Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the EHV. Switch to the EHV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 19:16-21:21

16 तेस्रो दिन बिहान बाक्लो बादल पर्वतमा झर्यो। त्यहाँ बिजुलीको चमक देखियो आकाशको गर्जनको साथै तुरहीको एकदमै चर्को आवाज सुनियो। छाउनीमा भएका मानिसहरू डराए। 17 तब मोशाले मानिसहरूलाई परमेश्वरसँग भेट गर्न अगुवाई गरे। तिनीहरू पर्वतको फेदिमा नै उभिए। 18 सीनै पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो। 19 तुरहीको आवाज झन्-झन् चर्को हुदै गयो। प्रत्येक पल्ट मोशाले परमेश्वरसित बोले परमेश्वरले उसलाई गर्जन जस्तो आवाजमा उत्तर दिनु भयो।

20 अनि परमप्रभु सीनै पर्वतमा ओर्लिनु भयो। परमप्रभु स्वर्गबाट पर्वतको टाकुरामा आउनु भयो। तब उहाँले मोशालाई पर्वतको टाकुरामाथि बोलाउनु भयो अनि मोशा पर्वतमाथि गए।

21 परमप्रभुले मोशालाई भन्नु भयो, “तल झर अनि मानिसहरूलाई मेरो नजिक नआउन र मलाई नहेर्ने चेताउनी देऊ। यदि तिनीहरूले त्यसो गरे धेरै जना मर्नेछन्। 22 पूजाहारीहरूलाई यो पनि भन जो परमप्रभुको सामुन्ने आउँछन् तिनीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। तिनीहरूले त्यसो गर्दैनन् भने तब म तिनीहरूलाई दण्ड दिनेछु।”

23 मोशाले परमप्रभुलाई भने, “तर मानिसहरू सीनै पर्वतमाथि आउन सक्तैनन्। तपाईं आफैले हामीलाई पवित्र भूमिमा धर्का कोर्नु अनि मानिसहरूलाई नाध्न नदिनु भन्नु भयो।”

24 परमप्रभुले उसलाई भन्नु भयो, “मानिसहरू कहाँ जाऊ, हारूनलाई भेट अनि आफूसँगै मकहाँ लिएर आऊ, तर पूजाहारी र मानिसहरूलाई मेरो नजिक आउन नदेऊ। यदि तिनीहरू नजिक आए म तिनीहरूलाई दण्ड दिनसक्छु।”

25 यसर्थ मोशा तल मानिसहरू भएकहाँ गए र तिनीहरूलाई यी सब कुराहरू बताए।

दश आज्ञाहरू

20 तब परमप्रभुले भन्नुभयो,

“म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ।

“तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।

“तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ। कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु। तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हुनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।

“विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैँ ध्यानमा राख। हप्तामा छ दिन आफ्नो काम गर। 10 तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन। 11 किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।

12 “तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्नु पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।

13 “तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।

14 “तिमीले व्यभिचार गर्नु हुँदैन।

15 “तिमीले कुनै चीज चोरी गर्नु हुँदैन।

16 “तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।

17 “तिमीहरूले छिमेकीहरूका घर, पत्नी, पुरूष अनि स्त्री, कमारा, कमारीहरू अथवा तिनीहरूको केही चीजहरूको चाहना गर्नु हुँदैन”

मानिसहरू परमेश्वरसित डराउँछन्

18 यस समयमा मानिसहरूले बेंसीमा गर्जनहरू सुने अनि पहाडमा आगो देखे। तिनीहरूले तुरहीको आवाज सुने। तिनीहरूले पर्वतबाट धुवाँ निस्केको देखे। मानिसहरू डराए र डरले कामे। तिनीहरू पर्वतदेखि धेरै टाढा उभिएर हेरे। 19 तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसँग कुरा नगरून्। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”

20 तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”

21 जब मोशा कालो बादलभित्र गए जहाँ परमेश्वर हुनु हुन्थ्यो मानिसहरू पर्वतदेखि टाढै उभिए। 22 तब परमप्रभुले इस्राएली मानिसहरूलाई यी कुराहरू भन्नु भनी मोशालाई भन्नु भयो, “स्वर्गबाट मैले तिमीसित कुरा गरेको तिम्रा मानिसहरूले देखे। 23 यसकारण म सँग-सँगै पूज्नको निम्ति चाँदी अथवा सुनको मूर्तिहरू नबनाऊ।

