Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
गन्ती 10:1-11:23

चाँदीका तुरहीहरू

10 परमप्रभुले मोशालाई भन्नुभयोः “दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनु। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नुपर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ। यदि दुवै तुरहीहरू लामो तानेर बजाईयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्। तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।

“जब तिमीहरूले तुरही बजाएर जागरन ध्वनी दिन्छौ, पूर्वमा छाउनी बनाउने मानिसहरूले यात्रा शुरू गर्ने छन्। जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ। तर जब तिमीहरू मानिसहरूलाई भेला गराउँछौ भने तुरही दीर्घ फुक्नु पर्छ तर चेतावनी ध्वनि नदेऊ। हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।

“अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरूद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ। 10 तिमीहरूको हर्षको दिन, तिमीहरूको औंसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

इस्राएलका मानिसहरूले उनीहरूको शिविर सार्छन्

11 मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो। 12 यसकारण इस्राएलका मानिसहरूले सीनै मरुभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरुभूमिमा आइपुग्दा त्यो बादल अडियो। 13 यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।

14 यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए। 15 इस्साकारको कुलको अगुवाई सूआरका छोरो नतनेलले गरेका थिए। 16 अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।

17 त्यसपछि पवित्र पाल उठाइयो अनि गेर्शोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पंक्तिमा आए।

18 त्यसपछि रूबेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल रूबेनकै कुलबाट थियो। शेदेऊरको छोरो एलीसूर यस दलहरूको नायक थिए। 19 त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए। 20 अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए। 21 त्यसपछि कहात कुलका मानिसहरू आए। तिनीहरूले पवित्र-स्थान भित्रको समान बोकेका थिए। तिनीहरू यस्तो समयमा आइपुगे कि त्यस समयमा अन्य मानिसहरूले नयाँ शिविरमा पवित्र पाल खड़ा गरी सकेका थिए।

22 त्यसपछि एप्रैमको शिविरका दलहरू आफ्नो झण्डा लिएर अघि बढे। अम्मीहूदको छोरो एलीशामा दलहरूको नेतृत्वमा थिए। 23 पदासूरका छोरो गमलीएल मनश्शे कुलका दल नायक थिए। 24 त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए।

25 अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्‌दैका छोरो अहीएजेर थिए। 26 त्यसपछि ओक्रानको छोरो पगीएल आशेर कुल समूहका दल नायक थिए। 27 त्यसपछि नप्ताली कुल समूहका मानिसहरू अघि आए अनि यस दलहरूको नायक एनानका छोरो अहीरा थिए। 28 यसरी नै इस्राएलका मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ बसाँई सर्दै थिए।

29 मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो-राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।”

30 तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्न, म आफ्नौं देश र मानिसहरूकहाँ जान्छु।”

31 तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरुभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ। 32 यदि तपाईं हामीसित हिँड्नु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”

33 होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिँडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिँडे। 34 परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो।

35 शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सधैँ भन्थे,

“हे परमप्रभु! उठ्नुहोस्,
    तपाईंको शत्रुहरू छरपष्ट होउन्।
    तपाईंका शत्रुहरू तपाईं देखि भागुन्।”

36 अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैँ मोशाले भन्थे,

“हे परमप्रभु आउनु होस्,
    इस्राएलका हजारौं-हजार मानिसहरू भएको ठाँउमा आउनु होस्।”

मानिसहरूको नालिश

11 जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो। मानिसहरूले मोशालाई सहायता मागे अनि मोशाले परमप्रभुको प्रार्थना गरेर आगो निभाए। यसर्थ मानिसहरूले त्यस ठाँउको नाम तबेरा राखे कारण परमप्रभुबाट उत्पत्ति भएको आगोले तिनीहरू कतिलाई पोलेको थियो।

