Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the NIV. Switch to the NIV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 39-40

पूजाहारीहरूका विशेष पोशाकहरू

39 पूजाहारीहरूले पवित्र स्थानमा सेवा गर्दा लगाउने विशेष लुगाहरू बनाउदा ती चित्रकारहरूले निलो, बैजनी अनि राता धागोको प्रयोग गरे। परमप्रभुले मोशालाई आज्ञाहरू दिए अनुसार तिनीहरूले हारूनको निम्ति विशेष लुगाहरू बनाए।

एपोद

तिनीहरूले एपोद सुनको धागो, मिहीन सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोले बनाए। तिनीहरूले सुनलाई पिटेर पातलो च्याप्टो पारे अनि त्यसलाई काटेर धागो बनाए। तिनीहरूले यी धागोलाई दक्षतापूर्वक मसिनो सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोहरूसित मिलाएर काम गरे। तिनीहरूले एपोदको निम्ति काँधको टुक्वाहरू बनाए अनि एपोदको दुइवटा छेऊ बाँधिदिए। एपोद जस्तै तिनीहरूले यो मिहीन सुती लुगा सुनको धागो, निलो बैजनी अनि रातो धागोले बनाए। तिनीहरूले यसलाई परमेश्वरले मोशालाई आज्ञा दिनु भए अनुसार बनाए।

ती शिल्पकारहरूले एपोदको सुनको घेराहरूमा गोमेद पनि लगाए। त्यसका मणिहरूमा तिनीहरूले इस्राएलीहरूको छोराको नाउँ कुँदे। तिनीहरूले यी मणिहरू एपोदको कुमका टुक्राहरूमा जोडिदिए। यी मणिहरूले परमेश्वरलाई इस्राएलीहरूको सम्झना गराउँछन्। तिनीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।

न्यायको छाती-पाता

तब तिनीहरूले न्यायको थैली बनाए। एपोद झैं यो निपुणता पूर्वक बनाए। यो सुनको धागो, मसिनो मिहीन सुती लुगा, निलो, बैजनी र रातो धागोले बनाइएको थियो। न्यायको छाती-पाता वर्गादार जेब बनाउन पट्टाएर आधा बनाइएको थियो। यो एक बित्ता लामो अनि एक बित्ता चौंडाको थियो। 10 त्यसपछि कर्मीहरूले न्यायको छाती-पातामाथि सुन्दर रत्नहरूको चार लहर गरी मणि लगाए। पहिलो लहरमा माणिक, पुष्पराज र पन्ना थियो। 11 दोस्रो लहरमा नीर लाल हीरा थियो। 12 तेस्रो लहरमा धमकान्त, सूर्यकान्त र मर्तिस थियो। 13 अनि चौथोमा लहर पिरोज, गोमेद र स्फटिकको थियो। यी मणिहरू सुन कुँदिएका थिए। 14 न्यायको छाती-पाता भित्र बाह्रबटा रत्नहरू थिए। त्यहाँ एउटा रत्न इस्राएलीको प्रत्येक वंशका निम्ति थियो। प्रत्येक इस्राएलीको नाउँ एउटा रत्नमाथि खोपिएको थियो।

