Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NRSVUE. Switch to the NRSVUE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 15:17-16:40

17 परमप्रभुले मोशालाई भन्नुभयो, 18 “इस्राएलका मानिसहरूलाई भनः ‘जब तिमीहरू मैले लैजाँदै गरेको भूमिमा पुग्छौ, 19 अनि त्यस भूमिमा उब्जेको खाद्य जब तिमीहरू खान्छौ, तिमीहरूले परमप्रभुलाई बलि चढाउनै पर्छ। 20 तिमीहरूको पहिलो हलोबाट तिमीहरूले एउटा रोटी बलि झैं चढाउनु पर्छ। यो तिमीहरूले यस्तै प्रकारले चढाउनु पर्छ जस्तो तिमीहरूको खलाबाट बलिहरू चढाइरहेछौ। 21 यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउँनु पर्छ।’

22 “अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्सियौ भने के गर्नुपर्छ? 23 मोशा मार्फत परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनुभयो। परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनु भएकै दिनदेखि यिनीहरू लागू छन्। अनि यी आज्ञाहरू निरन्तर चलिरहनेछन्। 24 यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौ अथवा बिर्स्यौ भने के गर्छौ? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्से तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान साँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ।

25 “यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्। 26 त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए।

27 “तर यदि एउटाले अन्जानमा पाप गर्छ भने, एक बर्षको पाठी, पापबलिको बलि झैं चढाउनु पर्छ। 28 यस्तो प्रकारले पूजाहारीले उसको निम्ति प्रयाश्चित गराउने छ जसले अन्जानमा भूल गर्छ क्षमा गरिन्छ। ताकि त्यो व्यक्तिलाई परमप्रभुबाट क्षमा गरिन्छ। 29 इस्राएलीहरूको बीचमा मानिसहरू चाहे इस्राएली नागरिकहरू हो अथवा विदेशी जो भए तापनि नियम सबैको निम्ति एउटा हुन्छ जसले अञ्जानमा भूल गर्छ।

30 “तर यदि कुनै एकजना व्यक्तिले जानी-जानी पाप गर्छ भने ऊ चाहे स्वदेशमा अथवा विदेशमा जन्मेको होस् उसले परमप्रभुलाई अपमान गर्छ र त्यस व्यक्तिलाई उसका मानिसहरूबाट बहिष्कृत गराउनु पर्छ। 31 किनभने त्यो मानिसले देखाउँछ कि उसले उहाँको आज्ञालाई तोडेर परमप्रभुलाई घृणा गरे। अनि त्यो व्यक्ति उसको परिवारबाट बहिष्कार हुनै पर्छ। ऊ पापको दोषी छ र दण्डित हुनै पर्छ।”

विश्रामको दिन एकजना व्यक्तिले काम गर्छ

32 जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे। 33 ती मानिसहरू ज-जसले उसलाई दाउरा बटुल्दै गरेको भेट्टाएका थिए तिनीहरूले उसलाई मोशा, हारून र अरू सबै मानिसहरू भएको ठाँउमा ल्याए। 34 तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।

35 तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मर्नु पर्छ। सबै मानिसहरूले उसलाई छाउनी बाहिर ढुङ्गाले हिर्काउनु पर्छ।” 36 यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।

परमेश्वरले आफ्ना मानिसहरूलाई नियम याद गर्न सहयोग गर्नुहुन्छ

37 परमप्रभुले मोशालाई भन्नुभयो, 38 “इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई यी कुराहरू भन् ‘आउने पुस्ताहरू भरि तिमीहरूले फुर्काहरू बनाउनु पर्छ अनि तिनीहरूलाई तिमीहरूको लुगाको कुनामा टाँस्नु पर्छ। त्यस पछि तिमीहरूको लुगाको प्रत्येक कुनाको फुर्काहरूमा निलो धागो बाँध। 39 यसकारण जब तिमीहरूले फुर्का देख्छौ, तिमीहरूले परमप्रभुको आज्ञा सम्झने छौ र तिनीहरूलाई पच्छ्याउनेछौ अनि तिमीहरू भूल बाटोमा जाने छैनौ, तिमीहरूको आँखा अनि हृदयको लालस पच्छ्यायो, जसले तिनीहरूलाई अविश्वासी बनाउँछ। 40 तब तिमीहरू परमेश्वरको विशेष ब्यक्तिहरू हुनेछौ कारण तिमीहरूलाई आज्ञाहरू पालन गर्न याद आइरहन्छ।’ 41 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म नै एक हुँ जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याँए। तिमीहरूको परमेश्वर हुनुलाई मैले यसो गरें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

केही नेताहरू मोशा विरोधी भए

16 यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए। इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए। तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चको सम्झनु हुन्छ?”

