Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 7-8

इस्राएलीहरू परमेश्वरका विशेष मानिसहरू

“तिमीहरूले आफ्नो बनाउनको निम्ति प्रवेश गरिरहेको भूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले मार्ग-दर्शन गर्नु हुनेछ। तिमीहरू भन्दा अझ ठूला अनि शक्तिशाली सातवटा देशहरू-हित्ती, गिर्गाशी, एमोरी, कनानी, पारिज्जी, हिव्वी र यबूसीहरूलाई परमप्रभुले तिमीहरूलाई बसाउन बलपूर्वक निकाल्नु हुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ। ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ। किनभने तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मेरो सेवा गर्नबाट विमुख बनाउनेछन् र तिनीहरूले अरू देवी-देवताहरूको पूजा गर्नेछन्। अनि परमप्रभु तिमीहरूसित अत्यन्तै रिसाएर तिमीहरूलाई नष्ट पार्नु हुनेछ।

झूटा देव-देवताहरू ध्वंश पार

“तिमीहरूले ती जातिहरू प्रति जे गर्नुपर्छ यी हुन् तिमीहरूले तिनीहरूको वेदीहरू र स्मारक ढुङ्गा टुक्रा-टुक्रा पारेर नष्ट गर्नुपर्छ। अनि तिनीहरूको अशेरा देवीका खम्बाहरू काटेर ढाल्नु पर्छ अनि तिनीहरूका मूर्तिहरू जलाउनु पर्छ। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वी भरिका मानिसहरूमध्ये तिमीहरूलाई आफ्ना विशेष मानिसहरू बनाउन मन पराउनु भयो र तिमीहरू परमप्रभुको आफ्नै मानिसहरू हौ। किन परमप्रभुले तिमीहरूलाई प्रेम गर्नु भयो अनि आफ्ना विशेष मानिसहरूको रूपमा रोज्नु भयो? यो यसकारण होइन कि तिमीहरू विशाल राष्ट्र छौ! तिमीहरूको जन संख्या अरू सबै भन्दा कम्ती छ। तर परमप्रभुले तिमीहरूलाई आफ्नो महान् शक्तिद्वारा मिश्र देशबाट बाहिर निकाल्नु भयो, तिनीहरूको दासत्वबाट मुक्त गराउनु भयो र मिश्र देशका राजा फिरऊनको नियन्त्रणबाट तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। किनभने परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूका पिता-पुर्खाहरूसँग गरेको प्रतिज्ञा पूर्ण गर्नलाई यस्तो गर्नु भयो।

“यसकारण, सम्झना गर परमप्रभु तिमीहरूका परमेश्वर एक मात्र परमेश्वर हुनुहुन्छ जसलाई तिमीहरू विश्वास गर्न सक्छौ। उहाँ आफ्नो करार राख्नुहुन्छ। जसले उहाँलाई प्रेम गर्छ र उहाँका आज्ञाहरूको पालन गर्छ। उहाँ आफ्नो प्रेम दया दर्शाउनु हुन्छ। हजारौ पुस्तासम्म उहाँ आफ्नो दया र प्रेम देखाउनुहुन्छ। 10 तर परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ जसले उहाँलाई घृणा गर्छन्। उहाँ तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँलाई घृणा गर्नेहरूलाई दण्ड दिनु ढिलो गर्नुहुन्न। 11 यसकारण आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू, विधि र विधानहरू तिमीहरूले सावधानी पूर्वक पालन गर्नु पर्छ।

12 “यदि तिमीहरूले ती विधि राम्ररी सुन्छौ अनि यदि अनुशरण गर्नमा होशियार हुन्छौ तब तिमीहरूका पिता-पुर्खाहरूसित तिमीहरूलाई प्रेम गर्छु भनी गरेको करार परमप्रभु तिमीहरूका परमेश्वरले अवश्यै पूरा गर्नु हुनेछ। 13 उहाँ तिमीहरूलाई प्रेम गर्नु हुनेछ र आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूको राष्ट्रलाई विकसित गराउनु हुनेछ। उहाँले तिमीहरूका नानीहरूलाई आशीर्वाद दिनुहुनेछ अनि तिमीहरूलाई अन्नबालि, तेल र नयाँ दाखरस दिनुहुनेछ। उहाँ तिमीहरूका जन्तु तथा भेंडाहरूलाई पनि नयाँ बाछा-पाठाहरूको निम्ति आशीर्वाद दिनुहुनेछ। तिमीहरूले यी सबै आशीर्वादहरू त्यस भूमिमा पाउने छौ जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको थियो।

