Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NRSVUE. Switch to the NRSVUE to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 19-20

रातो गाईको खरानी

19 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन्। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ। तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ। त्यसपछि एलाजारले उसको औंलाले केही रगत भेट हुने पालको अघिल्तिर सात पल्ट छर्कनु पर्छ। तब उसको सामुन्ने त्यो गाई जलाउनु पर्छ। यसको छाला, मासु, रगत आन्द्रा-भुँडी सबै जलाउनु पर्छ। पूजाहारीले देवदारू काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ। त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ। त्यो गाई पोल्नेले पनि आफ्नो लुगाहरू धोएर नुहाउनु पर्छ, अनि त्यो पनि साँझसम्म अशुद्ध भईरहन्छ।

“केही शुद्ध मानिसले जलाएको कोरेलीको खरानी बटुलेर छाउनी देखि बाहिर विधिपूर्वक शुद्ध पारिएको ठाँउमा राख्नु पर्छ। यो खरानी इस्राएलका मानिसहरूलाई शुद्ध गर्नेकाम निम्ति प्रयोग हुनेछ। यो मानिसहरूको पापबाट शुद्ध गर्नेकालागि पनि प्रयोग हुन्छ।

10 “त्यो खरानी बटुल्ने व्यक्तिले पनि आफ्नो लुगा-फाटा धोएर साँझ सम्म अशुद्ध रहोस्।

“इस्राएलका मानिसहरू तथा तिनीहरूको माझमा बस्ने कुनै पनि विदेशीको निम्ति यो अन्तको नियम हो। 11 एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ। 12 तेस्रो दिनमा त्यो व्यक्तिले आफैंलाई त्यही पानीले शुद्ध पार्ने छ र सातौं दिनमा ऊ शुद्ध हुनेछ। तर यदि व्यक्तिहरू तिनीहरू आफैं तेस्रो दिनमा शुद्ध भएन भने, तब सातौं दिनमा पनि शुद्ध हुनेछैन। 13 यदि कुनै व्यक्तिले मुर्दा छुन्छ र आफैंलाई फेरि शुद्ध पार्दैन, त्यसले परमप्रभुको पवित्र पाललाई अशुद्ध पार्छ। यसकारण व्यक्ति इस्राएलबाट काटिदिनेछ। जस्तो पवित्र पानी तिनीहरू माथि छर्केको थिएन यसकारण उसको शरीर अशुद्ध रहन्छ।

14 “यदि कुनै मानिस पाल भित्र मरे भने त्यसको नियम यो हो प्रत्येक जो पाल भित्र बस्ने प्रवेश गर्ने र त्यहाँ प्रत्येक नै अशुद्ध हुनेछ र तिनीहरू सात दिन सम्म अशुद्ध रहन्छन्। 15 अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ। 16 यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।

17 “त्यो अशुद्ध मानिसको निम्ति जलाइएको गाईको खरानी एउटा भाँडामा हाल र त्यसमा बग्दै गरेको पानी यसमा हाल्नु पर्छ। 18 कुनै शुद्ध मानिसले त्यस पानीमा हिसप चोपेर भाँडाहरू र मानिसहरू माथि छर्किनु पर्छ। अनि कसैले हड्डी अथवा चिहान अथवा एउटा मृत शरीर अथवा एउटा युद्धमा मरेको शरीरलाई छोएर अशुद्ध बनाउँछ। भने, त्यो पानी ऊ माथि छर्कनु पर्छ।

19 “त्यस शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि तेस्रो र सातौं दिन छर्किनु पर्छ। यस प्रकार उसले अशुद्ध मानिसहरूलाई सातौं दिनमा शुद्ध बनाउँछ। त्यो अशुद्ध मानिसले लुगा धोओस् अनि पानीमा नुहाओस् र साँझ सम्म अशुद्ध रहन्छ।

20 “यदि एक जना मानिस जो अशुद्ध भएकहाँ अनि ऊ आफैं शुद्ध हुँदैन भने त्यस व्यक्तिलाई आफ्नो समुदायबाट बहिष्कार गरियोस् किनभने त्यसले परमप्रभुको पवित्र स्थान अशुद्ध पार्यो। शुद्धीकरणको पानी ऊ माथि छर्किएन यसकारण त्यो व्यक्ति अशुद्ध रह्यो। 21 तिनीहरूको निम्ति यो नियम अनन्त रूपले लागु भइरहन्छ। जो व्यक्तिले शुद्धीकारणको पानी छर्किन्छ उसले आफ्नो लुगा-फाटा धुनु पर्छ अनि जुन व्यक्तिले शुद्धीकारणको पानी छुन्छ त्यो व्यक्ति साँझ सम्म अशुद्ध भइरहन्छ। 22 प्रत्येक कुरा त्यो व्यक्तिले छोए अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो साँझ सम्म अशुद्ध रहन्छ।”

