Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
व्यवस्था 5-6

दश आज्ञाहरू

मोशाले इस्राएलीहरू सबैलाई बोलाएर भने, “इस्राएलीहरू हो, आज म जुन विधि-विधानहरू र नियमहरू बताउँछु, सुन। यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन। परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नु भयो। परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ। परमप्रभुले तिमीहरूसित पर्वतमा आगोबाट सामुन्ने भएर बोल्नु भयो। तर तिमीहरू आगोदेखि डरायौ। अनि तिमीहरू पहाडमा गएनौ यसकारण म परमप्रभु अनि तिनीहरूको बीचमा परमप्रभुले के भन्नुहुन्छ भनेर खडा भएँ। परमप्रभुले भन्नुभयो,

‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियौ बाहिर आउनमा मार्गदर्शन गरें। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नैपर्छ।

‘तिमीहरूले म बाहेक अरू कुनै देवी-देवताहरू मान्नु हुँदैन।

‘तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन। कुनै मूर्तिको सेवा तथा पूजा नगर। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्तिनँ। मेरो इच्छा विरूद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र होइन तिनीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु। 10 तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु।

11 ‘यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए ती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन।

12 ‘विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो। 13 सातामा छ दिन आफ्नो काम गर। 14 तर सातौं दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्राम लिनुपर्छ र त्यस दिन तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनी, कमारा-कमारीहरू अथवा तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूले पनि काम गर्नुहुदैन। तिमीहरूका कमारा-कमारीहरू पनि तिमीहरू झैं विश्राम लिनु पर्छ अनि यहाँसम्म कि तिमीहरूले पालेका गोरू, गधा तथा अरू पशुहरूलाई पनि काम लगाउनु हुँदैन। 15 यो कहिल्यै नबिर्स तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरको आफ्नो शक्तिले तिमीहरूलाई यहाँ ल्याउनु भयो। उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम-दिनलाई एक विशेष दिनको रूपमा मान्नु भनी आज्ञा दिनुभएको छ।

16 ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।

17 ‘तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।

18 ‘तिमीहरूले व्यभिचारको पाप गर्नु हुँदैन।

19 ‘तिमीहरूले कुनै चीज चोर्नु हुँदैन।

20 ‘तिमीहरूले अरू मानिसहरूको विषयमा कहिल्यै झूटो बोल्नु हुँदैन।

21 ‘तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन। अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।’”

मानिसहरू परमेश्वरदेखि डराए

22 मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौ। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।

23 “जब पहाड आगोले जलिरहेको थियो त्यसबेला तिमीहरूले अँध्यारोबाट आवाज सुन्यौ। तब तिमीहरूका कुल प्रमुखहरू अनि बूढा-प्रधानहरू म कहाँ आए। 24 तिनीहरूले भने, ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्नो महिमा र महानता देखाउनु भयो। हामीहरूले उहाँलाई आगोद्वारा बोल्दै गरेको सुन्यौ अनि थाहा पायौं परमेश्वरले कसैसित कुरा गरेपछि त्यो मानिस निरन्तर बाँच्ने सम्भावनाकम हुन्छ। 25 तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंश पार्नेछ तर हामी मर्न चाँहदैनौ। 26 हामीहरू जस्तै कुनै मानिसले पनि जीवित परमेश्वरलाई आगोद्वारा कुरा गरेको देखेपछि बाँचिरहेको सुनेको छैनौं। 27 मोशा! तपाईं परमप्रभु हाम्रा परमेश्वर नजिक जानुहोस् र उहाँले तपाईंलाई भन्नुभएको सबै कुराहरू सुनेर हामीहरूलाई बताउनु होस्, तपाईंले भन्नु भएको सबै कुरा हामी पालन गर्नेछौं।’

परमप्रभु मोशासँग बोल्नुहुन्छ

28 “तिमीहरूले भनेको परमप्रभुले सुन्नु भयो र उहाँले मलाई भन्नुभयो, ‘मानिसहरूले जे भने त्यो मैले सुनें, अनि त्यो उत्तम लाग्यो। 29 म तिनीहरूको सोच्ने तरिकामा परिवर्त्तन गर्न चाहन्थें म चाहन्थें तिनीहरूले मेरो सम्मान गरून् र मेरो आज्ञाहरू हृदयबाट पालन गरून्। तब तिनीहरू र तिनीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।