14 “अरू मानिसहरूले भन्दा तिमीहरूले बढी आशीर्वाद पाउनेछौ। प्रत्येक पति-पत्नी नानी जन्माउन योग्य हुनेछन्। गाईहरूले बाछा-बाछीहरू ब्याउन योग्य हुनेछन्। 15 परमप्रभुले तिमीहरूलाई रोगी हुनबाट बचाउँनु हुनेछ। परमप्रभुले मिश्रमा तिमीहरूसँग भएको कुनै भयंकर रोग तिमीहरूलाई हुन दिनुहुने छैन। तर परमप्रभुले तिमीहरूका शत्रुहरूलाई ती रोग हुन दिनुहुनेछ। 16 तिमीहरूले ती सबै मानिसहरूलाई ध्वंश पार्नुपर्छ जसमा परमप्रभुले परास्त गर्नमा सहायता गर्नु हुनेछ। तिनीहरूको निम्ति शोक नगर, तिनीहरूका देवताहरूको पूजा नगर। किनभने तिनीहरू पासो हुन्, तिनीहरूले तिमीहरूको जीवन नष्ट पार्नेछन्।

परमप्रभु आफ्ना मानिसहरूलाई सहायता गर्ने प्रतिज्ञा गर्नुहुन्छ

17 “‘यी देशहरू हामी भन्दा शक्तिशाली छन्। यिनीहरूलाई कसरी हटाउनु सकिन्छ,’ यस्ता कुराहरू मनमा नसोच। 18 तिमीहरू तिनीहरूसँग डराउनु हुँदैन। तिमीहरूले सम्झनु पर्छ मिश्र देशमा परमप्रभु तिमीहरूका परमेश्वरले फिरऊन र तिनका मानिसहरूलाई के गर्नु भएको थियो। 19 तिमीहरूले परमप्रभुले तिनीहरूलाई दिनुभएका कष्टहरू देख्यौ। उहाँले गर्नु भएका अचम्मका चीजहरू तिमीहरूले देख्यौ। तिमीहरूले परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याउनमा प्रयोग गरेको ठूलो सामर्थ्य र शक्ति देखेका छौ। परमप्रभु तिमीहरूका परमेश्वरले त्यही सामर्थ्य मानिसहरूको विरोधमा प्रयोग गर्नु हुनेछ जसले तिमीहरूलाई भयभीत पार्छन्।

20 “परमप्रभु तिमीहरूका परमेश्वरले सबै मानिसहरू जो तिमीहरूदेखि भागेका छन् अनि लुकेका छन् तिनीहरूको पछि बिच्छयूँ पनि पठाउनु हुनेछ। उहाँले तिनीहरू सबलाई नष्ट पार्नु हुनेछ। 21 ती मानिसहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै हुनुहुन्छ र उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ। 22 अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती देशका मानिसहरूलाई अलि-अलि गर्दै तिमीहरूको भूमिबाट निस्कन बाध्य गराउनु हुनेछ। तिमीहरूले तिनीहरू सबैलाई एकै पल्टमा नष्ट गर्ने छैनौ यदि तिमीहरू त्यसो गर्यौ भने जंगली जनावरहरू तिमीहरूका लागि ज्यादै बढ्ने छन्। 23 तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ती देशहरू जित्ने बनाउनु हुनेछ। जबसम्म तिमीहरूको विजय हुँदैन तिनीहरूलाई परमप्रभुले अल्मल्याई दिनु हुने छ। 24 परमप्रभुले तिमीहरूलाई तिनीहरूका राजाहरूलाई पनि परास्त गर्नमा सघाउनु हुनेछ। तिनीहरूलाई परास्तगर्नबाट कसैले पनि रोक्ने छैन।

25 “तिमीहरूले तिनीहरूका देवी-देवताको मूर्तिहरू आगोमा फ्याँकिदिनु पर्छ अनि जलाएर नष्ट पारिदिनु पर्छ। तिमीहरूले ती मूर्तिहरूमा रहेको सुन अथवा चाँदी राख्नु हुँदैन। त्यसले तिमीहरूको जीवनमा नष्ट पार्नेछ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले मूर्तिहरू मन पराउनु हुन्न। 26 तिमीहरूले ती मूर्तिहरू ध्वंश पार्नु पर्छ, ती मूर्तिहरू आफ्नो घरमा ल्याउनु हुँदैन। तिमीहरूले मूर्तिहरूलाई घृणा गर्नुपर्छ।

परमप्रभुको सम्झना

“आज म जुन आज्ञाहरू दिइरहको छु ती सब तिमीहरूले पालन गर्नुपर्छ तब मात्र तिमीहरू महान् राष्ट्रमा विकास हुन सक्छौ। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई वचन दिनु भएको भूमि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरुभूमिमा चालीस बर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो। परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्। बितेको चालीस बर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।

“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू अनुशरण गर्नुपर्छ। उहाँलाई अनुशरण गर अनि सम्झना गर। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ। त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने प्रत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ। 10 तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराऊ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ।

