Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CEV. Switch to the CEV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 32-33

सुनको बाछा

32 मोशा पर्वतबाट तल नओर्लेको धेरै दिन भइसकेको मानिसहरूलाई थाहा भयो। यसर्थ मानिसहरूले हारूनलाई वरिपरि घेरेर भने, “हेर, मोशाले हामीलाई अगुवाई गरी मिश्रबाट बाहिर लिएर आउनु भयो। हामीलाई थाहा छैन तिनलाई के भयो। यसर्थ हाम्रो अगुवाई गर्न हाम्रोलागि केही देवताहरू बनाऊ।”

हारूनले तिनीहरूलाई भने, “तिमीहरूकी आफ्नी पत्नीहरू अनि छोरीहरूले कानमा लगाएका सुनको कुण्डलहरू मकहाँ ल्याऊ।”

यसकारण सबै मानिसहरूले कानका सुनको कुण्डलहरू जम्मा गरे अनि हारून कहाँ ल्याए। हारूनले तिनीहरूबाट सुन लिए, पगालेर यसको एउटा बाछोको मूर्ति बनाए अनि उनले यसलाई सुनले मोहरी दिए।

तब मानिसहरूले भने, “हे इस्राएल यिनीहरू तिमीहरूको देवताहरू हो जसले तिमीहरूलाई मिश्र बाहिर ल्याए।”

हारूनले यी सब देखे अनि तिनले बाछाको अघि एउटा वेदी बनाए। त्यसपछि तिनले घोषणा गरे, “परमप्रभुको सम्मानमा भोलि एक विशेष चाड़ मनाइनेछ।”

मानिसहरू बिहान चाँडै उठे पशुहरू मारेर होमबलिहरू चढाए अनि मेलबलिहरू चढाए। मानिसहरू खान तल बसे, तब रमाइलो गर्न उठे।

तब परमप्रभुले मोशालाई भन्नु भयो, “पर्वतबाट तल ओर्ली हाल। तिमीले मिश्र देशबाट ल्याएका ती तिम्रा मानिसहरूले असाध्यै पाप गरिरहेका छन्। तिनीहरूले यति चाड़ै नियमहरूलाई त्यागे जुन मैले तिनीहरूलाई अनुशरण गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले सुन पगालेर एउटा बाछो बनाएका छन् र त्यही बाछोलाई पूजा गर्दैछन् र बलिहरू चढाइरहेका छन्। ती मानिसहरूले भने, ‘हे इस्राएली, यहाँ तिमीहरूका देवताहरू छन् जसले तिमीहरूलाई मिश्रबाहिर ल्याए।’”

परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मैले देखे यी मानिसहरू एकदमै अट्टेरी छन्। 10 यसकारण मलाई एक्लो छोडिदेऊ मेरो क्रोध तिनीहरूमाथि उठ्नेछ अनि तिनीहरूलाई ध्वंश गरिदिनेछु। तब म तिम्रा सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु।”

11 तर मोशाले परमप्रभु उसका परमेश्वरलाई शान्त गराए अनि भने, “हे परमप्रभु तपाईंका आफ्नै मानिसहरूसित चाँडै क्रोधित नहुनुहोस्। तपाईंले यी मानिसहरूलाई मिश्रबाट तपाईंका विशाल अद्भुत शक्ति र बल प्रयोग गरेर बाहिर ल्याउनु भयो। 12 यदि तपाईंले तिनीहरूलाई ध्वंश पार्नु भयो भने, ‘मानिसहरूले सोच्ने छन् परमप्रभुले मानिसहरूलाई मिश्र बाहिर लगेको कारण तिनीहरूलाई पर्वतमाथि ध्वंश पार्न मात्र रहेछ।’ यसर्थ तपाईंका आफ्नै मानिसहरूसँग क्रोधित नहुनुहोस्। तपाईंको मन बदली गर्नुहोस् र तपाईंका मानिसहरूलाई नमार्नु होस्। 13 अब्राहाम, इसहाक तथा याकूबलाई सम्झना गर्नु होस्, ती मानिसहरूले तपाईंलाई सेवा गरेका थिए अनि तपाईंले एउटा प्रतिज्ञा गर्नुभयो। तपाईंले भन्नु भयो, ‘म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू भन्दा वेशी बनाउनेछु अनि तिनीहरूलाई सम्पूर्ण भूमि दिनु भयो। यो भूमि तिनीहरूलाई सदाको निम्ति हुनेछ।’”

