Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लेवी 25:47-27:13

47 “तिमीहरूकहाँ आउने विदेशी अथवा परदेशीहरू धनी पनि हुन सक्छन् अनि तिमीहरूको आफ्नै देशका दाज्यू-भाइहरू अत्यन्तै गरीब भई तिनीहरूको कमारा बनी बिक्री हुन सक्छन्। 48 यदि यस्तो भएको खण्डमा त्यस मानिससित फिर्ता किन्ने अधिकार छ। उसलाई उसको दाज्यू-भाइहरू मध्ये कसैले किन्नु सक्छ। 49 अथवा उसको काका-मामा तथा उसको काका-मामाका छोराहरूले अथवा उसको आफ्नै आफन्तका कुनै मानिसले उसलाई किन्न सक्छ। अथवा ऊ आफैंले पनि आफ्नो प्रशस्त धन जोगाड गरे आफैंलाई फेरि किन्न सक्छ।

50 “तिमी कसरी दाम तोक्न सक्छौ? अर्को जयन्ती बर्षसम्म विदेशीलाई उसले बेचेको दिनदेखि बर्षहरू गन। तोक्नको निम्ति त्यस संख्यालाई प्रयोग गर। किनभने उसले सही रूपमा केही बर्षको निम्ति मात्र किनेको थियो। 51 यदि अर्को जयन्ती बर्षको समय आउन अझै निकै बर्ष छ, त्यस मानिसले निकै बेशी दाम तिर्नु पर्छ। तर दाम बर्षको संख्यामा भर पर्छ। 52 अनि फेरि यदि अर्को महोत्सव बर्ष आउँन केही बर्ष मात्र रहे उसले आफ्नो पुरानो दाम भन्दा धेरै कम्ती रकम तिर्नुपर्छ। 53 त्यो मानिस त्यसको मालिकसँग एक दैनिक हाजिरमा काम गर्ने मजदूर झैं रहनसक्छ अनि त्यस विदेशी मालिकले ऊसँग दुष्ट व्यवहार नगरोस्।

54 “यदि त्यस मानिसलाई कसैले उक्साएको खण्डमा, त्यो मानिस अर्को महोत्सव बर्षमा स्वतन्त्र उक्सनु सक्छ महोत्सवको बर्षमा उसका नानीहरू पनि स्वतन्त्र बनिनु सक्छन्। 55 किनभने, इस्राएलीहरूलाई मिश्र देशमा तिनीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

परमेश्वरको आदेश पालन गर्दा पाइने इनाम

26 “तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

“मेरा विशेष विश्राम दिनहरूलाई याद गर अनि मेरो पवित्र स्थानलाई आदर गर। म परमप्रभु हुँ।

“मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर। यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्। तिमीहरूको दाई अंङ्गूर टिप्ने समयसम्म रहनेछ अनि अंङ्गूर टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बस्नेछौ। म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बस्न पाउनेछौ। नोक्सानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन।

“तिमीहरूले आफ्नो शत्रुहरूलाई खेद्नेछौ, र तरवारले मार्नेछौ। तिमीहरू पाँच जनाले एक सय जना शुत्रहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ।

“म तिमीहरूलाई दया गर्नेछु र तिमीहरूलाई ठूलो सन्तान पनि धेरै नानीहरू जन्माउने शक्ति दिनेछु। म मेरो करार तिमीहरूसित सही राख्नेछु। 10 तिमीहरूसँग प्रशस्त अन्न रहनेछ र तिमीहरूले नयाँ बर्षको खेती उठाउँदा पनि पुरानो बर्षको अन्न रही रहनाले त्यो पुरानो अन्न तिमीहरूले फ्याँक्नु पर्नेछ नत्र तिमीहरूकोमा नयाँ बाली उठाएर राख्ने स्थल हुने छैन। 11 तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन। 12 म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ। 13 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।