परमप्रभुले जे गर्नु भयो नबिर्स

11 “सावधान बस, परमप्रभु तिमीहरूका परमेश्वरलाई नबिर्स अनि आज मैले दिएको आज्ञा र विधि-विधानहरू खूबै होशियार भएर पालन गर। 12 तब तिमीहरूसित खानेकुराहरू प्रशस्त हुनेछन् तथा बस्ने राम्रा-राम्रा घरहरू तिमीहरूले बनाउनेछौ। 13 तिमीहरूसित गाई, भेंडा अनि बाख्राहरू धेरै बढेर जानेछन् र तिमीहरूसित प्रशस्त मात्रामा सुन-चाँदी हुनेछ। तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। 14 जब यी सब कुराहरू तिमीहरूसित हुनेछन् तिमीहरू सावधान बस जसले गर्दा तिमीहरूमा अहंकार उत्पन्न भयो तिमीहरू मिश्रदेशमा कमारा थियौ, परमप्रभुले त्यहाँबाट तिमीहरूलाई स्वतन्त्र गराएर ल्याउनु भयो, यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। 15 परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूख्खा मरुभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो। 16 मरुभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो। 17 यस्तो कहिलै नभन, ‘यी सब सम्पत्ति मैले आफ्नै शक्ति र योग्यताले पाएँ।’ 18 परमप्रभु तिमीहरूका परमेश्वरको स्मरण गर। उहाँ नै एकजना हुनुहुन्छ जसले तिमीहरूलाई ती सब गर्न शक्ति दिनुहुन्छ। किन परमप्रभुले यसो गर्नुहुन्छ? किनभने आज उहाँले जे गरिरहनु भएको छ तिमीहरूका पिता-पुर्खाहरूसित गरिएको करार पनि यस्तै राख्नु चाहनुहुन्छ।

19 “परमप्रभु तिमीहरूको परमेश्वरलाई नबिर्स। अन्य देवताहरूको पूजा तथा आराधना नगर, तिनीहरूलाई अनुशरण नगर। यदि त्यसो गर्यौ भने म चेतावनी दिन्छु तिमीहरू निश्चय ध्वंश हुनेछौ। 20 तिमीहरूको निम्ति परमप्रभुले अन्य राष्ट्रहरू ध्वंश पार्नुहुँदैछ र यदि तिमीहरूले अरू देवता माने तिमीहरूलाई पनि तिनीहरूलाई जस्तै ध्वंश पारिने छ। किनभने तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई मान्नु छाड्यौ।”

लूका 7:36-8:3

शमोन फरिसी

36 फरिसीहरूमध्ये एकले येशू सँगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरमा गए अनि खानु बसे।

37 त्यो शहरमा एउटी पापी स्त्री थिई। त्यसले येशूलाई फरिसीको घरमा खाना खाएको थाहा पाई। त्यसले एउटा सिंगमरमरको भाँडामा केही सुगन्धितबस्तु लिएर आई। 38 त्यो येशूको पछि चरण छेउमा रुँदैं उभिइ। त्यसले आफ्नो आँसुले येशूको चरण भिजाउनु थाली। त्यसले चरणमा म्वाँई खाई अनि सुगन्धित खनाइदिई।

39 त्यो फरिसी जसले पनि यी सब देखे। उसले मनमनै सोचे, “यदि यो मानिस अगमवक्ता हुँदो हो, उसले जान्ने थियो कि त्यो स्त्री जसले उसको पाऊ छुइरहेकी छे ऊ को हो अनि कुन स्तरकी हो? किनभने त्यो पापीनी हो।”

40 येशूले फरिसीलाई भन्नुभयो, “शिमोन, तिमीलाई मैले केही भन्नु छ।”

शिमोनले भने, “तपाईंले मलाई के भन्नु चाहनुहुन्छ? गुरूज्यू!”

41 येशूले भन्नुभयो, “त्यहाँ दुइजना मानिस थिए। दुवैले एउटै साहुकार ऋण लिएका थिए। तिनीहरू मध्ये एकजनाले 500 चाँदीको सिक्का लिएका थिए। अर्काले 50 चाँदीको सिक्का लिएका थिए। 42 तिनीहरूकोमा त्यत्ति पैसा थिएन, यसले गर्दा तिनीहरू ती दुवैले ऋण चुक्ता गर्न सकेनन्। तर साहूकारले ती दुवैको ऋण मोचन गरिदियो। ती दुइजनाहरूमध्ये कसले त्यो साहुकारलाई धेरै माया गर्थ्यो होला?”