14 यसर्थ परमप्रभुले आफ्नो हृदयलाई कोमल बनाउनु भयो अनि उहाँले के गर्न चाहनु भएको थियो त्यो गर्नु भएन। उहाँले तिनीहरूलाई ध्वंश गर्नु भएन।

15 तब मोशा पर्वतबाट तल ओर्लिए। तिनीसित दुवैपट्टि करार लेखिएको दुइवटा शिला-पाटीहरू थियो। यी पाटीहरूमा दुवै पट्टि लेखेको थियो। 16 यी पाटीहरू परमेश्वर आफैंले बनाउनु भयो, अनि यसमाथि आज्ञाहरू लेख्नु भयो।

17 जब मोशा पर्वतबाट तलतिर ओर्लिदै थिए यहोशूले मानिसहरूलाई चिंच्याउदै गरेको सुने, यहोशूले मोशालाई भने, “मैले छाउनीभित्र युद्धको ध्वनि सुने।”

18 मोशाले उत्तर दिए, “यो आवाज सेनाहरूको विजय ध्वनि होइन। अनि यो हार्ने सेनाहरूको आवाज पनि होइन। त्यो आवाज जो म सुन्दैछु, त्यो सँगीतको स्वर हो।”

19 मोशा छाउनी नजिक आइपुगे अनि त्यहाँ एउटा बाछो र मानिसहरू नाच्दै गरेको देखे। मोशा एकदमै क्रोधित भए अनि तिनीसित भएको च्याप्टो ढुङ्गाहरू भूँईमा फ्याँके। पर्वतको बेंसीमा ती ढुङ्गाहरू फुटेर टुक्रा-टुक्रा भए। 20 तब मोशाले बाछालाई पगाले र यसलाई धूलो पारे। तब उनले धूलोलाई पानीभित्र हाले, उनले त्यो पानी इस्राएलीहरूलाई पिउन कर लगाए।

21 उसले हारूनलाई भने, “यी मानिसहरूले तिमीलाई के गरे? किन तिनीहरूमाथि तिमीले यस्तो ठूलो पाप ल्यायौ?”

22 हारूनले उत्तर दिए, “हजूर, क्रोधित नहुनुहोस्। तपाईंलाई थाहा छ यी मानिसहरू सधैँ केही गल्ती गर्न तैयार नै रहन्छन्। 23 यी मानिसहरूले मलाई भने, ‘मोशाले हामीलाई मिश्र देशबाट अगुवाई गर्नु भयो, तर उहाँलाई के भयो हामी जान्दैनौं, यसर्थ हाम्रो अगुवाई गर्न केही देवताहरू बनाऊ।’ 24 यसकारण मैले तिनीहरूलाई भनें तिनीहरूको सुन ल्याऊ तिनीहरूले त्यो मलाई दिए। मैले त्यो सुन आगोमा हाले् र आगोबाट त्यो बाछो निस्कियो।”

25 मोशाले देखे हारूनले मानिसहरूलाई नियन्त्रणबाट बाहिर जान दिए, मानिसहरू जंगली जस्तो कुदिरहे अनि तिनीहरूका सबै शत्रुहरूले तिनीहरूको मूर्खको जस्तो व्यवहार देखे। 26 यसर्थ मोशा छाउनीको प्रवेशद्वारमा उभिए र भने, “परमप्रभुलाई समर्पण गर्ने जो पनि मेरो वरिपरि भेला हुनुपर्छ। सबै लेवीहरू उनको वरिपरि भेला भए।”

