Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CEV. Switch to the CEV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
प्रस्थान 37-38

करारको सन्दूक

37 बजलेलले बबुल काठको पवित्र सन्दूक बनाए। त्यो सन्दूकको लम्बाई दुइ हात आधा, चौंडाइ र उचाइ एक हात आधाको थियो। त्यसको भित्र र बाहिर उसले सुनले मोहोर्यो उसले सन्दूकको वरिपरि सबैमा सुनको घेरा बनाए। सन्दूकको एकपट्टि दुइवटा मुन्द्री लगाए। उसले बबुल काठका डण्डाहरू बनाए अनि तिनीहरूलाई सुनले मोहोरी दियो। उसले डण्डाहरू सन्दूकको दुवै भागमा भएका मुन्द्रीहरू भित्र घुसार्यो। यी डण्डाहरू सन्दूक बोक्न प्रयोग गर्थे। तब सन्दूकको आवरण शुद्ध सुनले बनाए। यो दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको थियो। तब आवरणको प्रत्येक छेउममा बजलेलले करूब स्वर्गदूतको सुनको दुइवटा आकृतिहरू कुँदे। उनले एउटा करूब स्वर्गदूतलाई आसनको एक छेउमा राखे, उनले अर्को करूब स्वर्ग दूतलाई आसनको अर्को छेउमा राख्यो, र करूब स्वर्गदूतलाई आसनसित जोडे तिनीहरू एउटै भए। करूब स्वर्गदूतका पखेंटाहरू आसनमाथि फैलिएका थिए, र तिनीहरूले त्यसलाई ढाकेका थिए। स्वर्गदूतहरू एक-अर्काका सम्मुख आसनभित्र हेरिरहेका थिए।

विशेष टेबल

10 बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो। 11 उनले टेबललाई शुद्ध सुनले मोहोरी दिए अनि सुनको घेरा टेबलको वरिपरि बनाए। 12 उनले टेबलको वरिपरि चार औंलो ठूलो ताक्ता बनायो। उनले फल्याकको वरिपरि सबैतिर सुनले मोहोरी दियो। 13 फेरि उनले सुनको चारवटा मुन्द्रीहरू बनाए र त्यस टेबलको चारकुनामा र खुट्टाको छेउमा लगाए। 14 उनले फल्याकको नजिकै मुन्द्रीहरूलाई जोडे। डण्डाहरू मुन्द्रीहरूभित्र टेबल बोक्न लगाए। 15 तब उनले बबुल काठको डण्डा बनाए अनि यसलाई सुनले मोहोर्यो। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर्थे। 16 त्यसपछि उनले टेबलमा प्रयोग गरिने वस्तुहरू थालहरू, धुपौरोहरू, कोपरा पेयबलि चढाउनको लागी गाग्री बनाए यी सबै शुद्ध सुनबाट बनाएका थिए।

सामदान

17 त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाएर एकै ठाँउ जोडे। 18 त्यो सामदानको एकापट्टि तीनवटा र अर्को तिर तीनवटा गरी जम्मा छ वटा शाखाहरू थिए। 19 प्रत्येक शाखामा तीनवटा फूलहरू थिए। यी फूलहरू वदामको फल जस्तै र त्यससित कोपिला र पत्रहरू पनि थिए। 20 त्यो सामदानको डण्डामा चारवटा फूलहरू थिए। तिनीहरूको आकार बदामको फूलसित कोपिला अनि पातहरू जस्ता थिए। 21 सामदानका दुइ पाटाबाट निकालिएको तीन तीनवटा गरी छ वटा शाखामा फूल, कोपिला र पत्रहरू थिए। ती फूलहरू शाखा निस्किएको ठाउँमा थिए। 22 सबै फूल सामदानका, हागाहरू शुद्ध सुनबाट बनाए। यी सबै भाग एउटै बनाउनलाई सँगै जोडिएका थिए। 23 उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए। 24 उनले एक तोडा शुद्ध सुनको सामदान अनि सबै सामग्री बनाए।