15 न्यायको छाती-पाताको निम्ति कर्मीहरूले शुद्ध सुनका दुइवटा साङ्गली बनाए। ती साँङ्गलीहरू डोरी झैं बटारिएका थिए। 16 तिनीहरूले सुनको दुइवटा मुन्द्रीहरू बनाए न्यायको थैली दुइ कुनामा अड्काए। तिनीहरूले सुनको दुइवटा घेराहरू (कुमामाथि एपोदको लागि टुक्राहरू) बनाए। 17 तिनीहरूले थैलीको कुनाहरूमा सुनको मुन्द्रीहरूबाट साँङ्गली हाले। 18 तिनीहरूले सुनको साँङ्गलीको अर्को पट्टिको अन्त कुमको जोडेको घेरा सुनमा लगाए। तिनीहरूले यो एपोदको अघिल्लो भागमा बाँधे। 19 तिनीहरूले न्यायको छाती-पातामा अन्य दुइ कुनामा अरू दुइवटा सुनको मुन्द्रीहरू जोडे। यो एपोदको छेउमा न्यायको छाती-पाताको किनारा भित्रपट्टि थियो। 20 तिनीहरूले सुनका दुइवटा मुन्द्रीहरू एपोदको काँधको टुक्रामा लगाए। यो मुन्द्रीहरू गाँसिने ठाउँको छेउमा पेटीको अलिकतिमाथि थियो। 21 त्यसपछि तिनीहरूले न्याय थैलीमाथिको मुन्द्रीहरूदेखि एपोदमाथिको मुन्द्रीहरू बाँध्न निलो डोरी प्रयोग गरे। यसप्रकारले न्याय थैली एपोदसित बलियोसँग बाँध्न सकिन्थ्यो। तिनीहरूले प्रत्येक चीज परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार नै गरे।

पूजाहारीहरूको निम्ति अन्य पोशाकहरू

22 त्यसपछि तिनीहरूले एपोदको निम्ति लबेदा बनाए। निपुण शिल्पकारले बुनेको निलो लुगाबाट तिनीहरूले यो लबेदा बनाए। 23 लबेदाको बीचमा तिनीहरूले एउटा दुलो पारे अनि त्यस दुलोको वरिपरि एउटा लुगाको टुक्रा लगाएर सिलाए जसले गर्दा त्यो दुलोको छेऊ नच्यातियोस्।

24 तिनीहरूले मसिनो गरी बाटेको सुतीको लुगा अनि निलो, बैजनी अनि राता धागाहरू प्रयोग गरेर सबै लुगाको फेरा वरिपरि दारिमहरू बनाए। 25 फेरि तिनीहरूले शुद्ध सुनका घण्टीहरू बनाए अनि तिनीहरूले ती घण्टीहरूलाई लुगाको फेरोमा दारिमहरूको बीचमा झुण्डाइदिए। 26 परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार नै तिनीहरूले घण्टीहरू अनि दारिमहरू एकपछि अर्को गर्दै पोशाकको फेरोमा वरिपरि झुण्ड्याईदिए।

27 निपुण शिल्पकारहरूले हारून र तिनका छोराहरूको निम्ति कमेजहरू बुने। यी कमेजहरू मसिनो सुती कपडाबाट बनिएका थिए। 28 ती शिल्पीहरूले मसिनो सुती लुगाले फेटाहरू पनि बनाए। टोपी अनि भित्री लुगाहरू पनि तिनीहरूले मिहीन सुती लुगाबाट बनाए। 29 जस्तो मोशालाई परमप्रभुले आज्ञा दिनु भएको थियो, तिनीहरूले मसिनो सुतीको लुगा, निलो, बैजनी अनि रातो कातेको धागो लगाएर बुट्टा भरेको पेटी बनाए।

30 तब तिनीहरूले शुद्ध सुनबाट पवित्र मुकुटमा लगाउने पातो बनाए त्यस पातोमाथि यी शब्दहरू खोपे: परमप्रभुको निम्ति पवित्र 31 तिनीहरूले पातोलाई निलो डोरीले बाँधे, तब तिनीहरूले निलो डोरीले फेटामा बाँधे परमप्रभुले मोशालाई आज्ञा दिए जस्तै गरे।