27 त्यसपछि मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरले के भन्नु भएको छ म तिमीहरूलाई भन्नेछु ‘प्रत्येकले हातमा तरवार लिएर छाउनीको एक कुनादेखि अर्को कुनासम्म जानुपर्छ। तिमीहरूले आफ्नो दाज्यू-भाइ, साथीहरू, अनि छिमेकीहरूलाई मार्नै पर्छ।’”

28 लेवीहरूले मोशाको आज्ञा पालन गरे अनि त्यस दिन लगभग तीन हजार इस्राएलीहरूले ज्यान गुमाए। 29 त्यसपछि मोशाले भने, “आज तिमीहरूका छोराहरू अनि दाज्यू-भाइ मारेर आफूलाई परमप्रभुको सेवामा सर्मपण गर्यौ। यसको निम्ति तिमीहरूले आशिष पाउनेछौ।”

30 अर्को बिहान मोशाले मानिसहरूलाई भने, “तिमीहरूले असाध्यै ठूलो पाप गर्यौ। अब म परमप्रभुकहाँ जानेछु। हुन सक्छ म तिमीहरूको पापका निम्ति प्रायश्चित गर्नु सक्छु।” 31 तब, मोशा परमप्रभुकहाँ गए अनि भने, “दया गरी सुन्नु होस्, यी मानिसहरूले सुनको देवता बनाए र साह्रै नराम्रो पाप गरेका थिए। 32 अब यिनीहरूका पाप क्षमा गरि दिनुहोस्। यदि तिनीहरूलाई क्षमा गर्नु हुँदैन भने तपाईंले लेख्नु भएको पुस्तकबाट मेरो नाउँ निशान मोटाइ दिनुहोस्।”

33 तर परमप्रभुले मोशालाई भन्नु भयो, “ज-जसले मेरो विरोधमा पाप गरेकाछन्, म तिनीहरूको नाउँहरू मेरो पुस्तकबाट हटाउने छु। 34 यसर्थ तल गएर मैले जहाँ जानु भन्छु त्यहाँ तिनीहरूको अगुवाइ गर। मेरो स्वर्गदूतले तिमीलाई अगुवाई गर्नेछ। जब पाप गर्ने मानिसहरूलाई दण्ड दिने समय आउँछ तिनीहरूलाई दण्ड दिइनेछ।” 35 यसर्थ परमप्रभुले मानिसहरूमाथि डरलाग्दो बिमार खन्याई दिनु भयो। उहाँले यसो गर्नु भयो किनभने हारूनले अगुवाइ गरेका मानिसहरूले एउटा सुनका बाछो बनाएका थिए।

“म तिमीहरूसित जाने छैन”

33 तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिमी र तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई म त्यो भूमि दिनेछु। म एकजना स्वर्गदूतलाई तिम्रो अगुवाइ गर्न पठाउनेछु अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई तिनीहरूको भूमि छोड्न बाध्य गराउनेछु। यसर्थ तिमीहरू त्यो भूमिमा जाऊ जुन भूमि असल-असल चीजहरूले भरिभराऊ छ। म तिमीहरूसित जाँदिन र यदि म तिमीहरूसित गएँ भने, हुन सक्छ, तिमीहरूलाई म आधा बाटोमा नै ध्वंश पार्नेछु कारण तिमीहरू अत्यन्तै अट्टेरी छौ।”

मानिसहरू यस्तो दुःख पूर्ण समाचार सुनेर चिन्तित भए। तिनीहरूले गर-गहनाहरू लगाएनन्। परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई भन, ‘तिमीहरू अट्टेरी छौ। यदि म तिमीहरूसँग केही क्षणका निम्ति पनि जानु पर्ने भए म तिमीहरूलाई ध्वंश पार्ने थिएँ। अब तिमीहरूले आफ्नो गहना निकाल अनि म निश्चय गर्ने छु, तिमीहरूलाई के गर्नुपर्ने हो।’” यसकारण गहनाहरू होरेब पर्वतमा इस्राएलीहरूले फुकालिदिए।

