Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CEV. Switch to the CEV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
लेवी 1-3

बलिदानहरू अनि भेटीहरू

परमप्रभुले मोशालाई भेट हुने पालबाट भन्नुभयो, “इस्राएली मानिसहरूलाई भन जब तिनीहरू मध्ये कुनै मानिसले परमप्रभुको निम्ति बलि चढाउँछ भने, त्यो तिनीहरूको आफ्नो गाई-गोरू तथा भेंडा-बाख्राहरूको बगालबाट हुनुपर्छ।

“यदि उसले गोरू होमबलि चढाउँछ भने, त्यो निष्खोट बाछो हुनुपर्छ। उसले बाछो भेट हुने पालको ढोकामा चढाउनु पर्छ जसले गर्दा त्यो परमप्रभुलाई ग्रहण योग्य हुनेछ। उसले आफ्नो पापको प्रायश्चितको निम्ति मारिन लागेको पशुमाथि आफ्नो हात राख्नु पर्छ। अनि परमप्रभुले त्यस व्यक्तिलाई शुद्ध गराउन होमबलि ग्रहण गर्नुहुनेछ।

“पछि त्यो बाछो परमप्रभुको सामुन्ने मारोस् तब हारूनका पूजाहारी छोराहरूले भेट हुने पालको ढोका नजिक भएको वेदी वरिपरि त्यसको रगत छर्किउन्। तब त्यो बाछो अथवा पशुको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारियोस्। तब पूजाहारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो सल्काउन्। हारूनका छोराहरू अर्थात पूजाहारीहरूले वेदीमा बलेको आगोमाथि बाछो अथवा पाठोको टाउकाका टुक्राहरूको बोसो वेदीको आगोको दाउरा माथि मिलाएर राखुन्। त्यसपछि पूजाहारीले त्यस पशुको खुट्टाहरू र त्यसको भित्रि भागहरू पानीले पखालोस् र ती सबै पूजाहारीले आगोद्वारा वेदीमा जलाओस् यो आगोद्वारा परमप्रभुलाई मन पर्ने सुगन्धित होमबलि समर्पण गरिएको हुनेछ।

10 “यदि उसको भेटी पशु हो भने, पाठो अथवा थुमा निष्खोट हुनुपर्छ। जब बलिदानहरू चढाउँदा उसले पाठो अथवा बोका चढाउनुपर्छ। 11 उसले वेदीको उत्तरपट्टि परमप्रभुको सामुन्ने त्यो काटेर मारोस् अनि पूजाहारी हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि सबैतिर छर्किउन्। 12 तब त्यो बलि टुक्रा-टुक्रा पारेर काटोस् आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पखालोस् अनि वेदीको दाउराको आगोमा पूजाहारीहरूले ती टुक्राहरू, बोसो र टाउको जलाओस। 13 त्यसपछि उसले आन्द्रा-भुँडी र अघि पछिका खुट्टाहरू पानीले पखालोस् र पूजाहारीहरूले ती सबै आगोमा जलाएर भष्म गरोस्। त्यही बलि परमप्रभुको निम्ति सुगन्धित होमबलि हुनेछ।

14 “यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ। 15 पूजाहारीले त्यो बलि वेदीमा ल्याएर टाउको निमोठेर चुँडाओस् र वेदीमा जलाओस्, अनि त्यस परेवाको रगत वेदी भएको ठाउँमा निकाली देओस्। 16 त्यसपछि उसले त्यसको गलामा भएको खाद्य थैली[a] निकालोस् अनि वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्। 17 त्यसपछि त्यसलाई पूजाहारीले नटुक्र्यइकन परेवाको बीचबाट चिरोस् अनि पूजाहारीले त्यो बलि वेदीमा राखिएको आगोको दाउरामाथि जलाउन राखोस्। यो पनि परमप्रभुको निम्ति सुगन्धित होमबलि हो।