मरियम को मृत्यु

20 पहिलो महीनामा इस्राएलका मानिसहरू जीन मरुभूमिमा आइपुगे। मानिसहरू कादेशमा बसे अनि त्यही मरियम मरिन् र त्यही ठाउँमा गाडे।

मोशाले एउटा गल्ति गर्छन्

त्यस ठाँउमा समुदायको निम्ति पानी थिएन यसकारण मानिसहरू मोशा र हारूनलाई आरोप लगाउन भेला भए। मानिसहरूले मोशासित झगड़ा गरेर भने, “जब परमप्रभुको अगाडी हाम्रा दाज्यू-भाइहरू मरे, त्यही समय हामी पनि मर्नु पर्थ्यो। तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरुभूमिमा ल्यायौ? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौ? अनि किन यस्तो खराब ठाँउमा ल्याउन हामीलाई मिश्र देशदेखि अगुवाई गर्यो? यस ठाँउमा अन्न हुँदैन, नेभारा, दाख अनि अनारहरू पनि हुँदैन। अनि यहाँ पिउनको निम्ति पानी पनि छैन।”

यसर्थ मोशा र हारून मानिसहरूको समुदायबाट भेट हुने पालको प्रवेशद्वारमा गए। तिनीहरूले तिनीहरूको शिर भूँईमा निहुरयाए अनि परमप्रभुको महिमा तिनीहरू सामुन्ने देखा पर्यो।

परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी र तिम्रा दाज्यू हारूनले त्यो लौरो लेऊ र मानिसहरूलाई भेला गर अनि तिनीहरूको सामुन्नेको चट्टानसित बोल। तब चट्टानले तिमीहरूलाई पानी दिनेछ। यसरी मानिसहरू र तिनीहरूको पशुहरूको निम्ति तिमीहरूले चट्टानबाट पानी दिन सक्छौ।”

यसकारण परमप्रभुले उसलाई आज्ञा दिनु भए बमोजिम मोशाले परमप्रभुको अघिबाट लौरो लिए। 10 त्यसपछि मोशा र हारूनले मानिसहरूलाई चट्टानको सामुन्ने भेला गराए। तब मोशाले तिनीहरूलाई भने, “तिमीहरू विद्रोही हो। सुन, के हामीले तिमीहरूको निम्ति यो चट्टानबाट पानी ल्याउनु?” 11 तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।

12 त्यसपछि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निक्लने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्यौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अगुवाई गर्न पाउने छैनौ।”[a]

13 यही ठाँउलाई मरीबाको पानी भनिन्छ जहाँ इस्राएलका मानिसहरूले परमप्रभु अघि विद्रोह गरेका थिए अनि परमप्रभुले यहाँ नै इस्राएली मानिसहरूको बीचमा आफू पवित्र हुँ भन्ने देखाउनु भएको थियो।

एदोमले इस्राएललाई जान नदिएका

14 मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाइ इस्राएलले यसो भन्छ,

“हामीमाथि आई परेका आपदहरू तपाईंलाई थाहा छ। 15 धेरै बर्ष अघि हाम्रा पुर्खाहरू मिश्र देश गएका थिए अनि हामी त्यहाँ धेरै समय सम्म बस्यौं। मिश्र देशका मानिसहरू हामी प्रति निष्ठुर थिए। 16 तर हामीले परमप्रभुलाई सहायता माग्यौं। परमप्रभुले हाम्रो बिन्ति सुन्नु भयो र एउटा स्वर्गदूत हामीकहाँ पठाउनु भयो, परमप्रभुले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनु भएको छ।

“अहिले हामी तपाईंको सिमान कादेशमा छौं। 17 दया गरी हामीलाई तपाईंको भूमि भएर यात्रा गर्न दिनुहोस्। हामी खेत तथा दाखबारी भएर जानेछैनौं, त्यस ठाँउको कुवाहरूबाट पानी पिउँने छैनौं, हामी केवल राजमार्गमा हिड्नेछौं, कतै दायाँ बाया जाने छैनौं। जब सम्म तपाईंको देशमा यात्रा गर्छौ हामी बाटोमा नै रहनेछौं।”

18 तर एदोमका राजाले उत्तर दिए, “हाम्रो देश भएर तिमीहरू यात्रा गर्न पाउँदैनौ। यदि हिड्ने चेष्टा गरे हामी तरबार लिएर तिमीहरूसित लड्न आउनेछौं।”

19 इस्राएलीहरूले उत्तर दिए, “हामी खाली मूलबाटै भएर मात्र जानेछौं। अनि यदि हाम्रा पशुहरूले कुनै पानी पिए त्यसको मोल तिर्नेछौ। हामी खाली तपाईंको देशको बाटोमा हिँड्न चाहान्छौं, हाम्रो निम्ति अरू केही चाहिंदैन।”