अस्थायी भेट हुने पाल

मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल” नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो। जति बेला मोशा पालमा जान्थे, मानिसहरू तिनको आफ्नै पालहरूको ढोकाहरूमा खडा हुन्थे। जबसम्म उनी भेट हुने पालभित्र पस्दैन थिए। तिनीहरूले मोशालाई हेर्थे। मोशा भेट हुने पालमा जान्थे बादलको लामो स्तम्भ झैं माथिबाट तल आउँथ्यो। त्यो बादलको खामो पालको द्वारमा खडा भई पर्खिरहन्थ्यो यसरी परमप्रभुले मोशासँग कुरा गर्नु हुन्थ्यो। 10 यसर्थ जब बादलको खम्बालाई मानिसहरूले देख्थे तिनीहरू आफ्नो-आफ्नो पालको द्वारमा गएर परमेश्वरको आराधना गरी निहुरिन्थे।

11 यस रीति अनुसार परमप्रभुले मोशासँग साथी जस्तै कुरा गर्नु हुन्थ्यो। परमप्रभसँग कुरा गरिसकेपछि मोशा पालमा फर्कन्थे। तर उसको युवक सहायक नुनको छोरा यहोशू पालभित्र नैं रहन्थ्यो।

परमप्रभुको महिमा मोशाले देखे

12 मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसँगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’ 13 यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।”

14 परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।”

15 त्यसपछि मोशाले परमप्रभुलाई भने, “यदि तपाईं हामीसित जानुहुन्न भने हामीलाई पनि यस ठाउँबाट नपठाउनुहोस्। 16 नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसँग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।”

17 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्यौ म गर्नेछु। किनभने म तिमीसँग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।”

18 त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस।”

19 तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्क भलो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्क कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु। 20 तर तिमीले मेरो अनुहारलाई हेर्न असमर्थ हुनेछौ। कुनै पनि मानिसले मलाई हेर्न सक्दैन अनि जिउँदो रहन सक्दैन।”

21 परमप्रभुले भन्नुभयो, “हेर मेरो छेउमा एउटा चट्टान छ अनि तिमी यसमा उभिन सक्छौ। 22 मेरो महिमा त्यहाँ जाने छ। म तिमीलाई त्यस चट्टानमा लामो चर्केको ठाउँमा बसाउनेछु। अनि जब म त्यहाँ जान्छु मेरो हातले तिमीलाई छोप्ने छ। 23 त्यसपछि म मेरो हात हटाउनेछु र तिमीले मेरो पछिल्तिरको भाग देख्नेछौ, तर मेरो अनुहार देख्न सक्ने छैनौ।”

मत्ती 26:69-27:14

येशूलाई चिन्दछु भन्न पत्रुस डराए

(मर्कूस 14:66-72; लूका 22:56-62; यूहन्ना 18:15-18,25-27)

69 त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसँग थियौ।”

70 तर पत्रुसले त्यहाँ उपस्थित भएका सबै मानिसहरूको अघाडी यो कुरालाई अस्वीकार गरे। उनले भने, “तिमीहरू के कुरा गरिरहेको छौ मैले केही बुझिन?”

71 त्यसपछि पत्रुसले त्यो ठाउँ छोडे। ढोकामा अर्को स्त्रीले तिनीलाई देखी। त्यसले त्यहाँ भएका मानिसहरूलाई भनि, “यो मानिस पनि नासरतको येशूसँग थियो।”

72 पत्रुसले फेरि अस्वीकार गरे। उनले भने, “परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु यो मानिस को हो म चिन्दिन!”