सत्तरी बूढा-प्रधानहरू

इस्राएलीहरूसँग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाँडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला? हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आउँछ। तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।” देख्दा मन्न धनिंयाको मसिनो दाना जस्तो हुन्छ र यसको रंग रूखको चोप जस्तो देखिन्छ। मानिसहरूले मन्न बटुलेर ढुङ्गाले पिध्थे र भाँडामा पकाउँथे अथवा यसलाई धूलो पारेर फुरौलो बनाउँथे। यसको स्वाद भद्राक्षको तेलमा पकाएको फुलौरोको जस्तो थियो। जब राती भूँइ शीतले भिज्छ मन्न भूईँमा झर्थ्यो।

10 प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए। 11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो? 12 के मैले गर्भधारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोगी-सेविकाले नानी बोकेर हिंडे झैं यी मानिसहरूलाई छात्तीमा राखेर लैजानु भन्नुहुन्छ। 13 जब यी मानिसहरू ‘हामीलाई मासु खान दिनुहोस्’ भन्दै मसँग रून्छन् त मैले यिनीहरूलाई खुवाउने मासु कहाँ पाउनुँ? 14 यी मानिसहरूको हेरचाह गर्न म आफैं योग्य छैनँ कारण ममाथि जिम्मावारी एकदमै धेरै भयो। 15 यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनुहोस् ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।”

16 परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ। 17 अनि म तल आएर त्यहाँ तिमीसँग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन।

18 “अनि मानिसहरूलाई भन तिमीहरूले आफैंलाई पवित्र बनाएर राख भोलि तिमीहरूले मासु खानेछौ। ‘हामी मासु खान चाहन्छौ! हाम्रो लागि मिश्रमा नै राम्रो थियो।’ भनी तिमीहरू रोएको परमप्रभुले सुन्नु भएको थियो। यसर्थ अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र खान सक्ने छौ। 19 तिमीहरूले एक दिन, अथवा दुइ दिन, अथवा पाँच दिन मात्र होइन दश दिन अथवा बीस दिन भन्दा बढी मासु खानेछौ। 20 तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिमार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरूद्ध आरोप लगायौ। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयौ अनि उहाँलाई आरोप लगायौ तिमीहरूले भन्यो, ‘हामी किन मिश्रमा सदा रहेनौं?’”

21 तब मोशाले भने, “अहिले मसित पैदल हिँड्ने 6,00,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’ 22 के यी सबै भेंडा तथा बाख्राको बगाल तथा गाई-गोरूको बथान मार्दा पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र? के समुद्रका सबै माछाहरू मारे पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र?”

23 परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।”

मर्कूस 14:1-21

यहूदी प्रमुखहरूद्वारा येशूलाई मार्ने योजना

(मत्ती 26:1-5; लूका 22:1-2; यूहन्ना 11:45-53)

14 निस्तार र अखमिरी रोटीको चाडको निम्ति अब केवल दुइ दिन बाँकि थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू येशूलाई पक्रन अनि मार्ने जाल साजीको भयानक खोजमा थिए। तिनीहरूले भने, “तर चाडको समयमा हामीले येशूलाई पक्रनु हुँदैन किनभने मानिसहरू क्रोधित हुनेछन् अनि दङ्गा मच्चाउने डर हुन्छ।”

एउटी स्त्रीद्वारा केही गर्ने विशेष चेष्टा

(मत्ती 26:6-13; यूहन्ना 12:1-8)

येशू बेथानियामा हुनुहुन्थ्यो। सिमोन कुष्ठरोगीको घरमा एउटा मेचमा उहाँ खाना खाँदै हुनुहुनथ्यो त्यसैबेला एउटी स्त्री उहाँकहाँ आई। त्यस स्त्रीले एउटा अति मूल्यावान सिंगमरमरको भुँडुल्को भरि अत्तरको सुग्न्ध भरेर ल्याएकी थिईन्। त्यो सुगन्ध शुद्ध जटामसीद्वारा तयार गरिएको थियो। त्यस पछि त्यस स्त्रीले जारको बिर्को खोली अनि येशूको शिरमा सुगन्ध खन्याइदिई।