30 “‘जाऊ अनि मानिसहरूलाई आफ्नो-आफ्नो पालभित्र जानु भन। 31 तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’

32 “यसकारण, परमप्रभुले दिनु भएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होशियार हुनुपर्छ। परमेश्वरलाई अनुशरण गर्नु नछोड। 33 यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँच्नेछौ।

सधैँ परमेश्वरलाई प्रेम गर र उहाँको आज्ञा पालन गर

“आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर। सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ। हे इस्राएलीहरू हो! ध्यान पूर्वक सुन अनि यी विधि-विधानहरू पालन गर। तब प्रत्येक चीज तिमीहरूको निम्ति असल रहनेछ र तिमीहरूका बाल-बच्चाहरू धेरै हुनेछन् अनि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले प्रतिज्ञा गरे झैं तिमीहरूको भूमि धेरै असल कुराहरूले भरिएको हुनेछ।

“हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ। आज मैले दिएको आज्ञाहरू सधैँ सम्झना राख। जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिँड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं। मेरो यी आज्ञाहरू सम्झना राख्नका लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधिराख तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख।

10 “परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन। 11 परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ।

12 “तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो। 13 परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झूटा देवताहरूको नाउँ नलेऊ। 14 तिम्रा वरिपरि भएका मानिसहरूका देवता तिमीले पूज्नु हुँदैन। 15 परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै बस्नु भएकाले यदि तिमीहरूले अरू ईश्वरहरू पूजा गर्छौ उहाँ रिसाउनु हुनेछ पृथ्वीमा तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।

16 “तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन। 17 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू सावधानीसित मान्नु पर्छ अनि उहाँको अनुशासन नियम र विधि-विधानलाई पालन गर्नु पर्छ। 18 तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ, जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चीज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई प्रतिज्ञा गर्नु भएको असल भूमिमा जान सक्नेछौ। 19 अनि परमप्रभुले भन्नु भए झैं तिमीहरू आफ्ना शत्रुहरूलाई बाहिर खेद्नेछौ।

परमप्रभुले जस्तै आफ्ना नानीहरूलाई शिक्षा देऊ

20 “भविष्यामा तिम्रो छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’ 21 तब तिमी छोरोलाई भन्नेछौ, ‘हामी मिश्रमा फिरऊनको दासहरू थियौं तर परमप्रभुले हामीलाई आफ्नो बाहुबलले त्यहाँबाट बाहिर ल्याउनु भयो। 22 परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं। 23 त्यसपछि परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित गर्नु भएको प्रतिज्ञा अनुसार भूमि दिनका लागि हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो। 24 परमप्रभुले यी सबै विधि-विधानहरू पालन गर्नु हामीलाई लगाउनु भयो। हामीले परमप्रभु हाम्रा परमेश्वरलाई आदर गर्नुपर्छ तब परमप्रभुले आज जस्तै हामीलाई सधैँ जीवित राख्नु हुनेछ। 25 परमप्रभु हाम्रा परमेश्वरले बताए जस्तै यदि सारा व्यवस्थाहरू होशियारीसँग हामीले पालन गर्यौं भने उहाँले यसो भन्नु हुनेछ हामीले राम्रो काम गर्यौं।’

लूका 7:11-35

येशूद्वारा एकजना मानिसले जीवन पाउँदछ

11 अर्को दिन येशू नाइन भन्ने शहरमा जानुभयो। उहाँका चेलाहरू र धेरै मानिसहरू पनि उहाँ सँगै गहरहेका थिए। 12 जब येशू शहरको फाटक नजिक पुग्नु भयो, उनले मुर्दा लगिरहेको देख्नु भयो। एउटी विधवाको एउटै भएको छोरो मरेको थियो। जब लाश लगिरहेको थियो शहरका धेरै मानिसहरू ती विधवासँग थिए। 13 जब प्रभु येशूले तिनलाई देख्नुभयो उहाँ त्यस विधवाको निम्ति हृदयबाट दुःखी हुनु भयो र तिनलाई भन्नुभयो, “नरोऊ।” 14 येशू शवपेटिकाको नजिक पुग्नु भयो अनि त्यसलाई छुनुभयो। लाश लगिरहेका मलामीहरू टक्क अडिए। उहाँले त्यो मरेको केटोलाई भन्नु भयो, “ए युवक म तिमीलाई भन्दछु, उठ।” 15 त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।

