Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NET. Switch to the NET to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 15:19-17:7

19 हो, साँच्चै नै यस्तै भयो। फिरऊनका घोडाहरू, घोडसवार र रथहरू सबै समुद्रमा डुबे। अनि परमेश्वरले तिनीहरूमाथि समुद्रको सबै पानी ल्याउनुभयो। इस्राएलीहरू समुद्रको माझबाट सूख्खा भूमिमा हिँडे।

20 त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन् मरियम र अरू स्त्रीहरू गाउन र नाँच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन।

21 “परमप्रभुप्रति गीत गाऊ!
    उहाँले महान कार्य गर्नु भएको छ।
उहाँले घोडाहरू र सवारहरूलाई
    समुद्रमा फ्याँकिदिनु भयो।”

इस्राएलीहरू मरुभूमितिर जान्छन्

22 मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरुभूमितिर डोर्याउने गरे। तिनीहरू मरुभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्। 23 तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।)

24 मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”

25 मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।

त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो। 26 परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”

27 तब मानिसहरू एलीमतिर लागे। एलीममा बाह्रवटा जलस्रोत र सत्तरीवटा खजूरको रूखहरू थिए। यसर्थ मानिसहरूले त्यस पानीको नजिक आफ्नो छाउनी बनाए।

इस्राएलीहरूले गुनासोगरे, अनि परमप्रभुले खाना पठाउनु भयो

16 त्यसपछि ती मानिसहरूले एलीमबाट यात्रा शुरू गरेर एलीम र सीन बीचको सीनै मरुभूमिमा आइपुगे। तिनीहरू त्यस स्थानमा मिश्र देश छोडेको दोस्रो महीनाको पन्ध्रौं दिनमा आइपुगे। इस्राएलका मानिसहरू फेरि गुनासो गर्न थाले। मानिसहरूले मरुभूमिमा मोशा र हारूनको विरूद्ध गुनासो गरे। मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस् त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरुभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु। छैटौं दिनमा जब मानिसहरूले तिनीहरूको भोजन तयार गर्छन, तिनीहरूले दुइ दिनको निम्ति प्रशस्त पुग्ने भोजन तयार गर्नु पर्छ।”

तब मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “साँझ सम्ममा तिमीहरूले जान्ने छौ परमप्रभुले नै तिमीहरूलाई मिश्र बाहिर ल्याउनु भएको हो। तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसँग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”

अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।”

तब मोशाले हारूनलाई भने, “इस्राएली मानिसहरूसँग कुरा गर अनि तिनीहरूलाई भन, ‘परमप्रभुकहाँ सँगै आऊ किनभने उहाँले तिमीहरूको गुनासो सुन्नु भएकोछ।’”

10 हारून इस्राएलका मनिसहरूसँग बोले। तिनीहरू सबै एक ठाउँमा भेला भएका थिए। जब हारून कुरा गरिरहेका थिए मानिसहरू फर्के र मरुभूमिमा हेरे। अनि तिनीहरूले परमप्रभुको महिमा बादलमा प्रकट भएको देखे।

11 परमप्रभुले मोशालाई भन्नुभयो, 12 “मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।’”

13 त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। बिहान त्यहाँतिर सबै छाउनी वरिपरि शीत पारेको थियो। 14 जब शीत सुक्यो भुइँमा पातलो तुसारोको पलाक जस्तो थियो। 15 इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?”[a] तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो! 16 परमप्रभु भन्नु हुन्छ, ‘प्रत्येक मानिसले उसलाई आवश्यक परे जत्ति भोजन जम्मा गर्नु पर्छ, तिमीहरू प्रत्येकले परिवारको एक मानिसको निम्ति एक-एक ओमेर[b] खाध्य जम्मा गर्नु पर्छ।’”

17 तब इस्राएली मानिसहरूले यसै गरे। प्रत्येक मानिसले खाध्य बटुले अनि कतिपय मानिसहरूले अरूले भन्दा वेशी खाध्य कुरा बटुले। 18 खाध्य ओजन गर्दा प्रत्येकले वेशी बटुल्ने को थियो पाइयो। तर त्यहाँ प्रशस्त चाहिं थिएन। तिमीहरूमध्ये प्रत्येकले आफू र आफ्नो पारिवारलाई खानु पुग्नें भन्दा बढी बटुलेको थिएन।

19 मोशाले तिनीहरूलाई भने, “अर्को दिनको निम्ति खाध्य नजोगाऊ।” 20 तर केही मानिसहरूले मोशाको कुरा सुनेन्। ती मानिसहरूले भोलिपल्टको निम्ति पनि खाध्य जोगाए तर खानामा किरा पर्यो र गनाउन थाल्यो। यसकारण त्यसो गर्ने मानिसहरूसँग रिसाए।