24 “मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेंडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशीर्वाद दिन्छु। 25 यदि ढुङ्गाको वेदी बनायौ भने फलामको हतियारले काटेको ढुङ्गाहरू नलगाऊ। तिमीहरूको धातुका हतियारले गर्दा वेदी अपवित्र हुन्छ। 26 वेदीसम्म पुग्ने सिंढीहरू नबनाऊ। वेदीसम्म जाने सिंढी बनाएर नउक्लनु किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता देखिनेछन। तिमीहरूको शरीर लुगाभित्र तलबाट देखिनेछ।”

अरू नियम अनि आज्ञाहरू

21 त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “तिमीले मानिसहरूलाई दिनु पर्ने अन्य नियमहरू यिनै हुन्;

“यदि तिमीहरूले हिब्रू कमारा-कमारी किन्यौ भने त्यसले तिमीहरूको छ बर्षसम्म मात्र सेवा गर्नेछन्। छः बर्षपछि ती स्वतन्त्र हुनेछन्। ती कमाराले तिमीलाई केही पनि तिर्नु पर्नेछैन। यदि त्यो मानिस, तिम्रो कमारा हुनअघि विवाह नगरेको भए पत्नी बिनै स्वतन्त्र हुनेछ। तर यदि त्यो मानिस कमारा हुनुअघि नै विवाह गरेको भए उसले आफू स्वतन्त्र हुँदा पत्नीलाई पनि साथै लिएर जानेछ। यदि कमारा अविवाहित छ भने उसको मालिकले उसलाई विवाह गराई दिन सक्नेछ। अनि त्यसरी विवाह भएपछि त्यसकी पत्नीबाट छोरा-छोरी जन्मे त्यसकी पत्नी तथा छोरा-छोरीहरू मालिकका हुन्छन्। त्यस कमाराले आफ्नो सेवा काल पूरा गरी आफू मात्र स्वतन्त्र भएर जानेछ।

“तर कमाराले भन्न सक्छ, ‘म आफ्नो मालिकलाई प्रेम गर्छु। म आफ्नी पत्नी र नानीहरूलाई पनि प्रेम गर्छु। यसकारण म स्वतन्त्र हुन मन पराउँदिन।’ यदि यस्तो परिस्थिति भए त्यस मालिकले उसलाई न्यायकर्त्ता अघि ल्याएर ढोका अथवा ढोकाको चौकटमा उभ्याउने छ र मालिकले कुनै सियोले उसको कान छेडी दिनेछ। त्यसो गरे पछि त्यो कमारा मालिकको सेवामा जीवन भरी रहनेछ।

“कुनै मानिसले आफ्नी छोरीलाई कमारीको रूपमा बेच्न चाहन्छ भने कमारा स्वतन्त्र हुने नियम उसलाई लागू हुँदैन। यदि मालिकले विवाह गर्ने योजनामा कमारी किन्छ तर उसित खुशी हुँदैन भने उसको बाबुलाई त्यो कमारी केटी किन्न दिनुपर्छ। त्यो मालिकले अरूलाई बेच्नु हुँदैन किनभने उसले त्यस कमारीलाई धोका दिएको छ। यदि त्यस मालिकले आफ्नी कमारी छोरोसित विवाह गरिदिने वचन दिए उसले त्यस केटीलाई कमारीलाई जस्तो व्यवहार गर्नु हुदैन तर आफ्नो छोरीलाई जस्तो व्यवहार गर्नुपर्छ।

10 “यदि मालिकले अर्की आइमाई विवाह गरे उसले पहिलेकी पत्नीलाई कम्ती खाना र कम्ती लुगा-फाटा दिनु हुँदैन। उसले उसको पहिलो पत्नीलाई लगातार दाम्पत्य अधिकार अवश्यै दिनुपर्छ। 11 मालिकले त्यस आइमाईको निम्ति यी तीन प्रकारको कार्यहरू गर्नै पर्छ। यदि उसले त्यसो नगरे त्यो आइमाईले स्वतन्त्रता पाउनु पर्छ अनि आफ्नो स्वतन्त्रताको निम्ति केही तिर्नु पर्दैन।