केही चेलाहरूले यी देखेर रिसाए अनि एक अर्कामा कुरा गर्न थाले। तिनीहरूले भने, “त्यसले किन यो सुगन्ध नष्ट गरेको त्यो अत्तर र्वषभरिको कमाई हो। यसलाई बेच्न सकिन्थ्यो अनि पैसा गरीबलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीको कडा आलोचना गरे।

येशूले भन्नुभयो, “त्यस स्त्रीलाई एक्लो छोडिदेऊ। त्यसलाई तिमीहरूले किन दिक्दारी दिइरहेछौ? त्यसले मेरो लागी खूबै राम्रो काम गरी। गरीब मानिसहरू सधैँ तिमीहरूसँग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मद्दत गर्नसक्छौ। तर म सधैँ तिमीहरूसँग हुने छैन। त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिई। त्यसले मलाई मर्नु अघिनै गाड्नको तयारीका लागि यसो गरी। म तीमीहरूलाई साँच्चो भन्दछु। जहाँ कहीं पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।”

येशूको शत्रूहरूलाई सहयोग गर्न यहूदा तत्पर

(मत्ती 26:14-16; लूका 22:3-6)

10 त्यसपछि बाह्रजना प्रेरितहरू मध्ये एकजना चेला मुख्य पूजाहारीहरू भएकाहाँ गयो। यो चेलाको नाम थियो यहूदा इस्कारियोत। यहूदाले येशूलाई तिनीहरूको हातमा सुम्पेको चाहन्थ्यो। 11 मुख्य पूजाहारीहरू यो सुनेर खुबै खुशी थिए। यसकोलागि तिनीहरूले उसलाई जति पनि पैसा दिन तयार थिए। अनि येशूलाई तिनीहरूको हातमा सुम्पन उचित समयको प्रतीक्षा यहूदाले गरिरहेका थिए।

निस्तार चाड़को भोज

(मत्ती 23:17-25; लूका 22:7-14,21-23; यूहन्ना 13:21-30)

12 यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज तयार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज तयार गरेको चाहनुहुन्छ?”

13 येशूले आफ्नो दुइजना चेलाहरूलाई शहर पठाउनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “शहरमा जाऊ। त्यहाँ एउटा मानिसलाई गाग्रोमा पानी बोकेर आइरहेको भेट्नेछौ। तिनको पछि लाग। 14 त्यो मानिस एउटा घरभित्र पस्नेछ। त्यही घरमा गएर त्यो घरको मालिकसँग भनः ‘गुरूज्यू सौध्नु हुन्छ उहाँ अनि उहाँका चेलाहरू निस्तार चाडको भोज खाने कोठा कहाँ होलान्।’ 15 घर मालिकले तिमीहरूलाई मातिल्लो तलाको ठूलो कोठा देखाउनेछ जो सजाएर तयार पारेको छ। हाम्रा निम्ति त्यहाँ बन्दोबस्त गर।”

16 यसकारण चेलाहरू गए अनि शहरमा पसे येशूले भन्नु भएको जस्तै तिनीहरूले सबै कुराहरू भेट्टाए। यसर्थ तिनीहरूले नै निस्तार चाडको भोज तयार गरे।

17 साँझमा, येशू आफ्ना बाह्रजना प्रेरितहरू लिएर त्यो घरमा जानुभयो। 18 जब तिनीहरू खाँदै थिए, येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरू बाह्रजना मध्ये एकजानले मलाई विश्वास घात गर्नेछौ। त्यो एकजनाले मसँगै अहिले खाईरहेको छ।”

19 चेलाहरू यो सुनेर खुबै दुःखी भए। तिनीहरू सबैले येशूलाई भने, “निश्चयनै त्यो म होइनः ठीक हो?”