21 प्रत्येक दिन बिहान मानिसहरूले आफूलाई चाहिए जति भोजन बटुले। तर जब दिन तातिन्थ्यो हराउँथ्यो।

22 छैटौं दिनचाहिं मानिसहरूले दुइ गुणा बढी ओमेर खाध्य बटुले तिनीहरूले प्रत्येकका लागि दुइ डाला बटुले। यसर्थ अगुवाहरू आए र मोशालाई यो सबै बताए।

23 मोशाले तिनीहरूलाई भने, “परमप्रभुले भन्नु भएको जस्तै नै भयो। यसो भयो कारण भोलि परमप्रभुको सम्मानमा मनाइने विश्रामको दिन हो। तिमीहरूलाई जति आवश्यक पर्छ आज त्यति खाध्य बटुल्न सक्छौ तर भोलि बिहानको निम्ति यस खाध्यको रहल राख।”

24 तब मोशाले भने झैं मानिसहरूले अर्को दिनका निम्ति खाध्य बँचाएर राखे तर त्यो खाध्य बिग्रिएन, कुनैमा किरा परेन।

25 शनिवारको दिन मोशाले मानिसहरूलाई भने, “आज परमप्रभुलाई सम्मान गर्ने विशेष विश्रामको दिन हो। यसर्थ तिमीहरू कोही पनि बाहिर मैदानमा जाने छैनौ र हिजो बचाएको भोजन खाने छौ। 26 तिमीहरूले हप्तामा छः दिनको निम्ति खाध्य बटुल्नु पर्छ अनि सातौं दिन विश्रामको दिन हो यसकरण भूईंमा केही कुनै विशेष खाद्य हुनेछैन।”

27 केही मानिसहरू सातौं दिनमा पनि खाद्य बटुल्नु गए तर तिनीहरूले केही पनि पाएनन्। 28 तब परमप्रभुले मोशालाई भन्नु भयो, “कहिलेसम्म तिम्रा मानिसहरूले मेरो आज्ञाहरू र उपदेशहरू अस्वीकार गर्छन्? 29 हेर, परमप्रभुले तिम्रालागि शनिवारलाई एउटा विश्रामको दिन बनाउनु भयो। अनि छैटौं दिनमा परमप्रभुले तिमीहरूलाई दुइ दिनको निम्ति प्रशस्त खाद्य दिनु हुन्छ। सातौंदिनमा तिमीहरू प्रत्येकले विश्राम लेऊ। तिमीहरू जहाँ छौ त्यहीं बस।” 30 यसर्थ मानिसहरूले सातौं दिनमा विश्राम गरे।

31 इस्राएलीहरूले त्यस विशेष भोजनलाई “मन्न”। भन्न थाले। मन्न मसिनो धनियाँको बिऊ जस्तो सेतो थियो अनि खाँदा मह मिसाएर बनाएको पातलो रोटी जस्तै स्वादिलो थियो। 32 मोशाले भने, “परमप्रभुले भन्नु भयो, ‘तिमीहरूका सन्तानको निम्ति एक ओमेर खाद्य जोगाएर राख। मैले तिमीहरूलाई मिश्रबाट लिएर आउँदा मरुभूमिमा दिएको खाद्य भनी तिनीहरूले हेर्न सक्छन्।’”

33 अनि मोशाले हारूनलाई भने, “एउटा भाँडो ल्याऊ र त्यसमा एक ओमेर मन्न भरेर परमप्रभुकोअधि राख। आफ्नो सन्तानको निम्ति जोगाऊ।” 34 परमप्रभुले मोशालाई आज्ञा गरे जस्तै नै हारूनले गरे। हारूनले मन्नको भाँडा लगे अनि करार सामुने राखे। 35 इस्राएलीहरू 40 बर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बस्नु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुन्जेल मन्न खाए। 36 (प्रायः एक ओमेर अर्थात एपाको दशौं भागको भाँडोद्वारा तिनीहरूले मन्न जोखे।)

चट्टानबाट पानी

17 सीनैको मरुभूमिबाट सबै इस्राएली दलसँगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन। यसर्थ तिनीहरू मोशाको विरोधमा कुरा गर्न लागे अनि तिनीहरूले भने, “हामीलाई पिउने पानी देऊ।”

मोशाले तिनीहरूलाई भने, “तिमीहरू किन मसित बहस गर्छौ? किन परमप्रभुको परीक्षा लिन्छौ?”

तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून् भनी लिएर आएका हौ?”

अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।”

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसँगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ। म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”

मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे। मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न।

मत्ती 22:1-33

रात्री भोजनमा बोलाइएका मानिसहरूको दृष्टान्त

(लूका 14:15-24)

22 मानिसहरूलाई बुझाउनका निम्ति येशूले केही दृष्टान्तहरू भन्नुभयो। “स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्। राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।

“तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्ट्याएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’

“नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे। कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए। यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।

“त्यसपछि, राजाले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको भोज तयारी छ। मैले ती मानिसहरूलाई बोलाएको हुँ, तर तिनीहरू यो भोजमा सामेल हुन योग्यको भएनन्। यसकारण तिमीहरू गल्लीका कुना कुनामा जाऊ अनि देखेकाहरू जतिलाई भोजमा सामेल हुन निम्त्याएर ल्याऊ। तिनीहरूलाई मेरो भोजमा आऊ भनिदेऊ।’ 10 अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो।

11 “त्यसपछि ती खाँदैगरेका मानिसहरूलाई हेर्न भनी राजा आए। कुनै एकजनालाई विवाहको पोशाकमा नभएको राजाले भेट्टाए। 12 राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन। 13 अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दु:खले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’

14 “हो धेरै मानिसहरू बोलाइएका हुन्छन्। तर चुनिएका थोरै मात्र छन्।”

केही यहूदी नेताहरू येशूलाई झुक्याउन खोज्छन्

(मर्कूस 12:13-17; लूका 20:20-26)

15 तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए। 16 फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्। 17 सिजरलाई महसूल तिर्नु उचित हो कि होइन?”

18 तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ? 19 महसूल तिर्नमा उपयोग गरीने सिक्का मलाई देखाऊ।” ती मानिसहरूले येशूलाई एक चाँदीको सिक्का देखाए। 20 येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”

21 ती मानिसहरूले जवाफ दिए, “यो सिजरको चित्र हो र यसमा सिजरको नाम अंकित छ।”

येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।”

22 ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए।

सदुकीहरू येशूलाई फँसाउन चाहन्छन्

(मर्कूस 12:18-27; लूका 20:27-40)

23 त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे; 24 तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाइले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ। 25 हामी बीच सातजना दाज्यू-भाइहरू थिए। जेठाले विवाह गर्यो र मर्यो। उसको कुनै बालबच्चा थिएन। यसर्थ उसको भाइले विधवी भाउज्यूलाई विवाह गर्यो। 26 त्यसपछि त्यो दोस्रो भाइ पनि मर्यो। त्यस्तै घट्ना तेस्रो भाइसँग पनि घट्‌यो र त्यस्तै अरू दाज्यू-भाइहरूसँग गर्दै सात दाज्यू-भाइसम्म घट्यो। 27 तिनीहरू सबै मरेपछि त्यो आईमाई पनि मरी। 28 तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?”

29 येशूले जवाफ दिनुभयो, “तिमीहरू योकुरा बुझ्दैनौ किनभने धर्मशास्त्रमा के लेखेको छ त्यो तिमीहरू जान्दैनौ। परमेश्वरको शक्तिको विषयमा पनि तिमीहरू केही जान्दैनौ। 30 त्यसबेला जब मानिसहरू मृत्युबाट बौरिउठ्छन् त्यहाँ विवाहको प्रश्न नै आँउदैन। मानिसहरू त्यहाँ एक-अर्का संग विवाह गर्ने छैनन्। सबै मानिसहरू स्वर्गका स्वर्गदूतहरू झैं हुनेछन्। 31 यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ। 32 परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’(A) यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिउँदा मानिसहरूको परमेश्वर हुनुहुन्छ।”

33 मानिसहरूले सुने र येशूको शिक्षामा तिनीहरू छक्क परे।

भजनसंग्रह 27:1-6

दाऊदको भजन।

हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ,
    मैले कोहीसँग पनि डराउनु पर्दैन!
मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ!
    यसैले म कोसैसँग डराउने छैन।
दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्।
    तिनीहरूले मलाई तरवारले काट्न सक्छन्।
मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्,
    अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्।
तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन।
    यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन।
    किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।

परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः
    “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ,
परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ
    अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।”

परमप्रभुले मलाई बचाउँनु हुन्छ।
    जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ।
    उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
मेरा शत्रुहरूले मलाई घेरेका छन्।
तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ।
    त्यसपछि म उहाँको पालमा बलि चढाउने छु।
    म आनन्दको जयकार सहित बलिदान गर्नेछु,
    म परमप्रभुको सम्मानमा भजन गाउनेछु।

हितोपदेश 6:20-26

20 हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर। 21 उनीहरूले भनेका वचनहरू सधैँ हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख। 22 जब तिमी अगि बढ्ने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।

23 किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँड्न तिमीलाई प्रशिक्षण दिनेछन्। 24 तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ। 25 उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन। 26 एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International