Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CEV. Switch to the CEV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 34:1-35:9

नयाँ शिला पाटीहरू

34 परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी आफैंले पहिलाको जस्तै दुइवटा चेप्टा ढुङ्गाहरू काट। म त्यही शब्दहरू नयाँ ढुङ्गाहरूमाथि लेख्नेछु मैले जुन पहिले तिमीले धूलो पारेको ढुङ्गामाथि लेखेको थिएँ। भोलि बिहानै तयार भएर सीनै पर्वतमा म भएकहाँ आऊ। त्यस पर्वतको टाकुरामा मेरोआघि उभिनु। तिमीसित कसैलाई पनि आउन नदेऊ। पर्वतको कुनै ठाउँमा कसैलाई देखिनु हुँदैन। पर्वतको बेंसीमा तिमीहरू कसैको गाई, गोरू अथवा भेंडाहरू चर्न पाउने छैनन्।”

यसकारण अर्को दिन मोशाले दुइवटा चेप्टा ढुङ्गाहरू तयारी बनाए अनि बिहानै ऊ सीनै पर्वतमाथि चढे। परमप्रभुद्वारा आज्ञा भएका सबै कुरा मोशाले गरे। उनी त्यहाँ ती दुइवटा टुक्रा चेप्टो ढुङ्गा लिएर गए। परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिनु भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे। परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु। एउटा पुस्तादेखि अर्को पुस्तासम्म परमप्रभुले कृपा देखाउनु हुन्छ। उहाँले मानिसहरूलाई तिनीहरूको दुष्टता, कुकर्म अनि विद्रोहमा क्षमा गर्नुहुन्छ। तर दोषी मानिसलाई दण्ड दिन उहाँ बिर्सिनु हुन्न। तिनीहरूद्वारा गल्ती गरिएको कारण तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, तिनीहरूका सन्तानले तेस्रो अथवा चौथो पुस्तासम्म दुःख भोग्नु पर्छ।”

तब झट्टै मोशा भुइँमा घोप्टे अनि परमप्रभुको आराधना गरे। तब मोशाले भने, “हे परमप्रभु यदि तपाईं मसित खुशी हुनुहुन्छ भने हामीसँग हिंड्नु होस्। म जान्दछु यी मानिसहरू अट्टेरी छन् हामीद्वारा कुकर्म गरेकोमा क्षमा गर्नुहोस् अनि हामीलाई तपाईंका आफ्नै मानिसहरू भनी ग्रहण गर्नु होस्।”

10 तब परमप्रभुले भन्नुभयो, “म यो करार तिम्रा सबै मानिसहरूसँग बनाउन गइरहेछु। म यस्तो आश्चर्यजनक कामहरू गर्नेछु जुन यस पृथ्वीको कुनै भूमिमा अथवा राष्ट्रमा कहिल्यै भएका थिएनन्। तिमीहरू प्रत्येकले देख्नेछन् म परमप्रभु अनि महान सर्वोच्च हुँ। 11 आज म जुन आज्ञाहरू दिनेछु त्यो पालन गर अनि म एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई भूमि छोड्न जोड लगाउनेछु। 12 तर होशियार होऊ, कुनै मानिससँग सन्धि नगर जुन भूमिमा तिमीहरू बस्न गइरहेका छौ। यदि तिमीहरूले तिनीहरूसित सन्धि गर्यौ भने तिनीहरूले तिमीहरूलाई नराम्रो कार्य तिर लैजान्छन्। 13 यसकारण तिनीहरूको वेदीहरू नष्ट गरिदेऊ तिनीहरूका पवित्र खम्बाहरू भत्काइदेऊ अनि तिनीहरूका डण्डाहरू टुक्रा-टुक्रा पारिदेऊ। 14 अरू कुनै देवताको आराधना नगर। परमप्रभुको नाउँ ‘एल-कनाह’ हो डाह गर्ने परमेश्वर।

15 “होशियार होऊ त्यस ठाउँमा बस्ने मानिसहरूसँग कुनै सन्धि नगर, नत्र तिमीहरूले तिनीहरूका देवताहरूको आराधना र अनि बलिदान दिन शुरू गर्ने छौ। तिनीहरूले तिमीहरूलाई बलिदानका भोजन खानु निम्त्याउने छन्। 16 तिमीहरू तिनीहरूको छोरीहरूलाई तिमीहरूको छोराहरूसित विवाह गरिदिन सक्छौ। तर तिनीहरूका छोरीहरू वेश्या झैं झूटो देवताहरूको आराधना गर्छन्। तिम्रा छोराहरूलाई पनि त्यही गर्न लगाउनु सक्छन्।