धूप जलाउँनको निम्ति वेदी

25 बजलेलले वेदी बनाउनका लागि बबुल काठका उपयोग गरे। यो वेदी धूप बाल्नमा उपयोग हुन्थ्यो। यो एक हात लामो, एक हात चौंडा अनि दुइ हात उँचाईको थियो। यो वेदी वर्गकार थियो। प्रत्येक कुनामा एक-एकवटा गरी यस वेदीमा चावटा सींङहरू थिए। यी सींङहरू एउटै बनाउनलाई वेदीसित जोडिएको थियो। 26 उनले सिङहरूमाथि अनि सींङका पाटाहरू शुद्ध सुनर त्यसपछि वेदीको वरिपरि सुन पगालेर घेरा ठोके। 27 उनले सुनको दुइवटा मण्डपहरू बनाएर वेदीको दुवै पट्टि मोहोरेको भित्र जोडीदिए। यी मुन्द्रीहरू वेदी उठाएर कतै लाँदा डण्डाहरू घुसार्ने काममा प्रयोग हुन्थे। 28 उनले त्यसपछि बबुल काठको डण्डा बनाएर त्यसलाई सुनले मोहोरे।

29 त्यसपछि उनले अभिषेक गर्ने पवित्र तेल अनि सुगन्धित शुद्ध धूप बनाए। उनले सबै चीजहरू सुगन्धित अत्तर बनाउनेले झैं बनाए।

होमबलिको निम्ति वेदी

38 त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौंडा अनि तीन हात अग्लो थियो। उनले यस वेदीको चार कुनामा लगाउन चारवटा सींङहरू बनाए। उनले वेदीलाई काँसाले मोहरे। त्यसपछि उनले त्यस वेदीमा प्रयोग गरिने हतियारहरू सबै काँसाकै बनाए। उनले भाँडाहरू, करूबहरू, काँटा र तावाहरू सबै काँसाको बनाए। त्यसपछि उनले वेदीको निम्ति एउटा जाली बनाए अनि यसको मनि उसले किनारा राख्यो। यो वेदीको आधा भागसम्म पुगेको थियो। त्यसपछि उनले डण्डाहरूलाई समात्न चारवटा काँसाको मुन्द्रीहरू बनायो। यी मुन्द्रीहरू चार किनाराहरूमा थिए। उसले वेदी बोक्ने डण्डा बबुल काठका बनाएर त्यसलाई काँसाले मोहरे। वेदी बोक्न मुन्द्रीहरूमा डण्डा हाले। वेदी रित्तो सन्दूक झैं खोक्रो फल्याकले बनिएको थियो।

उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।

पवित्र पाल वरिपरिको आँगन

उनले सबै आँगनको वरिपरि पर्दाहरूको पर्खाल बनाए। दक्षिणति एक सय हात लामो पर्दाहरू पर्खाल बनाए। पर्दाहरू मिहीन सुती लुगाको बनाए। 10 बीसवटा खम्बाहरूले दक्षिण तिरको पर्दाहरूलाई सहारा दिएको थिए। ती खम्बाहरू बीसवटा काँसाका आधारहरूमाथि थिए। खम्बाहरू र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए। 11 आँगनको उत्तर तिर एक सय हात लामो पर्दाहरूको बार जस्तो थियो। त्यहाँ पनि बीसवटा खम्बाहरू र तिनीहरूलाई अड्याउन बीसवटा खम्बाको निम्ति काँसाका आधारहरू थिए। खम्बा र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।

12 आँगनको पश्चिम तिर पचास हात लामा पर्दाहरूको बार थियो। त्यहाँ दशवटा खम्बाहरू र दशवटा आधारहरू थिए। खम्बाहरू र पर्दाको लागि अंकुसहरू चाँदीका बनाएको थिए