जब मोशाले तिनीहरूको कुरा सुने तिनी घोप्टो परेर भूँईमा निहुरीए। त्यसपछि मोशाले कोरह र उनका मानिसहरूलाई भने, “भोली बिहान, परमप्रभुले जनाउनु हुनेछ कसलाई हाम्रो अगुवा झैं चुन्नु भएको छ, को पवित्र छ कसलाई उहाँकहाँ नजिक ल्याउनु भएको छ। उहाँ आफैले चुन्नु भएका एकजनालाई उहाँले उहाँको नजिक ल्याउनु हुनेछ। यसो गर, तिमी कोरह र तिम्रो मानिसहरूले धुपौराहरू लेऊ। त्यसमा आगो हालेर भोलि परमप्रभुको अगाडि, धूप हाल। जो कसलाई परमप्रभुले चुन्नुहुन्छ त्यो व्यक्ति पवित्र हो। हामीहरू तिमीहरू लेवीका छोराहरूबाट पूरा भईसकेका छौं।”

मोशाले पनि कोरहलाई भने, “ए लेवीहरू मेरो कुरा सुन। इस्राएलका परमेश्वरले तिमीहरूलाई चुन्नु भएको छ र यसमा तिमीहरू खुशी हुनुपर्छ कि तिमीहरू विशेष मानिसहरू भएकाछौ। इस्राएलका अन्य मानिसहरू भन्दा तिमीहरू बेग्लै हौ। इस्राएलका मानिसहरूलाई आराधनामा सहायता पुर्याउन परमप्रभुले तिमीहरूलाई उहाँको नजीक बनाई पवित्र पालको विशेष काम गराउन राख्नु भएको छ। के यो धेरै होइन? 10 परमप्रभुले तिमी लेवीहरू, पूजाहारीहरूलाई सहायता पुर्याउनको निम्ति उहाँको नजीक ल्याउनु भएकोछ। तर अहिले तिमीहरू पूजाहारीहरू हुने कोशिश गरिरहेका छौ। 11 तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरूद्ध गयौ। के हारूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हारूनको बारेमा नालिश गरिरहेका छौ?”

12 त्यसपछि मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर ती दुइजना मानिसहरूले भने, “हामी आउने छैनौ। 13 हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरुभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ। 14 हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”

15 यसर्थ मोशा साह्रै क्रोधित भए। उनले परमप्रभुलाई भने, “मैले यिनीहरूलाई केही क्षति पुर्याएको छैन। मैले यिनीहरूबाट एउटा गधा पनि लिएको छैन। परमप्रभु! हजुरले यिनीहरूबाट कुनै बलि ग्रहण नगर्नु होस्।”

16 त्यसपछि मोशाले कोरहलाई भन्यो, “भोली तिमी र तिम्रा सबै अनुवाईहरू र हारून परमप्रभुको अघि खड़ा हुनुपर्छ। 17 प्रत्येकले आफ्नो-आफ्नो धूपौरो लिएर त्यसमा धूप हाल्नु पर्छ। अनि तिमीहरू प्रत्येकले आफ्नो धूपौरो परमप्रभु अघि ल्याउनु पर्छ। त्यहाँ दुइ सय पचासवटा धूपौरो हुनुपर्छ। तिमी कोरह र हारूनले पनि धूपौरो लिनुपर्छ।”

18 यसर्थ तिनीहरू प्रत्येकले धूपौरो लिएर त्यसमा बलेको कोइला हालेर धूप हाले अनि भेट हुने पालको प्रवेशद्वारमा मोशा र हारून सँगै उभिए। 19 कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो।

20 तब परमप्रभुले मोशा र हारूनलाई भननुभयो, 21 “यी सबै मानिसहरूबाट तिमीहरू अलग होऊ र यिनीहरूलाई म त्यति खेरै ध्वंश पार्नेछु।”

22 मोशा र हारूनले शिर निहुर्याएर भने, “हे परमेश्वर, तपाईं सबै मानिसको आत्माको परमेश्वर हुनुहुन्छ। जब एक जना मानिसहरूले पाप गर्छ, के तपाईं सम्पूर्ण समुदायसित रिसाउनु हुन्छ?”

