Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 13:17-15:18

मिश्रबाहिर यात्रा

17 फिरऊनले मानिसहरूलाई छोड्न लगाए। परमप्रभुले मानिसहरूलाई पलिश्तीहरूको भूमिको बाटो जानु दिनु भएन। समुद्रकोबाटो सब भन्दा छोटो छ तर परमप्रभुले भन्नुभयो, “यदि मानिसहरू त्यो बाटो जान्छन् भने तिनीहरूले लडाइँ गर्नु पर्नेछ। यस्तो हुँदा तिनीहरूको मन विचार बद्लन सक्छ अनि मिश्रमा नै फर्किएर जानेछन्।” 18 यसकारण परमप्रभुले तिनीहरूलाई अर्को बाटोबाट समुद्र किनाराहुँदै मरूभुमिको बाटो लानु भयो। इस्राएली मानिसहरू मिश्रबाट बाहिर निस्कँदा युद्धको पोशाकमा थिए।

यूसुफ घर जान्छन्

19 मोशाले यूसुफको अस्थिरहरू लिएर हिंडे। मर्नु अघि यूसुफले इस्राएलीहरूसँग आफ्नो लागि यस्तो गर्ने प्रतिज्ञा गराएका थिए। यूसुफले भने, “जब परमेश्वर तिमीहरूलाई सुरक्षा दिनु हुन्छ मेरा अस्थिरहरूलाई मिश्रदेखि बाहिर लान नबिर्स।”

परमप्रभुले आफ्नो मानिसहरूको अगुवाइ गर्नुहुन्छ

20 इस्राएलका मानिसहरूले सुक्कोत छाडे अनि एथाममा छाउनी लगाए। एतामम मरुभूमि नजिक थियो। 21 परमप्रभुले दिउँसो अग्लो बादललाई र राती अग्लो आगोको खम्बालाई तिनीहरूलाई बाटो देखाउन प्रयोग गर्नु भयो। आगो तिनीहरूलाई उज्यालो दिन्थ्यो र तिनीहरू राती पनि यात्रा गर्न सक्थे। 22 अग्लो बादलको खाँबो दिनमा र आगोको खाँबो रातीमा तिनीहरूसँगै हुन्थ्यो।

14 तब परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ। फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरुभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन। म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म नै परमप्रभु हुँ।”

फिरऊनले इस्राएलीहरूलाई खेद्छ

इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बद्ली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियौं?”

यसर्थ फिरऊनले आफ्नो रथ ठीक पार्यो अनि आफूसँगै आफ्नो मानिसहरूलाई लियो। उसले आफ्नो सर्वश्रेष्ठ मानिसहरूमध्ये 600 जना अनि आफ्नो सारा रथहरू लिए। प्रत्येक रथमा एकजना अधिकारी थिए। इस्राएलका मानिसहरू निडर साथ बढिरहेका थिए, तर परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइ दिनु भयो, यसर्थ उसले इस्राएलीहरूलाई खेद्‌यो।

मिश्री फौजसित धेरै घोडा, सेना अनि रथहरू थिए। तिनीहरूले इस्राएलीहरूलाई खेदे र लाल समुद्रको नजिक बालसिपोनमा जहाँ तिनीहरूले छाउनी लगाएका थिए तिनीहरूलाई पक्रे।

10 इस्राएलीले फिरऊनलाई उसका मिश्रदेशीहरूसित आउँदै गरेको देखे। तिनीहरू साह्रै डराएका थिए अनि तिनीहरूले परमप्रभुलाई गुहार मागे। 11 तिनीहरूले मोशालाई भने, “तिमीले हामीहरूलाई मिश्रबाहिर किन ल्यायौ? मिश्रमा के धेरै चिहानहरू थिएनन्? किन तिमीले हामीलाई मरुभूमिमा मार्न ल्यायौं? 12 हामीले मिश्रमा तिमीलाई भनेका थियौं, ‘यस्तो परी आउनेछ। मिश्रमा हामीले भनेका थियौ कि हाम्रो चिन्ता नगर्नु होस्।’ हामीलाई मिश्रमा बस्न दिनुहोस र मिश्र वासीहरूको सेवा गर्न दिनुहोस। यसरी मरुभूमिमा आएर मर्नु भन्दा त त्यही बसी कमारा-कमारी हुनु नै असल थियो।”