16 सबै मानिसहरू छक्क परे अनि यसो भन्दै परमेश्वरको प्रशंसा गरे, “एउटा महान् अगमवक्ता हामीकहाँ आउनु भएको छ।” अनि तिनीहरूले यो पनि भन्दै थिए, “परमेश्वरले आफ्ना प्रजाहरूको हेरचाह गरिरहनु भएकोछ।”

17 उहाँको विषयको यो खबर सारा यहूदिया र यसको वरिपरि देशमा फिँजियो।

यूहन्नाद्वारा एउटा प्रश्न

(मत्ती 11:2-19)

18 यूहन्नाका चेलाहरूले यी सब घट्नाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए। 19 यूहन्नाले तिनीहरूलाई प्रभु येशूसँग सोध्न पठाए, “एकजना जो आउनेवाला थिए तपाईं नै हुनुहुन्छ? अथवा अझ अरूलाई नै पर्खनु पर्छ?”

20 त्यसपछि मानिसहरू येशूकहाँ आए। तिनीहरूले भने, “बप्तिस्मा दिने यूहन्नाले हामीलाई यो सोध्नलाई तपाईंकहाँ पठाएका छन्, के आउनेवाला तपाईं नै हुनुहुन्छ, अथवा हामी अझ अर्कैको बाटो हेरौं?”

21 त्यसै बेला, येशूले धेरैलाई तिनीहरूको रोग, व्यथा र तिनीहरूबाट दुष्ट आत्माहरू छुटाउनु भयो। उहाँले धेरै अन्धो मानिसलाई पनि देख्नसक्ने बनाउनु भयो। 22 अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँड्न थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्। 23 कसैले मलाई ग्रहण गर्दा समस्यामा पर्दैन भने त्यो अनुग्रहित पुरुष धन्य हो।”

24 जब यूहन्नाको चेलाहरू गए, येशूले यूहन्नाको विषयमा भन्न लाग्नु भयोः “तीमीहरू उजाड स्थानमा के हेर्न जान्छौ? बतासले हल्लाइरहेको निगालोलाई? 25 मरूभूमिमा तिमीहरू के हेर्न आयौ? एउटा सुन्दर वस्त्र लगाएको मानिस हेर्नलाई? होइन। सुन्दर र राम्रा वस्त्रहरू लगाउनेहरू त राज-दरबारमा बस्छन्। 26 साँच्चै, तिमीहरू यहाँ के हेर्न आयौ? एकजना अगमक्ता? अँ, म तिमीहरूलाई भन्दछु, यूहन्ना अगमवक्ताभन्दा पनि श्रेष्ठ हुन्। 27 उनी ती मानिस जसको विषयमा यस्तो लेखिएको छः

‘सुन! म मेरो सहयोगीलाई तिम्रो अघि पठाउँछु।
    जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ।’(A)

28 तिमीहरूलाई भन्दछु, यूहन्नानै अहिलेसम्म जन्मेका मानिसहरूमा सब भन्दा ठूला हुन् तापनि जो परमेश्वरको राज्यमा सानो छ त्यो तिनी भन्दा ठूलो छ।”

29 जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए। ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो। 30 तर फरिसीहरू र शास्त्रीहरूले तिनीहरूको लागी बनाइको परमेश्वरको अभिप्रायलाई तिनीहरूको निम्ति यूहन्नाबाट बप्तिस्मा लिन अस्वीकार गरेर रद्ध गरे।

31 “यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्णन गर्नु? तिनीहरू के जस्ता छन्? 32 यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन्

‘हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं,
    तर तिमीहरू नाचेनौं;
हामीले दु:खका गीत गायौं
    तर तिमीहरू रोएनौ।’