परमेश्वरको आज्ञा भंगको दण्ड

14 “तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ, 15 यदि तिमीहरूले मेरो विधिहरू र आज्ञाहरूको अवहेलना गछौ यो मेरो करार भंग गरेको जस्तो हुनेछ। 16 यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्। 17 म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।

18 “यति गर्दा पनि तिमीहरूले मलाई नमाने तिमीहरूले गरेको पापको सात गुणा वेशी सजाय दिनेछु। 19 अनि तिमीहरूको गर्वको महानगरलाई म भत्काउनेछु। आकाशले तिमीहरूलाई पानी दिनेछैन र त्यसरी नै पृथ्वीले तिमीहरूलाई अन्न दिने छैन। आकाश र पृथ्वी तिमीहरूको निम्ति क्रमश: फलाम र काँसा जस्ता हुनेछन्। 20 तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ।

21 “अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ। 22 म तिमीहरू विरूद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिनीहरूलाई तिमीहरूका नानीहरू लैजानेछन्। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।

23 “यति हुँदा पनि यदि तिमीहरू चेतेनौ भने अनि मेरो विरोध गरिरह्यौ भने, 24 तब म आफैं तिमीहरूको विरूद्ध जानेछु र तिमीहरूको पापहरूको निम्ति सातगुणा दण्ड दिनेछु। 25 तिमीहरूले मेरो करार भंङ्ग गर्यौ, यसर्थ म तिमीहरूलाई दण्ड दिन तिमीहरूको विरूद्ध शत्रुहरू ल्याउनेछु। तिमीहरू बचाऊको निम्ति आफ्नो शहरभित्र जानेछौ तर म त्यहाँ रोगहरू फैलाइदिनेछु अनि तिमीहरूका शत्रुहरूले तिमीहरूलाई जित्ने छन्। 26 म तिमीहरूको अन्न वितरण विछिन्न बनाउनेछु। दश जना स्रीहरूले एउटै चुल्हामा भान्सा पकाउनेछन्। तिनीहरूले एक-एक जना गरेर रोटी नाप्नेछन्। तिमीहरूले खानेछौ तर तिमीहरू अघाउने छैनौ।

27 “अझ पनि यदि तिमीहरूले मेरो आदेशहरू मान्न अस्वीकार गर्यौ अनि मेरो विरोधमा रह्यौ। 28 तब म मेरो साँच्चै रीस देखाउनेछु! म तिमीहरूको परमप्रभु, तिमीहरूको पाप परिणामभन्दा सात गुणा वेशी दण्ड दिनेछु। 29 तिमीहरू यति साह्रो भोको हुनेछौ कि तिमीहरूले आफ्नै छोरा-छोरीहरूको मासु खानेछौ। 30 म तिमीहरूको पूजा गर्ने अग्ला स्थलहरू ध्वंश पारि दिनेछु अनि धूपका वेदीहरू भत्काइदिनेछु। म तिमीहरूको लाशहरूलाई तिमीहरूको मूर्तिहरूमाथि लडाइदिने छु। तिमीहरू मबाट एक्दमै घिनलाग्दो भएका छौ। 31 म तिमीहरूको पवित्र स्थलहरू शून्य पारिदिनेछु, म तिमीहरूका शहरहरू ध्वंश पारिदिनेछु अनि म तिमीहरूले चढाएको सुगन्धित बलिहरू ग्रहण गर्दिनँ। 32 म तिमीहरूको देश खाली पार्नेछु तब तिमीहरूको शत्रुहरू पनि त्यो देखेर छक्क पर्नेछन्। 33 म तिमीहरूलाई देश विदेशमा छरपष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।

34 “तिमीहरूको देश खाली पारेर तिमीहरूलाई शत्रुको देशमा लगिनेछ जसले गर्दा तिमीहरूको देशले पूर्ण आराम पाउनेछ र देशले पनि आरामको समयको आनन्द लिनेछ। 35 जमीन खाली हुनेछ अनि जमीनले विश्राम पाउनेछ जो तिमीहरू त्यहाँ हुँदा यसले पाएको थिएन। 36 बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्। 37 कसैले नखेदे पनि तिनीहरू कसैले तरवारलिएर खेदे झैं भागेर एकअर्कामा ठोकिंदै लड्नेछन्।