20 तर फेरि एदोमले उत्तर दिए, “हाम्रो देशमा तिमीहरूलाई आउन दिंदैनौं।”

तब एदोमले शक्तिशाली धेरै सेनाहरू भेला पारेर इस्राएलका मानिसहरूसित युद्ध गर्न निस्के। 21 एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए।

हारूनको मृत्यु

22 इस्राएलका सबै मानिसहरूले कादेशबाट होर पर्वत सम्म यात्रा गरे। 23 होर पर्वत एदोमको सिमाना नजिक थियो। परमप्रभुले मोशालाई भन्नुभयो, 24 “अब हारून उसको पुर्खाहरूसित मिल्नेछ। तिमी र हारूनले मरीबाको पानीमा मैले दिएको आज्ञा पालन नगरेकोले मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनेको भूमिमा तिमीहरू पस्न पाउने छैनौ।

25 “अब हारून र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ। 26 हारूनको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हारून त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।”

27 मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे। 28 मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे। 29 हारून मरेको इस्राएलका सबै मानिसहरूले चाल पाए अनि तीस दिनसम्म शोक व्याक्त गरे।

लूका 1:1-25

येशूको जीवन बारेमा लूका लेख्छन्

प्रिय थियोफिलस:

किनभने धेरै मानिसहरूले हाम्रा बीचमा घटेका घट्नाहरूको बिषयमा इतिहास लेख्ने चेष्टा गरेका छन्। तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरूदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्। हे माननीय म आफैंले शुरूदेखि नै होशियार साथ सबै कुराहरूको अध्ययन गरेको छु। त्यसैले, मैले सोचें मैले पनि तिमाहरूको लागि क्रमानुसार यी कुराहरू लेख्नै पर्छ। यसैले, मैले तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु।

जकरिया अनि इलीशिबा

यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो। ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए। तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए।

जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। पूजाहारीहरूले सधैँ एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो। 10 त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए।

11 त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए। 12 जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए। 13 ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछिन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु। 14 तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ। 15 परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैनन्। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।

16 “तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतिर फर्काउने माध्यम हुनेछन्। 17 तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।”

18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँच्चो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बुढी नै छिन्?”

19 ती स्वर्गदूतले जवाफ दिए, “म गाब्रिएल हुँ। म परमेश्वरको अघि खड़ा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरागर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो। 20 अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैनौ।”

21 बाहिरपट्टि, मानिसहरूले जकरियालाई पर्खिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए। 22 त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे। 23 जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे।

24 केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्, 25 “हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।”

भजनसंग्रह 56

प्रमुख संगीतकारलाई: “सुदूर ओक्मा ढुकुर” भन्ने रागमा दाऊदको “मिक्ताम” भन्ने भजन। जब गाथमा उहाँलाई पलिश्तीहरूले पक्रिए।

हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे,
यसैले मप्रति तपाईंको कृपादान रहोस्।
    तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।
मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे।
    त्यहाँ अनगन्ति लडाकुहरू छन्।
जब म भयग्रस्त हुन्छु,
    तब तपाईंमाथि भरोसा राख्दछु।
म परमेश्वरमा भरोसा गर्छु यसैले म भयभित हुन्न,
यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन।
    उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
मेरा शत्रुहरूले सधैँ मेरा कुराहरूको उल्टो अर्थ लाउँछन्।
    तिनीहरूले सधैँ मेरो विरूद्ध योजनाहरू तयार गर्दछन्।
तिनीहरू सधैँ लुक्छन्
    अनि जसरी पनि मलाई मार्ने मौका हेर्दै,
    मेरो प्रत्येक चहल-पहल हेर्दछन्।
हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्।
किनभने तिनीहरूले नराम्रो अधर्म कामहरू गरेका छन्।
    तिनीहरूलाई विदेशी जातिहरूको क्रोधमा तड्पाउनु टाढा पठाइदिनुहोस्।
तपाईं जान्नुहुन्छ म कति डराएको छु।
    तपाईं जान्नुहुन्छ मैले कति विलाप गरें।
    निःसन्देह तपाईंले मेरो सम्पूर्ण आँसुको हिसाब राख्नु भएको होला।

यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्।
    जब म तपाईंलाई सहयोगको निम्ति गुहार गर्छु,
    म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ,
    कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!
10 म परमेश्वरको वचनलाई प्रशंसा गर्छु।
    म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।
11 म परमेश्वरमा भरोसा गर्छु,
    यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।

12 हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु।
अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु।
    म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।
13 किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो।
तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो।
    यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु,
    त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्न सक्छन्।

हितोपदेश 11:8

धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International