयो तिमीहरूको भूमिको उत्तरी सिमानाः यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ। होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ। तिमीहरूको उत्तरी सिमाना फैलिएर सिप्रोन सम्म गई हसर एनानमा टुङ्गिनेछ। 10 तिमीहरूको देशको पूर्वीय सिमाना हसर-एनान देखि शपाम सम्म जानेछ। 11 शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रको[a] छेउ सम्म जानेछ। 12 त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।”

13 यसर्थ मोशाले इस्राएलका मानिसहरूलाई यो आदेश दिए, “तिमीहरूले पाउने भूमि यही नै हो। तिमीहरूले आफ्नो नौं कुलहरू र मनश्शे कुलको आधा समूहहरू गरी साढे नौ कुलहरूमा चिठ्ठा गरेर भूमि वितरण गर्नेछौ। 14 रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके। 15 ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।”

16 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, 17 “यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशूले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्। 18 प्रत्येक कुलसमूहबाट एकजना प्रमुखले पनि भूमि वितरण कार्यमा सहायता गर्ने छ। 19 ती कुलसमूह नायकहरूको नाम यस प्रकार छः

यहूदाको कुलबाट यपून्नेका छोरो कालेब,

20 सिमोनको कुलबाट अम्मीहूदको छोरो शेमूएल,

21 बिन्यामीनको कुलबाट किसलोनको छोरो एलीदाद,

22 दानको कुलबाट योगीलीको छोरो बुक्की,

23 यूसुफको सन्तानहरू,

मनश्शे कुलबाट एपोदको छोरो हन्नीयल,

24 यूसुफको छोरो एप्रैम कुलबाट सिप्तानको छोरो कमूएल,

25 जबूलून कुलबाट पर्नाकको छोरो एलीशापन,

26 इस्साकार कुलबाट अज्जानको छोरो पलतीयल,

27 आशेरको कुलबाट शलोमीको छोरो अहीहूद,

28 नप्तालीको कुलबाट अम्मीहूदका छोरो पदहेल।”

29 इस्राएली मानिसहरूलाई भूमि वितरण कार्यमा परमप्रभुले यी मानिसहरूलाई नियुक्त गर्नुभयो।

लेवीहरूको शहर

35 यरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेंसीमा परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका खर्कको भूमि पनि दिऊन्। लेवीहरू ती शहरहरूमा बस्नेछन् तथा ती गौचर भूमिमा आफ्नो गाई-वस्तुहरू चर्नेछन्। तिमीहरूले लेवीहरूलाई शहरहरूका जुन-जुन खर्कहरू दिनेछौ त्यो शहरहरूको पर्खालबाट 1,000 हात क्षेत्र फैलिएको हुनुपर्छ। तिमीहरूले शहरहरूलाई माझमा राखी त्यसको पूर्व पट्टि 2,000 हात, पश्चिम पट्टि 2,000 हात, उत्तर पट्टि 2,000 हात र दक्षिण पट्टि 2,000 हात गौचर भूमि हुनु पर्छ। तिनीहरूको शहरहरूको निम्ति गौचर भूमि यही हुनेछ। तिमीहरूले लेवीहरूलाई दिएको शहरहरूबाट छवटा शहरहरू बचाऊ शहरहरूको निम्ति रहनेछ। यदि कसैले अञ्जानमा कसैलाई मारे त्यो व्यक्ति भागेर त्यहाँ आफ्नो रक्षाको निम्ति बस्न सक्नेछ। यी छवटा शहरहरू बाहेक तिमीहरूले लेवीहरूलाई बयालीसवटा शहरहरू दिनेछौ। यसर्थ तिमीहरूले लेवीहरूलाई जम्मा अठ्चालीसवटा शहरहरू र ती शहरहरूको परिपरिको खर्कहरू दिनेछौ। इस्राएलका ठूलो परिवार समूहले धेरै भूमि पाउँछ र इस्राएलका सानो परिवार समूहले थोरै भूमि पाउँछ जसले धेरै भूमि पाउँछ तिनीहरूले धेरै शहरहरू दिनु पर्छ अनि ती जसले धेरै भूमि पाउँछ तिनीहरूले केही शहरहरू लेवीहरूलाई दिनु पर्छ।”

