लूका 20:1-8
Nepali Bible: Easy-to-Read Version
यहूदी प्रमुखहरूद्वारा येशूलाई प्रश्न
(मत्ती 21:23-27; मर्कूस 11:27-33)
20 एकदिन येशू मन्दिरमा हुनुहुन्थ्यो अनि मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। उहाँले परमेश्वरको राज्यको विषयमा सुसमाचारहरू भनिरहनुभएको थियो। मुख्य पूजाहारी हरू, व्यवस्थाका शास्त्रीहरू र बूढा यहूदी प्रमुखहरू उहाँ भएकोमा प्रश्न गर्न आए। 2 तिनीहरूले सोधे, “हामीलाई भन्नु होस्, कुन अधिकारले तपाईं यी सब काम गर्नु हुन्छ? कसले तपाईंलाई यस्तो अधिकार दियो?”
3 येशूले उत्तर दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई भन: 4 जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट कीमानिसबाट पाएका थिए?”
5 तिनीहरूले यस विषयमा आपसमा बहस गरे, “यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको थियो,’ तब उनले भन्नेछन्, ‘त्यसो भए यूहन्नालाई किन विश्वास नगरे को?’ 6 तर यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा मानिसद्वारा भएको हो’, तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ताको रूपमा विश्वास गर्छन्।” 7 अनि तिनीहरूले भने, “यो कहाँबाट आयो हामी जान्दैनौं।”
8 यसर्थ येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसैले म यी कामहरू कुन अधिकारबाट गर्दैछु, भन्दिन।”
Read full chapter© 2004, 2010 Bible League International