“तिमीहरू शत्रुहरूको सामुन्ने उभिने साहस पाउने छैनौ। 38 तिमीहरू अर्काको देशमा नष्ट हुनेछौ। 39 यसर्थ ती बाँकी बाँचेकाहरू पनि शत्रुहरूको देशमा आफ्नो पापहरूका लागि सडेर जानेछन्। तिनीहरूका पुर्खाहरू जसरी सडेर गए त्यसरी नै तिनीहरू पनि शत्रुहरूको मुलुकमा सडेर शेष हुनेछन्।

यहाँ जहिले पनि आशा छ

40 “तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे, 41 यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झैं भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने, 42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।

43 “जमीन रित्तो रहनेछ र त्यसले विश्रामहरूको आनन्द लिनेछ। ती बाँकी बाँचेकाहरूले[a] तिनीहरूले गरेको पापको दण्ड ग्रहण गर्नेछन्, तिनीहरूले मेरो विधिहरू घृणा गरेको र विधिहरू मान्नु अस्वीकार गरेको कारण नै तिनीहरूले सजाय भोगेको हो भनी बुझे भने, 44 तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजें म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विर्सने छैन। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। 45 तिनीहरूको निम्ति म तिनीहरूका पिता-पुर्खाहरूसित गरेको करार सम्झनेछु। तिनीहरूका पिता-पुर्खाहरूलाई मैले मिश्रबाट बाहिर ल्याएँ र म तिनीहरूको परमेश्वर बनिएको सत्य अन्य जातीहरूलाई थाहा छ। म परमप्रभु हुँ।”

46 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिएको विधि-विधानहरू, नियमहरू र शिक्षाहरू यी नै हुन् र यी विधिहरू नै परमप्रभु अनि इस्राएलका मानिसहरूमाझ भएको करार हो। परमप्रभुले सीनै पर्वतमा यी विधिहरू मोशालाई भन्नुभयो अनि उनले तिनीहरू इस्राएलका मानिसहरूलाई दिए।

भाकलहरूको महत्व हुन्छ

27 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भनः कुनै मानिसले विशेष सेवाको निम्ति कुनै मानिस नै चढाउने परमप्रभुसँग भाकल गर्न सक्छ। त्यो मानिसको दाम पूजाहारीले तोकनुपर्छ। किनभने त्यसरी चढाउने मानिसहरूले चढाइएको मानिस फर्काउँदा परमप्रभुलाई दाम तिर्नुपर्छ। बीस बर्ष देखि साठ्ठी बर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ। एउटै उमेर भएकी स्त्रीहरूको मोल तीस शेकल हो। (तिमीहरू चाँदीको निम्ति अधिकारी नाप प्रयोग गर्नुपर्छ।) पाँच बर्षदेखि बीस बर्ष पुगेको मानिसको दाम बीस शेकेल चाँदी र यही उमेरकी स्त्रीको दाम दश शेकेल चाँदी। एक महीनाबाट पाँच बर्षसम्म पुगेको केटोको दाम पाँच शेकेल चाँदी अनि केटीको दाम तीन शेकेल। साठ्ठी बर्ष अथवा बढीको पुरूषको दाम पन्ध्र शेकेल र स्त्रीको दाम दश शेकेल चाँदी हुन्छ। (चाँदीको परिणाम सरकारी परिणाम अनुसार हुनुपर्छ।)

“यदि कुनै मानिस एकदमै गरीब भए उसलाई पूजाहारीकहाँ ल्याउनु र त्यस मानिसले कति तिर्नु पर्ने निर्णय गर्नेछन्। बाँचेकाहरू अथवा बाँकी रहेका परमप्रभुको आज्ञा अवहेलना गर्दा परमप्रभुले दिनु भएको दण्डको भोगाइ र बाँचेका मानिसहरू।