13 आँगनको पूर्व पट्टिको लम्बाई पचास हात थियो। आँगनको प्रवेशद्वार यही दिशामा थियो। 14 प्रवेशद्वारको एकापट्टि भएको पर्दाको पर्खालको लम्बाई पन्ध्र हात थियो। त्यता पट्टि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए। 15 प्रवेशद्वारको अर्को तिरको पर्खालको लमाई पनि पन्ध्र नै थियो। त्यहाँ पनि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए। 16 आँगन वरिपरि लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएका थिए। 17 खम्बाको निम्ति आधारहरू काँसाको बनिएका थिए। अंकुसेहरू र पर्दाका डण्डाहरू चाँदीले बनिएका थिए। खम्बाकोमाथिल्लो भाग चाँदीले मोहोरेको थियो। आँगनमा लगाइएका सबै खम्बाका पर्दामा चाँदीको डण्डाहरू लगाइएका थिए।

18 आँगनको मूलद्वारमा लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएको र रातो, बैजनी र निलो धागोले बुटा भरेका थिए। पर्दाहरूमा बुट्टा बनाइएको थियो। आँगन वरिपरिका पर्दा बीस हात लामो र पाँच हात अग्ला थिए। 19 यो पर्दालाई काँसाको आधारमा उभ्याइएका चारवटा खम्बाहरूमा अंकुसेहरू थियो। खम्बाहरूसित लगाइएको अङकुसेहरू चाँदीका थिए। पर्दाका डण्डाहरू र खम्बाका शिरमा चाँदीले मोहोरिएका थिए। 20 पवित्र पालको र आँगन वरिपरि लगाइएका पर्दाका कीलाहरू काँसाले बनिएका थिए।

21 पवित्र पालमा प्रयोग गरिएका सबै चीजहरूको सूची बनाउन मोशाले लेवी मानिसहरूलाई आज्ञा दिए। जस्तै करारको मण्डप हारूनका छोरो ईतामार त्यो सूची बनाउने मानिस थियो।

22 यहूदा वंशको नाति अनि ऊरीका छोरो बजलेलले प्रत्येक चीज मोशालाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार बनाए। 23 दान वंशको अहीसामाकको छोरो ओहोलीआबले पनि उसलाई सहायता पुर्याए। ओहोलीआब एक शिल्प कर्मी तथा चित्रकार थिए। ऊ पनि मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोले बुट्टा बुन्न निपुण थिए।

24 पवित्र स्थान निर्माण गर्न उनन्तीस तोडा र सात सय तीस शेकेलभन्दा ज्यादा सुन परमप्रभुलाई बलिदानको रूपमा भेटी चढाए। (यो ओजन मन्दिरका अधिकारी अनुसार थियो।)

25 सबै गन्ती गरिएका मानिसहरूले लगभग एक सय तोडा अझै एक हजार सात सय पचत्तर शेकेल चाँदीहरू चढाए। (अधिकारीहरू द्वारा गरिएको ओजन) 26 त्यहाँ छ लाख तीन हजार पाँच सय पचास जना मानिसहरू (बीस बर्ष अथवा त्यो भन्दा ज्यादा उमेर मानिसहरूको गन्ती गरिएको थियो।) प्रत्येक मानिसले अधिकारीले प्रयोग गरेको ओजन अनुसार आधा शेकेल चाँदी तिर्नु पर्थ्यो। 27 परमप्रभुको पवित्र पाल अनि पर्दाहरूको निम्ति एक सय आधारहरू बनाउँदा तिनीहरूले एक सय तोडा चाँदी प्रयोग गरे। तिनीहरूले प्रत्येक आधारको निम्ति एक तोडा चाँदी खर्च गरे। 28 थोरैभन्दा थोरै सत्र सय पचहत्तर शेकेल चाँदी पर्दाको निम्ति अंकुसेहरू बनाउन र खाम्बाहरू मोहोर्न प्रयोग गरे।