अन्नबलिहरू

“जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्। तब उसले त्यो बलि हारूनका छोराहरूकहाँ ल्याउनु पर्छ अनि पूजाहारीले एक मुट्ठी मसिनो अन्नको पीठो, तेल अनि त्यसबाट धूप झिक्नु पर्छ अनि वेदीमा परमप्रभुलाई चढाउने सम्झना भेटीको रूपमा यसलाई चढाउनु पर्छ। यो आगोद्वारा चढाउने भेटी हो अनि यसको वासनाले परमप्रभुलाई प्रसन्न पार्छ। बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।

पकाएको अन्नबलिहरू

“यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्। यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्। त्यो मसिनो गरी पिंध अनि त्यसमा तेल खन्याऊ। त्यो अन्नबलि हो। यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भूटिएको छ भने यो तेलसित मिसाइएको मसीनो पीठो हुनु पर्छ।

“जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्। पूजाहारीले अन्नभेटीको केही भाग छुट्‌याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ। 10 अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।

11 “तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।) 12 तिमीहरू बर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन। 13 तिमीले प्रत्येक अन्नबलिमा नूनहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको नूनको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि नूनसँगै ल्याउँनुपर्छ।

अगौटे फलहरूबाट अन्नबलि

14 “यदि तिमीहरू बर्षको अगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अघिल्लो भागलाई पिंधेर अन्न पकाएको भेटी बनाउनु पर्छ। 15 तिमीले त्यसमा तेल अनि सुगन्धित धूप लगाउनुपर्छ। यो अन्नबलि हो। 16 पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिंधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ।

मेलबलि

“यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाहीं निष्खोट होस्। अनि उसले आफ्नो हात त्यस पशुमाथि राखोस् अनि भेट हुने पालको प्रवेशद्वारमा त्यसलाई मारोस् र पूजाहारी हारूनका छोराहरूले वेदीको वरिपरी त्यसको रगत छर्कोस्। आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा-भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो। दुइटै मृगौला र त्यस माथिको बोसो र कम्मर छेउको बोसो अनि मांसपेशीमा भएको बोसो अनि कलेजामाथिको गर्मजाल समेत झिकेर चढाओस्। तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो नजलाउन्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।

“यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेंडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्। यदि उसले थुमा बलि चढाउँदैछ भने त्यो परमप्रभुअघि ल्याउनुपर्छ। तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअघि मारीदिओस्। हारूनका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरीपरि सब ठाउँमा छर्किउन्। तब परमप्रभुलाई आगोबाट चढाएको मेलबलिबाट उसले मेरूदण्डबाट सम्पूर्ण पूच्छरको बोसो, पशुको भित्र भागहरूलाई छोपेको बोसो निकाल्नु पर्छ। 10 दुइवटा मृगौला र त्यस माथिको बोसो कम्मर छेउको बोसो पनि निकाल्नु पर्छ। मृगौलासहित कलेजा छोप्ने मासु पनि निकाल्नु पर्छ। 11 तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो निकाल्नु पर्छ। यो परमप्रभुको निम्ति भोजन बलि हो।

12 “यदि उसको बलि एउटा बाख्रा हो भने उसले त्यो परमप्रभुको सामुन्ने चढाओस्। 13 तब उसले आफ्नो हात त्यसको टाउकोमाथि राखोस् अनि भेट हुने पालको अघि त्यसलाई मारीदिओस्। अनि हारूनका छोराहरू पूजाहारीले वेदीको वरीपरि त्यस बलिको रगत छर्किउन्। 14 तब उसले उसको आफ्नो बलि परमप्रभुको निम्ति आगोद्वारा चढाओस्, आन्द्रा-भुँडी छोप्ने बोसो र आन्द्रमाथिको सबै बोसो, 15 दुइवटा मिगौला अनि त्यस माथिको बोसो, डँढाल्नु माथिको माँसपेशी, कलेजा माथिको उपांग कलेजासितै झिकेर चढाओस्। 16 अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउँनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो। 17 यो नियम तिमीहरूका सन्तानहरू रहून्जेलसम्म सधैँ रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”