20 येशूले भन्नुभयो, “उ बाह्रजना मध्ये एक हो। उ त्यही हो जसले मसँगै कचौरामा रोटी चोप्दैछ। 21 मानिसको पुत्र जानेछ अनि मर्नेछ। किनकि उनको बारेमा धर्मशास्त्रहरूमा लेखिएको छ। तर त्यस मानिसलाई धिक्कार छ जसद्वारा मानिसको पुत्रलाई विश्वासघात गरिनेछ। बरू पहिल्यै नजन्मेको भए त्यो मानिसलाई यो धेरै राम्रो हुनथियो।”

भजनसंग्रह 51

प्रमुख संगीतकारलाई: दाऊदको एउटा भजन। बतशेबासँग दाऊदले पाप गरेपछि जब अगमवक्ता नातान तिनीकहाँ आएपछि दाऊदले यो भजन लेखेका हुन्।

हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्,
    किनभने तपाईंको दयालु कृपा-दृष्टिले,
तपाईंको महान् अनुग्रहले
    मेरा सारा पापहरू मेटाई दिनुहोस्।
परमेश्वर मेरो दोष धोएर मेटाई दिनुहोस्।
    मेरा पापहरू धोइ-पखाली दिनुहोस्, मलाई फेरि एकपल्ट शुद्ध पारिदिनुहोस्।
म जान्दछु मैले पाप गरें।
    म सधैँ ती पापहरू देख्दछु।
हे परमेश्वर, जुन तपाईंले गल्ती भन्नुभयो मैले त्यही कुरा गरें।
    परमेश्वर, तपाईंको विरूद्धमा मात्र मैले पाप गरें
म ती गल्तीहरू स्वीकार गर्दछु,
    ताकि मानिसहरूले जानुन म गलत छु, र तपाईं साँच्चो हुनुहुन्छ।
    तपाईंको निर्णयहरू निष्कपट छन्।
पापमा नै मेरी आमाले मलाई गर्भधारण गरिन्
    अनि म पापमा नै जन्मेको थिएँ।
हे परमेश्वर, तपाईंले मलाई साँच्चो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ,
    यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।
विधिपूर्वक हिसप झारले[a] मस्काएर मलाई शुद्ध पार्नुहोस्।
    जबसम्म म हिऊँ जस्तो सेतो हुन्न तबसम्म मलाई धोइ पखाल्नुहोस्।
मलाई खुशी पार्नुहोस्।
बताउनुहोस् फेरि खुशी कसरी हुनु।
    तपाईंले धूलो-पिठो पार्नु भएको हड्डीहरू फेरि आनन्दले नाचोस्।
मेरो पापहरू तपाईं नहेर्नु होस्!
    ती सबै मेटी दिनुहोस्!
10 हे परमेश्वर, शुद्ध हृदय मभित्र सृजना गरिदिनु होस्!
    मेरो आत्मा फेरि एकपल्ट बलियो पारी दिनुहोस्।
11 मलाई नठेल्नु होस्।
    अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
12 तपाईंको सहयोगले मलाई खुशी पार्दछ।
    मलाई फेरि एकपल्ट त्यो आनन्द दिनुहोस्।
    मेरो आत्मा बलियो पारी दिनुहोस् र तपाईंको आज्ञा पालन गर्न तयार होस्।
13 म पापीहरूलाई तपाईंको चाहना अनुसार कसरी बाँच्नु भनेर सिकाउने छु
    अनि तिनीहरू फर्केर तपाईं कहाँ आउने छन्।
14 हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउँनु होस्।
    तपाईंको धार्मिकताको विषयमा,
मलाई गीत गाउन दिनुहोस्।
15     हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु!
16 तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न्,
    यसकारण मैले किन बलिहरू चढाउनु।
17 जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो।
    हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न!

18 हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्।
    यरूशलेमको पर्खालहरू पुनःर्निर्माण गर्नुहोस्।
19 तब तपाईंले धार्मिकताको बलिदान,
    र होमबलिहरूको आनन्द लिन सक्नु हुन्छ।
    अनि मानिसहरूले फेरि साँढेहरू तपाईंको वेदीमा चढाउने छन्।

हितोपदेश 10:31-32

31 धर्मी मानिसले ज्ञानको उच्चारण गर्छ, तर एउटा कुटिल जिब्रो काटिनेछ।

32 एकजना धर्मी मानिसले ग्रहणयोग्य कुरा बोल्न जान्दछ तर एकजना दुष्ट मानसिले यस्ता मात्रै शब्द बोल्छ जसले दुःख दिन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International