मोशा पवित्र पाल निरीक्षण गर्छन्

32 परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेटहुने पाल निर्माण समाप्त गरे। 33 तब तिनीहरूले समाप्त भएका सबै कुराहरू मोशाकहाँ ल्याए जस्तै पवित्र पाल अनि पालहरू भित्रको सबै चीजहरू अंकुसेहरू, बारहरू, फल्याकहरू र आधार खाम्बाहरू। तिनीहरूले मोशालाई पाल छोप्न रातो रङ्गाले रङ्गाएको भेंडाको छालाले बनाएको ढकनी देखाए। 34 तिनीहरूले मोशालाई बाख्राको सुकेको रातो छालाले बनिएको पाल छोप्ने सील छालाबाट बनाइएको पर्दा देखाए। अनि तिनीहरूले अति पवित्र स्थानको प्रवेशद्वार ढाक्ने पर्दा पनि मोशालाई देखाए।

35 तिनीहरूले मोशालाई करारको सन्दूक देखाए। तिनीहरूले तिनलाई सन्दूक बोक्ने डण्डाहरू, सन्दूकको कृपा-आसान पनि देखाए। 36 तिनीहरूले उनलाई टेबल अनि यसको सबै भाँडा-वर्तनहरू र विशेष रोटी पनि देखाए। 37 तिनीहरूले मोशालाई शुद्ध सुनले बनिएको सामदान दियोहरू, सामदानको निम्ति प्रयोग गरिने सबै सामानहरू अनि बत्तीहरू बाल्नको निम्ति तेल देखाए। 38 तिनीहरूले मोशालाई सुनको वेदी, अभिषेक गर्ने तेल, सुगन्धित धूप पालमा जाने द्वार र ढाक्ने पर्दा पनि देखाए। 39 तिनीहरूले उनलाई काँसाको वेदी, काँसाको कोरेसो अनि (वेदी बोक्न प्रयोग हुने) डण्डाहरू देखाए। तिनीहरूले उनलाई वेदीमा प्रयोग गरिने प्रत्येक चीजहरू देखाए तिनीहरूले उसलाई हात खुट्टा धुने कचौरा अनि यसको आधार देखाए।

40 तिनीहरूले मोशालाई आँगनको निम्ति पर्दाहरू, यसको खम्बाहरू, खम्बाको आधारहरू, आँगनको प्रवेशद्वारका निम्ति पर्दा र डोरीहरू, पाल-कीलाहरू अनि पवित्र स्थान जुन भेट हुने पाल हो त्यहाँ चाहिने सबै चीजहरू देखाए।

41 त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हारून र उसका छोराहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो।

42 इस्राएली मानिसहरूले प्रत्येक चीज नै परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार गरे। 43 जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए।

मोशा पवित्र पाल स्थापना गर्छन्

40 तब परमप्रभु मोशालाई भन्नु हुन्छ, “पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ। पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ। त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ। धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।

“तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख। भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल। आँगनको वरिपरि पर्दाको पर्खाल लगाऊ। तब आँगनको प्रवेश द्वारको अघि पर्दा लगाऊ।

“अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ। 10 होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ। 11 बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर।

12 “हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ। 13 त्यसपछि हारूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ। 14 त्यसपछि उसका छोराहरूलाई लुगा लगई देऊ। 15 छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।” 16 परमप्रभुले आज्ञा गर्नु भए अनुसार नै मोशाले प्रत्येक चीज गरे।

17 त्यसकारण पवित्र पाल ठीक समयमा स्थापन गरियो। इस्राएलीहरूले मिश्र छोडेको यो दोस्रो बर्षको पहिलो महीनाको पहिलो दिन थियो। 18 मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए। 19 तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे।

20 मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके। 21 तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे। 22 तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे। 23 तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे। 24 उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे। 25 उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे।

26 तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे। 27 तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे। 28 तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए।

29 मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।

30 तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे। 31 मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे। 32 तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे।

33 मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे।

परमप्रभुको महिमा

34 भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल भरिपूर्ण भयो। 35 बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेटहुने पालभित्र जान सकेनन्।

36 जब बादल पवित्र पालबाटमाथि उठ्थ्यो इस्राएलीहरूले आफ्नो यात्रा शुरू गर्थे। 37 तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिंड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादल माथि नउठुन्जेलसम्म एकैठाउँमा बसिरहन्थे। 38 यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।