मर्कूस 1:29-2:12

येशूद्वारा अनेकौं मानिसहरू निको भए

(मत्ती 8:14-17; लूका 4:38-41)

29 येशू अनि उहाँका चेलाहरूले सभाघर छोड्नुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र आन्द्रियासको घरमा जानुभयो। 30 सिमोनकी सासु ज्वरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए। 31 त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै ज्वरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्।

32 त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए। 33 शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए। 34 येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू सबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।

येशूद्वारा सुसमाचार सुनाउने योजना

(लूका 4:42-44)

35 भोलिपल्ट बिहान, येशू चाँडै उठ्नुभयो। उहाँले घर छोड्नुभयो, विहान अँध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो। 36 केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए। 37 तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, “सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन्।”

38 येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरू शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।” 39 अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो।

येशूद्वारा एकजना रोगी निको भयो

(मत्ती 8:1-4; लूका 5:12-16)

40 एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, “तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।”

41 येशूलाई त्यस मानिसप्रति दया लाग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।” 42 त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।

43 येशूले त्यस मानिसलाई जाने आज्ञा दिनुभयो। उहाँले त्यसलाई कडा चेतावनी पनि दिनुभयो। 44 येसूले भन्नुभयो, “होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।” 45 तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जताततै सबै मानिसहरूसँग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।

येशूले पक्षाघातको रोगी लाई निको पार्नु भयो

(मत्ती 9:1-8; लूका 5:17-26)

केही दिनपछि, येशू कफर्नहुममा फर्कनुभयो। येशू घरमा हुनुहुन्थ्यो भन्ने खबर सबैले थाहा पाए। धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो। केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए। तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षघात रोगी सुतेको ओछ्यान् तलतिर झारे। यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।”

केही व्यवस्थाका शास्त्रीहरू त्यहीं बसिरहेका थिए, र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे, अनि तिनीहरू स्वयं सोच्न लागे: “उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ। केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।”

येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, “किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ 9-10 मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु! यो पक्षाघातीलाई के भन्नु सजिलो छ? ‘तिम्रा पापहरू क्षमा गरिएको छ,’ भन्नु वा, ‘उठ आफ्नो बिछ्यौना बोक अनि हिंडिहाल भन्नु’? तर म तिमीहरूलाई अब देखाउनेछु कि पापहरू क्षमागर्ने मेरो अधिकार छ।” यसो भनेर येशूले त्यो पक्षाघाती लाई भन्नुभयो, 11 “म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्‌यौना बोक अनि घर जाऊ।”

12 त्यो पक्षाघातको रोगी जुरूक्क उठ्यो। उसले आफ्नो बिछ्यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, “हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं।”

भजनसंग्रह 35:17-28

17 मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका?
    तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्।
    परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्।
    मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्।

18 हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु,
    महासभामा म तपाईंको स्तुति गाउने छु।
19 मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्।
    निःसन्देह मेरा शत्रुहरूले,
    आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।
20 मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्।
    तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति,
    अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्।
21 मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्।
    तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।”
22 हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ,
    यसैले मौन नबस्नुहोस्,
    मलाई छाडेर नजानुहोस्।
23 हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्!
    मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्।
    अनि मलाई न्याय ल्याई दिनुहोस्।
24 हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्।
    तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्।
25 मानिसहरूलाई भन्न नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं।
    हामीले उसलाई ध्वंश पारिदियौं!”
26 म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्।
    जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्।
तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्!
    यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।
27 कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्।
    भरोसा गर्दछु तिनीहरू खुशी हुनेछन्।
तिनीहरू सधैँ भन्दछन्, “परमप्रभु महान् हुनुहुन्छ।
    उहाँ आफ्ना दासको लागि के उत्तम हो त्यही गर्ने इच्छा गर्नुहुन्छ।”

28 यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ।
    म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।

हितोपदेश 9:13-18

13 मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ। 14 ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे। 15 उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे, 16 “हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन। 17 “बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।” 18 मूर्ख मानिसहरूले जान्दैनन् कि तिनका घर भूतहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International