23 तब परमप्रभुले मोशालाई भन्नुभयो, 24 “कोरह, दातान र अबीरामको पालहरूबाट सम्पूर्ण समुदायलाई पर हट्नु भन।”

25 मोशा उठेर दातान र अबीराम भएकहाँ गए। इस्राएलका सबै बूढा-प्रधानहरूले तिनलाई पछ्याए। 26 मोशाले सबै मानिसहरूलाई चेतावनी दिंदै भने, “यी दुष्ट मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयौ भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंश पारिनेछौ।”

27 यसकारण मानिसहरू कोरह, दातान र अविरामको पाल छोडेर गए। तब दातान र अबीराम तिनीहरूको पालमा गए। तिनीहरू तिनीहरूको पत्नीहरू र नानीहरू सँग छाउनी बाहिर गए।

28 मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो। 29 यी यहाँका मानिसहरू मर्नेछन्। तर यदि तिनीहरू साधारण तरिकाले मर्छन्। मानिसहरू सधैँ मर्ने तरिकाले मर्छ। तब त्यसले देखाउँछ कि परमप्रभुले साँचै नै मलाई पठाउनु भएको होइन्। 30 तर यदि परमप्रभुले केही नयाँ कुरो गर्नुहुन्छ, अनि भूँईले मुख बाएर तिनीहरू र तिनीहरूकहाँ भएको सबै चीजहरू सहित तिनीहरू जीवित पुरिन्छन् भने तिमीहरूले जान्नेछौ कि यी मानिसहरूले परमप्रभुको अपमान गरे र उहाँलाई अति क्रोधित बनाए।”

31 जब मोशाले यी कुराहरू भनी सके, ती मानिसहरू उभिएको धर्ती फाट्यो। 32 धर्तीले मुख बाए जस्तै भएर तिनीहरू सबैलाई निल्यो। कोरहको सबै मानिसहरू, तिनीहरूको परिवारहरू अनि तिनीहरूकोमा भएको प्रत्येक चीज धर्तीभित्र भासियो। 33 सबै ती मानिसहरू जिउँदै खाल्डा भित्र पुरिए। यी सबै तिनीहरूले आफ्नो बनाएका चीजहरू तिनीहरूसँगै पुरिए अनि धर्ती बन्द भयो। अनि तिनीहरू सम्पूर्ण रूपले अल्पिए।

34 अरू सबै इस्राएलका मानिसहरूले ती मानिसहरू पुरिदै गर्दाको आर्तनाद सुनेर चारैतिर तितर बितर हुँदै भने, “धर्तीले हामीलाई पनि निल्छ।”

35 त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंश पार्यो।

36 परमप्रभुले मोशालाई भन्नुभयो, 37 “पूजाहारी हारूनको छोरो एलाजारलाई भन कि उसले आगोमा रहेको धुपौराहरू हटाओस् र ती पवित्र भईसकेको धुपौराहरूबाट आगो वरिपरि छरी दिओस्। 38 ती मानिसहरूले मेरो विरोधमा पाप गरेकाले त्यही पापले आफ्नो जीवन गुमाए। तर धुपौराहरू पवित्र छन् कारण तिनीहरू परमप्रभुलाई समर्पण गरिएका हुन्। ती धुपौराहरू पिटेर पाता बनाऊ र वेदी छोप्ने काममा प्रयोग गर। यो इस्राएलका सबै मानिसहरूको निम्ति चेतावनी हुनेछ।”

39 यसकारण पूजाहारी एलाजारले ती मानिसहरूले ल्याएका काँसाको धुपौराहरू भेला गर्यो। मानिसहरू सबै जलेर खरानी भए तर धुपौराहरू त्यहीं थिए। तिनले केही मानिसहरूलाई ती काँसको धुपौराहरू पिटेर पाता बनाउन लगाई वेदी ढाक्ने काममा प्रयोग गरे। 40 तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।

मर्कूस 15

पिलातस हाकीमद्वारा येशूप्रति प्रश्नहरू

(मत्ती 27:1-2,11-14; लूका 23:1-5; यूहन्ना 18:28-38)

15 एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई साङ्गलोले बाँधे अनि पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।

पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?”

येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।”

मुख्य पूजाहारीहरूले उनी विरुद्ध अनेकौं अभियोग लगाएका थिए। यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे, “के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिमीमाथि कतिवटा अभियोगहरू लगाएका छन्?”

तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे।

पिलातसद्वारा येशूलाई मुक्त गर्ने चेष्टा निष्फल

(मत्ती 27:15-31; लूका 23:13-25; यूहन्ना 18:39–19:16)

प्रत्येक वर्ष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ। त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।

मानिसहरू कहाँ आए अनि उहाँले सधैँ गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे। पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?” 10 पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे। 11 तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए।

12 पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?”

13 मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।”

14 पिलातसले तिनीहरूलाई भने, “किन उसले के त्यस्तो अपराध गरेको छ?”

तर मानिसहरू झन् जोर-जोरसँग कराउन लागे, “उसलाई क्रुसमा टाँग्नुहोस्!”

15 पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकूम दिए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।

16 पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे। 17 सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए। 18 त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!” 19 तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे। 20 उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए।

येशूलाई क्रूसमा झुण्डायाएर मारियो

(मत्ती 27:32-44; लूका 23:26-39; यूहन्ना 19:17-19)

21 कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबु शिमोन थिए। शिमोन आफ्नो खेतबाट फर्किरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे। 22 तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”) 23 गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन। 24 तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे।

25 तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो। 26 येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।” 27 तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए। 28 [a]

29 ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने? 30 अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैंलाई बचाउनु होस्।”

31 यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए। तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैंलाई बचाउँन सकेन। 32 यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्ड्याईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।

येशूको मृत्यु

(मत्ती 27:45-56; लूका 23:44-49; यूहन्ना 19:28-30)

33 मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो। 34 ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई, एलोई, लामा सबखथनी!” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?”

35 त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।”

36 तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पन्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”

37 तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो।

38 जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफैं च्यातियो। 39 सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”

40 केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मग्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनी त्यहीं थिईन्। (याकूब उनको कान्छो छोरो थियो) 41 ती स्त्रीहरू तिनै थिए जसले गालीलसम्म येशूको साथ दिएका थिए अनि उहाँको देखभाल गरेका थिए। अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू पनि येशूसँगै यरूशलेममा आएका थिए।

येशू गाडिनु भयो

(मत्ती 27:57-61; लूका 23:50-56; यूहन्ना 19:38-42)

42 यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो। 43 अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशूको लाशको लागि विन्ति गरे। यूसुफ यहूदी महासभाको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दथिए।

44 येशू अघिनै मरिसक्नु भयो भन्ने सुनेर पिलातस छक्क परे। येशूलाई रक्षा गरिरहेको सैनिक अधिकारीलाई तिनले बोलाए। पिलातसले येशू अघिनै मरि सके भनी उसलाई सोधे। 45 अनि सैनिक अधिकारीले पिलातसलाई येशू अघिनै मरिसकेको कुरा सुनाए। यसकारण पिलातसले यूसुफलाई नै उहाँको लाश लैजाने अनुमति दिए।

46 यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्राले अनि त्यो लुगामा उहाँलाई बेह्रे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए। 47 मग्दलिनी मरियम, र यूसुफकी आमा मरियमले त्यो स्थान देखे जहाँ येशूलाई पुरियो।

भजनसंग्रह 54

प्रमुख संगीतकारलाई: वाद्य वादन सहित-जति वेला सेफिद आयो अनि शाऊललाई भन्यो, “दाऊद हाम्रा मानिसहरूका वीचमा लुकिरहेको छ।” दाऊदको मस्किल नाउँको भजन।

हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्।
    मलाई स्वतन्त्र[a] पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।
हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्।
    मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।
विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्।
    ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।

हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ।
    मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।
जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ।
    परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।

परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु।
    हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।
किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो।
    मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।

हितोपदेश 11:5-6

निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ।

सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषाद्वारा नै ध्वंश हुन्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International