13 तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ त्यहीं उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ। 14 तिमीहरूले केही गर्नु पर्दैन तर स्थिर भएर बस। परमप्रभुले तिमीहरूको निम्ति युद्ध गर्नु हुनेछ।”

15 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसँग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढ़न शुरू गर्नु भन। 16 लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूख्खा जमीनमा हिंडेर जानेछन्। 17 मिश्रदेशका मानिसहरूले तिमीहरूलाई खेदिरहेका छन् किनभने मैले तिनीहरूलाई अट्टेरी बनाएको छु। तर म फिरऊन र उसको घोडा तथा रथहरू भन्दा शक्तिशाली छु भन्ने तिमीलाई देखाउने छु। 18 तब मिश्रदेशवासीहरू जान्नेछन् कि म परमप्रभु हुँ। जब म फिरऊन, उसका सेना, घोडाहरू तथा रथहरूलाई पराजित पार्नेछु तब त्यहाँका मानिसहरूले मलाई आदर गर्नेछन्।”

परमप्रभुले मिश्रका सेनालाई पराजित गर्नुहुन्छ

19 तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो। 20 यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्।

21 मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो। 22 इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो। 23 फिरऊनका घोडसैनिक अनि रथहरूले इस्राएलीहरूलाई समुद्र बीचमा खेदे। 24 एकाबिहानै परमप्रभुले बादल अनि आगोको खाँबोबाट मिश्रका सेनालाई हेर्नु भयो। अनि उहाँले तिनीहरूलाई आक्रमण गर्नु भयो अनि पराजित पार्नु भयो। 25 रथका पाङग्राहरू भासिए अनि रथलाई नियन्त्रणमा राख्न कठिन पर्यो। मिश्रदेशका मानिसहरू जोरले कराए, “हामी यहँबाट भागौं, परमप्रभु हाम्रो विरूद्ध इस्राएलका मानिसहरूको पक्षमा लडाइँ गर्नु हुँदैछ।”

26 तब परमप्रभुले मोशालाई भन्नु भयो, “समुद्रमाथि तिम्रो लहुरो उठाऊ जसले गर्दा पानी मिश्रहरूका घोडाहरू र रथहरूमाथि फर्केर जाऊन्।”

27 यसकारण बिहान उज्यालो हुनअघि मोशाले आफ्नो लहुरो समुद्रमाथि उठाए अनि समुद्र फेरि पानीले भरियो। मिश्रका मानिसहरू त्यहाँबाट भाग्ने चेष्टा गर्दै थिए तर परमप्रभुले तिनीहरूलाई समुद्रमा डुबाएर मारिदिनु भयो। 28 त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्‌दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।

29 समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सूख्खा जमीनमा हिंडेर पारि गए। 30 यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारमा देखे। 31 इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि विश्वास गर्नु थाले।

मोशाको गीत

15 त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थालेः

“म परमप्रभुको निम्ति गाउनेछु!
    उहाँले महान कार्य गर्नु भयो।
उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा
    फ्याँकि दिनुभयो।
परमप्रभु मेरो शक्ति हुनुहुन्छ,
    उहाँले मलाई बचाउनु हुन्छ।
परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ,
    अनि म उहाँको स्तुति गर्छु।
परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ,
    अनि म उहाँको आदर गर्छु।
परमप्रभु एउटा योद्धा हुनुहुन्छ,
    उहाँको नाउँ परमप्रभु हो।
उहाँले फिरऊनका रथहरू,
    र सेनालाई समुद्रमा मिल्काई दिनु भयो।
फिरऊनका अत्यन्तै असल सैनिकहरू
    लाल समुद्रमा डुबे।
गहिरो पानीले तिनीहरूलाई डुबायो,
    अनि तिनीहरू ढुङ्गा झै गहिराईमा भासिए।

“तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ।
    हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।
आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो,
    जसले तपाईंको विरोध गरे।
तपाईंको रीसले परालको आगोले झैं
    तपाईंका शत्रुहरूलाई जलायो।
तपाईंको नाकबाट निस्केको सासले पानीलाई
    एक ठाउँमा थुपारी दियो।
बगिरहेको पानी पर्खाल झैं उभियो।
    समुद्रको गहिराइ सतहमा ठोस बनियो।