43 शिमोनले भन्यो, “मेरो विचारमा जसले धेरै ऋण लगेको थियो त्यसलै उहाँलाई धेरै माया गर्थ्यो होला।”

येशूले शिमोनलाई भन्नुभयो, “तिम्रो कुरा ठीक हो।” 44 त्यसपछि उहाँले त्यस स्त्रीलाई हेरेर शिमोनलाई भन्नु भयो, “तिमिले यो स्त्रीलाई देख्यौ? जब म तिम्रो घरमा आएँ, तिमीले मेरो खुट्टा धुन पानी दिएनौ। तर त्यसले मेरो खुट्टाहरू त्यसको आँसुले धोइ दिई अनि केश राशिले पुछिदिई। 45 तिमीले मलाई म्वाँई खाएनौ, तर उसले पुछिदिई। 46 तिमीले मेरो टाउकोमा तेल घसिदिएनौ, तर उसले मेरो चरणमा सुगन्ध दलिदिई। 47 यसकारण म तिमीलाई भन्दछु कि उसको धेरै पापाहरू क्षमा भयो। यति स्पष्ट छ कि उसले धेरै माया देखाई। जसलाई कम्ति पाप क्षमा गरिन्छ उसले कम्ती माया पोखाँउछ।”

48 त्यसपछि येशूले स्त्रीलाई भन्नु भयो, “तिम्रो पापहरू क्षमा भएको छ।”

49 खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैंलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?”

50 येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई रक्षा गर्यो। अब तिमी शान्तिसाथ जाऊ।”

येशूसँग एउटा समूह

अर्को दिन, येशूले परमेश्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाह्रैजना प्रेरितहरू उहाँसँगै थिए। त्यहाँ उहाँसँग यस्ता स्त्रीहरू पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो। अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिँया पैसा दिएर मद्दत पुर्याए।

भजनसंग्रह 69:1-18

प्रमुख संगीतकारलाई: “लिलिको धुनमा” दाऊदको भजन।

हे परमेश्वर, मेरो सम्पूर्ण सङ्कटहरूबाट बचाउँनु होस्!
    मेरो मुखसम्म पानी उठिसक्यो।
त्यहाँ उभिने कुनै ठाउँ छैन।
    म तल-तल दलदलमा भाँसिदैछु,
म गहिरो पानी भित्र छु,
    अनि छालहरूले मलाई जोडसँग चारैतिर हिर्काई रहेछन्।
तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु।
    मेरो घाँटी पोलिरहेछ।
म तपाईंको सहयोगको निम्ति
    मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें,
मेरा शिरका केशहरू भन्दा धेरै शत्रुहरू छन्।
    कारणनै बिना तिनीहरू मलाई हेला गर्छन्।
    तिनीहरूले मलाई विध्वंश पार्ने पूरा चेष्टा गरे।
मेरो विषयमा तिनीहरू झूटो कुराहरू गर्छन्,
    तिनीहरू झूटा छन् र मैले सामानहरू चोरें भन्छन्।
    तिनीहरूले मलाई जबर्जस्ती नचोरेका चीजहरूको मूल्य तिर्न लगाउँदछन्।
हे परमेश्वर, तपाईं जान्नुहुन्छ कि, मैले कुनै गल्ती काम गरेको छैन।
    म तपाईंदेखि आफ्ना पापहरू लुकाउन सक्तिनँ।
हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्।
    हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्।
मेरो अनुहार शरमले ढाकिएको छ।
    म तपाईंको निम्ति त्यो शरम सहन्छु।
मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दैछन्।
    मेरो आमाको छोराहरूले मलाई विदेशी सरह व्यवहार गर्दैछन्।
तपाईंको मन्दिर तर्फको मेरो दरिलो जोशले मलाई नष्ट पारिरहेछ।
    म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।
10 म रोएँ र उपवास बसें,
    अनि तिनीहरूले यसो गरेको देखेर खिसी गरे।
11 आफ्नो उदासीपन देखाउनलाई थोत्रो पोशाक लगाएँ,
    अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे।
12 तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन।
    मद्यपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए।
13 तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः
    तपाईंले मलाई ग्रहण गरेको चाहन्छु।
हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु,
    म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु।
14 दलदल देखि मलाई तान्नु होस्।
    मलाई दलदल भित्र भासिन नदिनुहोस्।
मलाई यो गहन पानीबाट बचाउनुहोस्।
    मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्।
15 पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्।
    गहीरो प्वालले मलाई निल्न नदिनुहोस्।
    मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्।
16 हे परमप्रभु, तपाईंको प्रेम असल छ।
    म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्।
17 तपाईंको दासबाट मुख नफर्काउनु होस्।
    म सङ्कटमा छु। चाँडो, मलाई सघाउँनु होस्।
18 आउनु होस् र मेरो प्राण जोगाउनु होस्।
    मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्।

हितोपदेश 12:1

12 एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International