17 “मूर्तिहरू नबनाऊ।

18 “अखमिरे रोटीको चाड़ मनाऊ। मैले तिमीहरूलाई आज्ञा दिए अनुसार सात दिनसम्म खमीर बिनाको रोटी खाऊ। यो आबीब महीनामा गर, किनभने त्यो त्यही महीनामा हो जब तिमीहरू मिश्र बाहिर आएका थियौ।

19 “गाई वस्तु होस् अथवा भेंडा तिनीहरूको पशुहरूबाट पहिले जन्मेको मेरो हो। 20 प्रत्येक पहिले जन्मेको गधासित थुमा साट्न सक्छौ। यदि तिमीले थुमासित गधा साटेनौ भने, तिमीले गधाको मुण्टो भाँचि दिनुपर्छ। तिमीहरूले मबाट आफ्नो छोराहरूको उद्धार गर्नुपर्छ। कुनै मानिस मेरोअघि बिना भेटी आउनु हुँदैन।

21 “तिमीले छ दिन काम गर्नेछौ र सातौं दिन विश्राम लिनु पर्छ। यो विश्राम तिमीहरूले बाली रोप्ने र उठाउने समयमा पनि लिनु पर्छ।

22 “साताको चाड़ पहिलो अन्न बाली उठाऊ र मनाऊ। अन्न भित्र्याउने चाड़ ऋतुको आखिरमा मनाऊ।

23 “बर्षमा तीन पल्ट सबै इस्राएली मानिसहरू र तिनीहरूका छोराहरू परमप्रभु तिनीहरूका स्वामी इस्राएलका परमेश्वरकहाँ जानु पर्छ।

24 “तिमीहरू जब आफ्नो भूमिमा जानेछौ म तिमीहरूका शत्रुहरूलाई बलपूर्वक भगाईदिनेछु। म तिमीहरूको भूमिको सिमाना विस्तारित गर्नेछु। जब तिमीहरू बर्षमा तीन पल्ट परमप्रभु आफ्नो परमेश्वरको सामुन्ने जान्छौ तिमीहरूको भूमि कसैले पनि लाने चेष्टा गर्ने छैन।

25 “जब तिमीले मलाई बलिदान चढाउँछौ, रगतसँग कुनै खमीर नचढाऊ।

“निस्तार चाड़को मासु अर्को बिहानसम्म नराख।

26 “तिमीहरूको फसलबाट पहिलो अन्नहरू परमप्रभु तिमीहरूका परमेश्वरको घरमा ल्याऊ।

“कलिलो पाठीलाई त्यसकी माऊको दूधमा नै पकाउनु हुँदैन।”

27 परमप्रभुले मोशालाई भन्नु भयो, “मैले तिमीलाई भनेका सबै कुराहरू लेख। यी कुराहरू करार हुन्, जुन मैले तिमी र इस्राएलीहरूसँग गरिरहेकोछु।”

28 त्यहाँ मोशा चालीस दिन र चालीस रातसम्म परमप्रभुसँग बसे। तिनले न ता केही खाए न ता पिए। मोशाले करारका वचनहरू अर्थात् दश आज्ञाहरू दुइवटा पाटीहरूमा लेखे।

मोशाको उज्जवल अनुहार

29 त्यसपछि मोशा सीनै पर्वतबाट तल आए। उनले आफूसित दुइ शिला-पाटीहरू ल्याए। मोशाले थाह पाएनन् उनको अनुहार चम्किरहेको थियो किनभने उनले परमप्रभुसँग कुरा गरेका थिए। 30 हारून र इस्राएली मानिसहरूले देखे मोशाको अनुहार चम्किरहेको थियो। तिनीहरू उनको छेउमा जान डराए। 31 मोशाले हारून अनि सबै बूढा-प्रधानहरूलाई आफूसित बस्न बोलाए। मोशाले तिनीहरूसँग कुरा गरे। 32 त्यसपछि इस्राएलीहरू मोशाको छेउमा आए अनि उनले परमप्रभुद्वारा सीनै पर्वतमाथि दिनु भएका ती आज्ञाहरू तिनीहरूलाई दिए।