परमप्रभुलाई उपहार

“केही पशुहरू परमप्रभुलाई बलि स्वरूप चढाउन सकिन्छ। यदि कुनै मानिसले तिनीहरू मध्ये एउटा पशु ल्याए त्यो पवित्र हुन्छ। 10 जुन पशु उसले परमप्रभुलाई चढाउने प्रतिज्ञा गरेको थियो, उसले त्यो पशु अर्को पशुसित साट्नुहुँदैन। राम्रो पशुसित नराम्रो अथवा नराम्रोसँग राम्रो पशु साट्नु हुँदैन। यदि कुनै मानिसले त्यसो गर्छ भने ती दुवै पशुहरू पवित्र हुनेछन् र ती दुबै परमप्रभुको हुनेछन्।

11 “कोही पशुहरू परमप्रभुको निम्ति बलिहरू चढाउँन सकिंदैन यदि कुनै मानिसले त्यस्तो अपवित्र पशु परमप्रभुलाई चढाउन ल्याए, त्यो पूजाहारीकहाँ ल्याउनुपर्छ। 12 त्यो पशु चाहे राम्रो होस् अथवा नराम्रो केही भिन्नता हुँदैन तर दाम पूजाहारीले तोक्नेछ। पूजाहारीले दाम तोकेपछि त्यो पशुको दाम त्यही रहनेछ। 13 यदि त्यो मानिस त्यो पशु फर्काउन चाहन्छ, उसले यसको दाममाथि अझै एक पाँचौ अंश थप्नुपर्छ।

मर्कूस 10:32-52

येशू आफ्नो मृत्युबारे फेरि चर्चा गर्नुहुन्छ

(मत्ती 20:17-19; लूका 18:31-34)

32 येशू साथमा भएका अरू मानिसहरूसँग यरूशलेम गइरहनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ? 33 येशूले भन्नुभयो, “हामीहरू यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिइने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्। 34 तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”

याकूब र यूहन्ना आफ्नो निम्ति अनुरोध गर्छन्

(मत्ती 20:20-28)

35 त्यसपछि जब्दीका छोराहरू, याकूब र यूहन्ना उहाँ कहाँ आए। तिनीहरूले भने, “गुरुज्यु तपाईले हाम्रो निम्ति हामी जे चाहन्छौ सो गरिदिनुहोस्।”

36 येशूले भन्नुभयो, “मैले तिमीहरूलाई के गरेको तिमीहरू चाहन्छौ?”

37 तिनीहरूले भने, “जब हामी तपाईंको महिमामा आउँछौं हामी एक जनालाई तपाईंको दाहिनेतिर अनि अर्कोलाई तपईंको देब्रेतिर बस्ने अनुमति दिनुहोस्।”

38 येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?”

39 छोराहरूले जवाफ दिए, “अवश्य, हामी सक्छौं।”

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चैनै तिमीहरूले पनि मैले सहनुपर्ने जस्तै कष्टहरू सहन्छौ, मैले लिए जस्तै बप्तिस्तमा तिमीहरूले पनि लिन्छौ। 40 तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।”

41 अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र यूहन्नासँग रिसाए। 42 येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाऊँछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराऊँछन्। 43 तर तिमीहरूसँग यस्तै अभ्यास चाँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुरुष हुन चाहन्छौ भने तब उ तिमीहरूको नोकर हुनुपर्छ। 44 यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमारो हुनुपर्छ। 45 त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो। मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।”

येशूद्वारा अन्धो मानिस निको

(मत्ती 20:29-34; लूका 18:35-43)

46 उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसँग त्यो शहर छोड्दै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमै (“तिमैको छोरो”) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सधैँ पैसा मगिरहन्थ्यो। 47 त्यस अन्धो मानिसले नासरतदेखि येशू त्यत्तैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, “हे येशू, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।”

48 धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु भनि हुकूम गरे। तर त्यो अन्धो मानिस झन्-झन् चिच्याइनै रह्यो, “हे दाऊदका पुत्र मलाई मद्दत गर्नुहोस्।”

49 येशू त्यँही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।”

अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।” 50 त्यो अन्धो मानिस जुरुक्क उठ्‌यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रँदै येशूकहाँ गयो।

51 येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?”