29 अनि सत्तर तोडा अनि दुइ हज्जार चार सय शेकेल काँसा भन्दा वेशी परमप्रभुका निम्ति चढाईयो। 30 त्यो काँसा भेट हुने पालको प्रवेशद्वारको आधारहरू बनाउनमा प्रयोग गरे। तिनीहरूले पीत्तलको वेदी, काँसाको जाली र वेदीमा चाहिने समानहरू बनाए। 31 काँसा आँगन वरिपरि र प्रवेश द्वारको पर्दाहरूको निम्ति आधारहरू बनाउन पनि प्रयोग गरे। अनि पवित्र पालको कीलाहरू र आँगन वरिपरिका पर्दाको कीलाहरू बनाउँदा पनि प्रयोग गरे।

मत्ती 28

येशू बौरी उठेको समाचार

(मर्कूस 16:1-8; लूका 24:1-12; यूहन्ना 20:1-10)

28 विश्रामको भोलिपल्ट सप्ताहको पहिले दिन थियो। पहिलो दिनको झिसमिसे उज्यालो हुदाँ मरियम मग्दलिनि र मरियम नाम गरेकी अर्की स्त्रीहरू चिहान हेर्न गए।

त्यसबेला त्यहँ ठूलो भूँईंचालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे। ती स्वर्गदूत बिजुली जस्तै चम्किला थिए। उनको लुगाफाटा हिउँ जस्तो सेतो थियो। ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे।

त्यो स्वर्गदूतले भने, “तिमीहरू डराउनु पर्दैन। म जान्दछु तिमीहरू येशूलाई खोजिरहेका छौ, जसलाई क्रूसमा झूण्ड्याएर मारिएको थियो। तर येशू यहाँ हुनुहुन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएको छ, उहाँले पहिले नै भन्नुभए जस्तै। आऊ, अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो। अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन्, ‘येशू पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नु हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।’” फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।”

त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घट्नाको विषयमा सुनाउन दगुरे। तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, “अभिवादन छ!” ती आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे। 10 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।”

यहूदी प्रमुखहरूलाई सूचना

11 तिनीहरू त्यहाँ उहाँका चेलाहरूलाई भन्न हिंडे। केही समयपछि चिहानलाई पहरा दिइरहेका सैनिकहरू शहरमा गए। तिनीहरू प्रमुख पूजाहारीहरूकहाँ गए अनि तिनीहरूलाई सम्पूर्ण घट्ना बारे सुनाए। 12 तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए। 13 तिनीहरूले सैनिकहरूलाई भने, “मानिसहरूलाई भन्नू कि राती हामी निदाइरहेको बेला येशूका चेलाहरू आएर उहाँको लाश लिएर गए। 14 कतै बडा हाकिमको कानमा यो खबर पुग्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई कुनै पनि अप्ठेरोबाट मुक्त गर्नेछौं।” 15 तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।

येशूका आफ्ना चेलाहरूसँग कुराकानी

(मर्कूस 16:14-18; लूका 24:36-49; यूहन्ना 20:19-23; प्रेरित 1:6-8)

16 एघारजना चेलाहरू गालील गए। 17 येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाँडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर कुनै-कुनै चेलाहरूलाई बिश्वास गरेनन् की तिनी साँच्चै येशू हुन्। 18 येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ। 19 यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ। 20 जे जे मैले तिमीहरूलाई आज्ञा गरें ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”

भजनसंग्रह 34:11-22

11 केटा-केटीहरू मलाई ध्यान देऊ,
    म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ
    र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;
    त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।
    शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।
    उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्।
    उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!

17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।
    उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्।
    परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ।
    अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्,
    तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।
    एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।
    असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।
    उहाँले तिनीहरूलाई ध्वंश हुन दिनु हुनेछैन।

हितोपदेश 9:9-10

ज्ञानी मानिसलाई अर्ती दियो भने ऊ अझैं ज्ञानी हुन्छ। त्यसरी नै एउटा धर्मी मानिसलाई सिकायो भने उसले ज्ञान धेरै बढाउनेछ।

10 परमप्रभुलाई आदर गर्नुको अर्थ ज्ञान प्राप्त गर्ने पहिलो पाइलो हुन्छ, अनि पवित्र परमप्रभुको ज्ञान नै समझशक्ति हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International