33 जब तिनले मानिसहरूसित कुरा गरी सके पछि तिनले आफ्नो अनुहार ढाके। 34 कुनै पनि समय जब मोशा कुरा गर्नको निम्ति परमप्रभुअघि जान्थे आफ्नो अनुहार नढाकी जान्थे। त्यसपछि मोशा बाहिर आएर परमप्रभुले दिनु भएका आज्ञाहरू इस्राएलका मानिसहरूलाई सुनाउथे। 35 इस्राएली मानिसहरूले मोशाको अनुहार चम्किरहेको देखे। यसकारण अर्को पल्ट परमप्रभुसँग कुरा गर्न नजाउञ्ञेलसम्म मोशाले आफ्नो अनुहार छोपिरहे।

विश्राम-दिनको विषयमा नियमहरू

35 मोशाले सबै इस्राएलीहरूलाई एक जग्गामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु।

“काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ। विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।”

पवित्र पालको निम्ति सामग्री

इस्राएलका सबै मानिसहरूलाई मोशाले भने, “परमप्रभुले दिनु भएको आज्ञा यही हो। परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा, निलो, बैजनी अनि रातो धागो र मसिनो सुती कपडा, र बाख्राको भुत्ला, तन्काएको बाख्राको छाला, नरम छाला र बबुलको काठ। दीयोको निम्ति तेल, अभिषेक तेल बनाउनको निम्ति मसला र सुगन्धित धूपको निम्ति मसला। गोमेदक-रत्न तथा एपोदमा र न्यायको थैलीमा कुँदाउने अरू रत्नहरू ल्याऊ।

मत्ती 27:15-31

येशूलाई मुक्त गर्ने पिलातसको चेष्टा असफल

(मर्कूस 15:6-15; लूका 23:13-25; यूहन्ना 18:39–19:16)

15 प्रत्येक वर्षनिस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो। 16 त्यसबेला एकजना एकदमै दुष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बरब्बा थियो।

17 सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ। कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?” 18 पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्यांको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।

19 पिलातस न्यायकर्ताको कुर्सीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन्। समाचार यस्तो थियोः “त्यो निर्दोष मानिसको विरुद्धमा केही नगर्नुहोस्। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो समपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।”

20 तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए।

21 पिलातसले भने, “बरब्बा र येशू मध्ये तिमीहरूको लागि मैले कसलाई छोडिदिनु पर्ने?”

मानिसहरूले जवाफ दिए, “बरब्बालाई मुक्त गरिदिनु होस्!”

22 पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिँ? के गर्नुपर्ने?”

सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ!”

23 पिलातसले सोधे, “किन उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्ड्याएर मार्नुपर्छ।”

24 अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन्-झन् जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”

25 सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”

26 अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्ड्याएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।

पिलातसको सैनिकहरूद्वारा येशूको खिल्ली

(मर्कूस 15:16-20; यूहन्ना 19:2-3)

27 त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए। 28 तिनीहरूले येशूको लुगाफाटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए। 29 तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहूदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।” 30 सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए। 31 जब तिनीहरूले येशूको खिल्ली उडाइसके तब तिनीहरूले उनको वस्त्र उतारिदिए अनि फेरि उहाँकै वस्त्र लगाइदिए त्यसपछि येशूलाई झुण्डयाएर मार्नलाई लिएर गए।

भजनसंग्रह 33:12-22

12 परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्।
    किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।
13 परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो
    अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।
14 उहाँले उच्च-आसनबाट
    तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।
15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो।
    परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।
16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन।
    कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।
17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्।
    तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।
18 परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्।
    जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।
19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ।
    जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।
20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं।
    उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।
21 परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ,
    हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।
22 हे परमप्रभु, हामी साँच्चो मनले तपाईंलाई पूज्दछौं।
    यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्।

हितोपदेश 9:1-6

ज्ञान र मूर्खता

ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी। उसले मासु पकाई अनि त्यसपछि दाखरस बनाई। उसले खाना टेबिलमाथि राखी। तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई। “तिमी मानिसहरू ज-जसलाई सिक्न आवश्यक छ, आओ।” उसले मूर्ख मानिसहरूलाई पनि निम्त्याउन भनी। “आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु। अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिँड।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International