त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”

52 येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ।” त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।

भजनसंग्रह 45

प्रमुख संगीतकारलाई: “शोशन्निम” रागमा, कोरह परिवारको मस्किल भन्ने भजन। प्रेमको भजन।

जब म यी कुराहरू राजाको निम्ति लेख्छु,
    सुन्दर शब्दहरूले मेरो मस्तिष्कमा भरिन्छन्।
शब्दहरू मेरो जिब्रोबाट आउँछन्,
    मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।

तपाईं सबै भन्दा असल हुनुहुन्छ।
    तपाईं एकदम योग्य वक्ता हुनुहुन्छ।
    यसकारण परमेश्वरले सदा-सर्वदा तपाईंलाई आशिष दिऊन्!
तिम्रो पटुकामा तरवार भिर।
    तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ।
तिमी अचम्मको देखिन्छौ।
धार्मिकता, सत्यता र न्यायको निम्ति जाऊ अनि लडाइँ जित,
    तिम्रो शक्तिशाली दाहिने पाखुरा अद्भूत कार्यहरू गर्नलाई दक्ष थियो।
तिम्रा काँडहरू तीखा छन्, तिम्रा शत्रुहरूका मुटुभित्रसम्म गाडिने छन्,
    जसले गर्दा मानिसहरू तिम्रै सम्मुख भूइँमा लड्ने छन्।
हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ।
    धार्मिकता नै तपाईंको शाही राजदण्ड हो।
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ
    र दुष्टतालाई घृणा गर्नुहुन्छ।
    यसकारण परमेश्वर तपाईंका परमेश्वरले आफ्ना साथीहरू[a] माथि राज गर्न चुन्नुभएको छ।
तपाईंको पोशाक सुगन्धित द्रव्य; मूर्र, घिउकुमारी र तेजपातले युक्त छ।
    यहाँ देखि महल हस्तिहाडले सजिएको छ, जहाँबाट तपाईंलाई खुशी पार्न संगीत आउँछ।
लोकन्तीहरू राजाहरूकै छोरीहरू हुन्।
    तपाईंको दुलही तपाईंको दाहिनेपट्टि, निख्खुर सुनको मुकुट लगाएर उभिरहेकी छिन्।

10 हे मेरी स्त्री, मेरा कुरा सुन।
    ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ।
आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।
11     यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्।
ऊ तिम्रो नयाँ लोग्ने हुनेछ।
    यसैले तिमीले उनको सम्मान गर।
12 टायर शहरबाट आएका सम्पन्न मानिसहरूले तिम्रो निम्ति उपहारहरू ल्याउनेछन्
    यसकारण तिमीसँग तिनीहरू भेट गर्न सक्छन्।

13 राजकुमारी सुनको धागोले बुनेको पोशाकमा
    सजिएकी छिन्।
14 राजाकहाँ पुर्याउनलाई, बेहुली आफ्ना सुन्दर पोशाकमा छिन्,
    उनका लोकन्तीहरू पछि-पछि छन्।
15 तिनीहरू आनन्दको साथ आउँछन्।
    आनन्दले नै भरिएर तिनीहरू राजाको महलमा प्रवेश गर्छन्।

16 राजा, तपाईंका पुत्रहरूले तपाईंपछि राज गर्नेछन्।
    तपाईंले तिनीहरूलाई पृथ्वीभरि शासकहरू बनाउनु हुनेछ।
17 तपाईंको नाउँ सदाका लागि प्रसिद्ध बनाउनेछु।
    मानिसहरूले तपाईंको सदा-सर्वदा प्रशंसा गर्नेछन्!

हितोपदेश 10:22

22 परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International