परमप्रभुले मोशालाई भन्नुभयो, 10 “इस्राएली मानिसहरूलाई भन ‘जब तिनीहरू यर्दन नदी तरेर कनान देशमा पस्नेछन्, 11 तिनीहरूले केही शहर चुन्नु पर्छ र तिनीहरूलाई सुरक्षा शहरहरू झैं तयार गर्नु पर्छ। यदि कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई अन्जानमा हत्या गरे, त्यो हत्यारा आफ्नो सुरक्षाको निम्ति त्यहाँ गई बस्न सक्छ। 12 त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बद्लालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरून्जेल सम्म त्यहाँ सुरक्षित रहन सक्छ। 13 यस्ता बचाऊ शहरहरू छवटा हुनेछन्। 14 जसमा यर्दन नदीको पूर्वमा तीनवटा र कनान देशभित्र तीनवटा हुनेछन्। 15 यी शहरहरू, इस्राएलका मानिसहरूका निम्ति सुरक्षा का शहरहरू हुनेछन् विदेशीहरू र यात्रीहरू त्यहाँ बस्नेछन्। यी मानिसहरू मध्ये यदि कसैले अन्जानमा कुनै अर्को व्यक्तिको हत्या गरे त्यो व्यक्ति ती शहरहरू मध्ये कुनैमा गएर शरण लिन सक्छ।’

16 “कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ। 17 यदि कुनै व्यक्तिले ढुङ्गाले हिर्काएर कसैलाई मार्छ भने, त्यो व्यक्ति पनि हत्यारा नै हो र त्यसलाई पनि प्राण दण्ड दिनै पर्छ। 18 यदि कसैले दाउराले हिर्काएर कसैलाई मार्छ भने त्यो पनि हत्यारा नै हो र त्यसले पनि प्राण दण्ड पाउनै पर्छ। 19 यदि हत्या भएको परिवारको कुनै सदस्यले ज्यानको साटो ज्यानै लिन चाहान्छ भने उसले त्यो हत्यारालाई खोजी मार्न सक्छ।

20 “यदि कसैले कसैलाई घृणा गरेर घचेट्छ भने अथवा ऊसमाथि केही चीज फ्याँक्छ अनि ऊ त्यसैले मर्छ, 21 अथवा घृणा गरेर उसलाई हातले हिर्काउँछ र त्यसको चोटले त्यो व्यक्ति मर्यो भने त्यो हिर्काउँने व्यक्ति हत्यारा ठहरिन्छ, र उसलाई प्राण दण्ड दिनुपर्छ। त्यो मर्ने व्यक्तिको आफन्तले उसलाई भेटेर मार्छ भने उसले मार्न सक्छ।

22 “तर यदि कसैले कसैलाई अन्जानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फ्याँकछ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिमाथि घृणा थिएन, 23 अथवा उसले मार्छु भनी घचेटेको, कुनै प्रहार गरेको होइन अथवा मार्ने व्यक्तिको त्यस्तो कुनै योजना नै थिएन भने, अथवा त्यो व्यक्तिले केही फ्याँक्दा कसैलाई लाग्यो अनि त्यो मर्यो भने त्यो अन्जानमा घटेको घटना हो। 24 तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ। 25 त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारी[b] मर्दैन।

26 “तर यदि त्यो हत्यारा सुरक्षित शहरको सिमानाबाट बाहिर जान्छ, जुन घरमा त्यो आफ्नो सुरक्षाको निम्ति पुगेको थियो, 27 अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन। 28 किनभने त्यो हत्यारा सुरक्षित शहरमा प्रधान पूजाहारीको मृत्यु पर्यन्त बस्नु पर्ने थियो। प्रधान पूजाहारीको मृत्यु पछि तिनी आफ्नो घर फर्कनु सक्छ। 29 यी नियमहरू ती मानिसहरू जहाँ कहीं बसे पनि तिनीहरूको निम्ति सदा-सर्वदाको निम्ति कानुन भएर रहनेछ।

30 “यदि कुनै व्यक्तिले कसैलाई मारेको पूरा साक्षीहरू भए मात्र उसलाई मृत्यु दण्ड दिन सकिन्छ। एकजना व्यक्तिले दिएको गवाहीमा मृत्यु दण्ड दिन सकिंदैन।