12 “यदि त्यस मानिसले कसैलाई हिर्काएर मार्छ भने त्यो मानिस पनि मारिनु पर्छ। 13 तर यदि कुनै घटना घट्छ र कुनै मानिसले कसैलाई योजना बिनै मार्छ भने, परमेश्वरको इच्छा अनुसार त्यस्तो भएको हो। म यस्तो जग्गा रोज्छु जहाँ मानिसहरू आफ्नो सुराक्षाको निम्ति भागेर जान सक्छन्। मानिसहरू, त्यस ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्छन्। 14 तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।

15 “कुनै मानिसले आफ्नो बाबु अथवा आमालाई चोट पुर्यउँछ भने त्यस मानिसलाई मार्नै पर्छ।

16 “यदि कुनै मानिसले कसैलाई कमारा बनाई बेच्न अथवा आफ्नै कमारा बनाउन चोरी गर्छ भने त्यस मानिसलाई मार्नै पर्छ।

17 “यदि कुनै मानिसले आफ्नो आमा-बाबुलाई सराप्छ भने त्यसलाई मार्नै पर्छ।

18 “मानिलेऊ त्यहाँ दुइजना मानिसहरू झगडा़ गरिरहेका छन्, अनि एउटाले अर्कोलाई मुड्की र ढुङ्गाले हिर्कायो। अथवा त्यो चोट लागेको मानिस मरेन, तर ओछ्यान लाग्यो। 19 यदि चोट लागेको मानिस उठेर लहुरोको भरमा यता उता हिंडछ भने हिर्काउनेले चोट लाग्ने मानिसलाई क्षतिपूर्ति दिनुपर्छ अनि स्वस्थ हुने समयसम्म सहायता गर्नुपर्छ।

20 “कोही मालिकले आफ्नो कमारा-कमारीलाई लट्ठीले कुट्छ अनि यस्तो हिकाईले उसको मृत्यु हुन्छ भने त्यो हत्याराले सजाय पाउनैपर्छ। 21 तर यदि कमारा-कमारी मरेन अनि एकदुइ दिनमा राम्रो भई हाल्यो भने हिर्काउने मानिसलाई सजाय हुँदैन। किनभने कमारा-कमारीको निम्ति उसले दाम तिरेको छ र कमारा कमारी उसका सम्पत्ति हुन्।

मत्ती 23:13-39

13 “शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफैं पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ। 14 [a]

15 “तिमी शास्त्रीहरू र फरिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौ यस्तो कोही मानिसहरू भेट्टायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ।

16 “यी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्याउँछौ। तिमीहरू भन्दछौ, ‘यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ’ 17 तिमीहरू अन्धो-मूर्खहरू हौ! सुन ठूलो हो की सुनलाई पवित्र पार्ने मन्दिर ठूलो?

18 “अनि तिमीहरू भन्दछौ, ‘यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।’ 19 तिमीहरू अन्धो हौ। भेटी कि भेटीलाई पवित्र तुल्याउने वेदी ठूलो हो? 20 जसले प्रतिज्ञा गर्नलाई वेदीको प्रयोग गर्छ उसले वेदी र त्यसमा भएका भेटी दुवै चीजलाई छोएर प्रतिज्ञा गरेको हुन्छ। 21 अनि जसले प्रतिज्ञा गर्नलाई मन्दिरको प्रयोग गर्छ उसले मन्दिर र मन्दिरमा बस्ने ‘एकलाई’ छोएर शपथ खाएको हुन्छ। 22 अनि जसले स्वर्गको नाउँमा शपथ लिन्छ उसले परमेश्वरको सिंहासन अनि त्यस सिंहासनमा बस्नेलाई छोएर शपथ लिएको हुनेछ।

23 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। आफूमा भएको हरेक चीजको, पुदीना, सूप र जीरा को दशांश भागमा एक भाग मात्र परमेश्वरलाई दिन्छौ। तर तिमीहरू असल हुने दया देखाउने र इमान्दार हुने जस्ता व्यवस्थाका प्रमुख कुराहरू लत्याउँछौ। तिमीहरूले ती कुराहरू पनि नलत्याइकन यी कामहरू गर्नुपर्ने हो। 24 तिमीहरू अन्धा छौ तर अरूलाई अगुवाइ गर्ने कोशिश गर्छौ। तिमीहरू भुसुना चाँहि चाल्दछौ तर ऊँटलाई चाँहि निल्दछौ। तिमीहरू त्यस्तै छौ।