मर्कूस 1:1-28

येशूको आगमन

(मत्ती 3:1-12; लूका 3:1-9,15-17; यूहन्ना 1:19-28)

येशू ख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाले भनेका घट्नाबाटै आरम्भ हुन्छ। यशैयाले लेखेकाछन्:

“सुन! म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु,
    जसले तिम्रो बाटो तयार पार्नेछन्।”(A)

“उजाड-स्थानमा कोही कराइहेकोछः
‘परमप्रभुको बाटो तयार पार,
    उहाँका गोरेटोहरू सोझो बनाओ।’”(B)

बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा[a] दिनु पर्छ। यसरी तिनीहरूको पापहरूको क्षमा हुनेछन्। यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।

यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।

त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः “मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ। म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”

येशूको बप्तिस्मा भयो

(मत्ती 3:13-17; लूका 3:21-22)

त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए। 10 जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो। 11 स्वर्गबाट एउटा आवाज आयो अनि भन्योः “तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।”

येशूको परीक्षा

(मत्ती 4:1-11; लूका 4:1-13)

12 त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो। 13 चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसँग हुनुहुन्थ्यो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मद्दत गरे।

गालीलमा येशूको कामको आरम्भ

(मत्ती 4:12-17; लूका 4:14-15)

14 त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। 15 येशूले भन्नुभयो, “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।”

येशूले केही चेलाहरू छान्नु हुन्छ

(मत्ती 4:18-22; लूका 5:1-11)

16 गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए। 17 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।” 18 त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।

19 येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।

20 तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दुइ दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरू आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए।

येशूद्वारा दुष्टात्मा भएको मानिसको उद्धार

(लूका 4:31-37)

21 येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो। 22 त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो। 23 जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो। 24 त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।”

25 येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्, त्यस मानिसबाट निस्केर बाहिर आइज!” 26 त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो।

27 सबै मानिसहरू छक्क परे, र तिनीहरूले एक-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहनु भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।” 28 अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जताततै फैलियो।

भजनसंग्रह 35:1-16

दाऊदको भजन।

हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्।
    मेरा लडाईँहरू लडिदिनु होस्!
हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्।
    उठ्नु होस् र मलाई सहायता गर्नुहोस्।
भाला र बर्छा लिनुहोस्
    अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लड्नु होस्।
परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।”

कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्।
    तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्।
    तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्।
यसर्थ तिनीहरूलाई जित्नु होस्
    र लज्जित पार्नु होस्।
तिनीहरूलाई हावाले उडाउने भूस[a] जस्तो बनाउनु होस्।
    तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्।
तिनीहरूका बाटोहरू अँध्यारो चिप्ला हुन्।
    परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्।
मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे।
    कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।
यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्।
    तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्।
    तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्।
तब म परमप्रभुमा हर्षित रहनेछु।
    जब उहाँले मलाई बचाउनु हुनेछ म हर्षित हुनेछु।
10 मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ,
    “हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ,
तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस्
    तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”
11 झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्,
    म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्।
12 मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्।
    हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्।
13 जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे।
    मैले उपवास बसेर आफ्नो शोक प्रकट गरें।
    (हुनसक्छ मैले तिनीहरूका निम्ति गर्को प्रार्थनाको उत्तर पाईंन।)
14 मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें।
    कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ।
    मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ।
    म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें।
15 तर जब मैले भूल गरें ती मानिसहरू ममाथि हाँसे।
    तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्,
म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ।
    तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे।
16 तिनीहरूले गाली गरे र मेरो खिसी गरे।
    तिनीहरूले मतर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।

हितोपदेश 9:11-12

11 किनभने ज्ञानले तिमीलाई लामो समय सम्म बाँच्न सहायता गर्नेछ र तिम्रो आयुमा बर्षहरू थपिने छन्। 12 यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International