“शत्रुले भन्यो,
    ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु,
म तिनीहरूको सम्पूर्ण सम्पत्ति लुट्नेछु।
    म मेरो तरवार निकाल्नेछु
    र तिनीहरूलाई पराजित गर्नेछु।’
10 तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो
    अनि तिनीहरू समुद्रमा ढाकिए।
तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे।

11 “के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्?
अँह, तपाईं झैं अन्य देवता कतै छैनन्-
    तपाईं आश्चर्यपूर्ण र पवित्र हुनुहुन्छ!
    तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ!
    तपाईं अचम्मको काम गर्नुहुन्छ।
12 तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ,
    अनि पृथ्वीलाई नाश गर्नु हुन्छ।
13 तर आफूले बचाएका मानिसहरूलाई
    तपाईंको दयाले डोर्याउनु हुन्छ।
अनि आफ्नो क्षमताले तिनीहरूलाई
    पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ।

14 “अरू राष्ट्रहरूले यो कथा सुन्ने छन्
    र तिनीहरू डराउने छन्।
पलिश्तीका मानिसहरू डरले काम्ने छन्।
15 एदोमका प्रमुखहरू डरले काम्नेछन्,
मोआबका प्रमुखहरू डरले काम्नेछन्।
कनानीहरूले तिनीहरूको साहस हराउनेछन्।
16 जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन्
    तिनीहरू भयभीत हुनेछन्।
जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्,
    तिनीहरू चट्टान जस्ता हुनेछन्।
17 हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ।
    तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा
    तिनीहरूलाई तपाईंले बस्न दिनु हुनेछ।

18 “परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”

मत्ती 21:23-46

येशूको शक्ति माथि यहूदी नेताहरूको शंका

(मर्कूस 11:27-33; लूका 20:1-8)

23 येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”

24 येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु। 25 मलाई भन: यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो?”

मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ 26 यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’ भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।”

27 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।”

तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु।

येशूद्वारा दुइ जना पुत्रको उखान

28 “तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’

29 “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो।

30 “त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।

31 “अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो?”

यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाँहिले।”

येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्। 32 यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।

परमेश्वरले आफ्ना पुत्रलाई पठाउँनुहुन्छ

(मर्कूस 12:1-12; लूका 20:9-19)

33 “यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो। 34 केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।

35 “तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए। 36 फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसँग पनि यस्तै नै व्यवहार गरे। 37 त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’

38 “तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’ 39 अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए।

40 “अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?”

41 ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दुष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”

42 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ:

‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे,
    त्यही ढुङ्गा मुख्य कुने ढुङ्गा बन्यो।
यो परमप्रभुले गर्नु भएको हो,
    र यो हाम्रो लागि अचम्मको हुनेछ।’(A)

43 “त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्। 44 अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”

45 येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे। 46 तिनीहरू येशूलाई पक्रने उपाय खोजीरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुन् भन्ने विश्वास थियो।

भजनसंग्रह 26

दाऊदको भजन।

हे परमप्रभु मेरो न्याय गर्नुहोस्।
म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्।
    म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।
हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्।
    मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।
मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन,
    अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।
म ती व्यर्थका मानिसहरू मध्येको होइनँ।
    म दुष्टहरूका संगतलाई घृणा गर्छु।
म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु।
    म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैनँ।

हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्,
    म तपाईंको वेदीको वरिपरि हिँड्न सकुँ।
हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु।
    म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।
हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु।
    म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्।
    ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।
10 ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन।
    तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।
11 तर म निर्दोष छु।
    यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्।
12 म सबै विपदहरूबाट सुरक्षित छु।
    हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु,
    त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।

हितोपदेश 6:16-19

सातवटा कुराहरू जुन परमेश्वर घृणा गर्नुहुन्छ

16 परमेश्वरले सातवटा कुराहरूलाई घृणा गर्नुहुन्छ,:
17     आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ,
    जिब्राहरू जसले झूटो बोल्छ,
    हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ,
18     हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन्
    गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।
19     त्यो मानिस जसले अदालतमा झूटो बोल्छ।
    त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा़़ लगाउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International