25 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार हो। तिमीहरू कपटीहरू हौ। तिमीहरू आफ्नो थाल र बटुकोलाई बाहिरबाट मात्र धुन्छौ। तर भित्र भने अरूलाई ठगेर हत्याएका बस्तुहरू अनि तिमीहरू स्वयंलाई खुशी पार्ने चीजहरूले भरिएका हुन्छन्। 26 ए अन्धा फारिसीहरू पहिला प्यालाको भित्रपटि सफा गर र त्यसलाई चोखो बनाऊ। तब प्यालाको बाहिरी भाग पनि चोखो हुनेछ।

27 “व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्। 28 तिमीहरू पनि त्यस्तै हौ। बाहिरबाट तिमीहरूलाई राम्रै देखिन्छ। तर भित्र तिमीहरूमा छल र कपटले भरिएको छ।

29 “शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटीहरू हौ। अघिका अगमवक्ताहरूको लागी तिमीहरूले चिहान बनाउँछौ। असल मानिसहरूको चिहानहरू सिंगार्छौ। 30 अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’ 31 यसरी अगमवक्ताहरू मार्नेका सन्तान हामी हौं भन्ने स्वीकार आफैं तिमीहरू दिन्छौ। 32 यसकारण जाऊ अनि आफ्ना पुर्खाहरूले शुरू गरेका पापकर्म पुरा गर।

33 “तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ। 34 यसकारण म तिमीहरूलाई भन्दछु: म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्डयाउनेछौ। कसैलाई तिम्रा सभाघरमा कोर्रा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लघार्छौ।

35 “अनि पृथ्वीमा मारिएका सबै असल मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइँनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ। 36 म तिमीहरूलाई साँच्चो भन्दछु। यी सबै कुरा तिमीहरू नै अहिले बाँचिरहेका मानिसहरूमाथि आइलाग्नेछ।

येशूद्वारा यरूशलेमका मानिसहरूलाई चेताउनी

(लूका 13:34-35)

37 “हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई ढुङ्गाहान्छौ। धेरैपल्ट मैले तिम्रा मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्रा मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। 38 तब तिमीहरूको घर पनि उजाड बनाइनेछ। 39 म भन्दछु, ‘अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन्,’ भन्दै उसलाई स्वागत नगरून्जेल सम्म तिमीहरूले मलाई देख्नेछैनौ।”(A)

भजनसंग्रह 28

दाऊदको भजन।

हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ।
म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु।
    मेरो प्रार्थनाहरू सुन्नकोलागि कान नथुन्नुहोस्!
यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने,
    मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरू भन्दा पनि कमजोर छु।
हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु।
    जब म बोलाउँछु मलाई सुनि दिनुहोस्।
    मप्रति दया दर्शाउनु होस्।
हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्।
    तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”[a] शब्दसँग स्वागत गर्दछन,
    तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।
हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्।
    यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्।
    तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।
दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्।
    उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्।
परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुने छ,
    अनि फेरि सम्वृद्धि बनाऊनु हुने छैन।

परमप्रभुको प्रशंसा गर।
    उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो।
परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ,
    म उहाँमाथि सम्पूर्ण हृदयले भरोसा गर्छु,
उहाँले मलाई सहायता गर्नु हुन्छ, यसकारण म खुशी छु,
    र उहाँको प्रशंसाको गीत गाउँछु।
परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ।
    परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ।

हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्।
    जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्।
    तिनीहरूको अनन्त अगुवाई र सम्मान गर्नुहोस्।

हितोपदेश 7:1-5

ज्ञानले तिमीलाई व्यभिचारिणीबाट टाढा राख्छ

हे मेरो छोरो! मेरा सल्लाहहरू सम्झि राख्। मेरा आज्ञाहरू बहुमूल्य सम्पत्ति झैं संचय गरिराख्। तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख। तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख। ज्ञानलाई भनः “तिमी मेरी बहिनी हौ।” समझशक्तिलाई भन, “तिमी मेरो आफन्त हौ!” तब तिमीलाई तिनीहरूले अर्को मानिसको चिप्लो कुरा गर्ने पत्नीसँग शारीरिक सम्बन्ध हुनबाट बचाउँछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International