31 “यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ।

32 “यदि कुनै व्यक्तिले कसैलाई मारेर सुरक्षित शहरमा आश्रय लिनु गएको छ भने, त्यो व्यक्ति प्रधान पूजाहारी नमरून्जेल सम्म त्यहाँ बस्नै पर्छ, पैसा दिएर त्यो व्यक्ति आफ्नो घर फर्कन सक्तैन।

33 “निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यारालाई मुक्त पार्ने। 34 म परमप्रभु हुँ। म सधैँ इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।”

लूका 5:12-28

येशूद्वारा एकजना बिमारी निको

(मत्ती 8:1-4; मर्कूस 1:40-45)

12 जब एकपल्ट येशू एउटा शहरमा हुनुहुन्थ्यो, त्यहाँ एउटा शरीर कोढीले पीडीत मानिस पनि थियो। जब त्यसले येशूलाई देख्यो, उहाँ अघि निहुरिएर विन्ती गर्न लाग्यो, “हे प्रभु, मलाई निको पारिदिनुहोस्। म जान्दछु तपाईंले चाहनु भयो भने मलाई जाती पार्नु सक्नु हुन्छ।”

13 येशूले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोढ़ले छोड्यो। 14 येशूले तिनलाई आदेश दिनु भयो, “यस्तो भएको कुरा कसैलाई नभन्नु। तर आफैं गएर पूजाहारीलाई देखाउनु मोशाले भने झैं आफू निको भएकोमा परमेश्वरलाई बलि चढाउनु। यसबाट तिमी निको भएको प्रमाण हुन्छ।”

15 तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे। 16 येशू प्रायः नै एकान्त ठाउँमा प्रार्थना गर्नुहुन्थ्यो।

येशूद्वारा पक्षाघात रोगी निको

(मत्ती 9:1-8; मर्कूस 2:1-12)

17 एक दिन येशूले मानिसहरूलाई शिक्षा दिंदैं हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यहीं नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो। 18 एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए। 19 तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्यस कारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले। 20 तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”

21 तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”

22 तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ? 23 कुन चाँहि सजिलो छः ‘तिम्रो पाप क्षमाभए भन्नु’ अथवा ‘उठ अनि जाऊ भन्नु?’ 24 तर म तिमीहरूलाई देखाउँनेछु कि पृथवीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।”

25 सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछ्यौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दैं घरतिर लाग्यो। 26 सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौं।”

लेवी येशूलाई पछ्याउँछन्

(मत्ती 9:9-13; मर्कूस 2:13-17)

27 यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।” 28 लेवी जुरूक्क उठ्‌यो अनि सबै कुरा छोडेर येशूको पछि लाग्यो।

भजनसंग्रह 65

प्रमुख संगीतकारलाई: दाऊदको एउटा स्तुति-गान।

सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु।
    मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
सबै मानिसहरू तपाईंकहाँ आउँछन्,
    किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।
जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन्,
    तब तपाईंले ती पापीहरू लैजानुहुन्छ।
हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ।
    तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ।
अनि हामी अत्यन्त खुशी छौं।
    तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।
हे परमेश्वर, हामीलाई बचाउँनु होस्।
    धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन्,
    अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ।
तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ।
    संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो।
    हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ।
परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो।
    परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।
संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्।
    सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ।
तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ
    तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ।
परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो
    अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
10 तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो,
    तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो
    अनि ताजा उद्भिद्हरू उमार्नु भयो।
11 तपाईंले नयाँ-बर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो।
    अनि बर्षको अन्त प्रशस्तै फसलहरूले भर्नुभयो।
12 तपाईंले मरुभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।
13 चउरहरू भेंडाहरूले भरिएका छन्,
    बेंसीहरू अन्नले पुरिएका छन्।
    हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।

हितोपदेश 11:23

23 तर धर्मी मानिसहरूले तिनीहरूले इच्छा गरेको चीजहरू पाँउछन्, यसले असल चीजहरूमा डोर्याउँछ तर जब दुष्ट मानिसहरूले चाहेको चीजहरू तिनीहरूले पाँउछन् त्यसले कष्ट मात्र गराउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International