73 केहीसमयपछि केही उभिरहेका मानिसहरू पत्रुसकहाँ गए र भने, “हामी जान्दछौ एक येशूको चेलाहरू मध्ये तिमी पनि हौ। तिम्रो कुरा गराईले त्यो प्रमाण दिन्छ।”

74 तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो। 75 तब पत्रुसलाई येशूले भनेका कुराहरूको सम्झना भयो “भाले बास्न अघिनै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ।” त्यसपछि पत्रुस बाहिर गएर धुरूधुरू रोए।

येशूलाई बडा हाकिम पिलातसकहाँ लगियो

(मर्कूस 15:1; लूका 23:1-2; यूहन्ना 18:28-32)

27 भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे। तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।

यहूदाको आत्महत्या

(प्रेरित 1:18-19)

यहूदाले येशूलाई मृत्यू दण्ड दिएको थाहापायो। यहूदा एकजना थिए जसले येशूलाई विश्वासघात गर्ने त्यो नै थियो। यहूदालाई पछुतो लाग्यो अनि उसले तीसवटा चाँदीका सिक्का मुख्य पूजाहारीहरू र बुढा यहूदी नेताहरू कहाँ फर्काइ दियो। यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।”

यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, हाम्रो होइन।”

यसकारण यहूदाले चाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाड्यो अनि आफैं झुण्डिएर आत्महत्या गर्यो।

मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग मिसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।” त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाड्ने ठाउँ बनाउने मतो गरे। यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ। यसरी यस्तो हुनेछ भनेर यर्मिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो।

“तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहूदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए। 10 परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।”[a]

बडाहाकिम पिलातसद्वारा येशूलाई प्रश्नहरू

(मर्कूस 15:2-5; लूका 23:3-5; यूहन्ना 18:33-38)

11 येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?”

येशूले जवाफ दिनुभयो, “हो, म हुँ।”

12 जब मुख्य पूजाहारीहरू र बढा यहूदी प्रधानहरूले येशू विरूद्ध अभियोग लगाए, उहाँले कुनै जवाफ दिनु भएन।

13 अनि पिलातसले येशूलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?”

14 तर येशूले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए।

भजनसंग्रह 33:1-11

हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ!
    उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।
वीणा बजाएर परमप्रभुको स्तुति गर!
    दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ।
उहाँको निम्ति एउटा नयाँ गीत गाऊ।
    सुखमय सुन्दर वाद्यहरू बजाऊ!
परमेश्वरको वचन सत्य छ।
    उहाँले गर्नुभएको प्रत्येक कुरामा तिमीहरू भर पर्न सक्छौ।
परमेश्वर स्वच्छ हुनु मन पराउनु हुन्छ अनि राम्रो काम गर्नु हुन्छ।
    परमेश्वरको साँच्चो प्रेमले पृथ्वी भरिन्छ।
परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो।
    परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो।
परमप्रभुले समुद्रबाट पानी एक ठाउँमा थुपार्नु भयो।
    उहाँले सागरलाई आफ्नो ठाउँमा राख्नुभयो।
यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ।
    संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।
किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन।
    अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।
10 यदि परमप्रभुले चाहनु भयो भने, प्रत्येकका योजनाहरू व्यार्थ पार्न सक्नुहुन्छ।
    उहाँले तिनीहरूका योजनाहरू ध्वंश पार्न सक्नु हुन्छ।
11 तर परमप्रभुको सल्लाह सदा-सर्वदा असल हुन्छ।
    उहाँका योजनाहरू पुस्तौं-पुस्तासम्म असल हुन्छन्।

हितोपदेश 8:33-36

33 मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन,
    तिनीहरूलाई अस्वीकार नगर।
34 जुन मानिसले मेरो कुरा सुन्छ,
    त्यही मानिस नै भाग्यमानी हुनेछ,
जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ,
    जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्, तिनीहरूनै धन्य हुन्छन्।
35 किनभने जसले मलाई पाउँछ, उसले जीवन पाउँछ।
    अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।
36 तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याउँछ।
    जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International