Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 8-9

सामदान

परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन जब तिमी बत्तीहरू जलाउँछौ, सातवटा बत्तीहरूले सामदानको अघिको क्षेत्रमा प्रकाश पार्नु पर्छ।”

यसकारण हारूनले यसै गरे। हारूनले बत्तीहरू ठीक ठाँउमा राखेर ठीक दिशा तिर फर्काए ताकि सामदान अघिको क्षेत्रलाई ती बत्तीहरूले उज्जयालो पार्न सकोस्। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा तिनले पुरा गरे। सामदान यस प्रकारले बनिएको थियोः सामदान सुन पिटेर बनाइएको थियो अनि यो यसको बैठकदेखि फूलहरू सम्म पिटिएको थियो। त्यो सामदान त्यही ढाँचामा बनिएको थियो जस्तो परमप्रभुले मोशालाई देखाउनु भएको थियो।

लेवीहरूको समर्पण

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका अरू मानिसहरूबाट लेवीहरूलाई छुट्याऊ अनि ती लेवीहरूलाई शुद्ध पार। तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धोऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्।

“तिनीहरूलाई जवान गोरू तिनीहरूको बथानबाट ल्याउन देऊ अनि यसको मसिनो पीठो तेलसित मिसाएको अन्यबली ल्याउन देऊ त्यसपछि तिमीले अर्को एउटा बथानबाट जवान गोरू पापबलिका निम्ति ल्याउनु पर्छ। त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इस्राएलको सबै जातिका मानिसहरूलाई भेला गर। 10 जब तिमीले लेवीहरूलाई परमप्रभुको अघि ल्याउँछौ इस्राएलको सबै मानिसहरूले तिनीहरू माथि आफ्नो हात राख्नु पर्छ। 11 हारूनले लेवीहरूलाई परमप्रभु अघि इस्राएलका मानिसहरूको विशेष उपहारको रूपमा अर्पण गर्छन् अनि तिनीहरूले परमेश्वरका सेवा गर्नेछन्।

12 “लेवीहरूले तिनीहरूको हात बहरको टाउको माथि राख्नुपर्छ र एउटा बहर पापबलिको निम्ति चढाउनु पर्छ र अर्को चाँहि लेवीहरूको प्रयाश्चितका निम्ति परमप्रभुलाई होमबलिको निम्ति चढाउनु पर्छ। 13 यसरी पूजाहारी हारून र तिनका छोराहरूको सहायताको निम्ति तिमीले लेवीहरूलाई नियुक्त गर र त्यसपछि लेवीहरूलाई तिमीले परमप्रभुको निम्ति विशेष उपहार स्वरूप चढाऊ। 14 तिमीले तिनीहरूलाई इस्राएलका अरू मानिसहरूबाट छुट्टयाउनु पर्छ कारण लेवीहरू मेरा हुनेछन्।

15 “तिमीले तिनीहरूलाई शुद्ध पारेर विशेष उपहार स्वरूप अर्पण गरे पछि तिनीहरू भेट हुने पालमा सेवा गर्न उपयुक्त हुनेछन्। 16 बिगतमा मैले इस्राएली मानिसहरूलाई तिनीहरूबाट जन्मेका पहिलो पुत्रहरू मलाई दिउन् भनी माँगेको थिएँ। तर अहिले इस्राएली मानिसहरूबाट पहिले जन्मेको छोराहरूको सट्टामा म लेवी मानिसहरूलाई लिइरहेकोछु। इस्राएली मानिसहरूले मलाई लेवी मानिसहरू दिनेछन्। मैले तिनीहरूलाई मेरो लागि लिएको छु। 17 इस्राएलमा जन्मने प्रत्येक जेठो मेरो हुनेछ चाहे त्यो मानिस होस् अथवा पशु, यसमा कुनै फरक पर्दैन। किनभने मिश्र देशमा मैले प्रत्येक जेठो नानी र पशु मारेकोछु, अनि मेरो आफन्त बनाउनको निम्ति प्रत्येक जेठो छोरोलाई रोजें। 18 तर अब म तिनीहरूको सट्टामा लेवी मानिसहरू लिन्छु। इस्राएलमा अन्य जातिको परिवारहरूबाट जन्मेका जेठो छोराहरूको सट्टामा म लेवीहरूलाई ग्रहण गर्नेछु। 19 इस्राएलका सबै मानिसहरूबाट मैले लेवी मानिसहरूलाई चुनें अनि हारून र तिनका छोराहरूलाई भेटी स्वरूप दिएँ। तिनीहरूले इस्राएलका सबै मानिसहरूको सेवा गर्छन् जो भेट हुने पालमा आराधनाको निम्ति आउँदथे। तिनीहरूले इस्राएलको सबै मानिसहरूका निम्ति प्रयाश्चित गर्नेछन्। तब पवित्र स्थान नजिक आँउदा इस्राएली मानिसहरूका निम्ति कुनै प्रकारको रोग अथवा कष्ट आई पर्ने छैन।”