33 बप्तिस्मा दिने यूहन्ना आए तर अरू मानिसहरूले जस्तो खाने कुरा खाएनन् अनि दाखरस पिएनन्। अनि तिमीहरू भन्दछौ, ‘उसलाई भूत लागेको छ।’ 34 मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, ‘हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।’ 35 तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।”

भजनसंग्रह 68:19-35

19 परमप्रभुको प्रशंसा गर!
    प्रत्येक दिन उहाँले हाम्रो बोझ उठाउनु हुन्छ।
    जुन हामी आफैंले उठाउनु पर्ने हो परमेश्वरले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।

20 उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ।
उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ।
    परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।
21 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेको देखाउनु हुनेछ।
    परमेश्वरले उहाँको विरूद्ध लड्नेहरूलाई दण्ड दिनुहुनेछ।
22 मेरो स्वामीले भन्नुभयो, “म बाशानबाट शत्रु फर्काई ल्याउने छु,
    म पश्चिमबाट शत्रु ल्याउनेछु।
23 यसकारण तिमीहरू उनीहरूको रगतमा हिंड्न सक,
    यसकारण तिमीहरूका कुकुरहरूले तिनीहरूको रगत ल्याप्-ल्याप् चाट्ने छन्।”
24 हेर, परमेश्वरले विजयी लहरलाई डोर्याई रहनुभएको!
    हेर मेरो पवित्र परमेश्वर, मेरो राजा, विजयी लहरलाई डोर्याइरहनु भएको!
25 आगाडि गायकहरू हिँडिरहेका छन्, तिनीहरूको पछि-पछि संगीतकारहरू हिँड्दैछन्।
    तिनीहरूलाई खैंजडी बजाउँदै गरेका कुमारीहरूले घेरेका छन्।
26 समुदायहरूमा परमेश्वरको प्रशंसा गर!
    हे इस्राएल का मानिसहरू, परमप्रभुको प्रशंसा गर!
27 त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याईरहेका।
    अनि त्यहाँ यहूदाका महान् परिवार पनि छन्।
    अनि त्यहाँ जबूलून र नप्ताली अगुवाहरू पनि छन्।

28 हे परमेश्वर, हामीलाई तपाईंको शक्ति देखाउनु होस्!
    हाम्रो निम्ति बितेका दिनहरूमा प्रयोग गर्नु भएको शक्ति देखाउनु होस्।
29 राजाहरूले आफ्नो सम्पत्ति
    तपाईंको महल यरूशलेममा ल्याउने छन्।
30 मिश्रमा भएका ती “मानिसहरूलाई” तिम्रो लठ्ठीले सधाऊ।
    तीनीहरू मानिसहरूको चरणमा भएका “पशुहरू” जस्ता छन्।
    “बाछाहरूको” माझमा “साँढेहरू” जस्ता छन्।
तिनीहरूलाई तिमीले अनुशरण गर्ने बनाऊ।
    तिनीहरूले आज्ञा मान्छन्।
तिमीले ती जातिहरूलाई युद्धमा हरायौ।
    अब तिनीहरूलाई चाँदीका टुक्रा ल्याउन लगाऊ।
31 मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ,
    एथिओपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ।
32 हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ।
    हाम्रो स्वामीको स्तुति-गान गर!

33 परमेश्वरकोलागि गीत गाऊ!
उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ।
    उहाँको शक्तिशाली आवाज सुन!
34 परमेश्वरको प्रशंसा गाऊ,
    किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ
    अनि उहाँको शक्ति आकाशमा छ।
35 हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ।
इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो,
परमेश्वरको प्रशंसा गर।

हितोपदेश 11:29-31

29 यदि कुनै मानिसले आफ्नो परिवारमा कष्ट पुर्याउँछ भने उसले पैतृक सम्पत्तिको अधिकार प्राप्त गर्दैन। अनि आखिरमा त्यस मूर्ख मानिसलाई ज्ञानी मानिसको सेवा गर्ने बनाइन्छ।

30 धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्।

31 एकजना धर्मी मानिसलाई अफुले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International