20 त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभुद्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे। 21 लेवीहरूले नुहाएर तिनीहरूको लुगाहरू धोए, हारूनले तिनीहरूलाई परमप्रभुको अघि विशेष उपहार स्वरूपमा अर्पण गरे अनि लेवीहरूका निम्ति प्रयाश्चित गराएर तिनीहरूलाई सफा बनाए। 22 त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हारून र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हारून र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावार थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हारून र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे।

23 त्यपछि परमप्रभुले मोशालाई भन्नुभयो, 24 “यो लेवीहरूको नियम निम्ति हो। प्रत्येक लेवीहरू जो पच्चीस बर्षका अनि माथिका छन्। तिनी सबै भेट हुने पालको सेवामा भाग लिन आउनु पर्छ। 25 तर जब कुनै लेवी मानिस पचास बर्ष भन्दा बेशी उमेरको हुन्छ उसले त्यहाँ फेरि काम गर्नु पर्दैन र उसले भेट हुने पालको सेवा कार्यबाट अवकाश लिन्छ। 26 पचास बर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।”

निस्तार चाड़

इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको पहिलो महीनामा सीनै पहाडको मरुभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो, “इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ। तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।”

यसर्थ मोशाले मानिसहरूलाई निस्तार पर्व मनाउन लगाए। तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरुभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।

तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हारून भएकहाँ गए। ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।”

मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।”

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, 10 “इस्राएलका मानिसहरूलाई यसो भन। यो नियम तिनीहरू र तिनीहरूका भावी सन्तानहरूका निम्ति हो। यदि कसैले एउटा मुर्दालाई छुन्छ अनि अपवित्र हुन्छ अथवा कोही टाडा गएका छन् यस्तो दुवै अवस्थामा पनि उसले यो निस्तार चाढ मनाउनु पर्छ। 11 तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ। 12 तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्‌न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्। 13 तर यदि कुनै मानिस शुद्ध छ अनि टाढ़ा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ।

14 “यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”

आगो र बादल

15 पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो। 16 सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो। 17 जब पालमाथिको बादल सर्थ्यो इस्राएली मानिसहरू पनि हिँड्थे र जब बादल पालमाथि अडिन्थ्यो ती मानिसहरूले त्यहीं शिविर हाल्थे। 18 जब परमप्रभुले आज्ञा गर्नु भयो मानिसहरू हिँडे र जब उहाँले आज्ञा दिनुभयो मानिसहरू हिँड्न बन्द गरे र तिनीहरूले छाउनी स्थापित गरे। जबसम्म पवित्र पालमाथि बादल रहन्थ्यो मानिसहरू छाउनी भित्र रहन्थे। 19 कोही समय बादल पवित्र पालमाथि लामो समयको निम्ति रहन्थ्यो। इस्राएलीहरूले परमप्रभुको आज्ञा पालन गरेर कतै सर्दैन थिए। 20 कहिले काही बादल पवित्र पाल माथि केही दिनको लागि रहन्थ्यो। परमप्रभुको आज्ञामा तिनीहरू छाउनी बसाल्थे र परमप्रभुकै आज्ञामा तिनीहरू सर्थे। 21 अनि कोही बेला साँझदेखि बिहान सम्मै अडिन्थ्यो, र बिहान बादल सरे पछि तिनीहरू पनि हिँड्थे। 22 दुइ दिन, एक महिना अथवा पुरै एक बर्ष बादल पवित्र स्थानको पाल माथि अडिरहे इस्राएलको मानिसहरूको शिविर पनि त्यहीं रहन्थ्यो र कतै सर्दैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे। 23 परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुकै आज्ञा अनुसार यात्रा शुरू गरे। मोशाद्वारा तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे।

मर्कूस 13:14-37

14 “तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घट्ना एउटा यस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तो नहुनु पर्नेथ्यो।” (मानिस जसले पढ्छ यसको अर्थ के हुन्छ बुझ्नुपर्छ।) “त्यसबेला यहुदियाका मानिसहरू पहाड़हरूतिर भाग्नु पर्छ। 15 मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुदैन। 16 यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन।

17 “हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराम्रो हुनेछ। 18 यस्तो घट्ना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर। 19 किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलेसम्म भएको छैन। अनि यस्तो महा-संकष्टहरू फेरि घट्ने छैन। 20 उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।

21 “त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथ्वा ‘उहाँ त्यहाँ हुनुहुन्छ।’ यसलाई विश्वास नगर। 22 झूटो ख्रीष्टहरू र झूटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्। 23 यसकारण होशियार बस। यी सब हुन अघि नै मैले सर्तक गराएको छु।

24 “तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ,

‘सूर्य अँध्यारो हुनेछ,
    अनि चन्द्रमाले पनि ज्योति दिनेछैन।
25 आकाशबाट तारहरू झर्नेछन्,
    अनि आकाशका सबै शक्तिहरू डग्मगाउनेछन्।’[a]

26 “त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन् 27 मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पृथ्वीको चारैतिर पठाउनु हुनेछ। स्वर्गदूतहरूले पृथ्वीका प्रत्येक कुनाबाट चुनिएका मानिसहरूलाई भेला गर्नेछन्।

28 “अन्जीरको रूखले हामीलाई पाठ पढाउनेछः जब अन्जीरको रूखको हाँगाहरू हरियो र कलिलो हुनेछ नयाँ पातहरू उम्रन थाल्नेछ, तब तिमीहरूले ग्रीष्म ऋतु नजिक छ भनेर बुझ्नेछौ 29 त्यसरीनै जब तिमीहरू यी कुराहरू घटेका देख्नेछौ तब तिमीहरूले पनी जान्ने छौ कि मैले तिमीहरूलाई भनेका कुराहरूको समय नजिकमा अनि ठीक ढोकामा छन। 30 म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुराहरू यही समयका मानिसहरू जीवित भएकै बेला हुनेछन्। 31 स्वर्ग अनि पृथ्वी ध्वंस हुनेछ। तर मैले भनेका वचनहरू कहिल्यै नाश हुने छैन।

32 “कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वगदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुन्छ। 33 होशियार रहो। सधैँ तयारी बस त्यो समय कहिले आउने भनी तिमीले जान्दैनौ।

34 “यो परदेश गईरहेको मानिस जस्तै हो जसले आफ्नो घर छोडेकोहुन्छ। त्यो मानिसले आफ्नो नोकरहरूलाई घर जिम्मा दिएको हुन्छ। त्यसले प्रत्येक नोकरलाई विशेष काम गर्न लाएको हुन्छ अनि उसले पालेलाई होशियार साथ ढोकाको रक्षा गरेर सर्तक बस्नु भनेर आज्ञा दिन्छ। 35 यसकारण तिमीहरू सधैँ सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हुँदैनौ। ऊ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झुल्केपछि आउनेछ। 36 मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रह्यौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन। 37 म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!’”

भजनसंग्रह 50

आसापको भजन।

परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो।
    सूर्योदयदेखि र सूर्यस्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।
सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।
हाम्रो परमेश्वर आउनु हुँदैछ अनि उहाँ चुपचाप बस्नु हुने छैन।
    उहाँको अघि आगो बल्छ अनि उहाँको वरिपरि ठूलो आँधी छ।
जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी
    र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ,
    मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”

परमेश्वर न्यायी हुनुहुन्छ
    र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।

परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन!
    इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु
    म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर।
मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन।
    तिमी इस्राएल का मानिसहरूले सधैँ नै होमबलिहरू चढायौं।
    प्रत्येक दिन ती बलिहरू मलाई चढायौं।
म तिम्रो घरबाट साँढेहरू लिने छैन
    म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।
10 मलाई ती पशुहरूको आवश्यकता छैन।
मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्।
    हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।
11 उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु।
    प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्।
12     म भोको छैन तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन।
    पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्।
13 म साँढेहरूको मासु र बाख्राहरूका दूध खान्नँ।”

14 यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ।
    तिमीहरूले उच्चतम् परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
15 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकार म सहयोग गर्नेछु।
    अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”

16 परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ,
    “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ।
    तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।
17 यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु?
    किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?
18 तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ।
    तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ।
19 तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ।
20 तिमीहरूले लगातार आफ्ना दाज्यू भाइहरूको विषयमा आलोचना गर्छौ,
    अनि दोष लगाईरहेका छौ।
21 यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें,
    यसैले तिमीहरूले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ।
हेर! धेरै बेर म चुपचाप बस्ने छैन!
    म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।
22 तिमीहरूले परमेश्वरलाई भुलेर गयौ,
    यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर।
यदि त्यस्तो भयो भने,
    कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन।
23 यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ,
    तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”

हितोपदेश 10:29-30

29 परमप्रभुको मार्ग धर्मी मानिसहरूको लागि शरणस्थान हो, तर दुष्ट मानिसहरूको लागि विध्वंस हो।

30 धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International